१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रकस्टारको माटो प्रेम

आवरण

तस्वीर : उमेश पुन र नेपालय

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ । धेरैलाई घर वरिवरिको घेरामा हुलिदिएको छ । यो कहिलेसम्म चल्छ, भन्न सक्ने अवस्था छैन । यस्तो बेला नेपाली ‘रकस्टार’ अमृत गुरुङ कहाँ होलान् ? सोधिखोजी गर्दा थाहा भयो, उनी त गाउँमा रोपाईं गर्दैरहेछन् ।

सानैबाट एकान्त र प्रकृतिप्रेमी हुन्, अमृत गुरुङ । डाँडाको टुप्पोमा बस्नुपर्ने, हिमाल हेर्नुपर्ने, बाजा बजाउनुपर्ने र चित्र कोर्नुपर्ने अमृतको सोख थियो । हामीले यस्ता प्रकृतिप्रेमी अमृतसँग भलाकुसारी गर्ने उपयुक्त थलो फेवातालमा ठान्यौं । नब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड ‘नेपथ्य’का गायकसँग फेवातालमा डुंगा शयर गर्दै अन्तर्वार्ता लिनु पनि नौलो विषय नै हो । लकडाउन भएकाले डुंगा नचले पनि पत्रकार कृष्णमणि बरालको सहयोगमा फेवा डुंगा व्यवसायी संघका रुद्र भुजेल हामीलाई दुई वटा डुंगा उपलब्ध गराए । फेवातालमा डुंगा सयर र तालछेउको फुटट्र्याकमा गरी अमृतसँग करिब तीन घण्टा गफियौं । कुराकानीको मेलो खोल्दै उनलाई सोधियो– फेवातालमा डुंगा चढ्दा के कुराको याद आयो ? अमृत एकछिन चुपचाप बसे । दायाँबायाँ नियालेपछि उनी पूर्वस्मृतिमा फर्किए, ‘सानोमा फेवाताल आउँदा एकपाखे डुंगामा चढेको, पौडी खेलेको बाल्यकाल याद आयो ।’ अन्तर्वार्ता दिन गाह्रो मान्ने र केही गरी मिडियाले पिछा गरे पनि हत्तपत्त नखुल्ने अमृत परिवार  सहकर्मी मनोज घर्तीमगरसँग दिल खोलेर गफिए ।

अमृतको किसानी यात्रा
पोखराबाट स्याङ्जा जाने बाटोतिर करिब १२ किलोमिटर यात्रा गरेपछि मूलपानी आउँछ । कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ, जहाँ जन्मिए अमृत, त्यसैको फेदमा पर्छ, मूलपानी । यहाँ खेत, खर्क, खोरिया, खरबारी गरी करिब ७० रोपनीभन्दा ठूलो फाँट छ । सिद्धार्थ राजमार्गको छेउमै रहेको यही फाँटमा नेपाली लोक–रकस्टार अमृत गुरुङ माटोसँग लडिबुडी गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कोरोना कहरका बीच आफ्नै गोठमा रहेका उनी यहीँको बारीमा कहिले तरकारी गोडमेल गरिरहेका हुन्छन् त कहिले वस्तुभाउको गोबर सोहोरिरहेका हुन्छन् । अमृतको किसानीयात्रा सुरु भएको ११ वर्ष बित्यो । देशविदेशमा गाउँदै फुर्सद नपाउने यी गायक यतिबेला आफ्नै जन्मथलोको बाँझो जमिनलाई मल्याइहेका छन् ।  

अमृतले किसानी कर्म गरिहरेको यो त्यही फाँट हो, जहाँ उनकी बज्यै भाइमाया गुरुङले खेतीकिसानी गरेर परिवारका सदस्यलाई हुर्काइन् । अमृत यहीँ फलेका अन्न र सागसब्जी खाएर हुर्किए । उनले पढेका किताब, कापी त्यहीँका अन्न र पराल बेचेर किनिए । उनको स्कुलको फिस तिर्ने मेलो पनि यहीँको उब्जनी थियो । यही उर्वर जमिन बज्यैको देहावसानपछि बाँझिदै गयो । खेतबारीको राम्रो रेखदेख गर्ने मान्छे भएनन् । अन्नपात उब्जनी हुन छाड्यो । फलफूल फल्न छाडे । पुर्खाले दुःखजिलो गरेर बनाएको जमिन बञ्जर बाँझो हुँदै गयो । थोरै जमिन मात्रै अधैया लगाउनेले जोतभोग गरिदिए । सहरको रंगीन दुनियाँमा अलमलिरहेका अमृतको ध्यान पनि यो जमिनमा पुगेन ।

बाह्र वर्ष पहिले बुबाको निधन भएपछि घरव्यवहार सम्हाल्नुपर्ने जिम्मेवारी अमृतको काँधमा आयो । त्यसपछि उनी कहिले गाउँ, कहिले पोखरा, कहिले काठमाडौं गरिरहन्थे । ११ वर्ष अघिको एक दिन आमा चिजकुमारीले उनलाई यही फाँटमा लगिन् । फाँट वरिपरिको सबै जग्गा बाँझै थियो । उनको जमिनको केही भागमा मात्रै बाली लगाइएको थियो । जहाँ कम्तीमा पनि चालीस मुरी धान हुन्थ्यो । अमृत गाउँ पुगेको वर्ष खेतमा १२ मुरी मात्रै धान फल्यो । अधिया गर्नेले आधा लियो । जमिनको छेउमै बसरे फाँटसँग हजुरआमा र उनको सम्बन्ध कति प्रगाढ थियो भन्नेबारे आमाले बेलिबिस्तार लगाइन् । हजुरआमा र आमाले जीवनका स्वर्णिम समयमा पसिना बगाएको त्यो भूमि उजाडिएको देख्दा अमृतका आँखा टिलपिलाए । भावनाले मात्रै केही हुँदै भन्ने बुझेका अमृत सम्हालिए ।  

‘खेतमा काम गर्दा लागेको रकम पनि उठ्दैन । गर्ने मान्छे पनि छैनन् । यसरी के खेती लगाउनु ?’ अमृतले आमालाई भने, ‘जमिन त्यही हो । तपाईंले ४० मुरी फलाएकोमा १२ मुरी फल्छ भने किन खेती गर्ने ? यो त काम छैन ।’  

फाँटको नजिकै बसेर आमाछोराको लामै भलाकुसारी भयो । त्यसपछि अमृतकी आमा भावनामा बहकिइन् । ‘आमाले साह्रै भावनात्मक कुरा गर्नुभयो,’ अमृतले त्यो दिन सम्झिए, ‘हेर छोरा, यही खेतको पराल बेचेर तेरो स्कुलको फिस तिरेको हो । यहीँको अन्न खाएर तेरो बज्यै, बाजे र तँ हुर्केको ठाउँ हो । त्यही भएर यो जमिन बाँझो हुन नदे । बाँझो भए धर्तीले सराप्छ ।’  

भावनाले चल्दैन भन्ने अमृतलाई थाहा थियो । उनले फेरि आमालाई प्रतिप्रश्न गरे, ‘खेत लगाएर मात्रै हुन्छ ? यसबाटै फाइदै छैन । बाली लगाउँदा लागेको खर्च कसरी उठाउने ? फेरि गरिदिने मान्छे पनि छैन । व्यवहार त मिलाउनु प¥यो नि आमा ।’  

त्यसपछि आमाले जवाफ फर्काइन्, ‘हुनेले खर्च गर्ने त हो । नहुनेले कसरी गर्छ ? मलाई अरु कुरा थाहा छैन । खेत बाँझो हुनु भएन ।’ हो, त्यही दिनबाट त्यो फाँटलाई फेरि हराभरा बनाउने प्रण गरे अमृतले । अनि, सुरु भयो उनको किसानी जीवन ।  

