२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

कङ्क्रिट भएर उठ्तैथ्यो जिरी

यात्रा संस्मरण

खेमराज पोखरेल

खासमा मैले कतै पढेको कुरा हो, मान्छे यायावरीय हुन्छ रे । मान्छेका आँखा केही नयाँ कुरा हेर्न खोज्छन् । यो नयाँ कुरा हेर्न खोज्ने आँखा, चेत र प्रवृतिले गर्दा मानव–सभ्यता–संस्कृतिको विकास भएको भन्छन् समाजशास्त्री÷मानवशास्त्री । मेरा चस्मे आँखाको सनकप्राय जब्बर भइरहन्छ । त्यसैले मैले त्यो पल्ट काठमाडौंबाट मन्थली र त्यहाँबाट जिरी गएर फेरि दोलखा हुँदै काठमाडौं फिर्ने गोलचक्क्र योजना बनाएको थिएँ । सत्तोसत म भनूँ कि यो योजना मेरो ‘पशुपतिको जात्रा सिद्राको बेपार’ थिएन । भनूँ म विशुद्ध आन्तरिक पर्यटक थिएँ । एक्लै पनि थिएँ । निरुद्धेश्य पनि थिएँ । अलमस्त पनि थिएँ । फुकाफाल पनि थिएँ ।

त्यो दिन वैशाख १८, २०७५ को थियो । म कान्छी छोरीको घर चपलीमा बसेको थिएँ । त्यो रात मेरा दिमागभरि मन्थली र जिरीको काल्पनिक चित्र आइरहेथ्यो । जगदीश घिमिरेको पुस्तक ‘अन्तर्मनको यात्रा’मा वर्णन गरिएको उनका रोगी कहरमा पनि तामाकोसी र मन्थलीको स्नेहिल सुवास थियो । खासमा त्यही पुस्तकले मलाई मन्थली र तामाकोसीको यात्रा गर्ने हुटहुटी लगाएको थियो । दिमागभित्र अनौठो चित्र कोरेको थियो । सम्मोहन गराएको थियो । जिरी जानुपर्ने रहर झन् जब्बर थियो मेरो । किनकि जिरी नेपालको स्विटजरल्याण्ड हो भनिन्थ्यो । अमेरिका घुमिसकिएको थियो । तर आफ्नै देशको स्विटजरल्याण्ड जिरी भने कहिल्यै साइत जुरेको थिएन । २÷४ वर्ष पहिले मेरी कान्छी छोरीले जिरी घुम्न जाने अड्डी कसेकी थिइन् । त्यो पुसको महिना थियो । मेरी छोरी जिरीमा गएर हिउँ खेल्न उत्सुक थिइन् । म छोरीलाई उक्साउँदै थिएँ । तर मेरी अर्धाङ्गिनीले त्यो चिसो पुसको याममा जिरी जाने कुरालाई लाट लाग्न दिइनन् । श्रीमतीजीको निगेटिभ भिटोले हाम्रो जिरी जाने योजना तुहिएको थियो । मलाई जिरी जान नपाएकोमा दुःख पनि लागेको थियो, पैसा जोगिएकोमा खुसी पनि लागिरहेको थियो । समय क्रममा कान्छी छोरी कलेजबाट टुर जिरी पुगिहालिन् । हुटहुटी लाउने नै पुगेपछि फेरि जिरीका लागि तताउने कोही भएन ।

