२० श्रावण २०७७ मंगलबार
कला

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

रक्षाबन्धन

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।’

अर्थात् ‘जुन रक्षासूत्र या रक्षाबन्धन (काँचो धागो) ले दैत्यराज बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दै छु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ।’

देवता र दानवहरूको युद्धमा जब दानवहरू शक्तिशाली देखिए, तब स्वर्गका राजा इन्द्र डराएर देवगुरु बृहस्पतिकहाँ पुगे र वृत्तान्त सुनाए। देवगुरु वृहस्पतिले इन्द्राणीद्वारा निर्मित रेशम धागाको डोरी (रक्षाबन्धन) लाई वैदिक विधिद्वारा मन्त्रोच्चारण गर्दै पवित्र र शक्तिशाली बनाएर इन्द्रको हातमा बाँधिदिए। त्यो दिन श्रावण शुक्ल पूर्णिमाको दिन रहेको भविष्य पुराणमा उल्लेख छ। त्यसपछि सो लडाइँमा इन्द्रले यसै मन्त्रित धागाको बलले विजय प्राप्त गरेको बताइएको छ। सोही आधारमा रक्षाबन्धन पर्व मनाइन्छ।  

हिन्दु धर्मावलम्बीहरूले प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाउने पर्व हो रक्षाबन्धन। यस पर्वलाई ऋषितर्पणी एवं जनै (यज्ञोपवित) पूर्णिमा पनि भनिन्छ।  

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्परागत मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा ‘येन बद्धो..’ भन्दै बाँध्ने परम्परा छ। रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय दिन्छ भन्ने धार्मिक विश्वास छ।

स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत महापुराणअन्तर्गत वामन अवतारको कथामा रक्षाबन्धनको प्रसंग भेटिन्छ। राजा बलीले जसले जति दानमा लिन्छ, त्यसलाई त्यति नै दान दिएर पठाउने यज्ञ गरी स्वर्ग जित्ने प्रयत्न गरेका थिए। सो समय देवताहरूसहित स्वर्गका राजा इन्द्र आफ्नो इन्द्रासन नै गुम्ने डरले रक्षार्थ भगवान् विष्णुकहाँ पुगे र प्रार्थना गरे। देवताहरूको संकट निवारण गर्न भगवान् विष्णुले वामन अवतार धारण गरी बलीबाट बचाउने वचन दिए। त्यसपछि भगवान् विष्णु ब्राह्मणको भेषमा राजा बलीकहाँ भिक्षा माग्न पुगे। विष्णुको चाल थाहा पाएका दैत्य गुरु शुक्राचार्यले रोक्न खोज्दाखोज्दै पनि बलीले आफ्नो व्रत पूरा गर्ने उद्देश्यले तीन पाइला भूमिदान गरेरै छाडे। वामनरूपी भेषधारी भगवान् विष्णुले तीन पाइलामा आकाश, पाताल र धर्ती नापेर लिए र राजा बलीलाई यसै दिन रसातल पठाइदिए। यसरी भगवान् विष्णुद्वारा बली राजाको अभिमान चूर्ण गरेको आधारमा पनि यो पर्व मनाउन थालिएको पाइन्छ।

जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ। 

सोही प्रसंगमा रसातल पुगिसकेका बलीले एक पटक आफ्नो भक्तिले भगवान् विष्णुलाई सधैं आफूसामु रहन वचनबद्ध गराए। वचनमा हारेकाले भगवान् विष्णु रसातलमै बस्न बाध्य भए। यता विष्णु वैकुण्ठ नफर्किएपछि लक्ष्मीलाई शंका लाग्यो र उनले नारदलाई कुनै उपाय खोज्न आग्रह गरिन्। नारदजीको उपायअनुसार लक्ष्मीले राजा बलीसँग गएर उनलाई रक्षाबन्धन बाँधेर आफ्नो भाइ बनाइन्, बलीलाई खुसी पारिन्। खुसी भएका बलीले पनि आफ्नी दिदी लक्ष्मीलाई इच्छा लागेको वर माग्न भने। अवसरको मौका छोपी वचनबद्ध गराई लक्ष्मीले पनि वरको रूपमा विष्णुलाई वैकुण्ठ फर्काइदिन भनिन् र उनी भगवान् विष्णुलाई लिएर फर्किइन्, बलीलाई रक्षाबन्धन बाँधेको दिन पनि श्रावण शुक्ल पूर्णिमा भएको उल्लेख छ।  