अमृतको अग्र्यानिक कृषि
अमृतको फाँटमा नियमित काम गर्ने १०/१२ जना बस्छन् । कोरोना आउनुअघि अमृत पनि गाउँमै थिए । त्यसपछि लकडाउन सुरु भइहाल्यो । अहिले उनकै निगरानी र संलग्नतामा अग्र्यानिक खेती भइरहेको छ । यहाँका बालीले गाईबस्तुका मल मात्र पाउँछन् अनि गाईबस्तुले सहरिया दाना होइन, त्यही फाँटमा उम्रिएका घाँसपात मात्र खान्छन् । बालीमा कीरा लाग्दा पनि बजारको विषादी छरिँदैन, नीम, तीतेपाती र गहुँत हालिन्छ ।  

खेतबारीमा मौसमी रुपमा फल्ने काँक्रो, फर्सी, लौका, भान्टा, सिमीजस्ता नगदेबाली फल्छन् । धान मकै त फल्ने नै भयो । त्यसबाहेक रुद्राक्ष, लप्सी, चाँपजस्ता वृक्ष पनि लगाइएका छन् ।  

‘मैले के मात्रै रोपिनँ? के लगाइनँ ? तर, धर्तीले जति लिन सक्छ त्यति मात्रै फल्दोरहेछ,’ अमृत भन्छन् । चाहे हलो जोत्ने मामिलामा होस् वा भारी बोक्ने, अमृत सिपालु छन् । यस पटकको कृषि कर्मका तस्बीर उनले फेसबुकमा धरी हालेका छन् । तोरी सम्हाल्ने र मकै रोप्ने बेला भएको थियो, त्यतिबेलै उनी गोठमा आएका थिए । चार दिनपछि लकडाउन सुरू भयो । त्यसयता उनी आफ्नै गोठमा छन् । ‘संगीत कर्ममा लागेर प्रसिद्धि कमाइयो होला तर सन्तुष्टि दिएन,’ अमृतले कृषि कर्ममा फर्कनुको रहस्य खुलाए, ‘गाउँमा बस्दा बडो आनन्द हुन्छ । त्यसैले बाँकी जीवन गाउँमै बिताउँछु ।’  

गोठमै अमृतको चार महिना बितिसकेको छ । लकडाउनलाई पनि उनले पूर्ण रुपमा पालना गरे । लकडाउनका बेला उनीहरु पुरै खेतबारीमै केन्द्रित भए । यही बीचमा तोरी उठाउने समय भइसकेको थियो । सुरुमा गाउँका गाइडिगाले सताए । त्यसपछि प्रकृतिले रुवायो । ‘यसपालि तोरी भएन । एक दिन कान्छा बाको गोरु पसेर तोरी खर्लप्पै पारे । मैले कान्छा बासँग गुनासो गरेँ,’ बारीमा लगाएको तोरीको बखान गर्दै अमृतले भने, ‘खेतबाट उठाउने बेला भीषण असिनाले भएभरको तोरी सखाप बनाइदियो । अनि मैले कान्छा बालाई भनेँ तपाईंको गोरु पसेको थियो र पो गुनासो गरेँ । अब त गुनासो गर्ने कोसँग हो ? प्रकृतिसँग नसकिँदो रहेछ ।’

प्रकृति जति बलवान यो संसारमा केही छैन भनेर अमृतले चित्त बुझाए । त्यसपछि उनले माथि कालाबाङ गाउँको बारी र तल गोठमा एकसाथ खेत जोतेर मकै छर्न सुरू गरे । अमृतको पुख्र्याैली गाउँ कालाबाङ गोठबाट आधा घण्टाको उकालोमा पर्छ । सरकारले सबैथोक बन्द गर्नु भनेकाले लकडाउन बेला मकै छर्न पनि असाध्यै गाह्रो भएको थियो । गाउँमा कति ठाउँ त पुलिस पनि पुगे । वनमा लागेको डढेलो निभाउन आएका प्रहरी अमृतको गोठमा पनि पसे । तापनि उनले मकै रोप्न छाडेनन् ।  

‘बालीनाली लगाउने प्रकृतिको निश्चित समय हुन्छ । त्यो बित्यो भने लगाएको काम लाग्दैन । त्यही भएर मैले सुरक्षाको उपाय अपनाऊ, तर काम नरोक भनेर मकै छर्न लगाएँ,’ आफूले लिएको अड्डीबारे अमृतले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि हामीले खेती छाड्नु हुँदैन । बाली बेलामै लगाउनुपर्छ । फलेन भने के खाएर बाँच्ने ।’

करिब १५ रोपनी खेतमा लगाइएको मकै बाँदरबाट जोगाएर केही त भित्र्याइसकेका छन् । आँखाले नदेखिने ठाउँमा मकै लगाए जंगलबाट आउने बाँदरको फौजले बारी नै सखाप पारिदिने डर हुन्छ । मकैलाई दुम्सीले पनि उस्तै दुःख दिन्छ । लगाउन न त उनले टन्नै सक्थे । जमिन जति पनि छँदैछ । तर, बाँदरबाट जोगाउनै मुस्किल पार्छ । उनले प्रशासनमा गएर बाँदर आतंकबारे धेरैपटक उजुरी पनि दिए । यी वन्यजन्तु मार्न पनि नमिल्ने । हैरान भएका छन् बाली जोगाउँदा–जोगाउँदा । त्यही बाली जोगाउन सहयोग पुग्ने हेतुले उनले चार वटा कुकुर पालेका थिए । दुई वटा कुकुर बारीको रखबारी गर्दागर्दै बाघको सिकार भए । ‪

‘गोठका पाले चार वटा कुकुर थिए, दुइटा चितुवाको सिकार भए । ११ वर्षदेखि यिनीहरु चितुवाबाट बचेर गोठको रखवाली गर्दैछन्,’ उनले भने, ‘वनसँग जोडिएको गोठबस्तीमा प्रकृतिको नियम त लागू हुने नै भयो सर्भाइभल अफ द फिटेस्ट ।’‬

प्रकृतिदेखि जनावरसम्म सबैको बन्दोबस्त गरेरै खेती किसानी चलाउन निकै मुस्किल छ । तापनि अमृतले हिम्मत हारेका छैनन् । बाँकी जीवन खेतकै माटोमा लडिबुडी गरेरै बिताउने प्रण गरिसकेका छन् । जति सोचेका थिए, त्यति मकै यस पटक जोगाउन सकेनन् । प्रकृतिले साथ दियो । कीराहरुले आक्रमण गरेनन् । बालीले पनि आफ्नो धर्म निभाउन पायो र लगाउँदा राम्रो मिहिनेत पुगे बाली राम्रै फल्छ । फलेको बाली दुम्सी र बाँदरबाट जोगाउन सके त गजबै हुन्छ । तर, सबैभन्दा ठूलो समस्या नै बाँदर र दुम्सीको छ । यसपाला पनि बाँदरले बालीनालीलाई धेरै खाइदियो । ‘यसपालिको मकै, बाँदरसँग बारी लिएर अधैयामा लगाएजस्तै भयो,’ उनले हैरान हुँदै भने, ‘बचाउँदा बचाउँदै आधा भने जोगाइयो । तै धन्य... सलह भने हाम्रोतिर आएनन् ।’