समयको कालक्रममा म फेरि अमेरिका पुगेँ र अमेरिकाबाट म नेपाल आएका बखत जे त होला भनेर मैले एक्लै तामाकोसीको एक फन्को लाएर आँखाको रउस मार्ने विचार गरेको थिएँ । बूढीलाई पर्खेर घुम्ने कुरा त ‘सात घर माझीको सल्लाह’ जस्तो हुनेभयो । फेरि बूढीको आकर्षण त भीमेश्वर हो जिरी होइन भन्ने पनि लागेको थियो । अनि बूढी र सम्धीको अनुकूल नपरे पनि एक्लै घुम्छु भन्ने विचार गरेको थिएँ । किनकि रामेछापका रैथाने मेरा सम्धीसँग मन्थली, जिरी र दोलखा घुम्ने योजना हाम्रो पुरानो थियो । तर दिन त्योअनुरूप आएको थिएन । त्यसकारण म एक्लै जान २०७५ साल वैशाख १९ गतेका दिन मन्थली जाने माइक्रोको टिकट लिएको थिएँ । र औपचारिकताका लागि सम्धीलाई फोन गरेको थिएँ ।

म समयमै कोटेश्वर पुगेको थिएँ । तर माइक्रो बिहानको दस बजेसम्म कोटेश्वरमै बसिरह्यो । नेपालको समय भन्ने त आहान नै बनेको छ भने मैले समय ढिलो भएको कुरामा गुनासो पनि गर्न मिलेन । जे भए पनि बल्ल माइक्रोले बिपी हाइवे समातेको थियो । अघिपछि बाटाका ठाउँहरू याद नगर्ने मैले यसपल्ट भने ठाउँहरूको हेक्का राख्न थालेको थिएँ । विपी राजमार्गको यात्रा त मैले धेरैपल्ट गरिसकेको थिएँ । तर अहिले भने पहिलोपल्ट विशुद्ध पर्यटक भएर हिँड्दाको उच्छवास आइरहेको थियो । किनकि म टुरिस्ट मन बोकेर दौडिएको थिएँ । फुकाफाल भएर रौसिएको थिएँ । बाटामा पर्ने पात्लेखेत, भकुण्डे बेँसी, नेपाल थोक, मंगलटार, दुम्जा हुँदै खुर्कोट पुगेको थियो माइक्रो । बाटोमा पर्ने रोसी खोलाले सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गा कवितामा ‘गिरि फोरी बहने रोसी’ पढेको सम्झना ताजा गराएको थियो । अनि ओखलढुङ्गातिरबाट काठमाडौं जाने बाटाको बारेमा बुवाले सुनाएका लोककथा याद आएको थियो । त्यो भेगका मान्छेले भन्थे अरे ः ‘छोरो बढ्ला, रोसी खोला ढुक्ला अनि भात खाउँला ।’ वा ‘थारो कि लैनो’ भन्ने अर्को आहान पनि थियो रोसी खोलाको । यो लोकआहान काठमाडौँ हिँडेका यात्रु लुटिने विषयसँग सम्बन्धित थियो । तर त्यो हो वा होइन मलाई भने अहिले पनि थाहा छैन । यो आहान प्रस्तुत गर्नुको प्रयोजन रोसी खोलेहरूलाई हियाउनुचाहिँ होइन ।

खुर्कोटमा आधा घण्टाजति ओथाएर माइक्रो मन्थलीतिर लागेको थियो । मेरा आँखा नयाँ स्वादमा रमाएका थिए । खुर्कोटबाट सुनकोसी तरेपछि तामाकोसीको किनारै किनार माइक्रो कुदेको थियो । तामाकोसी तल खोँचमा बगिरहेथ्यो । अनवरत बगिरहेथ्यो । भैँसेश्वरबाट रामेछाप बजार जाने बाटो छुट्टिने रहेछ । झट्ट सम्झेको थिएँ कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल जन्मेको रामेछाप बजारलाई । अनि रामेछाप बजारलाई कल्पनाका तरेलीमा नमस्कार टक्य्राएको थिएँ । किनकि युगपुरुष जन्माउने ठाउँ भनेको तीर्थस्थल हो । र यसैक्रममा मन्थलीको बसपार्क पुगेर ओर्लिएँको थिएँ । यसबेला दिउँसोको ३ बजेको थियो । मूल बजार कटेर अलि उत्तरतिर रहेछ बसपार्क । जेठ महिना अनि तामाकोसीको निक्खर बेंसीमा अवस्थित मन्थलीको बाफिलो गर्मी थियो । मन्थलीको खोँचे गर्मी मेरा थाप्लामा बजारिए । मन्थलीको तत्यानले मेरो हुर्मत लिएथ्यो । र तत्क्षण सोच्न थालें  उफ, किन पो सारे हुन् सदरमुकाम रामेछापबाट । सदरमुकाम नै नसारी विकास हुन्न भन्ने विकास मोडेल छ नेपाली मानसिकतामा ।

