१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

विस्का जात्रामा स्वयमसेवक खटाइने

भक्तपुरको यस वर्षको बिस्का जात्रामा स्वयकसेवक खटाइने भएको छ । जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरु चैत्र ३०, बैशाख १ र ४ गते भीड हुने स्थानहरुमा स्वयम्सेवक खटाइ आवश्यक व्यवस्थापन गर्ने भएको हो । सामान्यता यसअघिका वर्षहरुमा यसरी औपचारिक रुपमा स्वयकसेवक खटाइएको थिएन ।

भक्तपुर नगरपालिकाकाको आयोजनामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न  सरोकारवालाहरूसँगको बैठकमा यस्तो निर्णय गरेको हो ।  

बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको बैठकले योसहित दस वटा निर्णयहरु गरेको थियो, जस अनुसार जात्रा मर्यादित र भव्यताका साथ सम्पन्न गर्न जात्रा संचालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसारलगायत सरकोकारवालाहरुसग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय गर्‍यो ।  

जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायलाई दिने निर्णय गर्‍यो । जात्रा सम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने निर्णय गर्‍यो ।  

जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गर्‍यो । जात्रा संचालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न गठित केबुल व्यवस्थापन समितिलाई जिम्मेवारी दिने र आवश्यक सहजीकरण नगरपालिकाले गर्ने निर्णय गर्‍यो ।  

विस्का जात्रा संचालन हुने मुख्य मुख्य दिनहरुमा नगर क्षेत्रमा रहेका अस्पतालहरुका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामानहरु तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको एमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुलाई आकस्मिक सेवाको लागि तयारी अवस्थामा राख्ने नगरपालिकाले आवश्यक समन्वय गर्ने निर्णय गर्‍यो ।  

जात्रा संचालन हुने क्षेत्रहरुमा सवारी साधन व्यवस्थापन गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने निर्णय गर्‍यो । जात्रा अवधिभरमा पर्याप्त खानेपानी वितरणको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएललाई र निर्वाध विद्युत प्रशारणको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखालाई जिम्मेवारी दिने निर्णय गर्‍यो ।  

भक्तपुरको विस्का जात्रा चैत २७ गते शुक्रबारदेखि सुरु हुँदैछ । जात्रा आठ रात नौ दिन अर्थात् बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रकाशित: १२ चैत्र २०८२ १७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App