३० श्रावण २०७७ शुक्रबार
कला

प्रकृति तिमीलाई प्रणाम

निबन्ध

प्रकृति तिमीमाथिको मेरो यो सानो आलेख न्यानो चिन्तन पनि हो । तिमीसँग सप्रेम सन्निकटताका शब्दहरू पनि हो । तिमीमाथि प्रणय–प्रतिवेदनको प्रमाण पनि हो । मूलतः मेरो निबन्धको सुन्दर एक अनुच्छेद पनि हो । तिम्रा रूपहरू, रङका असीमित आयामहरू र कल्पनातीत् दृश्य–स्वरूपमा म हराएर आफैंलाई खोजिरहेको हुन्छु । प्रकृति तिम्रा अङ्ग–अवयवमा आनन्दको अनुभूतिहरू सँगाल्दै जीवनको उत्सव मनाउँछु । तिमीमै आश्रित कैयौं जीवहरूको बेग्लै संसार देखेर मैलै अर्काे हार्दिकताको भाव भेटेको छु । प्रकृति तिमीबाटै प्रेरणा लिएर जीवनको बिहान हिँड्छु । तिमीबाटै सकारात्मक सन्देश बोकेर रङहरूको मित्रवत् सुन्दरतामा वशीभूत हुन्छु । तिमीमा कुनै जातीय विभेद छैन । राजनीतिको रङ पनि छैन । असामाजिक असन्तुलन पनि छैन । त्यसैले सुन्दरताको खानी प्रकृति तिमीलाई मेरो प्रणाम !

मुस्कानमय संवादमा रूपान्तरित गर्दछ । हेरौँ हेरिरहौँ । रमाऊ र रमाइरहाँै । यही हो हाम्रो प्यारो प्रकृति । यही हो हाम्रो प्यारो धरती । यही हो हाम्रो सुन्दर जिन्दगी । हरेक पल र हरेक क्षण कम महत्वपूर्ण छैनन् । हाम्रा हरेक समय उत्तिकै मूल्यवान् हुन्छन् । तिनलाई सहीरूपमा सदुपयोग गर्ने प्रयत्नले जीवनलाई यिनै प्रकृतिजस्तै हराभरा पार्दै आनन्दित पारिराख्ने निश्चित छ ।

प्रकृति तिमी नजिक हुँदा टाढा झन् टाढा । तिमी टाढा हुँदा झन् नजिक । प्रकृति म तिमीसँग साँच्चै सन्निकट हुन सकिनँ । तिमीसँग साक्षात्कार हुन सकिनँ । तर तिम्रो साथ छोड्न पनि सकिनँ । तिमी यति प्रेरणादायी, यति मायालु कि म तिमीबाट टाढिएर एक्लै रमाउन सकिनँ । प्रकृतिले आफू सुन्दर बनेर सबैमा खुसी निम्त्याएको हो कि खुसीको रमाइलोसँगै प्रकृति पनि मनोहर बनेको हो !? यस्तोमा रमाउन नसक्नेले प्रकृति र जिन्दगीलाई कसरी बुझ्न सक्ला र खै ! मनमोहक दृश्य, अनुकूल वातावरण अनि फुर्सदिलो समय । सिर्जनात्मक कर्मका लागि यति नै काफी ऊर्जा उर्मान । तर मनभित्रैबाट प्रस्फुटनको प्रवाह नभई अभिव्यक्तिको सम्प्रेषण र प्रगतिले फड्को मार्न असम्भव नै हुँदोरहेछ । यस्तो बेला हरेक क्षण प्रकृति तिमी नै हौ प्रेरणा । अन्न–ऐश्वर्य पनि तिमी । प्रेरणा, प्रभाव र प्रफुल्लता सबै तिमी ।

प्रकृति तिमीलाई प्रणाम ! अनेकौं लतालहरा, खोलाखहरे, बोटवनस्पति । कठोर चट्टानमा पनि सुकोमल सुन्दर फूल फुलाउने । सुख्खा बगरमा पनि जिन्दगी रमाउने । तिमीमै छ ऊर्जा–उन्नतिका अजस्र स्रोत–साधन समग्र । प्रकृति तिमी सृष्टिको पहिचान । प्रकृति तिमी प्रेरणाको स्रोत । तिमी नै सिर्जना–सफलताको पहिलो बिहानी । तिमीलाई नै सतत् प्रणाम गर्दै तिमीबाटै प्रेरणा र प्रभाव लिएर सार्थक जीवनयापनको अभ्यासमा निरन्तर निमग्न रहिरहन्छु । जय प्रकृति ! जय जिन्दगी !