संस्कृतिको जगेर्ना
अमृतले स्थानीय जातका गाई पनि पालेका छन् । गोरु र बहरहरू छन् । त्यसैगरी दुई वटा भैंसी भर्खरै ब्याएका छन् । दुई वटा भैंसी ब्याउने तयारीमा छन् । एउटा राँगो छ । थुप्रै बाख्रा पनि । उनी गोठ आउँदा ५० जति खसी–बाख्रा थिए । अहिले २०/२२ वटा मात्रै छन् । कृषकले गाईभैंसी ब्याएपछि गर्ने सांस्कृतिक परम्परा पनि आफ्नै खालको छ । त्यो के भने गाईभैंसी ब्याएपछि पहिलो बिगौतीलाई बेडुला, धुधिलो, खिरुवा लगायतका पातमा चढाउने । त्यही बिगौतीको टीका निधारमा लगाउने अनि गाई भैंसीलाई पनि लगाइदिने । यस्तो चलन गाउँघरमा अहिले पनि कायमै छ । 

सहर नजिक झरेकाले गाईभैंसी पाले पनि यस्तो संस्कृति सुन्न मुस्किल पर्छ । यस्ता संस्कृतिलाई अमृतले सांकेतिक रुपमा बुझ्नेपर्ने बताउँछन् । यो स्थानीयताको कुरा पनि हो । यो पहिलेदेखि चलिरहेको चलन हो । यसलाई हामीसँग भएको स्थानीयतालाई कसरी प्रयोग गरिएको छ भन्ने उदहारण पनि हो भन्छन् अमृत । ‘गोठमा भैंसी ब्यायो । गोठमा गाइदिया ब्याएपछि निगालोमा पात उनेर गोठ बाहिर झुन्ड्याउने चलनअनुरुप त्यही गरियो । शुरुको बिगौती देवी देवतालाई चढाइयो,’ अमृतले सांस्कृतिक परम्पराबारे वर्णन गर्दै भने, ‘मेरो बाजेले, बज्यैले गरेको रितितिथि मानिदिएर मलाई आत्मसन्तुष्टि हुन्छ र प्रकृति खुसी हुन्छ भने किन नगर्ने ? नराम्रो कुरा हो भने बिर्सदै छाड्दै जाने हो । राम्रो कुरा त अनुशरण गर्नु राम्रै कुरा हो नि, होइन र ?’ 

पुर्खाले गरेका केही राम्रा चलनलाई अनुशरण गर्नु कर्तव्य होजस्तो लाग्छ उनलाई । चार महिनाअघि छरेको मकै खाँदा पनि उनले बाबुबाजेले गरेको संस्कार बिर्सिएनन् । पहिलो अन्न प्रयोग गर्नुअघि न्वागी चढाउने संस्कार अहिले पनि कायमै छ । त्यसैअनुरुप उनले पनि चढाएरै संस्कृति पूरा गरे । ‘‪कोही सयौं वर्षलाई सोच्छन्, किसानले सोच्ने एक वर्षलाई नै हो यो वर्षको मकै बाली राम्रै हुने देखिन्छ,’ उनले सामाजिक सञ्जालमा मकै चढाएको तस्बिर राख्दै लेखेका छन्, ‘पहिले ‘सिमे भुमे’लाई त्यसपछि गोठकालाई, अनि वर्ष भरिलाई ।’

मूलपानीमा नुहाएर दैनिकी सुरु
करिब छ बजेतिर उठेपछि अमृतको नित्यकर्म सुरू हुन्छ । यो ठाउँको नामै मूलपानी हो । पानीको मूल अमृतकै गोठ छेउमा छ । मूलको पानी कञ्चन अनि सफा हुने नै भयो । मूल नियन्त्रण गरेर उनले ढुंगेधारा बनाएका छन् । सुख्खामा धारा अलि सानो हुन्छ । तर, मूलमा वर्षैभरि पानी बगिरहन्छ । मूलको पानीमा खलल्ल नुहाउँदा उनलाई आनन्द आउँछ । नुहाइसकेपछि अमृत योग गर्छन् । त्यसपछि कालो चिया पिउँछन् । चियासँग मकै, कोदो वा फापरको रोटी पनि हुन्छ । दिउँसो दुई बजेतिर मात्रै खाना खान्छन् । त्यसो त अमृत शारीरिक रुपमा सधैँ फिट देखिन्छन् । अहिले कृषिको धपेडीले अमृतको तौल घटेको छ । कम्मरमा लगाउने पेटीको साइज ह्वात्तै घटेको त्यसकै प्रमाण हो । ‘म दुब्लाएको छु हैन र ?’ कम्मरमा लगाउने पेटी देखाउँदै फिस्स हाँसेर उनले भने, ‘कति घटेँ भने नयाँ चारवटा प्वाल पार्नुपर्‍यो ।’

दैनिक डेढदेखि दुई घण्टासम्म हार्मोनियममा रियाज गर्छन् । हरेक दिन दिउँसोपख उक्लेर कालाबाङतिर पुग्छन् । कालाबाङमा पुख्र्यौली घर छ, परम्परागत गुरुङ ढाँचाको । पुख्र्यौली जमिनमा यति बेला उनी नयाँ घर बनाइरहेका छन् । दिउँसो केही क्षण आफ्नो घर निर्माणका काम नियाल्न उनी उक्लिन्छन् र बेलुकीपख फेरि गोठ झर्छन् । ‘गोठ बसाइको ५२ दिनपछि अस्ति पोखरा घर गएँ,’ लकडाउनको पूर्ण पालना गरेको सुनाउँदै उनले भने, ‘नझरी नहुने भएर आएको तर आमा माथि नै मास्क लगाएर बस्नुभएको थियो, मैले तलै बसेर कुराकानी गरेँ ।’

कृषिमा आत्मसन्तुष्टि मात्रै
अमृतको भनाइअनुसार कृषि कर्ममा अहिले परम्परा निर्वाह गर्ने काम मात्र भइरहेको छ । खर्च उठाउनै मुस्किल पर्छ । परम्परागत खेती प्रणालीमा काम गरिरहेका छन् उनले । जो नयाँ प्रविधिअनुसार नमिल्ने रहेछ । ‘हामीले काम सुरु गर्दा नराम्रो जग्गा जमिन छाडेर राम्रो मात्रै गर्दै त्यो सालमा चराचुरुङ्गीले बदमासी गरेन । मौसम राम्रो भयो, पानी मिल्यो, असिना परेन । धान रोप्दा वर्षभरिको खर्च ६९ हजार भयो । धान उठाइसकेपछि जम्मा ७१ हजार भयो । दुई हजार फाइदा देखियो,’ उनले कहानी सुनाए, ‘श्रम र बिऊ महँगो भयो तर उत्पादनअनुसार मुनाफा भएन । वर्षभरि काम घोटिएर काम गर्‍यो तर दुई हजार आयो भने कसरी काम गर्ने ?’

खेती–किसानी सुरू गरेपछि अमृतले यसबारे धेरै किताब पनि खोजी गरेर पढे । थुप्रै कृषिविज्ञसँग पनि भेटे । उनीहरुसँग छलफल गरे । के लगाउने ? कस्तो बाली लगाउने ? आफ्नो गाउँमा कुनकुन प्रकारका रुखबिरुवा रोप्ने ? उनले कृषिबारे जुन सुनेका थिए, जुन पढेका थिएँ, त्यो फिल्डमा भने फ्याट्टै नमिल्दो रहेछ । विज्ञसँग कुरा गर्दा र व्यवहारमा जाँदा कुरा बाझियो । उनीहरुले भनेको कुरा खेतबारीमा पुगेपछि मिल्दै मिलेन । ‘पढुञ्जेल र विज्ञका कुरा सुन्नेबेला मात्रै राम्रो लाग्छन्,’ उनले आफ्नो अनुभव सुनाए, ‘विज्ञले भनेका कुरा व्यवहारमा ठ्याम्मै नमिल्ने । लागु गर्नै मुस्किल हुने ।’

