१८ फाल्गुन २०७७ मंगलबार
कला

सुमित्रा बाङ्देल ‘चेली’का १० गजल

गजल

सुमित्रा बाङ्देल ‘चेली’

पिण्ड खाने बेलामा बिहे 

अन्याय विरुद्ध बोले बदमासी भन्छ

चुपचाप सबथोक सहे दासी भन्छ

 

पिण्ड खाने बेलामा बिहे गर्न तम्सन्छ

कुमारी कन्या छान्छ विधवा वासी भन्छ

 

धान खाने मुसो चोट पाउने भ्यागुतो

ऊ गर्छ विराम नारीलाई फाँसी भन्छ

 

साठीको विधुरले सोह्रकी भित्राउँछ

विधवाले विहे गरे सत्यनासी भन्छ

 

आफैं वैद्य आफैं रोगी अगम्य छ चाला

नारी बोले पोथी बासेको अभासी भन्छ

 

ताक परे तिवारी नत्र गोतामे नीति

सर दमकलाई नै काँशी भन्छ।  

 

बारुदको परेड

बसाई सर्ने धनेहरू बसाई सरी रा’छन्

झूमाहरू दिनदहाडै मुग्लान तरी रा’छन्

 

ओठ्ले रट्छन् बन्धुत्व र भातृत्वको कुरा

सुग्रीव र वालीबीच संंग्राम परी रा’छन्

 

सुन्दर शान्त मुलूकमा बारुदको परेड

स्वजनले स्वजनकै प्राण हरी रा’छन्

 

आफ्नै गुँड विरानोझै वाजको कुटिल चाल

तिनै वाज आश्वसनका चारा छरी रा’छन्  

 

विनाशकाले विपरित बुद्धि हुँदा हजूर,

दाज्यू थाप्छ धराप यहाँ भाइ मरि रा’छन्

 

विनाश त्यागी निर्माणतिर जुटौं दाजुभाई  

परचक्रीले पिठबाट घात गरी रा’छन्।  

 

निरीह माछो...

पानीमा बल्छी खसायौ फेरि

निरीह माछो फसायौ फेरि

 

आँखा तरेर हिँड्थ्यो सधैं

आज आँखामा बसायौ फेरि

 

पत्थर र फूलको मिलन कहाँ?

व्यर्थ पग्लेर रसायौ फेरि

 

दुख्नु र रुनुको पिठास अर्कै

विध्न हालेर हँसायौ फेरि

 

हिलोमै फूल्छ कमल फूल

ढुङ्गे छातीमा टँसायौ फेरि।  

 

लुम्बिनी र पशुपतिका कुराहरू

कति गरौं विध्वंस र विपतीका कुराहरू

भेट हुँदा गर्ने गर उन्नतिका कुराहरू

 

आऊ आज मान्छे बनी मान्छे जस्तै कुरा गरौं

मिल्काएर अहंकार सम्पत्तिका कुराहरू

 

मानवता कुल्चिएर नाङ्गो नाच नाच्न छाडौं

आजै देखि शुर गरौं सहमतिका कुराहरू

 

पासाङ र पारिजातका कथाहरू पढौं अब

कति घोक्नु गान्धारी, सीता सतीका कुराहरू

 

जताततै हत्या हिंसा आतङ्का चर्चा मात्र

आउ गरौ लुम्बिनी र पशुपतिका कुराहरू

 

कसौडीमा ढुङ्गा गाल्यौ

बाँदरलाई लिस्नु हाल्यौ र रुन्छौ

खोकिलामा गोमन पाल्यौ र रुन्छौ

 

भो नसुनाउ त्यो गान्धारी विलाप

सद्धे नजरलाई टाल्यौ र रुन्छौ

 

न्याउरी मारी पछुताई रहेछौ

आवेशमा कदम चाल्यौ र रुन्छौ

 

हे-यौ मात्र छामेनौ भ्रममा रम्यौ

कसौडीमा ढुङ्गा गाल्यौ र रुन्छौ

 

उज्यालाको महत्व रातमा रहन्छ

घामको सामू बत्ती बाल्यौ र रुन्छौ

 

बाँसुरीको मधुर धून  

उही धर्ती उही आकाश उस्तै घाम जून छ यहाँ

मान्छे किन ठूलो सानो सबैको रातै खून छ यहाँ

 

ईशरुपी मान्छेलाई कुल्चिएर मन्दिर धाउँछौ

मानवता भन्दा ठूलो अर्काे धाम कुन छ यहाँ ?