हुन त म जन्मेको, हुर्केको, बढेको र पढेको ठाउँ सप्तरी हो । याने कि घोर मधेस हो । शरीरका छालाका पत्रहरू डढाएर र कोत्र्याएको थाहै नपाई दिनहरू मनोरम काटिएको थियो । तर सायद काठमाडौंको लामो समयको बसाइले पुल्पुलिएको थियो जिउ । विकासले कफल्लो बनाइदिएको थियो ज्यान । सुविधाले सुकुमार बनाइदिएको थियो आँत । त्यसैले गर्मीका कारणले बिल्पारी शरीरले हद बोल्न थालेको थियो ।

मन्थलीमा एकजना बहिनी सिर्जना लामा फेसबुकमा साथी थिइन् । उनले मलाई मन्थली आउन धेरै कर गरेकी थिइन् । उनी मेरो लघुकथाको नियमित पाठक थिइन् । उनलाई फोन गरेको थिएँ । तर, दुर्भाग्य उनी काठमाडौँ गएको बेला परेछ । अनि आफैंलाई हुस्सु ठहर्याएको थिएँ ।

मलाई तुरुन्त होटल बस्न मन थियो । आफूलाई चिस्याएर सुस्ताउन मन थियो । हरहरिएको आँतलाई चिस्सिन दिन मन थियो । त्यहाँबाट होटल पुग्न फेरि दस मिनेट हिँड्नुपथ्र्यो होला । त्यो गर्मीमा ममा त्यो आँट थिएन । अनि तत्क्षण सोचें मन्थली यही हो । रातो माटो यही हो ।  बजार यही हो । तामाकोसी यही हो । हेरिहालियो । चिनेजानेका कोही छैनन् । बरु अब जिरी गएर चिसोमा बास बस्नु पर्यो भन्ने सोच आएको थियो । तर जिरी जाने सार्वजनिक गाडी थिएनन् । सबै गइसकेका थिए । अनि मैले त्यहाँ धूलामा मास्क लगाएर उभिइरहेको ट्राफिकलाई आफ्नो हालत र प्रयोजन बताएको थिएँ । कन्स्टेवल ट्राफिकले मलाई गौर गरेर पुलिसीय नजरले तलदेखि माथिसम्म हेरे र भनेका थिए   अब यो बेला जिरी जाने कुनै साधन पाइन्न । काठमाडौंबाट आएको कुनै माइक्रोमा सिट भयो भने म हालिदिन्छु ।

म उनको यो कुराले आशावादी भएर बसपार्ककै रुखमुनि उभिइरहेथेँ । नभन्दै एउटा माइक्रो आएको थियो । ट्राफिकले रोकेका थिए  । ड्राइभरले गाडी रोकेर भनेथे  सिट छैन । लान सक्दिनँ । 