नयाँ प्रणालीअनुसार व्यवसायिक तवरबाट नगदेबालीमा जाने हो भने विज्ञले भनेको कुरा र किताबमा लेखेका कुरा केही मिल्न सक्छ । अमृतको विचारमा यसरी खेती गर्दा उनै विज्ञले भनेका मल, कीटनासक औषधी, बिऊ र उनले भनेका चिज मात्रै उत्पदान गर्ने हो भने कृषि कर्म गरेर बाँच्न सकिन्छ । केही धेरथोर फाइदा पनि होला । तर, आफूसँग भएको चिज प्रबद्र्धन गर्छु, परम्परागत खेती गर्छु, विषादी प्रयोग गर्दिनँ, कम्पोस्ट मल मात्रै प्रयोग गर्छु भन्ने हो भने कत्ति पनि सम्भव छैन । गर्नै सकिँदैन । 

‘मलाई अचम्म लाग्ने चिज चाहिँ नेपाल कृषि प्रधान देश भन्ने तर कृषिको व्यावसायीकरण नै भएन,’ उनले कृषिबारे भइरहेको र बोलिने कुरा फरक भएको सुनाउनै भने, ‘राज्यका तर्फबाट कृषिमा जसरी लगानी गर्नुपथ्र्यो, त्यो हुँदै भएन ।’

कृषि विज्ञका सुझाव मानेर सम्पूर्ण चिजहरु पूर्वनिर्धारित रुपमै गरियो भने कृषिबाट बाँच्न भने सकिने उनको बुझाइ छ । प्राकृतिक र परम्परागत रुपमा गर्ने हो भने धेरै गाह्रो छ ।  

उसो त पहिलो काम गर्ने हात थिए । अहिले काम गर्ने संस्कार पनि बदलियो । प्रविधि आयो । अमृतले त्यस्तो कुनै प्रविधि प्रयोग गरेका छैनन् । अझ डरलाग्दो अर्को प्रवृत्ति आयो, पढेका मान्छेले कामै गर्नु हुँदैन भन्ने । त्यही भएर अनेकन दुःख गरेर बनाएको खेतबारी बाँझै छ ।  

‘कृषिमा आत्मसन्तुष्टि चाहिँ छ,’ उनले कृषि कर्ममा लाग्नुको आनन्द सुनाए, ‘माटोमा खेल्दा जुन आनन्द हुन्छ । त्यो वर्णन गर्नै सकिदैन । वर्षभरि काम गरेर दुई महिना भन्दा बढी खुवाउन सक्नुहुन्न भने त्यसमा आश्रित भएर कसरी बाँच्ने ? सबैभन्दा ठूलो कुरो भोक हो नि ! त्यही भएर मान्छेले कृषि कर्म छाड्दै जान थाले ।’

पुम्दीमा बाल्यकाल, गण्डकीमा पढाइ
फेवातालको माथिपट्टि पुम्दीभुम्दीमा जन्मिए अमृत । उनी बाल्यकालमा फेवाताल आउँदा मन्दिरसम्म खुट्टाले हिँडेर जानुपथ्र्यो । बाँध बनेपछि मात्रै पानी भरियो र ताल भयो । यसले धेरैलाई रोजगारी पनि दियो । उतिबेला बाराहीघाटबाट हिँडेरै तालबाराही जान्थे मानिस । अहिले डुंगाबाट जानुपर्छ । अमृत यही फेवातालमा आइरहन्थे । साथीसँगै वनभोज खान्थे । माछा मार्थे । फेवातालमा त्यो बेला सिमलको एकपाखे र टुनीका डुंगा हुन्थे । माछा मार्ने जलारीहरु जताततै देखिन्थे । बैदाम किनार भनिने ठाउँमा सानासाना झुपडी थिए । अहिले त्यस्ता दृश्य छैनन् । रंगीचंगी डुंगा देखिन्छन् । फेवातालको किनार व्यावसायिक स्थल बनेको छ ।  

‘फेवाताल ठूलो थियो । थुम्कीसम्मै ताल थियो । अहिले ताल पुरिने क्रम बढेको छ । मैले सबै त गन्न सकिनँ तर खहरेबाट पामे नपुग्दै थुम्कीको आसपासमा २२ वटा मोटर खनेको रहेछ । २ किलोमिटरको बाटोमा २२ वटा बाटो खुल्नु पनि त ताल पुरिने एउटा कारण हो,’ अमृतले भने ।

त्यो बेलाको पोखरा भौतिक रुपमा हेर्ने हो भने खास केही पनि थिएन । सीमित मोटर थिए । कालाबाङ घडेरी गाउँबाट अमृत हिँडेर पोखरा आउँथे । त्यतिबेला उनी नौ नम्बरे ढ्याङमा चढेका याद गर्छन् । पोखरमा कल्पना सिनेमा घर थियो, डाँफे कला मन्दिर लगायत थिए । पोखरामा नाटकहरु हुन्थे । त्यो बेला ठूल्ठूला सिमलका रुखहरु थिए । सिमलका रुपमा धेरै चराहरु बसेको हेरेर उनी रमाउँथे । कदमका रुखबाट फल झारेर खान्थे । रामघाट सेती नदीमा गएर पौडिन्थे । काली खोला, याम्दी खोलामा माछा मार्न त कति गए कति ! त्यो बेला एक मोहरमा साइकल भाडामा पाइन्थ्यो । भाडाको साइकल गुडाउँदै फेवाताल पुगेर कयौं पटक पौडी खेले । बाँध भत्किएको बेला थियो, फेवातालमा पौडिएर बाराही मन्दिर पुग्थे ।

डाँफेको स्टेजमा पहिलो गीत
अमृत गाउँमै लोकगीत सुनेर हुर्किएँ । बाजेहरुले, आमाहरुले छ्यामाहरुले गाएका लोकगीत सुने । पोखरा झरेपछि रेडियो नेपाल सुने । हिन्दी गीत सुने, बिटल्सका अंग्रेजी गीतहरु सुन्दै हुर्किए । उनलाई बाटुलेचौरका सारंगी रेटेर गन्धर्व (त्यसबेला गाइने भनिन्थ्यो) हरुले गाएको गीत खुब मन पथ्र्यो । झलकमान गन्धर्वलाई बाटुलेचौरतिरै पनि सुने । त्यतै चिने र उनलाई देखे पनि । पुम्दीबाट पोखरा झरेपछि उनी लामाचौरको गण्डकी बोर्डिङ स्कुलमा पढे । स्कुले जीवनमै उनमा गायनमा रुचि बस्यो । त्योभन्दा बढी सोख उनको पेन्टिङमा थियो । स्कुलका नाटकमा भाग लिन्थे । गीत गाउने कुरामा साथी–भाइसँग सम्मिलित त हुन्थे तर आफैँ गाउन सक्दैनथे । ‘रमाइलोका लागि खाली ठाउँ भर जस्तो थिएँ । कसैबाट भएन भनेमात्रै उभिन्थेँ । लहैलहैमा जिस्किएर गीत गाउथेँ,’ अमृत सम्झन्छन् ।

पोखरामा डाँफे कला मन्दिरको नाम सांस्कृतिक क्षेत्रमा उँचो छ । पोखराको नदिपुरमा थियो कला मन्दिर । अमृतले जीवनमै पहिलो पटक यहीँ सांस्कृतिक कार्यक्रम देखे, नाटक हेरे । २०३९ सालमा रामबजारमा डाँफे कला मन्दिरले एउटा च्यारिटी कार्यक्रम राखेको थियो । दुई घण्टाको कार्यक्रम बनाउन त्यहाँ आइटम पुगेन । त्यसपछि अमृतका साथी भीम पुनले अमृतलाई गाउन अनुरोध गरे । सुरुमा त अमृतले मानेनन् तर आइटम नपुगेपछि उनले गाउनैपर्ने भयो । त्यसपछि अमृत स्टेज चढे खालि ठाउँ पूरा गर्न ।  

