coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चरी गुँडैमा, मायालाई भेटियो सोल्टी मोडैमा

नियात्रा

विकु लामा

 

हरेक समय आआफ्नै परिवेशलाई सुसेल्दै र च्याप्दै दगुरिरहेको हुन्छ । तर हामी समयको पखेटा सँगसँगै उड्न कहाँ सक्छौ र त्यति सजिलो पनि छैन । तमाम आवश्यक्ताहरूको परिपूर्तिको  अतिरिक्त गुजुल्ठिएका जीवनले निमेषनिमेषमा प्रतिस्पर्दा गर्दै जिउनु आजको नियति हो भन्दा फरक नपर्ला । प्रतिक्षाको घडीलाई उछिल्दै बसेको समयले पूर्णता पाउन आतुर थिए । फोन बज्यो, हजुर कतिबेला निस्किनुहुन्छ ?  चाँडै निस्किनुपर्छ होला । बाटो टाढै छ कवि देवदासको आवाज गुन्जियो कानभरि । झन्डै दुई हप्तादेखिको निमन्त्रणालाई आत्मसात् गरिरहेको थिए । हस भन्दै एकजोर सुट र एकसरो कपडा कार्गो ब्यागमा कोच्दै बिहानको एघार बजे पिकान्टोको स्टेरिङ निमोठ्दै निस्के ।

 जडिबुडीको घुम्तीमा झन्डै एकघण्टा जाम र कोटेश्वर हुँदै बानेश्वर पुग्दा पौने दुईघण्टा विरक्तिएको समय बाटामै परे । हिजोआज काठमाडौ खाल्डोको यात्रा निकै सकसपूर्ण र अस्तव्यस्त बन्दै गैरहेको छ । धूलो धुँवा, जताततै खाल्डखुल्डी बिग्रेको बाटो शहरको पर्यवाची र विशेषता बन्दै गैरहेको छ । सडकका लागि महंगी कर तिरेर गुड्ने सवारी साधनहरुको बेहाल देख्दा मन विचलित हुन्छ । जाम छिचोल्दै कवि सुन्दासको गुँड पुग्दा दिउँसोको १२ बज्दै थिए । उनी यात्राको तयारीमा थिए । कवि देवदासले स्याउ पखालेर दिए । चिसो स्याउ चपाउँदै केहीबेर गफियौ । पोकापन्तरा कस्दै हामी बानेश्वर थापागाउँ पुग्यौ । एउटा प्लास्टिकको झोला र कालो लाहुरे ब्याग भिर्दै लोकप्रिय गजलकार एवं गीतकार शितल कादम्विनी एकलब्य धूनमा लम्कदै थिए । कुम ठोक्यो पिकान्टोसँग, चमकदार मुहारबाट मुस्कान फाल्दै सुरक्षित सीट ओगटिन् । अन्तिममा हामी पुल्चोक इन्जिनियरिरू कलेजको नयाँ भवन अगाडि पुग्यौ । लोकेशन एकिन नभएर एकफन्को लगाएर फेरि उही ठाउँमा आएर बस्यौ ।

तीनपटकसम्मको फोन सम्वादपछि बल्ल बुट्टेदार कोट अफिसियल ब्याग र एकहातमा कालो ज्याकेट भिर्दै पाका उमेरका प्रसिद्ध ब्राण्डेड कवि तुलसी दिवस झुल्कियो । कवि देवदासले अगाडिको सीट खाली गरिदिए । ढोका उघार्दै ओहो यिनी त ड्राइभर राखेर चलाउने जस्तो पो छ त । यत्तिको लामो यात्रामा एक्लै चलाउँन सक्छौ ? एकछिन हामी सबैजना अकमकियौं । मैले पन्ध्र वर्षको ड्राइभिङ अनुभव सुनाएपछि बूढा ढुक्क भए । दिउँसोको एक बज्दै थिए । पुल्चोक ओरालो हुँदै कलंकी पुग्दा दुई बजिसकेको थियो । जामको चटारोले उकुसमुकुस थियौ सबैजना । कलंकी ओरालोमा रोकेर कादाम्बिनीले पोखरा पठाउने नासोको पोको एउटा बसलाई जिम्मा लगाइदिए । हामी सँगै हिंडेकी फिनिक्स बुक्सकी प्राप्ति पनि त्यही ओर्ले । मन्त्रालय गएर आउछु भन्दै कदाम्बिनी एकछिन गायव भइन । ट्राफिकले सुसेल्न थाले श्रदेय कवि दिवस र म गाडी भित्रै थियौं । सासै बन्द हुने धूलो र छारोले सडक युद्ध मैदान जस्तै देखिन्थे । देशमा पटकपटक राजनीतिक परिवर्तन भइसके तर शहरको कुरूप अनुहार जस्ताको तस्तै । राजनीतिक व्यापार फास्टाएको देशमा हामी जस्ता नागरिकले कतिन्जेल सास्ती खप्नुपर्ने हो कुनै लेखाजोखा नै छैन । सबैजना आइसकेपछि धूलो र माटोमा लडीबुडी गर्दै हामी कछुवा गतिमा बढ्दै गयौं ।