प्रकृतिलाई कसैले सिँगार्नु पर्दैन । प्रकृति आफैँ सुन्दर छ । यद्यपि प्रकृतिलाई सजाउने बहानामा हामीले विनाश निम्ताएका छौँ । हामी स्वयं पनि आफैँलाई चिन्न र बुझ्न नसकेर कतै अलमलमा छौँ । कतै अन्योलमा छौँ । आफ्नै इज्जत र इमानदारितालाई क्रमशः तिलाञ्जली दिइरहेका छौं । लोभीपापी मानसिकतामा स्वार्थी बनिरहेका छौँ ।

शीत र हुस्सु लागेको चिसो–चिसो बिहानीमा न्यानो सद्भावको शुभेच्छा । हुस्सुले छोपेको धमिलो पाटो पन्छाउँदै त्यसभित्र लुकेको हरियाली र उज्यालोको बाटोमा सधैं अग्रसर रहौँ । हुस्सुले हैरान पार्दै बाटो र वन ढाकेका हुस्सुरूपी तगाराहरूलाई पन्छ्याउँदै पुग्नु छ अनुभूतिमय सुखद् भविष्यको उचाइमा ।

वर्तमानमा जे छ त्यसैमा चित्त बुझाउनु उत्तम हुन्छ । यसो गर्दा जीवनमा खुसियालीको मुस्कान कायम रहिरहन्छ । बढी महत्वाकाङ्क्षा राख्दा भएको अलिकति सुख, सन्तुष्टि र सफलता पनि शून्यमा झरेर रित्तिन कुनै समय लाग्दैन । प्रकृति जस्तै जे छ त्यसैमा सन्तुष्ट रहन सकौँ । म त प्रकृति तिम्रै जीवनका रङहरूमा रमाउन सिकिरहेको छु ।

क्षितिज यसरी टाढिँदै जान्छ कि त्यसलाई हाम्रा चक्षु चातुर्यले चिनिहाल्दछ । जहाँ धमिलिँदै गइरहेका स्मृतिहरू पुनः जागृत भएर मुस्काइरहेका हुन्छन् । ती तरेली, उकाली, भञ्ज्याङ, देउराली, भीर, कुइनेटाका अनेक पाटा र आयामहरूमा बादलुको घुम्टोले जिन्दगीको अर्काे सुन्दर प्रतिविम्ब प्रकट गरिदिन्छ । जहाँबाट फड्को मारेर हामीले शिखर चुम्न सकेका छौं । यी प्राकृतिक पखेराहरू, यी चञ्चल चिरिच्याँट्ट पहाडी क्षितिजका बद्लिँदो आकृतिलाई सतत् प्रणाम !

प्रकृतिको यो विराट शृङ्खला ! पहाडी तरेलीका असीमित आयाम । जिन्दगीको एक अनुपम अनुभूति । जसलाई देखेर हामीलाई खुसी लाग्छ । हेरिरहन मन पर्छ । मिठो बोल्न र हार्दिकताका हाँसो हाँस्न मन लाग्छ । यो पवित्र प्रेम हो । यही र यस्तै प्रेमिल अनुभूतिहरूले हामी र हाम्रो जिन्दगीलाई मिठो मुस्कानमय संवादमा रूपान्तरित गर्दछ । हेरौँ हेरिरहौँ । रमाऊ र रमाइरहाै‌ । यही हो हाम्रो प्यारो प्रकृति । यही हो हाम्रो प्यारो धरति । यही हो हाम्रो सुन्दर जिन्दगी । हरेक पल र हरेक क्षण कम महत्वपूर्ण छैनन् । हाम्रा हरेक समय उत्तिकै मूल्यवान् हुन्छन् । तिनलाई सहीरूपमा सदुपयोग गर्ने प्रयत्नले जीवनलाई यिनै प्रकृतिजस्तै हराभरा पार्दै आनन्दित पारिराख्ने निश्चित छ ।

प्रिय प्रकृति तिम्रो सुन्दरतामा म मदहोशी हुँदा आफूलाई बिर्सेर कतै टाढा एकान्तमा पुग्छु । अनि त्यहाँ चुपचाप जिन्दगी र प्रकृतिको विश्लेषणमा डुबुल्किन्छु । ओहो प्रकृति तिमी कति प्रिय र कति मायालु । तिमीलाई माया गरेर अघाइन्न । तिमीबाट टाढिएर कतै जान सकिँदैन । तिमी कति प्यारी । कति मायालु । प्रकृति तिमी साँच्चै नै साह्रै सुन्दर । म तिमीसँगै तिम्रै किनारमा बसेर तिम्रो रूप सौन्दर्यको बयान गरिरहन्छु ।

