विकल्प सर्वहारा
चुहिसक्यो खरको छानो घर रोयो दाजै,
डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै ।
धन कमाउन हिँडे सबै जन्जाल बिर्सिएर,
मुगलान पस्ने जमातको लहर रोयो दाजै ।
सिस्नु उम्रियो टार बारीमा बाँझो गैरी खेत,
धाउनै छाडे खोलानाला नहर रोयो दाजै ।
जंघार तर्दै नुनको भारी बोक्ने चलन गयो,
भाँचिएर जाँदा तोक्मा, ढाकर रोयो दाजै ।
उर्लिएर खहरेले नछोई दिँदा किनारालाई,
हिउँद वर्षा आसैआसमा बगर रोयो दाजै ।
प्रकाशित: २७ श्रावण २०७७ ११:१४ मंगलबार