ट्राफिकले भनेका थिए बिचरा   बिचल्ली पर्नुभएको छ, जसरी पनि लगिदिनु न ।  

अनि म माइक्रोभित्र छिरेको थिएँ  र दुईपट्टिका सिटको चेपमा सानु मुढामा च्यापिएर बसेर ट्राफिकलाई धन्यवाद भनेँथेँ । यतिबेला त्यो कन्स्टेवल ट्राफिक भाइ मलाई दैव भएर निस्केका थिए । जीवनमा पुलिसलाई अनगिन्ती गाली गरियो होला । आफू केटाकेटी हुँदा बाबुआमाले पनि ‘पुलिस आयो’ भनेरै थर्काए । शैशवकालमा पनि पुलिसलाई गाली गर्ने नै बनाए । आफूले पनि केटाकेटीलाई ‘पुलिस आयो’ नै भनिएको थियो होला र जान्ने भएपछि प्रजातन्त्रको लडाइँमा पनि पुलिसलाई नै गाली गरिएको थियो ।खोर्सानीको धूलो पुलिसका आँखामा हाल्नुपर्छ भनेर खल्तीमा राखेर हिँडेको आफ्नो टिनेजरकाल सम्झेर आफैलाई अहिले दिक्क लागेर आएथ्यो । बिचरा पुलिस । बिचराले जीवन धान्न जागीर खाएको त हो नि भनेझैँ लाग्यो । फेरि उक्त ट्राफिकको मैलो भइसकेको मास्क र धूले बाटामा धूलो खाँदै गरेको उसको जीवन देखेर टिठ पनि लागेको थियो मलाई । यसैबीच मैले उक्त ट्राफिकलाई मनमनै धेरैधेरै धन्यवाद दिएँथेँ। त्यो बेलात्यो मुढाको चेप मलाई रात्रिबसको डिलक्स सिटजस्तै अनुभूति भएको थियो । अमेरिकानेपाल गर्दा चढेको बोइङभन्दा यो बसाइ महत्त्वपूर्ण ठानेको थिएँ मैले ।  

ड्राइभर भाइ भने रिसाएर फत्फताउँदै थिए, ‘हामीले मान्छे मुढामा राखे कारबाही गर्छन् । उसको मान्छे हाल्नुपर्यो भनेचाहिँ... ।’

ड्राइभर गनगन गरिरहेका थिए । म चिन्नु न जान्नु ट्राफिकको आफ्नो मान्छे भएर कोचिएर यात्रा गर्दै थिएँ । म चुप लागेर बसिरहेको थिएँ, बिराएजस्तै । केही गल्ती गरेजस्तै । सिटमा बसेका मान्छे पनि मलाई ट्वाल्ल परेर हेर्दै थिए । मानौ यो माइक्रो उनीहरूकै हो । मर्दा सँगै जान्छ । हुन त म चढेकाले उनीहरूलाई पनि अप्ठ्यारो परेकै थियो ।

माइक्रो रिसाउँदै देवीथान पार्कबाट हिँडेको थियो । तिल्पुङ, खिम्ती बजार, जफे, भिरकोट हुँदै तामाकोसी बसपार्कमा पुगेथ्यो । यो भनेको तामाकोसीको तिरैतिरको बाटो थियो । तामाकोसी वारीपारिका डाँडाहरू कतै खैराँते, कतै हरियाली देखिन्थे । परपर डोजरहरू बाटो बनाएर विकास भित्र्याउँदै थिए । धूलो उडाइरहेका थिए । पाखामा टिनका छानाहरू धूलामा पनि घुर्मैलो चम्केका थिए । तामाकोसी बसपार्कबाट रामेछाप–लामोसाँघु राजमार्ग चरिकोटतिर लाग्दो रहेछ । म चढेको माइक्रोचाहिँ तमाकोसी बसपार्कबाट जिरी खाँडीचौर हाइवेबाट नाम्दु, मैना पोखरी पुगेको थियो । मैनापोखरीबाट भने माइक्रोमा सिट पाएको थिएँ । त्यसपछि सुक्रे, सेबजालो,  हाटडाँडा हुँदै जिरी पुगेको थिएँ । मन्थलीमा राँकिएको मेरो शरीर जिरीमा पुगेर चिसिएको थियो । जिरीको मूल सडक र सडक छेउछाउका घरहरू मर्मत भइरहेका थिए । खण्डास्मित थियो सडक । डोजर चलिरहेथे । धूलो उडिरहेको थियो । शेर्पा गेष्ट हाउसमा कोठा लिएको थिएँ ।

