६ आश्विन २०७७ मंगलबार
कला

नियात्रा र हाइकुको कक्टेल: दाइबुचु

जापानी भाषाको ‘दाइबुचु’ शब्दको अर्थ हुन्छ, ठूलो बुद्धमूर्ति (पृ.५८)। जापानीहरू जन्म–संस्कार सिन्तो धर्मअनुसार, विवाह क्रिस्चियन र मृत्यु संस्कार बुद्धधर्मअनुसार गर्छन्, (पृ.१९)। देश बनाउन एउटा असल र दूरदृष्टि भएको राजनेता जन्मनुपर्दो रहेछ, (पृ. १९)। ढोंगी राष्ट्रवादले कहिल्यै देश र जनताको भलो गर्दैन, न त बिनाऔचित्य गरिएको अरु देशको आलोचनाले नै भलो गर्छ, (पृ.६९)।  

यी र यस्तै गहन विचार र महत्वपूर्ण जानकारी एवं तथ्य समेटिएका छन्, कृष्ण बजगाईंको ‘दाइबुचु’ नियात्रा संग्रहमा।  

हरेक नियात्राको प्रारम्भ र अन्त्य हाइकुबाट गरिएको र नियात्राका बीच–बीचमा समेत हाइकुसँगै जम्काभेट हुने यो कृति नेपाली साहित्यमा नौलो विधाका रूपमा उदाएको छ। बजगाईंका अनुसार, गद्यमा हाइकु राखेर लेखिने ‘हाइबुन’ नामक अलगै विधा जापानमा प्रचलित छ। नेपालीमा चाहिँ ‘निबन्ध’ र ‘यात्रा’ मिलेर बनेको नियात्रा विधा छ। त्यसमा फेरि हाइकुको मिश्रण हुँदा ‘निबन्ध’, ‘हाइकु’ र ‘यात्रा’को संयोगबाट ‘निहात्रा’ नामक नयाँ विधा बन्न नसक्ला ?

खैर, नियात्रामा हुनुपर्ने निजात्मकता, गतिशीलता, स्थिरता, स्थानीयता र तथ्यात्मकताका सबै तत्व संयमित, सन्तुलित र रोचक ढंगमा प्रस्तुति दिन बजगाईंको कलम माहिर देखिन्छ।

आणविक विनाशको विभत्स विम्बका रूपमा विश्वभर परिचित जापान कसरी विकास, समृद्धि र शान्तिको विम्ब बनेर प्रगतिको शिखर आरोहण ग-यो। त्यसको चित्र बजगाईंले यस कृतिमा राम्रैसँग उतारेका छन्।

जापानका १२२औँ सम्राट मेइजीको आत्माको काल्पनिक वासस्थानलाई सिन्तो धर्मको पवित्र स्थलका रूपमा त्यहाँका जनता कसरी वास्तविक श्रद्धा गर्छन््, कालान्तरमा युद्धले त्यहाँको धर्म र संस्कृतिलाई कसरी नष्ट ग¥यो भन्ने उनको ‘सम्राटको आत्मा दर्शन’ नियात्रामा वर्णित छ।  

‘टोकियोको झरी’ नियात्रामा टोकियोमा परिरहेको सिमसिमे पानीमा पैदल हिँड्दा देखेका र भोगेका अनुभूतिको जीवन्त चित्रण छ। आँखालाई कहिले जापानी सुन्दरी युवतीका सौन्दर्य–चुम्बकले तानेको, कहिले काला बिराला र कुकुरका मूर्तिहरूमा झुम्मिएर फोटो खिचाउँदै गरेका दर्शकले आकर्षित गरेको, मिनी स्कर्ट लगाएकी तरुनीको कामुक तिघ्रामा कुनै कम्पनीको विज्ञापनका लागि कलाकर्मीले ट्याटु बनाइरहेको तथा फुसफुसे पानीमा रंगीचंगी छाता ओढेर सडक पेटीभरि जुलुसझैँ हिँडिरहेका यात्रुलाई नियाल्दै हरेक दृश्यश्रव्य सूचनालाई अनुभूतिको ल्याबमा पु¥याउँदै कलात्मक आस्वादमा पस्कन्छन्, बजगाईं।