सौन्दर्यले भरिभराउ प्रकृति तिमीलाई प्रणाम ! यति प्रीतिकर प्रकृति । यति कलात्मक कृति । म तिमीलाई पवित्र प्रेम गर्छु । तिमीलाई माया गर्छु । माया गर्नु र मन पराउनुको पृथक परिभाषामा तिम्रो रूप–सौन्दर्य किचिमिची पार्ने होइन । तिम्रो साथमा लुटुपुटिँदै तिमीबाट प्रेममय प्रेरणा लिन्छु । मेरो मनभित्र तिम्रो सुन्दरता सजाएर राख्ने छु । तिमीलाई माया गरिरहने छु ।

प्रकृतिको अनुपम र अन्तहीन शृङ्खला । कलात्मक सुन्दरता । रङहरूमा गाढा मित्रता । दृश्यमा आनन्दको आभास । प्राकृतिक छटा–छविको सौन्दर्य–सौजन्य ! आहा ! मनमोहक आकृतिको आकर्षण । इजिप्टसियन कलाकार यास्सेर फायडको सुन्दर कलाचित्रमा प्रकृतिको पृथक सुगन्धले मुग्ध पार्छ । अन्धकारलाई हटाउँदै उज्यालो सूर्य उदाउँदै । प्रकृतिलाई रङ्गिन स्वरूपमा अनावरण गर्दै । साँच्चै कति मनोहर कलिलो बिहानको झुल्के घामले स्पर्श गरेको धरती र आकाश । जहाँ सुमधुर सौन्दर्यका भावनाहरू छताछुल्ल भइरहेका । जहाँ हार्दिकतापूर्ण प्रेमका पवित्रता सन्निहित । त्यहाँ जिवन्त जीवनले निर्धक्क खुसीहरू मनाउन पाइरहेका ।

त्यसैले हाम्रा सभ्यता र संस्कृति हो प्रकृति । हिमाल र पहाडको संस्कृति संसारको सर्वोच्च सौन्दर्य र समृद्ध संस्कृति हो । जीवन सार्थक बाँच्ने संस्कृति र संस्कार पहाड, प्रकृति, हिमालको सुन्दरताबाटै सिक्न सकिन्छ । हिमालले सिकाएको दर्शन भन्नु स्वाभिमानी जीवन हो । गतिशीलता र सकारात्मक सोच–सिर्जनाको प्रतीक पनि हो यो शिक्षा । प्रकृतिको परिवर्तनसँग साक्षात्कार हुनु अहोभाग्य पनि हो । यही साक्षात् स्वरूप र सुन्दरतालाई पछ्याउँदै जागौं । बिहानी प्रहरको हिउँदे जाडोमा अलिकति खुसीको अनुभूति बाँडौँ । अनि अलिकति सुखको संवाद सम्प्रेषण गरौँ । प्रकृतिको दिव्य प्रेरणा र प्रभाव ग्रहण गर्दै जिन्दगीको सार्थक यात्रा हिँडौंँ ।

अतः प्रकृति तिम्रो सुन्दरतामा म हराएँ । तिम्रै परिवेशमा मन्त्रमुग्ध भइदिएँ । तिमीलाई मेरो आँखामा सजाएर मनभित्र राखिराख्न चाहेँ । तिमी कति प्रिय, कति मनमोहक प्रकृति ! म तिमीमै लुटुपुटु गरिरहन्छु । धन्य तिम्रो छटा–छहरा । तिम्रो रूप सौन्दर्य । आहा मेरो मनै कति आल्हादित पार्ने तिमी । प्रकृति तिमीलाई सतत् प्रणाम मेरो । प्रकृति तिम्रो दिव्य प्रभाव र प्रेरणाले सधैँ जीवन जिवन्त रहन सकोस् ।

प्रकृति तिम्रो वर्णन गरेर सकिँदैन । हिमाली छटाजत्तिकै श्वेत, पहाडी तरेलीको फैलावट जस्तै विशालता । यसपटक यस्तै प्रकृतिसँग साक्षात्कार हुँदै मैले देखेको धर्तीलाई मेरो क्यानभासमा आकृतिबद्ध गर्नु छ । आफूले आफैंलाई पुज्दै अनि आत्मपूजाको पवित्र परम्परामा सामेल हुनु छ । वस्तुतः प्रकृति भन्नु संस्कार जस्तै अनिवार्य हो । संस्कृति जत्तिकै अपरिहार्य हो ।

अलिकति घाम तिमी, अलिकति जून, अलिकति बादल अनि शीतल–शीतल पवन । प्रकृति तिम्रै मन्द मुस्कानमा जिन्दगीको

एक रहस्य अनुसन्धान ! प्रकृति तिमी हाँस, म तिम्रो मुस्कानमय सुन्दरतामा आफूलाई सरिक गराउँछु । प्रकृतिसँग निकट हुन्छु । तिम्रै पवित्रतामा म आफूलाई समाहित गराउँदै जिन्दगीको मिठास महसुस गर्छु ।

