३० श्रावण २०७७ शुक्रबार
कला

भक्तपुरमा फक्रिएको ‘मिथिला’

भक्तपुरको थिमीमा मिथिला कलाकार लक्ष्मण र सरिता मण्डल। तस्बिर: उपेन्द्र लामिछाने

भक्तपुरमा मैथिली प्रभाव मल्लकालदेखि नै देखिन्छ। यहाँका पुराना पाटीमा अझै पनि मैथिली भजन गुन्जन्छन्। दरबारका भित्तामा मिथिलाका मधुर चित्र देखिन्छन्। यहाँका साँघुरा  गल्लीमा कुर्तासुरुवालमा सजिएका झाँजीहरू भेटिन्छन्।  

भक्तपुरको थिमीमा १२ वर्षदेखि जनकपुर, धनौजीका लक्ष्मण मण्डल र उनकी धर्मपत्नी सरिताले डेरा जमाएका छन्। उनीहरू रङसँग खेल्दै कलात्मक मिथिला सामग्री तयार गर्छन्। उनीहरूको स्यानो कोठामा सिंगो मिथिलाको झल्को मिल्छ।  

एक साताको बीचमा दुई ठूला पुरस्कारबाट श्रीमान् र श्रीमती नै पुरस्कृत भएपछि उनीहरूको डेरा झनै उज्यालिएको छ। तीन दशकभन्दा लामो समयसम्म लोककलामा योगदान पुर्याएका लक्ष्मण लोककला विधातर्फ २०७७ सालको नेपाल राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित भएका छन्। त्यसैगरी डेढ दशकदेखि मिथिला कलामा योगदान पु-याएकी सरिता मण्डल ललितकलातर्फको यस वर्षको प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित भइन्। 

ललितकला पुरस्कारबाट श्रीमान्श्रीमती नै पुरस्कृत भएपछि उनीहरूको कोठा झनै उज्यालिएको छ। लोककला विधातर्फ २०७७ सालको नेपाल राष्ट्रिय ललितकला पुरस्कारबाट लक्ष्मण मण्डल सम्मानित भए भने प्रादेशिक प्रतिभा पुरस्कारबाट सरिता मण्डल।  

सम्मानको खबरसंगै उनीहरूमा खुसी थपिएको छ। ‘मिथिला कला हाम्रो नसा–नसामा छ,’ लक्ष्मणले भने, ‘हामी जहाँ गए पनि कलासँगै हिँड्छौं।’  

दैनिक रोजीरोटीको मेलोसमेत कलाबाटै गरेका छन् उनीहरूले। ‘सम्मानले सिंगो मिथिला कलाको इज्जत बढेको छ’, उनले भने।  

कलाको माध्यमबाट मैथिली समाजको दैनिक जीवनको झल्को देखाउँदै आएका उनीहरूले पछिल्लो समय सन्देशमुलक चित्र पनि बनाउँदै आएका छन्। समयअनुसार कलालाई पनि परिवर्तन गर्दै लैजानुपर्ने उनीहरूको बुझाइ छ।  

लक्ष्मणको कोरोनासँग सम्बन्धित चित्रले धेरैको ध्यान खिचेको छ। महिलाको टाउकोमा घुम्टो देखिने गरेकामा उनले घुम्टो हटाएर मास्क लगाइदिए। अनुहारमा मास्क लगाएर नमस्ते गर्दैै गरेका नरनारी, सामाजिक दूरी कायम गर्दे किनमेल गर्दे गरेका सर्वसाधारण, भान्छामा पाक्दै गरेको पोषिला खानेकुरा लगायतका विषय एउटै फ्रेममा राखिएका दृश्यले सबैलाई सहजै शिक्षा दिने उनले बताए।  

‘महिलालाई घुम्टो हैन, मास्क जरुरत छ,’ उनले भनेका थिए,’ त्यही भएर मैले घुम्टो हटाएर मास्क लगाइदिएँ।’  

कलाकार सरिता पनि उनका कुरामा सहमत छिन्। कला समाज परिवर्तनको माध्यम बन्नुपर्ने उनको बुझाइ छ। ‘अझै पनि मागे जति दाइजो नल्याउँदा महिला कुटिने गरेका छन्,’ सरिताले भनिन्, ‘मैले त्यही कथालाई चित्रमार्फत व्यक्त गर्दे आएको छु।’  

उनी आफूले मन पराएको केटासँग बिहे गर्न नपाइने, छोरी पाएको आरोपमा विभेद गर्ने समाजको अर्को पाटो पनि चित्रमार्फत देखाउने गर्छिन। ‘समाज छोरी पाए अपमान, छोरा पाए सम्मानको मानसिकताले ग्रस्त छ,’ उनले भनिन्, ‘पेटमा छोरी नै भन्ने थाहा पाए भने भ्रूणहत्या गर्न दबाब दिन्छन्।’

उनीहरूको सानो कोठामा समावेशिता झल्कन्छ। अर्डरका सामग्री बनाउँदै आएका उनीहरूको सहयोगीका रूपमा स्थानीय नेवारसंगै तामाङ, गुरुङ. मगर तथा राई महिला पनि काम गर्छन्। अहिलेसम्म ८० भन्दा बढीले कामसँगै मिथिला कला सिकेको सरिताले बताइन्।  

उनीहरू थिमीको प्रजापति समुदायले बनाएका माटोका सामग्रीमा पनि मिथिला चित्र कोर्छन्। यस्ता चित्र नेपालसँगै विदेशका कुनाकुनामा पुग्ने गरेको उनीहरूले सुनाए।    

‘यही सानो कोठाबाट मिथिलाकला फराकिलो बन्दै छ’, सरिता भन्छिन्, ‘आशा गरौ मिथिलाको रंग यहाँको माटोमा झनै गाढा बनेर फैलने छ।’  

प्रकाशित: २३ असार २०७७ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App