‘मैले डाँफे कला मन्दिरको कार्यक्रमबाट पहिलो पटक स्टेजमा गाएको हुँ,’ अमृत भन्छन्, ‘मैले गाउन सक्ने भन्दा पनि खालि ठाउँ भर्नको लागि गाएको थिएँ ।’  

खासमा मलाई अमृतलाई गायक बन्छु भन्ने नै थिएन । अहिले जसरी गीत गाउँदै देशविदेश घुमौंला भन्ने लाग्ने कुरै भएन । जागिर खाइन्छ, आफ्नो बाटो लागिन्छ भन्ने थियो । पछि–पछि गीतसंगीतमा रुझ्दै र भिज्दै गएपछि स्तरीय गर्नुपर्छ भनेर यसैमा लागेको उनको भनाइ छ ।

हावैहावामा नेपथ्य
पोखराको गण्डकी स्कुलबाट एसएलसी दिएपछि अमृत कलेज पढ्न काडमाठौं गए । त्यहाँ बस्दा जागिर थिएन । दिनभर बस्ने । गीतसंगीतका कुरा गर्ने । आफूले जानेको बजाउने दिन बिताउँथे । अमृतका साथी भीम पुन बाजा बजाउन पारंगत थिए । उनले जस्तो पनि बाजा बजाइदिने । उनकै संगतले अमृतलाई संगीतमा लाग्ने रहर पलायो । ‘साँच्चै भन्ने हो भने ठट्टै ठट्टामा हावैहावामा नेपथ्य खोलिएको हो,’ नेपथ्य ब्याण्ड के सोचेर खोलिएको थियो भन्ने प्रश्नमा लामो समय रोकिएपछि अमृतले भने, ‘केही समय गरौँ । त्यसपछि आआफ्नो बाटो लागौंला भन्ने तरिकाले खोलिएको हो ।’ अमृत, दीपक राना (हाल पाइलट) र भीम पुन (हाल हङकङ) मिलेर ब्यान्ड खोलका थिए २०४७ मा ।

दीर्घकालीन सोच राखेर ब्यान्ड खोलिएको थिएन । केही वर्ष रमाइलो गर्ने, त्यसपछि आ–आफ्नो पेसामा लाग्ने योजनामा ब्यान्ड सुरु गरेका थिए उनीहरुले । दीपक र भीमलाई त करिब त्यस्तै भयो तर अमृतका लागि भने जीवन नै नेपथ्यमय बनिदियो । अहिलेसम्म नेपथ्यमा २१ जना सदस्य आएर गए, अमृत भने सदा ब्यान्डसँगै रहे । अमृतलाई नेपथ्यले किन यसरी बाँध्यो ? लामो समय चुपचाप रहे । त्यसपछि फिस्स हाँसेपछि उनले भने, ‘सायद नेपथ्य सम्हाल्नका लागि म जन्मेको थिएँ कि ? म एउटा आमाजस्तो भएँ कि ? यसको सुखदुःख यसका अप्ठेरा सबै कुरा मैले भोग्नुपर्ने भयो । मेरो नियति भयो ।’

‘नेपथ्य’ र ‘हिमाल चुचुरे’ गरी दुई एल्बम निकालेपछि भीम हङकङ हानिए, दीपक पाइलट बन्न रसिया उडे । यस बीचमा ब्याण्ड बन्ने र टुक्रिने क्रम चलिरह्यो । नेपथ्यले तेस्रो एल्बमका रुपमा ‘मीनपचासमा’ निकाल्यो । ‘जोमसोमै बजारमा...’, ‘चरी म¥यो सिसैको गोलीले...’ जस्ता गीत समावेश गरिएको एल्बम सार्वजनिक भएपछि नेपथ्यको लोकप्रियता अकासियो । कन्सर्ट गर्न भ्याइनभ्याई हुन थाल्यो । चौथो एल्बम ‘श्रीनगर’ निक्लेपछि त विदेशबाट अफरैअफर आउन थाले । हावैहावामा खोलिएको नेपथ्यले एकपछि अर्को सफलता पाउँदै गयो । ब्याण्डले गरेका सबै गीत हिट मात्रै हैन, सुपरहिट भए । 

स्टार होइन गाइने
सांगीतिक करिअरमा नेपथ्य र अमृतले पछाडि फर्केर हेर्नु परेको छैन । झन् नेपालयसँग जोडिएपछि त नेपथ्य अझ व्यवस्थित हुँदै गयो । नेपालयबाटै नेपथ्यका पाँच एल्बम बजारमा आइसकेका छन्, ‘रेशम’, ‘भेडाको ऊनजस्तो’, ‘मेरो देश’ र ‘ऐना झ्याल’ नाममा । अमृत यति सफल गायक भए पनि उनमा घमण्डको एक अंश पनि भेटिँदैन ।

‘म कामचलाउ गायक मात्र हुँ । तपाईंहरुले भनेजस्तो र सोचेजस्तो स्टार गायक होइन,’ तिलचामले लामो कपाल सुम्सुम्याउँदै उनले भने, ‘मभन्दा राम्रो गाउने सयौँ गायक थिए र छन् । म त एउटा गाइने मात्र हुँ ।’

गाउँगाउँ पुगेर अमृतले भाका संकलन गर्ने गर्छन् । कम्पोजिसनका क्रममा त्यसमा रक फ्लेभर दिइन्छ । गाउँले शब्दलाई टपक्क टिपेर गीत बनाइदिने र त्यसलाई रक शैलीमा गाउने भएकाले नेपथ्यका गीतलाई हरेक उमेर समूहका दर्शक र श्रोताले रुचाउँछन् । ‘त्यतिबेला रक शैलीमा गीत गाउने चलन थियो । हामीले लोक र रकलाई फ्युजन गरेर गार्यौं,’ उनले भने, ‘नेपथ्यले गरेका गीत धेरैजसो स्थानीयता छ, नेपालीपन छ । नयाँ सृजना त नभनौँ, हामीसँग भएका, हामीले गाउने गाउँघरमा भएका, हामीलाई मनपर्ने ट्युनहरु गाएर, नेपालीपन भएर मान्छेले मन पराए कि ?’

बाबा एकातिर, छोरो अर्कोतिर
गीत संगीत क्षेत्रमा लागेको अमृतका बुवालाई कत्ति मन परेको थिएन । पोखरामै रहँदा अमृत सांगीतिक कार्यक्रममा जाँदा उनले कत्ति पनि रुचाउने थिएनन् । संगीत नै बाबु र छोराबीचको तगारो बन्यो, आजीवन । ‘पोखरा बाटुलेचौरमा नपढेका गाइने छन्, मेरो छोरा पढेको गाइने भयो,’ अमृतको भनाइमा, उनका बाबु हितकाजी गुरुङ आफ्ना इष्टमित्र र छरछिमेकीसँग यसो भनिरहन्थे । व्यंग्यमिश्रित यो वाक्यांश नै अमृत गायनमा लागेकोमा उनका बुवा कति आक्रोशित र असन्तुष्ट थिए भन्ने अनुमान लगाउन सकिन्छ । ‘मैले गीत गाएको, बाँसुरी र मादल बजाएको, पेन्टिङ गरेको बुबाले कहिल्यै सहनु भएन,’ अमृतले भने, ‘तर उहाँ आफैँ भने मज्जाले गीत गाउनुहुन्थ्यो ।’ छोरो यसरी संगीतमा लागेको बुबालाई किन मन परेको थिए भन्नेबारे अमृतले कहिल्यै खोतलेनन् । बरु बाबु र छोराको स्वभाव नै विपरीत थियो । बाबु अगाडिबाट आइरहेको देख्दा अमृत कि अर्को बाटो लाग्थे कि फर्कन्थे । घरदेखि बाटोघाटो कतै पनि सकेसम्म बाबुको सामुन्ने नपर्ने उनको नीति थियो । 