प्रकृतिको कल्पना, परिकल्पनाले नै हो रहस्यमय अनुभूति उत्पन्न गराउने । सिर्जनात्मक गतिमा जिवन्तता ल्याउने । अर्थ, अभिप्रायमा नवीनता उद्घाटित गराउने । मेरो मनलाई शान्त, शीतलता प्रदान गर्दै सुखानुभूति सम्प्रेषण गर्ने । अन्ततः एक अलग्ग दृश्य–स्पर्शमा आँखा र मनलाई मिठास चखाउने ।

प्रकृति तिमी फक्रेर हाँसेको बेला, म तिम्रो मुस्कानमा खुसियालीको बिहान भेट्छु । यस्तै सुन्दर सौन्दर्य देऊ म जिन्दगीको उत्सव मनाउँछु । सर्वाेत्तम खुसीमा समाहित हुँदै ऊर्जा उमार्छु । वर्तमानका सारा तनावहरूलाई थिलिपितिली पारी एक अन्तहीन सिर्जना–यात्रामा प्रस्थान हुन्छु । अहिले मलाई यस्तै निश्चल, निर्मल परिवेशको निकटता अत्यन्त प्यारो लाग्छ । म यस्तै प्रकृतिको काखमा लुट्पुटिएर जिन्दगीको सर्वाेत्तम सिर्जनशील उत्सव मनाउँछु ।

आहा ! कति खुसीको दिन आज कि मौसम रमाइलो ? प्रकृति पनि मुस्कुराउँदै जिन्दगी छाम्न नजिक आइरहेछ । प्रकृतिको प्रेमिल सुगन्धले लट्ठिँदै म कल्पना मनोविम्बको उडानमा उडिरहेछु माथि–माथि ! मुख मात्रै होइन आँखासमेत हन्तकाले भइदिँदा मृगतृष्णा मन झनै प्रकृतिसँग चञ्चल हुन्छ ।

प्रकृतिको एक सुन्दर स्वरूप हिमाल पग्लिँदैमा हिउँ सकिँदैन । प्रकृति रुझ्दैमा सुन्दरता पखालिँदैन । सम्बन्धविच्छेद हुँदैमा सद्भाव सकिँदैन । माया नगर्दैमा अविश्वास गर्न मिल्दैन । माया गर्दैमा जिन्दगी नै बलिदान दिनुपर्दैन । थोरै माया पनि धेरै हुन्छ । तर धेरै मायालाई थोरै ठान्नु हुँदैन । कसैको मायालाई खेलाँची ठान्नु र त्यसमा स्वार्थ देख्नु हुन्न । माया त हिमाल जस्तै अटल र प्रकृति जस्तै सुन्दर हुन्छ । साँचो विश्वास र पवित्र प्रेम सबैभन्दा ठूलो कुरा हो ।

अतः वर्तमानमा जे छ त्यसैमा चित्त बुझाउनु उत्तम हुन्छ । यसो गर्दा जीवनमा खुसियालीको मुस्कान कायम रहिरहन्छ । बढी महत्वाकाङ्क्षा राख्दा भएको अलिकति सुख, सन्तुष्टि र सफलता पनि शून्यमा झरेर रित्तिन कुनै समय लाग्दैन । प्रकृति जस्तै जे छ त्यसैमा सन्तुष्ट रहन सकौँ । म त प्रकृति तिम्रै जीवनका रङहरूमा रमाउन सिकिरहेको छु ।

गगन सधैँ सफा भएर मुस्कुराइ रहँदा बादल नाच्दै रमाउँछ । अनि चिरिबिरीसँगै चरा निर्धक्क उड्दै माथि–माथिसम्म कावा खान्छ । यस्तो प्रकृति–परिवेशमा हाँस्दै, रमाउँदै सबै बाँच्न पाउन, समृद्धि, शान्ति, सुखको कामनामा मेरो मन स्वतः पग्लिन्छ । त्यसैले त, यस्तो प्राकृतिक आँगनमा हृदय गद–गद हुन्छ हर्षले । अन्ततः जहाँ हाँसो, त्यहाँ स्वर्ग । जहाँ स्वर्ग त्यहाँ खुसी । जहाँ खुसी त्यहाँ आहा ! जिन्दगी । आहा ! प्रकृति । उत्तम, अति उत्तम, महाउत्तम, सर्वाेत्तम प्रकृति ! शायद सुन्दर, मनोरम प्रकृतिको परिवेश भनेकै यही हो । यस्तो दिव्य प्रकृति तिमीलाई प्रणाम !

प्रकाशित: १७ श्रावण २०७७ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App