 नागढुङा तिर्सोमा पुगेपछि सबै सवारी साधनहरू ठप्प भयो । झन्डै आधा घण्टा जति जाममै पर्यौ । कवि देवदासले मकै भटमासको झोला खोलिन् । अर्गानिक मकैभटमास चपाउँदै गफियौ । एकैछिन बाहिर निस्केर रोकिरहेको ट्रकमा छलिँदै सट टवाइलेट गरेर आनन्द लियौं  । चिसो बतास  सन्किदै थियो । लामबद्ध सवारी साधनहरु नौबिसेसम्म नै जाम जस्तो देखिन्थे । मकैभटमास र पानीले पेट बेलुनजस्तै भैसकेका थिए । एउटा मोटर साइकल हाम्रै छेउबाट बेजोडले दौडियो र बसहरू पनि चल्न थाले । ठूलो रंगीन बसको झ्यालमा अडेस लाग्दै निदाइरहेकी सुन्दरीको कोठीमा आँखा ठोकियो । पुलुक्क हेर्न नपाउँदै देवदासजीले के हो त्यस्तो ? आँखा त कताकता पुगेको हौ भन्दै स्याटर दिए । चालक भएपछि चोर बिरालोजस्तै जताततै आँखा डुलाउनुपर्छ भन्दै हँस्सीमजाक गरें । उनी मौन समर्थन जनाउँदै मुन्टो हल्लाउँदै बसे । सिमसिम पानीले मन उद्देलित थिए । नागढुंगा ओरालोमा ठूलो ज्यानको ट्रक बिग्रेर नै बाटो बन्द भएको रहेछ । नेपालकै ठूलो राजमार्गको दुरावस्ता देखेर खिन्न मात्रै भएन भित्रभित्रै रीसको ज्वाला दन्किरहेको थियो । तर राज्यको डाडूपन्यू चलाउनेहरूलाई कुनै मतलबै छैन । घर्किदै गएको समयको तुना कस्दै एक्सिलेटर दबाएँ । चिया खाने चर्चा चल्यो नौबिसे शुरू हुनासाथ देब्रे मोडे आँखा यु बि स्टाफ होटल सिमबजार, नौबिसे लेखेको साइनबोर्डमा पर्यो । सिसाले बारेको केक पसलभित्र गएर आआफैले कुर्सी तानेर बस्यौं । भित्र सुनसान र चहलपहल थिएन । बल्ल एकजना मान्छे प्रकट भए । कवि तुलसी दिवसजीले सोध्नुभयो । यहाँ केके पाइन्छ ? तपाईंको.. केक आइटम र चियाकफी पाइन्छ । अरू ? तपाईंको सबै पाइन्छ । त्यसबाहेक ? तपाईंको..नास्ता पनि पाइन्छ । के हो भाइ तिमी त हरेक वाक्यमा तपाईंको..तपाईंको मात्रै भन्छौ त ? तिनले हाँसोको फोहोरा थाम्नै सकिएन । होइन हजुर मेरो त थेगो नै तपाईंको । बोल्ने बेला थाहै हुँदैन । अरूले मात्रै थाहा हुनेरहेछ । प्रायः धादिङबासीको थेगो नै तपाईंको प्रयोग हुन्छ । तपाईंको.. केरे.. जस्ता थेगो प्रयोग गर्ने मान्छे एकहप्ता मेरो संगत गर्नु सबै खतम हुन्छ । कवि तुलसी दिवस कट्किंदै प्रस्तुत भए । त्यसपछि बोल्दा उनी सतर्क भएर बोल्न थाले । परिचयको क्रममा उनी ललितपुर कुपन्डोलको एउटा होटेलमा धेरै बर्षदेखी केक बनाउँने सेफ नै रहेछ । उनै जगदिश उप्रेती आफ्नै घरमा सन्चालित  केक पसलका मालिक थिए । उनी हँसिलो र मिजासिला थिए ।