बुबासँग लुकामारी गर्ने क्रम अमृतले २०४१ सालमा एसएलसी नगरुञ्जेल चलिरह्यो ।

मन भए पनि स्टेजमा उक्लिएर गाउने आँट बुबाकै डरले आउँदैनथ्यो । कहीँ गाएको वा बजाएको देख्यो भने बाउले सातो लिन्थे । त्यसैले एक्लै गाएर मनको तिर्सना मेट्नुको विकल्प हुन्थेन उनीसँग । २०४१ सालमा एसएलसी दिएपछि कलेज पढ्न उनी काठमाडौं गए । त्यसपछि भने उनलाई अलि खुला महसुस भयो । उनले कलेज पढ्दै सांगीतिक जीवन सुरु गर्दै थिए । यसबारे बुबाले सुइँको पाइहाले । त्यसपछि बुबाले भने, ‘तँ जाबोलाई मैले पैसो दिएन भने काठाडौंमा तीन दिन बस्न सक्दैनस् ।’ अमृत पनि एकहोरो टाइपका ! बुबाको यही वचनले यति पोल्यो कि उनी घर फर्कनै चाहेनन् । ‘बुबाले वचन लगाएपछि म तीन वर्षसम्म घर फर्किनँ । घरबाट एक सुको नलगेर तीन वर्ष आफ्नै तरिकाले गुजारा गरेँ,’ उनले भने । साथीहरूसँग मिलेर काठमाडौँका धेरै गल्लीमा पेन्टिङ गरेर जीवन गुजारा चलाए । उनले बालबालिकालाई पेन्टिङ सिकाएरसमेत आफ्नो खर्च जुटाए ।

शान्तिका अभियन्ता
देशमा संकटकाल थियो । माओवादीको विद्रोह र राज्यपक्षको द्वन्द्वले नेपाल आक्रान्त थियो । त्यतिबेला सिनेमा, मेलाहरु सबै बन्द हुँदै गए । सरकारले एक ठाउँमा १० जना जम्मा हुन नदिने उर्दी लगाएको थियो । मानिसमा द्वन्द्वको यति त्रास थियो कि १०/२० जना जम्मा हुन डराउँथे ।  यतिबेला माओवादी र राज्यपक्ष दुवैले विद्यालयलाई कुनै न कुनै रुपमा प्रयोग गर्दै गएका थिए ।  किन  पनि यसो हुन्थ्यो भने स्कुल सबैको पायक पर्ने ठाउँमा हुन्थ्यो । द्वन्द्वकालमा मास्टरहरु पनि उत्तिकै राजनीतिमा लागेका थिए । यतिबेला पहाड, तराई, सहर जहाँसुकैका विद्यालय प्रभावित थिए । यस्तो घटनाले अमृतलाई पोलिरहेको थियो ।

ठिक यतिबेलै अर्थात विसं. २०५८ सालतिर अमृत घुम्दै इलाम पुगेका थिए । माइखोलाको किनारमा केही स्कुले विद्यार्थी रोइरहेका देखे । निर्दोष बच्चाको आँखामा आँसु देख्दा अमृतको मन कटक्क खायो । भएको के रहेछ भने अघिल्लो दिन ती विद्यार्थी पढ्ने विद्यालयमा आगो लगाइएको रहेछ । आगोले विद्यालय भवन मात्र होइन, एसएलसीको फर्म पनि जलेछ । फर्म जलेपछि परीक्षा दिन नपाइने भयो भनेर खोला किनारमा आँसु झारिरहेका थिए विद्यार्थी । ‘अब हाम्रो भविष्य के हुने भनेर भनेर ती अबोध बालबालिकाले चिन्ता गरे । यो तपाईंहरुको दोष हैन । स्कुलले यसको व्यवस्थापन गर्छ भनेर सम्झायौँ,’ अमृतले त्यो निरस घटना सम्झिए, ‘त्यसपछि यो त भएन । अब हामीले द्वन्द्वरत पक्षलाई यसो नगर्न आह्वान गर्नुपर्छ भनेर हामीले शान्तिका लागि शिक्षा संगीत यात्रा गर्नुपर्छ भन्ने सोच्यौं र कार्यक्रम पनि गर्‍यौँ ।’ शान्तिका लागि शिक्षा संगीत यात्रा संकटकालमा सुरु भएर पाँच वटा रिसिजसम्म चल्यो । नेपथ्यले देशका ५० भन्दा बढी ठाउँमा कन्सर्ट गर्‍यो ।

शिक्षा पाउने अधिकारलाई द्वन्द्वका नाममा बिथोलिनु हुँदैन भन्ने आवाज उठाउनु यो यात्राको मुख्य उद्देश्य थियो । स्थानीय विद्यालयसँग सहकार्य गर्दै शान्ति र शिक्षाका लागि गीत गाएर नेपथ्यले विद्यालयका लागि थुप्रै सहयोग समेत जुटाइदियो । विद्यालय भनेको विद्यार्थीको भविष्य हो । बच्चा ठूलो हुँदै जान्छ । उसले पढ्ने स्कुल छैन । स्कुल जाने विद्यार्थीलाई कहिले सेना पुलिसले लगेको छ । कहिले माओवादीले कहाँ लगेको छ । शिक्षकलाई कहिले राज्य पक्षले कहिले विद्रोही पक्षले यातना दिएको छ । यस्ता खबरहरु अखबारमा आइरहेपछि अमृतलाई केही न केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो । ‘कहिले विद्यार्थी लगेको छ । कहिले टिचरको हात बाँधेको, बेपत्ता बनाएको छ । कहिले राज्य पक्षबाट कहिले विद्रोहीबाट,’ अमृतले भने, ‘यसले बच्चालाई धेरै असर गर्ने भयो । यस्ता गलत कुरा हुन नदिन हामीले आह्वान गर्नुपर्छ भन्ने लागेर शान्तिका लागि शिक्षा कार्यक्रम सुरु भएको हो ।’

देशमा २०५८ साल मंसिरदेखि संकटकाल लागू भयो । अमृतको शान्तिका लागि शिक्षा अभियान सुरु हुने मिति तोकियो २०५८ फागुन २८ गते । अमृतको जन्मथलो पोखराबाट यो अभियान सुरु गर्ने निधो भयो । पोखरामा कार्यक्रम गर्न नेपथ्य ब्याण्ड फागुन २७ गते काठामाडौंबाट पोखरा हिँड्यो । मुग्लिङसम्म आउँदा सेना अघिअघि नेपथ्य पछिपछि थियो । नेपथ्य समूह मुग्लिङबाट पोखरा आयो । सेनाको समूह नारायणगढतिर जाँदा जलबिरेमा एम्बुसमा परेको खबर आयो । बल्ल–बल्ल पोखरा त पुगे तर ब्यान्डका सदस्यहरू कन्सर्ट गर्न मानेनन्, सबैमा त्रास पैदा भयो । पहिलो गाँसमै ढुंगाजस्तो ।  

‘हामी पोखरामा होटेलमा बसेका थियौं । साथीहरुले कार्यक्रम गर्नु हुँदैन । कार्यक्रमभन्दा ज्यानको सुरक्षा ठूलो हो भन्थे,’ अमृतले त्यो कहालीलाग्दो मनोदशाबारे खुलाए, ‘मान्छे एक्लै आएको हो, एक्लै जाने हो । कार्यक्रम त गर्नुपर्छ । यो त अभियान हो । अपिल गर्ने हो । हामीले कार्यक्रमै गरेनौँ भने भोलि बाँच्न गाह्रो हुन्छ भनेर कार्यक्रम ग¥यौँ तर त्यसो डरत्रासका बीच कार्यक्रम गर्न मजा आउँदो रहेनछ ।’