त्यस्तै, ‘जापानका केराघरे माचुओ’ नियात्रा हाइकु सम्राट माचुओ बासोको वासस्थान र संग्रहालयमा पुग्दाको अनुभूति, सूचना र तथ्यका आलोकमा चित्रित छ। ‘कामाकुराका बुद्ध’ शीर्षक नियात्रामा ४४ फिट अग्लो ‘दाइबुचु’ वा ठूलो बुद्धमूर्ति भएको ठाउँमा पुग्दाको अनुभूति छ। ८० भन्दा बढी बौद्ध मन्दिर र धार्मिक स्थल भएको प्राचीन राजधानी भएको यस ठाउँमा पुग्दा जापानको सांस्कृतिक वैभव र इतिहास गौरवलाई पाठक समक्ष उतार्छन्।

त्यस्तै, ‘युद्धपोतलाई गुलाफ’ नियात्रा जापानभित्रको अमेरिका सहर मानिने योकोसुका भ्रमणसँग सम्बन्धित छ। विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा बम खसालेर ध्वस्त पारेको जापानमा अमेरिकी सेनाको त्यो उपस्थितिप्रति (युद्धपछिको द्रूततर विकासमा अमेरिकाको अहं हात रहेको भन्दै अमेरिकाप्रति) कृतज्ञता प्रकट गर्ने जापानी बुद्धिजीवीका कुरा सुनेर उनी विस्मित हुन्छन्। टोक्यो किनारमा अवस्थित मिकासा पार्कमा त्यहाँ राखिएको युद्धपोत, शान्तिको कामना गर्दै बनाइएको पिसआर्च, अमेरिकी सैनिक अखडा रहेको बाँदरे टापुको सूचना समेत उनले प्रस्तुत नियात्रामार्पmत निकै रोचक, मार्मिक एवं भावुक रूपमा चित्रित गरेका छन्।

‘ओन्सेनमा नांगानांगै’ नियात्रामा निर्वस्त्र अर्थात् नांगै नुहाउनुपर्ने ठाउँमा गएर आफू र आफ्नो टोलीले सर्वांग नग्नस्नान गर्दा आइपरेको लज्जा, ग्लानि र आपत् तथा नुन जिउमा दलेर नुहाउने, तातो ढुंगामा सुतेर जिउ सेक्ने एवं सावर स्नान र मसाजको समेत आनन्द लिन पाइने रंगीन सूचना पनि उनले निजात्मक अनुभूतिमा घोलेर पोखेका छन्।

‘क्याट क्याफेमा बिरालीसित आँखा जुद्धा’ नियात्रामा उनी जनावरसँग प्रेम गर्ने जापानीको अद्भुत बिरालो प्रेमको रोचक र सनसनीपूर्ण प्रस्तुति पस्कन्छन्। क्याट क्याफेमा जापानीहरू अनेक रंगका बिरालासँग रमाए पनि उनी चाहिँ त्यही क्याफेमा रमाउन आएकी एक रूपवती जापानी सुन्दरीलाई नै बिरालीको विम्ब दिन्छन् र छुन नपाए पनि आँखा जुधेकी त्यस युवती बिरालीसँग मनमनै मजा लिन्छन्। सानो आँखा भएकी त्यस डल्ली बिराली जस्ती युवतीले... (पृ. १०६)।