विष्णुपुराणको अर्को प्रसंगमा आदिशक्तिको उपासनाबाट हयग्रीव (टाउको र घाँटी घोडाको जस्तो र शरीर मान्छेको जस्तो) दैत्यले हयग्रीवबाट मात्र मृत्यु होस् भन्ने वर पायो र वेदादि शास्त्र र धर्मको विनाश गर्न थाल्यो। ब्रह्मासहित देवताहरू आजित भएपछि भगवान् विष्णुले योगमायाको शक्तिद्वारा हयग्रीवकै रूप लिएर यसै दिन सो दैत्यको विनाश गरी ब्रह्मालाई वेद फर्काइदिएको उल्लेख छ। तसर्थ वेदको रक्षा गरिएको हुनाले श्रावण शुक्लपूर्णिमाको दिनलाई वेदरक्षा दिवस या वेद जयन्तीका रूपमा पनि मनाइन्छ।

यही रक्षासूत्र पीपलको पूजा गरी बाँध्नाले शनिसंकटाबाट हुने अनिष्ट निवारण हुन्छ भन्ने ज्योतिषीय मान्यताका आधारमा शनिबार पीपललाई रक्षासूत्र बाँधिन्छ। यसले प्रकृति संरक्षणमा वृक्षको पूजा गर्ने चलन चलेको पनि मान्न सकिन्छ। यसका साथै प्रत्येक देवकार्यमा ‘रक्षोहणं वलगहनं...’ मन्त्रले तामाको थाली वा दुनामा रक्षाबन्धनसँगै दूबो, सस्र्यूं, दही, तिलजौ राखी चन्दन, अक्षता, फूलआदिले पूजा गर्ने र कलशमाथि राख्ने चलन  छ। सो रक्षाबन्धन देवकार्य विसर्जन गरेपछि वैदिक गुरु–पुरोहितले यजमानको नाडीमा मन्त्रोच्चारणसहित बाँध्ने गर्छन्। यसका साथै यस रक्षासूत्रले गृहमण्डलको पनि रक्षा गर्ने भएकाले घरवरिपरि फन्को मारेर बाँध्ने चलन रहेको छ।

ऋषि तर्पणी/जनै पूर्णिमा
यस दिन तागाधारीहरूले वर्षभरिका लागि जनै (यज्ञोपवीत) मन्त्रिने र आफ्नो जनै फेर्ने भएकाले जनै पूर्णिमा भनिएको हो।

साथै, यस दिन कात्यायनआदि आफ्ना शाखासूत्रका ऋषिहरूलाई खुसी पार्नका लागि कुशनिर्मित ऋषिहरूको तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पूर्णिमा पनि भनिन्छ।  

अघिल्लो दिन (श्रावण कृष्ण चतुर्दशी) हातखुट्टाका नङ काट्ने, कपाल खौरने र चोखोनितो गरी एक छाक मात्र खाएर बस्ने चलन छ। यसरी एकछाकी व्रत बसेकाहरूले पूर्णिमाका दिन बिहानै नित्यकर्म गरिसकेपछि पोखरी, तालतलैया, नदी वा कुण्डआदि जलाशयमा गई सामूहिक रूपमा संकल्प एवं मन्त्रोच्चारणपूर्वक स्नान गर्दछन्। स्नान गर्दा पञ्चगव्य (गाईको दूध, दही, घिउ, गउत र गोबर), भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गर्दछन्। यसरी गरिएको स्नानलाई गणस्नान वा श्रावणी स्नान भनिन्छ र यस दिन गरिने कर्मलाई उपाकर्म भनिने पण्डित बलराम सिग्देल बताउँछन्।  