यस्तो अवस्थामा हजारौं मानिस जम्मा गरेर कार्यक्रम गर्नु ठूलो कुरा थियो । संकटकालले गर्दा १० जना मान्छे जम्मा हुन डराउँथे तर नेपथ्यको कन्सर्टमा सयौँ मान्छे एकसाथ रमाउन थाले । त्यही मौकामा अमृत शान्ति फैलाउन र बालबालिकाको शैक्षिक अधिकार जोगाउन सबैसँग अपिल गर्थे ।

यो यात्रापछि २०५९ सालमा नेपालयसँगको सहकार्यमा नेपथ्यले झन् ठूलो बृहत् सांस्कृतिक अभियान ‘सुन्दर शान्त नेपाल’ शान्ति संगीत यात्रा सुरु ग¥यो । विद्रोही र सरकार पक्षबीच शान्तिवार्ता चलिरहेका बेला यो कार्यक्रम धरान, हेटौडा, बुटवल, महेन्द्रनगर, दाङ र काठमाडौंमा भव्य तरिकाले सकियो । यात्रामा नेपथ्यसँगै दीप श्रेष्ठ, कुन्ती मोक्तान, सपनाश्री, सुक्मित गुरुङ, प्रेम राना ‘औतारी’, राम थापाजस्ता चर्चित कलाकार सहभागी थिए ।

सुन्दर शान्त नेपाल सफल भएपछि अमृतलाई सांगीतिक यात्राको लत नै लाग्यो । त्यति बेला त्यस्ता कार्यक्रम आयोजनै हुन्थेनन् । त्यसैले जनताका लागि पीडा भुल्ने बहाना भए कन्सर्टहरू । त्यही भएर शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल दुवै यात्रालाई नेपथ्य र नेपालयले बर्सेनि निरन्तरता दिए । यसले अमृतप्रतिको आमधारणा सम्मानित बनाउँदै लग्यो भने उनमा देशप्रेमको भावना ह्वात्तै बढायो किनभने विद्रोहकालमा घुम्दै–घुम्दै देशका कुना–कुना पुगे र द्वन्द्वले दिएका पीडालाई नजिकबाट अनुभूत गरे । द्वन्द्वकालको कुरा गर्दा अमृत अहिले पनि निकै भावुक हुन्छन् ।

मान्छेसँग मान्छे डराउने समय थियो त्यो । कतै गाउँठाउँमा घुम्दाफिर्दा रातविरातमा बास दिनु त परको कुरा, कुरा गर्न पनि डराउँथे । मान्छे एकलाई देखेर अर्को तर्सिने समय थियो । ‘साँझपख घरमा आएका पाहुनालाई बास दिनु र एक छाक मिठो मसिनो दिनु नेपाली संस्कार थियो,’ अमृतले भने, ‘द्वन्द्वकाल नयाँ मान्छे देख्यो कि डराउने समय  थियो ।’

सम्झिरहने दुःखद घटना
अमृत गाउँ–गाउँ डुल्दा होस् वा शिक्षाका लागि शान्ति यात्रा गर्दा होस् । उनले धेरै दुःखकष्ट ब्यहोरेका छन् । उनी आफैँले विद्रोही र राज्य पक्षबाट प्रत्यक्षअप्रत्यक्ष धम्कीको सामना कति गरे कति ! रोल्पा जाँदा बीचबाटोमा माओवादीले समाएर दिनभर थुने । बाटोमा हिँड्दा उनीहरूको खप्की सहनु त सामान्य भइसकेको थियो । त्यस्तो डरलाग्दो समयमा पनि उनी कुनाकाप्चा पुगिरहे, कहिले एक्लै त कहिले साथीभाइसँग ।

अहिले आएर उनलाई विद्रोह भनेको असन्तुष्टिको कुरा रैछ भन्ने लाग्छ । जब मान्छे असन्तुष्ट हुन्छ विद्रोहमा लाग्दोरहेछ भन्ने उनको बुझाइ छ । द्वन्द्वकालमा यस्तो समय थियो कि काठमाडौं पोखरा सरररर जाने हो भने ५ घण्टाको यात्रा हो । तर, यो यात्रा गर्न  दिनभर लाग्ने । ठाउँ ठाउँमा चेकजाँच हुन्थ्यो । त्यसले यात्रुलाई पनि उत्तिकै तनाव दिन्थ्यो । शिक्षाका लागि शान्ति यात्रा गर्दा भएको एउटा घटना भने अमृतलाई सधैँ सम्झना भइरहन्छ । कार्यक्रमको शिलशिलामा उनको समूह सुर्खेतमा थियो । त्यहाँ कार्यक्रम सक्दा बेलुकाको ६ बजेको थियो । थाकेर लखतरान परेका थिए । तर, भोलिपल्टै अर्घाखाँचीको सन्धिखर्कमा कार्यक्रम थियो । तर, त्यतिबेला कफ्र्यु लाग्यो । कुनै पनि हालतमा कार्यक्रममा जानु थियो । उनीहरुले केही समय थकाई मारे । त्यसपछि कफ्र्युको अवस्थामा पनि रातारात गोरुसिंगेसम्म आए ।

‘आफू एक्लै हिँड्दा केही हुँदैन, समूहमा हिँड्दा व्यवस्थापन गर्न धेरै गाह्रो हुने,’ अमृतले त्यो कष्टकर दिन याद गर्दै भने, ‘त्यो रात मलाई निकै गाह्रो भएको थियो । त्यति असहज कहिल्यै महसुस गरेको थिइनँ ।’

पुम्दीदेखि वेम्बली ऐरेनासम्म
नेपाली संगीत पारखीमाझ लोकप्रिय नेपथ्यले देश विदेशका विभिन्न ठाउँमा आफ्नो कन्सर्ट गरिसेकेको छ । यसै शिलशिलमा अमृत कास्कीको पुम्दीदेखी बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनामा समेत आफ्नो प्रस्तुती दिइसकेका छन् । १२ हजार ५०० दर्शक क्षमताको विश्व प्रसिद्ध स्टेडियम वेम्बलीमा २०७० साउन १९ गते नेपथ्यले आफ्नो दाजुमय सांगीतिक प्रस्तुति दिएको थियो । अमृत गुरुङको स्वरका चर्चित नेपाली गीतहरू यसै स्टेडियमबाट विश्वसामु गुञ्जिएका थिए । विश्वभरका कलाकारहरूको सपना रहेको वेम्बली एरेनामा प्रस्तुत भएपछि नेपथ्यको अन्तर्राष्ट्रिय छवि झन् बढेको थियो ।

सन् १९३४ मा स्थापना भएको वेम्बलीको मञ्चमा सांगीतिक प्रस्तुति दिने नेपथ्य नेपालको पहिलो ब्याण्ड हो । जुन मञ्चमा माइकल ज्याक्सन, बब डेलन, म्याडोना, ब्रिट्नी स्पेयर्स, साकिरा, ट्वेलर सिफ्ट, जस्टिन बेबर लगायतका एक से एक विश्व प्रसिद्ध नयाँ पुराना गायकहरू प्रस्तुत भइसकेका छन् । नेपथ्यको यो सफलता लामो समय नेपाली समाज र दर्शकमाझ बनाएको छविको परिणाम थियो । नेपथ्यले नेपालका ५० ठाउँमा पटकपट आफ्नो प्रस्तुति दिइसकेको छ भने विदेशमा भारतका विभिन्न ठाउँ, अमेरिका, नेदरल्याण्ड, हङकङ, कोरिया, अष्ट्रेलिया, बेल्जियम, फिनल्याण्ड, इजरायल,कतार, जापान, जर्मनी, डेनमार्क, दुबई लगायतमा गरी ६० ठाउँमाभन्दा धेरै आफ्नो प्रस्तुति दिइसको छ । अष्ट्रेलियामा त विभिन्न ठाउँमा चार पटकसम्म सांगीतिक यात्रा नै चलाएको थियो नेपथ्यले ।