उनी ‘लामो यात्रा: लभ होटलमा जात्रा’ नियात्रामा जापानलाई पुल र फूलको सहरका रूपमा चित्रित गर्छन्। घुमाएर बाटो लैजाने होइन, सोझै पहाड छेडेर वा दुई पहाडका बीचमा पुल हालेर बाटो बनाउने जापानी शैलीले उनको मन तान्छ र पहाडै पहाडले भरिएको नेपालमा यस प्रविधिको औचित्य अनुभूत गर्छन्। तलैतला भएको समुद्रमाथिको फ्लाइओभर, हावाबाट बिजुली निकाल्ने टर्बाइन, गगनचुम्बी महलहरू छेड्दै सुलुत्त लम्पसार परेका हाइवे, हिरोसिमानजिकै अवस्थित लभ होटल अर्थात् युगल जोडीका एकान्त स्थल (जहाँ एक घन्टाको मात्र चार्ज तिरेर सहमति निर्बाध यौन आनन्द लिइने घन्टे होटल) छन्, त्यो देखेर नेपालमा पनि यस्तो व्यवस्था हुनु आवश्यक भइसकेको उनी ठान्छन्।

जब उनी हिरोसिमा पुग्छन्, ‘हिरोसिमामा रोएको मन’ नियात्रामार्पmत विश्वलाई नै आङ जिरिंग तुल्याउने अमेरिकी आणविक हमला र त्यसले गरेको एक लाख ४० हजार मानिसको संहार सम्झँदै त्यहाँको कारुणिक एवं जीवन्त चित्र उतार्छन्। मानवताका सम्पूर्ण सीमा नाघेर गरिएको यस बर्बर आक्रमणको एक्सन फिल्मजस्तो भिडियो फिल्महरू संग्रहालयभित्र हेर्छन् र त्यो हेरेपछि युद्धको वीभत्स रूपसँग भिडियो स्क्रिनमा उनको साक्षात्कार हुन्छ। विस्फोट लगत्तैको आर्तनाद र वीभत्स अवस्था, कालो कम्बल ओढेजस्तै जिउभरि झिँगा ढपक्कै ढाकेका आधा जलेका लास, मृत्यु भएका र पहिचान नखुलेकाहरूका नाममा बनाइएका विशाल स्मारक, नदीको पानी लासमा अनुवाद भएर बग्दै गरेका स्थानीय नदीहरूको पीडा हेर्दाहेर्दै उनको मन धुरुधुरु रुन्छ।  

लेखक एक हजार वर्षसम्म राजधानी रहेको, दुई हजारभन्दा बढी बौद्ध मन्दिर रहेको कलात्मक सहर क्योटोस्थित स्वर्ण मन्दिर अर्थात् किंकाकुजीका कलाका अद्वितीय नमुना उतार्छन्।  

‘योकोहामाको समुद्र र माचुरी’ नियात्रामार्पmत उनले योकोहामाको विकास र समृद्धिको चित्र उतारेका छन् भने जापानी धर्तीमा अवतरण गर्दा र जापानी धर्तीबाट बिदा हुँदाका अनुभूतिलाई केही जापानी शब्दकै प्रयोग गरी ‘कोनिचिवा जापान ः सायोनारा जापान’ नियात्रामार्पmत पुस्तकको बिट मारेका छन्।

शीर्षक चयनमा स्थानीयता र अर्थ गाम्भीर्यमा राष्ट्रियतागत वैशिष्ट्य उनले यस पुस्तकमा पनि प्रदर्शन गरेका छन्। युरोपको भ्रमण गर्दा उनले स्थानीय भाषाकै शब्द ‘भायासाक्रा’ (इटलीका हिन्दु मन्दिरमा जाने पवित्र मार्ग) शीर्षकमा नियात्रा ग्रन्थ रचना गरेका थिए।  

समग्रमा जापानको भ्रमण गरेर लेखिएको ‘दाइबुचु’बाट पाइने सूचना र ज्ञानले पाठकको मनलाई जापानकै धर्तीमा पु¥याउँछ। यसर्थ, प्रस्तुत कृति हरेक पाठकका लागि संग्रहणीय छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App