उनका अनुसार पञ्चतत्वमिश्रित माटो, भस्म र पञ्चगव्य शरीर, मन र घर शुद्धिका लागि महत्पूर्ण मानिन्छ। यसैकारण यी सामग्रीले नुहाउँदा शारीरिक तथा मानसिक शुद्धि हुने धार्मिक मान्यता रहेको छ।  

स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ।  श्रावणी गर्दा सुरुमा दियो, कलश, गणेश पूजा गर्ने, रुद्राभिषेक र रुद्रीपाठ गर्ने, थालीमा अरुन्धतीसहित कुशनिर्मित सप्त ऋषि (कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ट र विश्वामित्र) को पूजा गर्ने चलन छ।  

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनाद्
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम्।

अर्थात् ब्रह्मप्राप्तिका सहायक, वेदादि शास्त्रतत्वको सूचक भएकाले जनैलाई यज्ञोपवीत वा यज्ञसूत्र भनेर शास्त्रले परिभाषित गरेको छ। शिखाबन्धन र जनै धारणलाई धार्मिक कार्यमा अनिवार्य मानिएको छ। जनै नलगाउने जातजातिले पनि उत्तरीय वस्त्र (काँधमा लगाइने शुद्ध वस्त्र) लगाउने चलन छ। शास्त्रमा जनै लगाउने, गायत्री जप्नुपर्ने, श्रावणी वा उपाकर्म गर्ने, देव तर्पण, पितृतर्पण, ऋषि तर्पण गर्ने र जनै दान गर्नेजस्ता नित्यकर्म उल्लेख गरिएको छ।  

जनै ६ सूते धागो (काँचो धागो) लाई दुई बेग्लाबेग्लै शिखा पारेर एक ठाउँमा राखी तयार पारिएको हुन्छ। जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ।  

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्परागत मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा ‘येन बद्धो..’ भन्दै बाँध्ने परम्परा छ। रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय दिन्छ भन्ने धार्मिक विश्वास छ।

जनैका ती डोरामा तन्तु देवता भनेर पूजा गरिन्छ। ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम, विश्वेदेवा गरी नौवटा डोरामा नौवटा देवताको पूजा गरिन्छ। साथै जनैका ग्रन्थिमा ब्रह्मा, विष्णु र रुद्र देवताको पूजा गरिन्छ।  

पूर्णिमाका दिन बिहानै अभिमन्त्रित जनै आफ्ना पितृ, देवता र ब्राह्मणहरूलाई दान गरिसकेपछि ॐ ऋग्वेदाय स्वाहा, ॐ यजुर्वेदाय स्वाहा, ॐ सामवेदाय स्वाहा भनी तीनपटक आचमन गर्ने र ॐ अथर्ववेदाय स्वाहा भनेर हात धुने विधान छ। अथवा, ॐ केशवाय नमः स्वाहा, ॐ नारायणाय नमः स्वाहा, ॐ माधवाय नमः स्वाहा भनेर तीनपटक आचमन गर्ने र ॐ गोविन्दाय नमः स्वाहा भनेर हात धुने र संकल्प गर्नुपर्ने विधान छ।  

‘ॐ यज्ञोपवीतमिति मन्त्रस्य मरमेष्ठी ऋषिः लिङ्गोक्ता देवता त्रिष्टुप् छन्दः यज्ञोपवीतधारणे विनियोगः’  भनेर संकल्प गरिसकेपछि  यज्ञोपवीत धारण गरिन्छ।  

यजमानहरू आफ्ना गुरु वा पुरोहितकहाँ वा गुरुपुरोहित आफ्ना यजमानहरूकहाँ गई मन्त्रिएको यज्ञोपवीत र रक्षाबन्धन धारण गर्ने÷गराउने चलन पनि रहेको छ। कतिपय ठाउँमा भान्जा वा ज्वाइँका हातबाट जनै फेर्ने चलन पनि रहेको पाइन्छ। सो बाँधिएको धागो निकालेर गाईतिहारका दिन माला उनेर गाईलाई लगाइदिने अथवा पुच्छरमा बाँधिदिने चलन छ भने जनै पुरानो जनैलाई स्वच्छ वा पवित्र ठाउँमा ॐ भनेर सेलाउने र आचमन गरी १००८, १०८ वा १० पटक गायत्री मन्त्र जप गर्नुपर्ने विधान छ।  

