८ वैशाख २०८१ शनिबार
कला

मनिषाको ‘मोर्डन मिथिला’

उदाहरणीय युवा

कलाकार मनिषा साहको कला।

परम्परागत मिथिला कलामा आधुनिकताको सुन्दरतम प्रयोग हुन थालेका छन्। प्राचीन कलामा आधुनिकताको संमिश्रणसंगै तयार हुने आकर्षक चित्रले धेरैको ध्यान खिच्न थालेको छ।  

ललितकला क्याम्पसमा फाइन आर्ट पढ्दै गरेकी मनिषा साहले सामाजिक रुपान्तरणका लागि मिथिला कलालाई आधुनिक ढंगले प्रस्तुत गर्नुपर्ने बताइन्।  चित्रमार्फत चेतना जगाउन लागिपरेकी उनी कला सोखमात्र नभएर समाजिक रुपान्तरणको माध्यम बनोस भन्ने चाहन्छिन्।

कलाकार मनिषा साह। 

‘अव मिथिलाको जीवनशैली मात्र हैन, त्यहाँका नारीले भोगेका दुःख र पीडा पनि कलामार्फत व्यक्त गर्ने समय हो,’ उनले भनिन्, ‘त्यही कामलाई नयाँ ढंगले पस्कने प्रयास नै ‘मोर्डन मिथिला’ हो ।’  

उनले बनाएका चित्रमा दाइजो, भ्रुणहत्या लगायतका सामाजिक समस्या मात्र हैन,  इमो, फेसबुक लगायतका सामाजिक संजालले ल्याएको अपराध पनि चित्रित छन्।

‘पछिल्लो समय साइबर क्राइमका घटना बढेका छन्,’ उनले भनिन्, ‘यस्ता घटनाले पीडित मधेशका महिलाको पक्षमा हाम्रो चित्रले बोल्ने गरेको छ।’ घुम्टो लगाएकी परम्परागत महिला मात्र हैन, घुम्टो खोलेकी आधुनिक महिला पनि  अपराधको चपेटामा परेको उनले बताइन्। 

शिर पिँजडा भित्र र खुट्टा जन्जिरले बाँधिएको उनको चित्रले जतिसुकै ठूला कुरा गरे पनि महिला अझै सामाजिक बन्धनमा रहेको तथ्य उजागर गर्छ। ‘नत उनीहरूले स्वतन्त्र ढंगले सोच्न र बिचार पोख्न पाउँछन,’ उक्त चित्रबारे वर्णन गर्दे उनले भनिन्, ‘न आफूले रोजेको बाटोमा हिँड्न सक्छन्।’

महिलामाथि हुने तेजाव आक्रमण पछिल्लो समयको डरलाग्दो घटना भन्दै उनले यस्ता दृश्यलाई पनि चित्रमा उतारेकी छिन्। ‘यो कति क्रुर र डरलाग्दो अपराध हो भन्ने देखाउने हाम्रो चाहना हो,’ उनले थपिन्, ‘ताकी समाजमा भोली कसैले यो अपराध गर्ने आँट नगरोस्।’  

मनिषा मधेशमा देखिएका यी नराम्रा पाटा मात्र हैन, त्यहाँका सुन्दरतम घटनालाई पनि आकर्षक ढंगले देखाउने गर्छिन्। मयुरको साथमा नाच्दै गरेकी यूवती हुन् या राधाकृष्णको मनमोहक जोडी आकर्षक ढंगले बनाउँछिन्।

मिथिलामा घरेलु हिंसा र समाजिक विभेदमात्र हैन, सुन्दर जनजिवन र हँसिला अनुहार पनि छन्।  

‘क्यानभासमा सामाजिक विकृतीका तेजावले बिगारेको अनुहारको एक पाटो मात्र हैन, उनले भनिन्, ‘सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु।’  

प्रकाशित: ८ भाद्र २०७७ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App