हामीले केक अर्डर गर्यौं । संयोग त्यसैदिन कवि सुनिताको जन्मदिन परेछ । आधा सेतो क्रिम केक काट्दै ह्यापी बर्थ डे भन्दै चिया पसलमा फोटो खिचेर उनको जन्मदिन मनायौं । ओहो तपाईंको केक त सारै मीठो रहेछ भन्दै हामी सबैजनाले थेगो प्रयोग गर्न थाल्यौं । भोलि फर्किने बेला फेरि आउँला भन्दै हामी गन्तब्यतिर लाग्यौं । गल्छी पुग्दा साँझले छोप्दै थिए । साहित्यिक र समसामयिक विषयमा प्रसंग उजागर गर्दै गयौं ।  

अबको समय भानुभक्त र देवकोटाको समय होइन । अवको समय हाम्रो आफ्नै समय हो एडभान्स टेक्नोलोजीको जमानामा कम्पिट गर्न सक्नुपर्दछ । आत्मसम्मानका साथ आफ्नो खूबी र क्षमताको प्रदर्शन गर्न सक्ने सामथ्र्य राख्नुपर्दछ, हुन जरुरी छ, लेखक कविले । मलाई लागेको कुरा कसैले रोक्न र छेक्न सक्दैन भन्दै विगत वर्तमान र भविष्यतको समेत चिन्तन व्यक्त गरे श्रद्धेय कविज्यूले । मिठास सम्वादको धूनमा बैरेनी पुगेको पत्तै पाएन । रातले राज गर्दै थिए । कारको सिसा खोल्दा बास बस्दै गरेका कीराफट्याङ्ग्राहरूका कर्कस धुनले कानलाई संगीतमय बनाउँथे । हामी पनि बासकै धूनको रफ्तारमा थियौं । नलाङ टेकेपछि उकालो घुम्तीमा कवि सुनिताले रोक्नु भन्ने आदेश आएपछि हत्त न पत्त ब्रेक दबाए । सुनसान अँध्यारोमा बाहिर निस्केर बाक्न थाले दिउँसोको व्ह्याट ब्रेडहरू सबै निस्के । लङ टुरको नमजा यिनै हुन भन्न थाले । यात्रामा यस्तो हुनु अस्वभाविक होइन चिन्ता नगर्नु फेरि वान्ता आयो भने रोकुला भन्दै बिस्तारै बढ्दै गयौं । चोर औंला तेर्स्याउँदै उनले दिदीको घर देखाइन् । ठीक बाटामाथि उनैले बैना गरिसकेको जग्गा पनि देखाइन् । हामीलाई अँध्यारोमा ठम्याउन कठिन थियो । धादिङ बेसीको बीच बजार पुग्यौं अमृता र प्राप्ति हाम्रै प्रतिक्षारत थिए । होटल सोल्टी पिसफुल मिलनटोलको आँगन पुग्यौं । घडीले बेलुकीको ७ ः४५ बजाउदै थिए । काठमाडौदेखि बैरेनी, कुमपुर नलाङ हुँदै धादिङबेसी ८४ किलोमिटरको यात्रा ६ घण्टा ४५ मिनेटमा गन्तव्ययमा पुग्न सफल भयौं । आयोजकहरूले हाम्रा लागि होटल रिजर्भ गरिसकेका रहेछ । सबैजना आआफ्नो झोला च्याप्दै कोठातिर लाग्यौं । एकछिनपछि कवि देवदास र म होटेलकै एकजना भाइ लिएर कार पार्किङ गरेर फर्क्यौ । श्रद्धेय कवि दिवस होटेलको लवीमा एकजना स्थानिय शिक्षासेवी साहित्यप्रेमीसँग भलाकुसारी गर्दै थिए । ती शिक्षासेवीले श्रद्धाकासाथ गुरु भन्दै सम्बोधन गरिरहेका थिए ।  खाना तयार भयो भन्दै बोलाउन थाले । सार्है मीठो रहेछ अलिकति चामल लिएर जानुपर्ला भन्दै शितल कादम्बिनीले सोधिन् तर उनीहरूले पनि किनेर नै ल्याउने रहेछ । सबैजनाले थपीथपी खायौं । स्वादिलो खानाको निक्कै चर्चा चल्यो । सामान्यतया सुन्दर राम्रो र मीठो चिजको नै बढी गुनगान हुने गर्दछ । यसमा मानवीय गुण र स्वभाव पनि जोडिएको हुन्छ ।  