जिरीको हावापानी भने एकदम सुन्दर थियो ।  चिसो थियो । मनमाफिकको थियो । डाँडाको टाकुरामा पनि थिएन जिरी । बेंसीमा पनि थिएन । म जिरीमा रहेको बौद्ध टेम्पल घुमेको थिएँ । बौद्ध टेम्पल निकै आकर्षक रहेछ । फोटो खिचेको थिएँ । प्राविधिक केन्द्र पनि घुमेको थिएँ । यताउति गर्न खोजेको थिएँ । चिनेको कोही थिएन । साथी पनि कोही थिएनन् । यो बेला एक्लै हिँड्न खोज्ने मेरो चेतलाई कोसेको थिएँ । अनि लघुकथा कुनोमा राम्रा लघुकथा लेख्ने डिबी जिरेलको नाम झट्ट सम्झेको थिएँ र उनलाई मेसेन्जरमा म्यासेज छोडेँथेँ । उनलाई चिनेको जानेकोदेखेको भने थिएन । 

जिरीमा घुम्ने ठाउँ नै खास रहेन छ । माथि डाँडामा चिज फ्याक्ट्री थियो । फ्याक्ट्री हेर्न त्यो उकालो चढ्ने जाँगर आएन । १५÷ २० मिनेट हिँडेपछि जिरी बजारको फन्कै फन्का लाग्दोरहेछ । म शेर्पा गेस्टहाउसमा गएर थन्किएको थिएँ । तर अचम्म के भने चलानी रक्सी भोड्का, रेड लेभेल पाइने तर तोङ्मा नपाइने रहेछ त्यो शेर्पा गेस्टहाउसमा । बासमतीको चलानी चामल पाइने तर ढिँडो नपाइने रहेछ । मैले विशेष खुसामद गरेर लोकल कुखुराको झोल सितनसँग कोदाको ढिँडो खाएर जिरी आएको मजा मानेको थिएँ । नेपाली विकास मोडललाई यो विन्दुमा आइपुग्दा दिग्दारी भावमा गम्दै थिएँ । आफ्नो स्थानीय उत्पादन विशेष कुरालाई मासेर चलानी सामानमा रमाउन थालेका हुन्छन् हाम्रा कुनाकन्दराका बजार पनि । त्यसको बिडो थामेको थियो जिरीले पनि । यो बेला मैले अमेरिकाको फ्रेडरिसवर्ग भन्ने निकै सानो बजारलाई सम्झेको थिएँ । त्यो बजार निकै पुरानो लोकल रक्सी (वाइन)को लागि प्रसिद्ध थियो । हामी त्यो पुरानो स्वादको वाइन खान नै करीब १५० किलोमिटरको यात्रा गरेर पुगेका थियौँ । मान्छे त्यही वाइन चाख्न, खान र घर लान त्यो बजारको यात्रा गर्दारहेछन् । उफ हाम्रो सभ्यतामा त आफ्नोपन मासेर विदेशी भित्र्याउन भरमग्दुर प्रयत्न गरिन्छ । यही विकासे कडीको प्रतिनिधित्व जिरीले गर्दै थियो ।