यस दिन अभिमन्त्रित जनै वर्षभर गरिने धार्मिक कार्यमा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोगी मानिन्छ। कुनै पनि नित्य–नैमित्तिक वा काम्य धार्मिक तथा पितृकार्य, जुठो, सूतक आदिमा चोखिँदा यही मन्त्रिएको यज्ञोपवीत फेरे शुद्ध भइन्छ भन्ने वैदिक मान्यता रहेको छ। बाल्यकालमै बटुकको विधिपूर्वक व्रतबन्ध गरी गुरुपुरोहितद्वारा गायत्री मन्त्र सुनाइन्छ। त्यसपछि उसलाई निष्ठापूर्वक धर्म र सत्यको बाटो लाग्न दृढ संकल्प गराउँदै देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर जनै ग्रहण गराइन्छ।  

उपनयन वा व्रतबन्ध सकेका ब्राह्मण या क्षत्रीय मात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मावलम्बलीले पनि जनै अरूलाई लगाइदिन र आफूले लगाउन सक्छन्। गायत्री मन्त्रोच्चारण गर्दै मन्त्रिएका यज्ञोपवीत धारण गर्नाले सूर्य भगवान्को ज्योतिको प्रभावले प्रत्यक्ष ऊर्जा प्राप्त हुने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक शक्ति वृद्धि हुने विश्वास गरिन्छ।

यज्ञोपवीतको शक्तिले ब्राह्मण मार्ग या सत्यको बाटोमा लाग्न प्रेरित गर्छ भनिएको छ। ब्राह्मण मार्ग भन्नाले जन्मले होइन, कर्मले प्राप्त हुने मार्ग हो। शास्त्रमा ‘जन्मना जायते शुद्र कर्मणा द्विज उचयते’ अर्थात् जन्मँदा शूद्र भए पनि कर्मले मानिस ब्राह्मण हुन्छ भनिएको छ। जो दुष्ट हुन्छ, त्यो नै शूद्र हो भनिएको छ। आत्मिक शुद्धता, जनहितमा समर्पित अनि अध्यनशीलताको मार्ग नै ब्राह्मण मार्ग हो। जुनसुकै धर्म या जातिको भए पनि अध्यनशीलता र आत्मिक शुद्धताले मानिस ब्राह्मण मार्गमा लाग्न सक्दछ।

यस दिन काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर, धनुषसागर,  खोटाङको हलेसी, जुम्लाको दानसाधु, सोलुखुम्बुको दूधकुण्ड, महादेवस्थान, त्रिवेणीधामलगायत प्रमुख धार्मिक स्थलमा मेला लाग्ने गरेको छ।

चर्चित अमरनाथ गुफाको धार्मिक यात्रा गुरु पूर्णिमादेखि सुरु भएर यसै दिन पूर्ण गर्ने चलन छ। यस दिन यहाँको हिमानी शिवलिङ्गले पनि  आफ्नो पूर्ण आकार प्राप्त गर्दछ भन्ने मान्यता रहेको छ। प्रत्येक वर्ष सो गुफामा मेला लाग्ने गरेको छ।

क्वाँटी पूर्णिमा
नेवार समुदायले जनै पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् र क्वाँटी खाने गर्दछन्। क्वाँटी भनेको भिजाएर अंकुरित पारिएका गेडागुडीबाट बनेको परिकार हो। नेपाल भाषामा क्वाः र ती मिलेर बनेको क्वातीमध्ये ‘क्वाः’ को अर्थ तातो परिकार र ‘ती’ को अर्थ झोल भएकाले क्वा“टी भनिएको हो। दुई÷तीन दिनअघिदेखि भिजाएर राखिएका नौ थरीका गेडागुडी (मुंग, मास, भटमास, सानो केराउ, मस्याम, चना, सिमी, बोडी र बकुल्लो) मिसाइएको हुन्छ। गेडागुडीको मिश्रणमा जब टुसा पलाउँछन्, त्यसलाई क्वाँटी भनिन्छ। गुम्स्याएर जमराजस्तो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ।