खाना खाइसकेपछि सबैजना आआफ्नो कोठातिर लाग्यौं । थकाइले लखतरान ज्यान कति बेला ढलौझैं भइरहेको थियो । शहर निदाउने तरखरमा थिए । शून्यताले डेरा जमाउँदै थिए । बेलुकीको आठ बजेदेखि नै शहर सुनसान हुने आदत रहेछ । नयाँ ठाउँ र परिवेशमा मनमा एकप्रकारको उमंग  र जोस थियो । कताकता भित्रभित्रै काउकुती लागिरहेको थियो । निद्रादेवीले छोपेको पत्तै पाएन । रातभरि च्याँखुरी जोडी निगालो घारीमा बैंसको गीत गाउँदै रसलीलामा लिप्त हुँदै छमछमी नाचिरहेको थियो । जोश र जाँगरले झोसिरहेको थियो भने मन पुलकित । एक्कासी झलस्य बिउँझियो छाँगाबाट खसे झैं भयो, धत सपनापो रहेछ । बिपनाझैं लागिरहेको थियो । सपनाको ती सुन्दर काण्डले मन उमंगित बनाइरह्यो । कतिपय सपना बिपना भइदिए कति मीठो हुँदोहोला । कल्पिए, हुन त सपना र कल्पनामा रमाउँदा पनि बडो आनन्द लाग्छ । हातखुट्टा गलेझैं भयो । आइफोन घडीमा रातको २ः ३५ बज्दै थिए । त्यसपछि निदाउनै सकिन । चरी गुँडैमा, मेरो मायालाई भेटियो सोल्टी मोडैमा भन्दै कर्णल, धमाका र सनई बाजा घन्कियो खुला सडकमा । बेतोडको नाचगान र संगीतको धूनले सुनसान बजारलाई बिउँझाइदियो । हुन त हामी पनि सोल्टी होटेलको ओछयानमै थियौं । पौने चार बज्दै थिए । झ्यालबाट चियाए दुलही लिन गइरहेको जन्ती टोली रहेछ ।

चिसो बिहानीले सुसेल्दै थिए । सात बजेसम्म ओछ्यानमै थिए । श्रद्धेय कवि दिवसले फोन गर्दा शौचालयमा थिए । हतारहतार अर्धस्नान गरेर ओर्ले । चिया र नास्ता लिइसकेपछि हामी कार्यक्रमस्थल नीलकण्ठ बहुमुखी क्याम्पसतिर लाग्यौं । ओ नायक पुस्तकले भरिएको कार्टुन बक्स बोक्दै हामी कार्यक्रम स्थल पुग्यौं । प्रमुख अतिथि कवि तुलसी दिवसज्यूको प्रमुख आतिथ्यतामा आसन ग्रहणको मेलो शुरू भयो काठमाडौंबाट पुगेका अतिथिहरू गजलकार शितल कादम्विनी, समाजसेवी एवम साहित्यकार बिकु लामा, ओ नायकका लेखक सुनिता खनाल, कवि एवं उर्वरा फाउण्डेशनका अध्यक्ष देवकी अभिलाषी, धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश तिमिल्सिना लगायत आसनग्रबाट शुरू भएको कार्यक्रममा स्वागत मन्तव्यसहित कवि अमृता स्मृतिले मालिक शीर्षकका कविता, ओ नायकका लेखक कवि सुनिता खनालले आफ्नै कृतिबाट दुईथान कविता, बिकु लामाले सपनाको ट्रान्जिट्मा, कवि देवकी अभिलाषीले पसीनाको रङ कविता र चर्चित गजलकार शितल कादम्विनीले मन्तव्य सहित गजल वाचन गरिन । कार्यक्रमको बीचबीचमा स्थानिय कवि, गजलकार र बिध्यार्थीहरूले विभिन्न रचनाहरू वाचन गरे । नलाङकै शिक्षिका पार्वती पौड्याल सुनिताको विषयमा शुभकामना सन्देशसहित कविता वाचन गरिन् । उनी निकै भावुक भइन् । डा. नविन बन्धु पहाडीले ओ नायक कृति समग्रमा राम्रो भए पनि बौद्धिक बोझ बढी भएको भन्दै टिप्पणी गरे ।  