राति बास बस्न आएका दुई स्प्यानिस जोडीसँग स्प्यानिसमा  बोल्दा मलाई झन् आनन्द लागेको थियो । सायद गोरालाई पनि उसको भाषा नेपालको कन्दरामा सुन्दा आनन्द लाग्यो होला । यो जिरी त खासमा ट्रेकिङको रुटमा रहेछ र पन्पिएको रहेछ बजार भएर । मलाई जिरी खूब मन परेको थियो । जिरी बजारकै बीचबाट बगेको अव्यवस्थित जिरी खोला पनि खुव मन परेको थियो । जिरीको वरिपरिका हरिया पहाड जङ्गल अति नै मन परेको थियो । जिरी बजारको पल्लो छेउबाट देखिने त्यो जिरेल गाउँ झन् मनपरेको थियो । त्यो गाउँमा गएर १÷२ रात बस्न पाएको भए वास्तविक जिरीको मजा आउँथ्यो होला । तर त्यो भएन । खासमा मैले जिरी बजारमा जिरेल वेशभूषाका मान्छे नै देखिनँ । अनि बाटैबाटो अलिपर पुगेको थिएँ । त्यहाँ सुकुम्बासी बस्ती जस्तो देखिने टिनका टहराहरू थिए । ती टहरामा दोकान थिए । सायद भट्टी पनि थिए । मलाई नौलो मान्छे देखेर र एक्लै लखरलखर गरेको देखेर होला त्यहाँ मान्छेहरू बोल्न थालेका थिए । त्यस्तैमा एकजना अलि वयस्क महिला पूर्ण जिरेल वेशमा गहनाले झरिझुट्ट भएर आएको देखेँ । मैले एउटा सेल्फी खिच्न खोजेको थिएँ । उनी अलि अनकनाउन थालेकी थिइन् । चिन्नु न जान्नु मान्छेसँग केको सेल्फी खिच्नु भन्ने पनि लाग्यो होला । अनि त्यत्तिकैमा एकजना लोग्नेमान्छे सर्टपाइन्ट लगाएका आए । उनले अलिकति रक्सी खाएका थिए । तर पूरै मातिएका भने थिएनन् । उनले परिचय गरे  । उनी जिरेल समुदायबाट रहेछन् र त्यो वार्डको वडाध्यक्ष रहेछन् । अनि उनी र ती महिलासँग फोटो खिचेर जिरी पुगेको प्रमाण बनाएको थिएँ ।

भोलीपल्ट बिहानै मैले चरिकोट गएर बस्ने विचार गरेको थिएँ । म होटलबाट निस्कन मात्र लागेको थिएँ कि डिबी जिरेल मलाई भेट्न टुप्लुक्क आइपुग्नुभएको थियो । परिचय भएथ्यो । फोटो खिचिएथ्यो । अनि उहाँले मलाई भन्नुभएथ्यो ः गुरु, यस्तो खबर नगरी पनि जिरी आउने हो !

आफूलाई यो बेला हुस्सु भएकोले दिक्क पनि लागेको थियो । मलाई लघुकथाका वृत्तमा ‘गुरु’ भन्छन् मान्छेहरू । मलाई यो मन पर्छ । किनकि म लघुकथा कुनोको एउटा एडमिन छु । फेरि जागिर पनि मास्टरीकै खाएकाले नेपालीपनको गुरु शब्द मलाई खूब मनपर्छ । जे भए पनि डिबी जिरेल सरको उपस्थितिले मलाई निकै आनन्द बनायो । उहाँ जिरीकै स्कुल शिक्षक तथा क्रिस्चियन समुदायको पास्टर पनि हुनुहुँदो रहेछ ।  

मेरो त्यो दिनको यात्रा चरिकोट मात्र थियो । बसमा बाटो कटाउनी गफ गर्नु नै थियो । बसमा एकजना वयस्क व्यक्तिसँग कुरा भएको थियो । मेरो नेपालका भाषाहरू, वेशहरू, संस्कृतिहरू र परम्परा मन पराउने चेत बुझेर होला अनि मेरो जिरीको धीत नमरेको कुरा सुनेर होला उनी त भन्न थालेका थिए ः फर्कौँ जिरी । हाम्रो घरमा गएर बस्ने । धीत मारेर मात्र फर्कने ।

उनका यी कुराले म झन् जिरीलाई मन पराउन थालेको छु । धीत त पक्का मरेको छैन । तर समय !