कहिलेकाँही लाहुरे किन भइन भन्ने लाग्थ्यो
उनी लाहुर जाने संस्कार भएको समाजमा हुर्किए, जातले पनि लाहुर जान सहज हुन्थ्यो । तर, न बाबुले लाहुर जान कर गरे, न अमृतमै इच्छा पलायो । हितकाजी चाहन्थे, छोरा नेपाली सेनामा भर्ती होस् । बाबुको यो दबाब उनले किशोरवयदेखि नै झेल्नुप¥यो । तर, उनमा बच्चैदेखि कलाको रस पसिसकेको थियो, सैनिक बनेको कल्पना गर्दा पनि आँत सुक्थ्यो । ‘पढेको छ । उचाइ पनि राम्रो छ । नेपाली सेनाको लप्टन भए राम्रो हुन्छ । सिपाही हुनलाई बेलायतै जानुपर्छ भन्ने छैन’ अमृतका बुवाले भन्थे ।

उतिबेला मलाय र इन्डियन लाहुरेको जमाना जियो । गाउँमा लाहुरे आउँदा उनसको चमकदमक नै अर्कै हुन्थ्यो । काँधमा रेडियो । चिटिक्क परेको कपाल पाल्ने । लाहुरेको लवाइखवाइ नै लोभलाग्दो हुन्थ्यो । अमृत एसएलसी दिएपछि कलेज पढ्न थाले । कलेज पढ्दै गर्दा बुवासँग खटपट भएपछि उनले घरबाट खर्च लिएनन् । त्यतिबेला आर्थिक अभावले हैरान बनाउँथ्यो । ठिक त्यही बेला उनका साथीहरु, दौतरीहरु छुट्टि आएका हुन्थे । तीन वर्षमा मलायाको लाहुरे, इन्डियाको लाहुरे दुई वर्षमै घर आउने । ‘लाहुरेले लगाएका कपडा, उसले गरेका खर्च, उसको जीवनशैली हेर्दा र साह्रै अभावको भएको बेला भर्ती नापिनुपर्छ की के हो भन्ने लागेकै हो’ उनी भन्छन्,‘कहिले काँही किन लाहुर किन गएनछु भन्ने लाग्थ्यो । तर, त्यतिधेरै रुची भने जागेन ।’

अमृतको परिवार
अमृतका बुवा हितकाजीको निधन भएको १२ वर्ष भइसक्यो । उनको परिवारमा अहिले आमा चिजकुमारी, श्रीमती निर्मला गुरुङ्ग, एक छोरी निशिम गुरुङ्ग, भाई र बुहारी छन् । उनकी आमा पोखराको रानीपौवास्थित घरमा बस्छिन् । आमाको स्वास्थ्य त्यति राम्रो छैन, उनले औषधी खाइरहनुपर्छ । अमृत मूलपानीको गोठबाट आमालाई भेट्न समय मिलाएर आइरहन्छन् । चीनमा अध्ययनरत छोरी कोराना सन्त्रासपछि पोखरा फर्किएकी थिइन् । उनी थप अध्ययनका लागि अमेरिकका जाने तयारीमा छिन् । अमृत एक नियमपालक हुन् । उनले सकेसम्म बनाइएका नियम पालना गर्नुपर्छ भन्छन् । त्यसैले अहिले घर परिवार पनि पहिलो प्राथमिकतामा छ उनको । यताउता लप्पनछप्पन उनलाई केही मतलब छैन । गोठ, घरपरिवार, समाज र गीतसंगीत उनको सबैथोक हो । अमृतले लामै समय प्रेम सम्बन्ध चलेपछि लमजुङबाट सजातीय युवती विहे गरेका हुन् । त्योभन्दा धेरै पारिवारिक कुराकानी गर्न रुचाउँदैनन् अमृत । ‘योभन्दा धेरै कुरा नगरौंहोला’ उनी भन्छन्,‘मेरो परिवारमा अहिले यति नै छौं । यहाँभन्दा भित्र नजाऔं ।’

घुमन्ते फोटोग्राफर
अमृतिको पहिलादेखी नै चित्रकारितामा रुचि थियो । उनले चित्रकारिता पनि गरे ।  यही कलाले अप्ठ्यारो परेको बेला उनलाई बाँच्न सघायो । उनले बच्चाहरुलाई पढाएर, जीवनयापान पनि गरे । पछि विस्तारै टेक्नोलोजी बढेपछि उनमा फोटोग्राफीमा रुची बस्यो । उनले नेपाली फिल्मका नायाक विश्व बस्नेतसँग फोटोग्राफी डिप्लोमा सिके । त्यसपछि उनी फोटोग्राफर पनि भए । ‘त्यतिबेला ब्याको फोटो खिच्ने पाएपछि पैसा आउन थाल्यो । त्यसले बाँच्न सजिलो भो’उनले भने,‘फोटोग्राफी पढेको भएर बाँच्नलाई सजिलो भयो । पछि त्यो सोखमा परिणत भयो ।’

अमृतले असाध्यै राम्रो फोटो पनि खिच्छन् । उनी जहाँ गए पनि क्यामरा लिएर  हिड्छन् । नेपालयले पनि उनका थुप्रै तस्वीर प्रयोग गरेको छ । उनलाई फोटोग्राफीमा पनि उत्तिकै रुची छ । गाउँघरमा घुमफिर गर्दा अनेक खाले तस्वीर कैद गर्दा उनलाई आनन्द लाग्छ ।  ‘बढी हिड्ने भएकाले पनि फोटो खिच्ने भएको हुँ । फोटो खिच्न मन पर्छ’ उनी भन्छन्,‘ चित्रकारिता हराएको थियो मसँग । त्यसैले फोटाग्राफीमा रमाहेको छु । चित्र कोरुँ भन्ने मनमा आउँछ तर हातले कोर्न सक्दैन । गफाडिको गफ जस्तो ।’

अमृत जति गायक हुन्, त्योभन्दा बढी घुमन्ते पनि हुन् । दैनिक १८/२० किलोमिटर त उनी हिडेकै हुन्छन् । हिडेरै नेपाल चहारिसकेका छन् । हिड्दाखेरी उनलाई एक किसिमको मेडिटेसन गरेजस्तो लाग्छरे । जति हिड्न पायो त्यही खुसी हुन्छन् उनी । हिड्दाखेरी जे देखिन्छ, त्यसले मन हल्लाउँछ । अनेक किसिमका भावहरु आफूसँग तरंगीत हुन्छन् । त्यसले उनलाई निकै आनन्दित बनाउँछ । ‘धेरै नभनौं, मैले केही राम्रा सिनेमा हेरेको छु र पुस्तक पढने शौभाग्य पाएँ । तर, नाम लिनुपर्दा धेरै आउँदैन । मैले बिर्सिए’ उनले घुम्नुको फाइदा बताए,‘तर, मैले गरेका यात्राहरु अहिले पनि सविस्तार भन्न सक्छु । यात्रा भनेको यस्तो रहेछ जसले जहिले पनि धर्ती र जगतसँग सामिप्यता राख्दोरहेछ । यात्रा गर्दाखेरी गरेका कुराहरु भुल्न सकिदो रहेनछ । सम्झनामा छिटै आउँदोरहेछ । पढेका कुराहरु ठ्याक्कै आउँदैन नि । तर, यात्रामा भोगेका अनुभुतिहरु ज्तिखेर सम्झियो त्यतिखेर ठ्याक ठ्याक आउँछ ।’

प्रकाशित: ८ श्रावण २०७७ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App