मन्तव्इको क्रममा प्रमुख अतिथि श्रद्धेय कवि तुलसी दिवसज्यूले “विथ ड्यू रेस्पेक्ट” भन्दै डा. नविन बन्धु पहाडीलाई तोकेरै तपाईंले त्यसरी ओ नायक कृतिमाथि गलत ढंगले टिप्पणी र व्याख्या गर्न पाइदैन भन्दै कडा रूपमा प्रस्तुत भए । लेखकको आफ्नो निजत्व, भाव र विचार हुन्छ । त्यसैले कोही कसैले पनि विद्यालय विश्वविद्यालयमा पढाउने जस्तैगरी कुनै पनि कृतिमाथि गलत ढंगले व्याख्या, विश्लेषण र टिप्पणी गर्ने अधिकार कसैलाई छैन र पाइँदैन पनि । डा. पहाडीको चेहेरा रातो न पिरो देखिन्थे । स्रष्टा कवि लेखक जहिले पनि पहिलो बेन्चमा हुन्छ भने समालोचक, समीक्षकहरू दोस्रो बेन्चमा अर्थात दोस्रो दर्जाका हुन यसर्थ समीक्षकहरू आफू नलेख्ने अनि अर्काले लेखेको कृतिमाथि टिप्प्णी गरेर फूर्ति गरिरहनु जरुरी छैन, आवश्यक पनि छैन । कवितालाई परिभाषाले जनाउने र चिनाउनेभन्दा कवितालाई कविताकै रूपमा हेर्ने दृष्टिकोण विकसित गर्नु अनिवार्य आवश्यक छ । म कविता लेखेरै विश्वको तीन चौथाइ भूमि भ्रमण गरिसकेको व्यक्ति हुँ र आफूले आर्जन गरेको ज्ञान सीपलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्दछ भन्दै प्रेरणात्मक भनाइका साथ जिन्दगी र लुगा भन्ने चर्चित कविता वाचनका साथ गर्दै बीट मारे । दिवसज्यूको चिन्तन र विचारलाई हामी लेखक कविहरुले पनि ग्रहण र आत्मसात् गर्नुपर्दछ भन्ने लाग्छ । राष्ट्र तथा अन्तरराष्ट्रिय जगतमा ख्याति प्राप्त व्यक्तित्व प्राज्ञ र कवि एवं संस्कृतिविद दिवसज्यूमा भएको आत्मविश्वास जोश र जाँगरले जो कसैलाई पनि मोहित र उर्जाशील बनाउँदछ । चिन्तन र चेतना भिन्न कुरा हुन् तर यिनै भिन्नभित्र पनि भिन्नै पहिचान, अस्तित्वकृष्ट, क्षमतावान् र शक्तिशाली व्यक्तित्व दिवसज्यू ।

