२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

रामकाजी कोनेका १० मुक्तक

मुक्तक

रामकाजी कोने

भत्काउन सक्दैन वैरीले यो छातीमा दुरुस्त छ देश,  

पक्ष र विपक्षमा छैनौं,   कसैको न्याय परस्त छ देश।  

सिमानामा छिमेकीको थिचोमिचो बढ्दै गएपछि,

कोरोनाले भन्दा पनि लिपुलेकले सिकिस्त छ देश।  

०००

हिस्सी परेकी छौ अनुहार हेर्दा अलि काली प-यौ,  

कुरा गर्न सिक्नुपर्छ तिमीबाटै अलि जाली प-यौ।  

हुरुक्कै हुन्छु हामी बीचको साइनो केलाएर ल्याउँदा,

आश नगरुँ, यो मन मान्दैन, आखिर दाइकै साली प-यौ।  

०००

फूलझैं फूल्यौ भमरा घुम्छन्, मनमनै मक्ख हुनु,

मतलबी छौ माया मिलाउनु, उनैसँग ठिक्क हुनु।  

अतीत भएँ म तिम्रो वर्तमानलाई ठेस लाग्छ भने,

अजनवी बनिदिन्छु आजैदेखि तिमी ढुक्क हुनु।  

०००

ओरालो झर्न सजिलो,  साह्रो रैछ उकालो चढ्न पनि

सुतेर खानु छैन कसैलाई, बाध्य छन् अघि बढ्न पनि।  

हुँदा खाने र हुने खाने छुट्टाएर अन्याय ग-यो कि प्रभुले,

नबुझिने भाग्यरेखा भावीको, गाह्रो रैछ पढ्न पनि।

 ०००

मूलबाटो छाडेर घरको जब दायाँबायाँ हराउँछन्,  

लंका डढाएर मनको शंकाले श्रीमतीसँग डराउँछन।  

दोहरो चरित्र कस्तो लोग्ने मान्छेको, जातै नहुने,  

आदर्श रामको तर लीला श्रीकृष्णको मन पराउँछन्।  

०००

राम्रो कि नराम्रो कस्तो गर्छौ काम तिम्रो खुसी,  

गुमनाम बन्छौ कि राख्छौ नाम तिम्रो खुसी।  

न्यायी र अन्यायी पात्र छन् जिन्दगीको रामायणमा  

छान्न पाइन्छ, रावण बन्छौ कि राम तिमै्र खुसी।

०००

लुकाए नि हुन्छ फाले नि हुन्छ मेरो माया नदेखिने गरी,

जाल हानी छौ हुने खानेलाई अँगाल्नु है नफुत्किने गरी।  

सम्बन्ध टुट्यो जिन्दगी फुट्यो जिउने आधार नै भत्कियो,  

निदाउँदै छु तिम्रै नाउँमा म प्रिय कहिल्यै नबिउँझिने गरी।  

०००

हुँदो रैनछ मन भएर केही धनको पर्दा जस्ताको तस्तै,  

चलिरहेकै छ औकातको आँधी, मर्का जस्ताको तस्तै।  

नदी र बगरजस्तै भो तिम्रो र मेरो सम्बन्ध पनि,  

देखादेखि मात्र हुन्छ हाम्रो सधैं, तिर्खा जस्ताको तस्तै।

०००

लयमा लागिपर्नेहरूको अस्तित्व कहिल्यै विलय हुँदैन,

होड नै चले नि शस्त्र अस्त्रको यो पृथ्वीको प्रलय हुँदैन।  

किताबले बुद्धि, व्यवहारले बढ्छ विवेक पक्कै पनि,  

पढ्नुपर्छ जिन्दगीबाटै, अनुभवको कुनै विद्यालय हुँदैन।

०००

विक्षिप्त जस्तै बन्दो रैछ मायामा होसै हराएपछि,  

गहिरो बन्छ घाउ, निको हुँदैन अर्काको चित्त दुखाएपछि।  

आवेशमा आएँ, तिमीलाई कराएँ, मलाई निष्ठुरी नभन,

ठूलै भूल गरेँ, मै पनि रोएँ, तिमीलाई रुवाएपछि।  

(कोने नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष हुन्।)

प्रकाशित: ३ श्रावण २०७७ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App