चरिकोटको एकरातको बसाइपछि म काठमाडौँ पुगेको थिएँ र मैले जिरीमा खिचेका फोटाहरू कम्प्युटरका पर्दामा देखाउन थालेको थिएँ । छोरीले पनि आफ्नो कम्प्युटरमा रहेका जिरी संस्मरण फोटाहरू निकालेकी थिइन् । ज्वाइँले पनि आफू जिरी पुगेका फोटाहरू निकाल्नुभएको थियो । किनभने विकासे प्रोजेक्टको काममा ज्वाइँ २०७२ सालको भुइँचालोको लगत्तैपछि जिरी पुग्नुभएथ्यो ।

जिरी एउटा थियो । फोटा तीन थिए । छोरीका फोटामा जिरी अग्र्यानिक अप्सराझैँ लाग्दथ्यो । डिम्पल देखाएर सुन्दरी मुस्कुराएझैँ लाग्थ्यो । परम्परागत घरहरू थिए । झिँगटीका छनाहरू थिए । काठका दलीन थिए । बुर्जा थियो । रातो माटोले लिपेका ओसारीहरू थिए । जिरेल पोसाकहरू साँच्चि मनमोहक थिए । पहाडमा हिँउ निकै राम्रो, निकै राम्रो मनमोहक थियो । छोरीले खिचेको भिडियोमा जिरी बजारको बिचबाट बग्ने जिरी खोला सभ्य, सुन्दर र सलल बगिरहेको थियो ।भिडियोमा कलकल गरिरहेको थियो । अहिले नै जिरी पुगिहालौँ भन्ने उत्कण्ठा उत्पन्न हुन्थ्यो । स्वर्ग थियो जिरी । मलाई जिरीलाई नेपालको स्विटजरल्याण्ड भनिएको साँच्चिकै हो भनेझैँ लागेको थियो ।

ज्वाइँले ल्याउनुभएका फोटाहरूमा जिरी पूरै भत्किएको थियो । बजार मास्तिर बौद्ध गुम्बा टक्रक्क देखिन्थ्यो । बजारको बीचबाट बग्ने जिरी खोला पनि कुरूप देखिन्थ्यो । जिरी हेरिसक्नु थिएन । बीभत्स थियो । सोत्तर भएको थियो । बलात्कार गरिएझैँ देखिन्थ्यो जिरी । यी फोटाले मेरो मन रुवाएको थियो । यो भुईँचालोले नेपाल रोएको थियो । जिरी पनि रोइरहेको देखिन्थ्यो । फोटाभरि जिरी बीभत्स देखिन्थ्यो । विचरा देखिन्थ्यो ।

तर मैले खिचेका फोटाहरूमा जिरी उभिएको थियो । सडकभरि खण्डास्मित थिए । डोजर चलिरहेथे । विकास ल्याइरहेथे । सिमेन्टेड घरहरू निर्माण भइरहेका थिए । धूलो उडिरहेथे । राहत आयो भन्थे मान्छे । राहतमा भ्रष्टाचार भयो भन्थे मान्छे । जग्गाको मोल सुनाउँथे । आम्मामा निकै महँगो । काठमाडौँको पुतलीसडकजस्तै महँगो । धनी थियो जिरी जग्गाको भाउले । धनी बाहिरिएका कहर पनि भोग्दै थियो जिरी । जान्ने सुन्ने शहर पसेको विडम्बना पनि भोग्दै थियो जिरी । अब जिरी अग्र्यानिक सुन्दरी थिएन । कोटेड सुन्दरी भएको थियो । आफ्नोपन हराउँदै थियो । सिमेन्ट र चलानी रङले विकसित आधुनिक हुँदै थियो जिरी । जिरी खोलाले उच्छवास फ्याँक्दैन थियो । जिरेल बिर्सँदै थियो जिरी । जिरेल संस्कृति र वेशभूषा फेर्दै थियो जिरी । जिरी चिन्हाउने घरहरू मासिएका थिए । बुर्जा र झिँगटीले इतिहासको यात्रा गरिरहेका थिए । मर्दै थियो मेरो अग्र्यानिक जिरी । तर गौरव गर्दै थियो जिरी  र चार हातपाउ टेकेर उठ्तैथ्यो जिरी कङ्क्रिट भएर ।  

प्रकाशित: २ भाद्र २०७७ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App