स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखाका अध्यक्ष हरिशरण अर्यालले संचालन गरेको कार्यक्रममा सभापति देवीप्रसाद अधिकारीको मन्तव्यका साथ सम्पन्न कार्यक्रममा स्थानीय व्यक्तित्वहरू, विद्यायार्थी, शिक्षक शिक्षिका, समाजसेवी एवं साहित्यिक अनुरागीहरूको उपस्थिति थिए । ओ नायक परिचर्चा कार्यक्रम स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखा र पब्लिक क्याम्पस प्राध्यापक संघको संयुक्त आयोजनामा भएको थियो । सामुहिक तस्वीर खिचेर हामी सोल्टी होटेलतिर लाग्यौं । भोजन लिदै गर्दा एकजना चिरमिरे आधबैसे महिला मुस्कानसहित तुलसी दिवस सरलाई नमस्ते गरिन ठम्याउन नसकेपछि मेरो नाम कसैले नसुनोस् भन्दै कानमा गएर खुसक्क सुनाइन तर हामीले कानेखुसी सुन्यौं । हुन त हरेक मानिसको आआफ्नै शीलस्वभाव हुन्छन् । हाम्रो समूहले पनि उनीसँग चिन्ने र चिन्नुपर्छ भन्ने चेष्ट राखेनौं । विवेकशील साझा पार्टीका किशोर थापा पनि सोल्टी होटेलमै भेट भयो । तुलसी सरसँग चिरपरिचित रहेछ । सामान्य अनौपचारिक संवादपछि हिजोकै पोकापन्तरा गाडीमा कोच्दै पिकान्टोले बाटो ततायो । समयको  घडीले तुना कस्दै थिए । बिहानको पौने बार बजे काठमडौ फिर्ती यात्रा शुरू भयो । दिन छिपिदै थियो । बेंसीको तातो हावाले सबैजनाको गाला राताराता बनाएका थिए । पिकाण्टो राजमार्गको छात्तीमा बुट बजार्दै आफ्नै गतिमा वेगले दौडिरहेको थियो । हाम्रो सम्वादमा क्रम भंगता भइरहन्थ्यो । दुई दिनमै लोगो स्थापित गर्न सफल तपाईं थेगो सबैजनाको मुखमै झुन्डिरहेको थियो । तपाईं थेगोमा सबैभन्दा मिठासपूर्ण रूपमा तुलसी सर नै प्रस्तुत हुन्थ्यो । बोल्दा पनि कविता नै वाचन गरेजस्तै । हाँस्दा पनि कविता वाचन गर्न लागे जस्तो । खुल्ला राजमार्गमा अनगिन्ती सवारी साधनहरू तँछाडमछाडमै व्यस्त थिए । पिकाण्टो पनि रफ्तारमा हिजोकै बाटो टिप्नै व्यस्त । बेलाबखत एक्सिलेटरले स्पीड रेखा असीभन्दा माथि नै पुरयाउँथ्यो । वेगमा नियन्त्रण गर्न गार्हो नै हुन्थ्यो । ठीक चार बजे हिजोकै चिया पसलमा पुग्यौं । आज फेरि तपाईंको चिया कफी खाना आएको, तुलसी सरले ठट्यौउली गर्दै भने । हिजोकै कुरा सम्झेर पसले लाजले भुतुक्कै देखिन्थे । चियाकफीका साथ केहीबेरपछि नौबिसेको यु बि स्टाफ होटल सिमबजारलाई ओझेल पार्दै उकालो लाग्यौं । गजलकार कादाम्विनी, कवि देवकी र सुनिता पनि सारै मिठासपूर्वक उही थेगो उच्चारित गरिरहन्थ्यो । कलंकी रिंगरोडको घाँटीमा आइपुग्दा अपरिचित नम्बरबाट फोन आयो एकहातले स्टेरिङ गुमाउँदै उठाएँ । शालीन र भलादमी स्वरमा बिकुजी म श्रीओम रोदन । तपाईंसँगै तुलसी दिवस हुनुहुन्छ रे । यसो बोल्न मिल्छ ? हस् हुन्छ नि सर भन्दै फोन तुलसी सरको हातमा थमाइदिएँ । साहित्यिक पत्रिका मधुपर्कको अन्तर्वार्ताका लागि फोन आएको रहेछ । हामी धूलो माटो र प्रदूषणको महानगर शहरमा प्रवेश गर्यौ । उही उकुसमुकुस र अस्तव्यस्त शुरू भयो । तुलसी सरको निवास पुग्दा बेलुकीको पौने छ बज्दै थिए । आत्मियका साथ छुट्टियौं । कवि देवकी, सुनिता र गजलकार शितल कादाम्विनी बानेश्वरबाट छुट्टियौं । यात्राको पूर्णविराम समय सन्ध्याकालतिर दौडिदै थिए । जीवन र समय एकतर्फी हो बगिरहने पानीजस्तै चाहेर पनि कहिल्यै फर्केर आउँदैन । बितेका समय र दिनलाई खोजेर कहाँ पाइन्छ र ? यात्रासँग गाँसिएका अनगिन्ती सम्झनाहरू ऊर्जाशील उत्प्रेरणात्मक साथै मानसपटलमा जीवन्त रहिरहन्छ । हरेक समय अनि समय भित्रका यात्रा ।

प्रकाशित: २५ श्रावण २०७७ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App