१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेपाल रानाभाट ‘सुबोध’का १० मुक्तक

मुक्तक

नेपाल रानाभाट ‘सुबोध’

हेर्दा हेर्दै मनुष्यको जिन्दगानी कस्तो भयो

आफ्नैसंग छुवाछुत र विभेद गरे जस्तो भयो  

पशुपन्छी, माछा बरू ढुक्कसंग बॉच्न थाले

मनुष्यको जिन्दगानी तिनको भन्दा सस्तो भयो।  

०००

कर्तब्यलाई बिर्सिएर धन कमाउने धूनमा लाग्दा

घामको किरण बिर्सिएर पूर्णिमाको जूनमा लाग्दा

आख़िर मैं हुँ भन्नेलाई नि बचाएन सम्पत्तिले

के भो खोइ त ज़िन्दगीभर हिरा मोती सुनमा लाग्दा।

०००

धुन्धुकारी भए भन्थे फ़ेसबुक मात्रै चलाएर

एकान्तमै बास छ भन्थे हातमा मोवाइल खेलाएर

अहिले त्यसकै संहारामा दिन बिताउने मान्छेहरू

आफ्नै घरको कुइनेटोमा ठण्डाराम छन् सेलाएर।  

०००

पशुपंक्षी आश्चर्य छन् मान्छेहरूको हुल नदेख्दा

सड़क गल्ली चिडियाघरमा चहलपहल र हिडडूल नदेख्दा

सन्ध्याकालीन आरती र शंख घण्टी बज्नै छाडे

स्तब्ध छन् मन्दिर पनि  धूप अक्षता र फूल नदेख्दा।  

०००

धेरै गरें सम्मान तिम्लाई अब तल झर्न नपरोस

आक्रोस बोकी दूरी तोड्दै तिम्रो छेउमा पर्न नपरोस

मेचीदेखि महाकाली पैदल यात्रै सही छ मलाई

तर मेरा घरका जहान भोकमरीले मर्न नपरोस।  

०००

चिच्याएर आफैभित्र कराउंदैछन् मान्छेहरू

चौघेराको शून्यतामा हराउदैछन मान्छेहरू

इच्छाहरू बन्धक राखी, जबर्जस्त थुनिएर

आफ्नै घरमा बस्दा पनि डराउदैछन् मान्छेहरू।  

०००

ज्ञान मर्छ हॉसी हॉसी विज्ञान रोइ मर्छ भन्थे

तर कोही त विज्ञानले नै विश्व विजय गर्छ भन्थे

सिंगै विश्व कब्जामा छ, नाथे भाइरस को हो र त्यो

शक्ति राष्ट्र ढुक्क हुँदै जे जे आउँछ टर्छ भन्थे।  

०००

चमत्कार नै लाग्थ्यो मान्छे चन्द्रमामा टेक्दाखेरि  

आकास बीचमै असीना र घाम पानीलाई छेक्दाखेरी

तर आज विश्व चकित, जाबो एउटा भाइरससंग

गोला, बारूद, मिसाइल पनि हार खाएको देख्दाखेरि।  

०००

कहिले हल्ला प्रलयको कहिले सृष्टि मर्छ भन्थे

मध्यरातमा आकाशबाट के के जाति छर्छ भन्थे

तर्साउनलाई एक से एक छन् जिउँदा भूत र पिचासहरू  

उन्तीस अप्रिल विश्वसंहार गर्ने ढुंगा झर्छ भन्थे।  

०००

झुट्टा बोल्ने पाखण्डीको मुखको दॉतै झार्ने मन छ

नाड्गै पारी जिउंदै शरीर तातो तेलमा तार्ने मन छ

भेट्न पाए सबका सामू नड्ग्याएर तातो घाममा

दोष नलागे तडपाईतडपाई चिमोटेरै मार्ने मन छ।                   

०००

प्रकाशित: २३ श्रावण २०७७ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App