 

अंहंकारको कोट फुकालौं आऊ सबै मान्छे बनौ

कु–संस्कारको जेल तोडौ उन्नतिलाई थुन्छ यहाँ

 

भेदभावको पर्खाललाई सबै जुटी ढाल्नु पर्छ

तब मात्र सद्भावको विजारोपण हुन्छ यहाँ

 

यहाँ फूलको आतङमा फुलहरू रोई रा’छन्

एकै सृष्टी फरक दृष्टी फूलको मन रुन्छ यहाँ

 

टुक्रिएर चोइटिएर छातीभरी घाउ खोपेर

बाँचीदिने बाँसुरीको कति मधुर धून छ यहाँ

 

आफ्नो घर जलाएर  

आफ्नो घर जलाएर आगो ताप्ने कस्तो मान्छे

मान्छे भई मान्छे मार्न धराप थाप्ने कस्तो मान्छे

 

एकाहातमा वेद अनि अर्काे हातमा बन्दुक छ

स्वार्थीरुपी तराजुमा मूल्य नाप्ने कस्तो मान्छे

 

आजभोलि मान्छेहरू मान्छेको शिकार गर्छन्

लाशमाथिको कात्रो खोसी न्यानो खाप्ने कस्तो मान्छे

 

छलकपट पर पीडामा रमाउने स्वार्थी संसार

आफ्नो सानो घाउ दुख्दैमा सराप्ने कस्तो मान्छे

 

नजरको तिखो वाण  

जोगाएको एक आस्था लड्ला कतै डर लाग्छ

नजरको तिखो वाण गड्ला कतै डर लाग्छ

 

परेलीमा वास माग्न आँखाहरू धाई रा’छन्

अनायासै ढुकढुकी बढ्ला कतै डर लाग्छ

 

फूल जस्तो निर्दाेष मन फुलसँगै रमेको छ

रहरले जुनतारा जड्ला कतै ल डर लाग्छ

 

धर्मरिन्छ, लड्खरिन्छ उसको सामु मन त्यसै

नपिएरै पनि नशा चढ्ला कतै डर लाग्छ

 

प्यालासँगै रितिएर तिमीलाई

यो मुटुमा शुल बनि विझाउन फेरि आयौ

आँशु बनि परेलीलाई भिजाउन फेरि आयौ

 

आफैं भित्र खुम्चिएर सेती जस्तो बग्ने जीवन

कोशी किन रहरहरू फिँजाउन फेरि आयौ

 

सम्झनाको पुल तरी छातिभित्र सल्बलायौ

व्यथा बाहेक के नै छ र रिझाउन फेरि आयौ

 

प्यालासँगै रितिएर तिमीलाई भूल्न चाहे

प्यालाभरि टल्पलाई गिज्याउन फेरि आयौ

 

हिम्मतहरू जुटाऊ नारी

कु–प्रथाको अडम्बरी बन्धनहरू चुँडाउ नारी

डाडू, पन्यूँ, कुचा फ्याँकी कलमहरू उठाउ नारी

 

एकाइसौं शताब्दीमा द्वापरयूगकै अभिनय

गान्धारी र सीता बन्ने आदतहरू छुटाउ नारी

 

कतै देवी कतै दासी बाँच्यौ केवल कठपुतली

मान्छे भई मान्छे बाँच्ने हिम्मतहरू जुटाऊ नारी

 

यहाँ तिम्रो लाज छोप्ने कृष्ण अवतार हुने छैन

जागरणमा जुर्मुराइ अस्तित्वलाई खुटाऊ नारी

 

प्रगतिको बाधक हेर, अज्ञानताको पहाड त्यो

एकताको अस्त्र लिई हिर्काऊ र फुटाउ नारी।

प्रकाशित: ३ श्रावण २०७७ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App