हेलो भनी बोलाउँछौ त हाइ भनिदिन्छु
बोल्दैनौँ भने के भयो त बाइ भनिदिन्छु
फुर्सदमा कुनै दिन तिमी बोल्न खोज्यौँ भने
व्यस्त छु म अहिले भयो नाइँ भनिदिन्छु।
०००
विश्वसँगै म पनि त कोरोना कहरमा छु यतिवेला
अझै अरु केही वर्ष बाँच्ने ठूलो रहरमा छु यतिवेला
सन्नाटा छाएको छ कोरोनाले गाउँ भन्दा पनि शहरमा
हो म पनि त्यही कोरोनाग्रस्त शहरमा छु यतिवेला।
०००
म आगोमा जल्दै जान्छु तिमी जलाउँदै जाउ
नबल्न सक्छ है चिस्यान शरीर बलाउँदै जाउ
सक्दिन भो हाँस्न अब मनका पिरव्यथा लुकाई
आँशुले निभाउलान नि कोइलाहरू चलाउँदै जाउ।
०००
रुने गर्छु रातमा सधैं तिमीलाई सम्झिएर
झुठो प्रेमघातमा सधैं तिमीलाई सम्झिएर
मुटु बिझाउँदा यादले जब आँखा रसाउँछ
आँसु लिन्छु हातमा सधैं तिमीलाई सम्झिएर।
०००
स्वाभिमानी शिर नेपालीको झुक्नु हुन्न कहिले
आफ्नो भूमि फिर्ता ल्याउन चुक्नु हुन्न कहिले
दुई ढुङ्गा बीचको तरुल नै भए पनि हाम्रो देश
स्वतन्त्र हुनुपर्छ च्यापिएर दुख्नु हुन्न कहिले।
०००
मेरो गाउँ अनि तिम्रो शहर मिलेन कि कतै
मेरो बाध्यतासँग तिम्रो रहर मिलेन कि कतै
जानीजानी गर्छौ या त साँच्चि अबुझ बन्यौ तिमी
मेरो पीडामा तिम्रो खुशीको प्रहर मिलेन कि कतै।
०००
मध्यरातमा तिम्रो मिठो निदरी बनी आउँकि
झस्काउन सपनिमा परी बनी आउँकि
मिठासपन मिसिएको मधुर त्यो बोली सुन्दा
भेट्न सार्है मन लाग्यो चरी बनी आउँकि।
०००
आउँदै छु है त्यो मन खाली बनाएर राख
सधैं तिम्रो जवानीको माली बनाएर राख
कति सुन्दर देखिन्छौ होला शृङगारमा तिमी
आँखाको गाजल ओठको लाली बनाएर राख।
०००
सक्छौं भने यो मन फोडेर लैजाउ
तर निसाना केही छाडेर लैजाउ
लथालिङ्ग भएको छ जिन्दगी पनि
त्यो मुटुसँग यो मुटु जोडेर लैजाउ।
०००
मुटु भित्रको घाउ किन दुखेको छ आज
संगै शिर अनि पाउ किन दुखेको छ आज
सुनसान छ यत्रतत्र कठै जता जाँदा पनि
शहरसंगै सुन्दर गाउँ किन दुखेको छ आज।
प्रकाशित: ७ भाद्र २०७७ ०७:०२ आइतबार