यस दिन क्वाँटी तयार पारी खाएमा शरीरमा रोग नलाग्ने र पाचनप्रक्रियासम्बन्धी विभिन्न रोग निको हुने धार्मिक एवं आयुर्वेद शास्त्रको मान्यता रहेको छ। साथै, क्वाँटी खाए वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निक्लिने र भित्रदेखि नै तापको सञ्चार हुने मान्यता छ।

क्वाँटीले मधुमेह तथा पायल्स भएका मानिसलाई फाइदा पु¥याउने हेल्पिङ हेन्ड्सकी मेडिकल अफिसर डा. एलिना खड्का बताउँछिन्। उनका अनुसार सजिलै पाच्य हुने र तुरुन्त शरीरलाई चाहिने शक्ति प्रदान गर्ने भएकाले क्वाँटी महŒवपूर्ण खाना हो। ‘क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ र यसले शरीरको थकाइ कम गरी तनावबाट मुक्त गराउँछ,’ डा. खड्काले भनिन्, ‘रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन पनि क्वाँटी वा गेडागुडीको रस फाइदाजनक हुन्छ।’

उनका अनुसार क्वाँटीको नियमित सेवनले स्मरणशक्ति बढाउनुका साथै मानसिक स्वास्थ्यमा समेत सुधार ल्याउँछ। यसरी स्वास्थ्यमा धेरैभन्दा धेरै फाइदा पु-याउने भएकाले नेवार समुदायमा क्वाँटीको परम्परा रहेको पाइन्छ। पछिल्लो समय नेवारी समुदायसँगै अन्य विनिन्न समुदायमा पनि क्वाँटीको चलन चलेको छ।

साथै नेवार समुदायले यस दिन घण्टाकर्ण राक्षसलाई मारेर मानिसलाई बचाउन सहयोग गरेको किंवदन्तीका आधारमा भ्यागुतालाई पूजा गर्छन्। यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपंकर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अन्य मूर्ति तथा सामान प्रदर्शनका लागि राखिन्छ।

राखी पूर्णिमा
तराईवासीहरू भने श्रावण शुक्ल पूर्णिमालाई राखी पूर्णिमाका रूपमा मनाउँछन्। दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक तथा सामाजिक  मान्यताका आधारमा यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ ।  

महाभारतमा उल्लेख भएअनुसार एकपटक संकट आइपरेकाले ज्येष्ठ पाण्डव युधिष्ठिरले भगवान् श्रीकृष्णलाई सबै संकटको समाधान कसरी होला भनेर सोधे। भगवान् श्रीकृष्णले पनि उनको तथा उनका सेनाको रक्षाका लागि एउटा पर्व मनाउन लगाए। सो पर्वमा रेशमी धागोमा धेरै शक्ति भएकाले उनले मन्त्रोच्चारणसहित दिदीबहिनीद्वारा दाजुभाइलाई रक्षासूत्रको रूपमा सो धागो बाँध्न लगाए। त्यही  रक्षासूत्र पछि गएर राखीमा परिणत भएको मानिन्छ। त्यसबेला द्रौपदीद्वारा कृष्णले र कुन्तीद्वारा अभिमन्युले सो रक्षाबन्धन बाँधेको उल्लेख छ।  

त्यस्तै, महाभारतकैं प्रसंगमा रक्षाबन्धन विषयमा अर्को एउट प्रसंग छ, जब कृष्णले सुदर्शन चक्रद्वारा शिशुपालको वध गरे। त्यतिबेला उनको तर्जनी (चोर) औंलामा चोट लागेको थियो। त्यसबेला द्रौपदीले आफ्नो साडी च्यातेर श्रीकृष्णको औंला बाँधिदिएकी थिइन्। त्यो दिन पनि श्रावण शुक्ल पूर्णिमाकै दिन थियो। यसैलाई आधार मानी राखी सुरु भएको मानिन्छ। श्रीकृष्णले यस उपकारको बदलामा द्रौपदीको चीरहरणको समयमा उनको साडी बढाएर इज्जत बचाएका थिए।

प्रकाशित: १७ श्रावण २०७७ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App