७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

अब ‘आमा अभियान’

एउटा चर्चित भनाइ नै छ–भगवान्ले आफू सबै ठाउँमा पुग्न नसक्ने भएकाले ‘आमा’ बनाए। हो पनि, कतिपय सन्दर्भमा आमाको भूमिका भगवान बराबरी छ। सायद यही वास्तविकता महसुस गरेर होला, उदयपुरको कटारी नगरपालिकामा झाँगिदै गएको लागुपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि आमाको संलग्नता अनिवार्य ठानिएको छ। र, ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान थालिएको छ।

लागुपदार्थ विश्वव्यापी रोग हो। जुन नेपालमा पनि नराम्ररी झाँगिएको छ। कानुन र नियम भए पनि लागुपदार्थ प्रयोगकर्ता घट्नुको सट्टा वृद्धि भइरहेका छन्। त्यसैगरी सुरक्षा निकायको कडा निगरानीका बाबजुद पनि यसका सेवनकर्ता दिनानुदिन बढिरहेका छन्। जसले भविष्यका मात्र नभई वर्तमानकै कर्णधार युवा बडो नराम्रोसँग प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा कटारी नगरपालिकाले थालेको अभियान उचित छ।

२०८० माघ १ देखि चैत ३० गतेसम्मको नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा  गाजा मात्र करिब ६ हजार तीन सय  ६६ किलोग्राम बरामद भयो भने चरेस दुई सय १७  किलोग्राम  बरामद  भयो। त्यसैगरी  हेरोइन एक किलोग्राम, अफिम १५ किलोग्राम र कोकिन एक किलोग्राम बरामद भयो। यससम्बन्धी मुद्दा मात्रै एक हजार एक सय ९८ वटा दर्ता भए। यस्ता घटनामा संलग्न भएको आरोपमा एक हजार ६ सय ५० पुरुष र एक सय १५ जना महिला पक्राउ परे। यो तथ्यांकले पनि नेपालमा लागुपदार्थको समस्या कति ठूलो छ भन्ने जान्न सघाउँछ।

नेपालमा गाजा, चरेस, अफिम, कोकिन, हेरोइनजस्ता लागुपदार्थ अधिक प्रयोग हुँदै आएका छन्। यसबाहेक लागुपदार्थ सेवनकर्ताले डाइजेपाम, फेनागन, लुपिजेसिक, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, एभिल, ट्रामा, प्रोमिथाइजिन र विभिन्न एम्पुल तथा ट्याब्लेटसमेत प्रयोग गर्दै आएका प्रहरीको तथ्यांकबाट थाहा हुन्छ। यति धेरै परिमाणमा र यति धेरै प्रकारका लागुपदार्थ सेवन हुने क्रम बढेपछि यो विश्वव्यापी चिन्ताले कटारीका आमालाई पनि नपोल्ने कुरै भएन। फलस्वरूप उनीहरू यसको न्यूनीकरण र नियन्त्रणका लागि जुर्मुराए।

आमालाई सन्तानको चाहना, बानीबेहोरा, कमजोरी, समस्या त थाहा हुन्छ नै,  समाधान र उन्मुक्तिको उपाय पनि हुन्छ। कार्यान्वयनको ल्याकत पनि हुन्छ। अनि छोराछोरी पनि आफ्नी आमालाई दुत्कारेर हिँड्ने सम्भावना तुलनात्मकरूपमा कमै हुन्छ। सोझो अर्थमा भन्दा आफ्ना सन्तानप्रति सबैभन्दा बढी चिन्तित हुने आमा नै हुन् भने उनीहरूका समस्या छिमोल्न हृदयदेखि लाग्ने पनि उनी नै हुन्। यस्तो वास्तविकतालाई ख्याल गर्दै कटारी नगरपालिकामा दुव्र्यसनविरुद्ध आमासहितको अभियान थालनी गरेर प्रहरीले राम्रो काम सुरु गरेको छ।

अभियानलाई प्रहरीले चरण चरणमा विभाजित गरेको छ। पहिलो चरणमा कटारी बजार क्षेत्रका आमाहरू, स्थानीय अस्पताल र मेडिकलमा कार्यरत स्वास्थ्यकर्मी अनि शिक्षिका/शिक्षकलाई यो अभियानबारे अभिमुखीकरण गरिएको छ। बिस्तारै नगरपालिकाका विभिन्न वडाका बस्ती र बजारमा अभियान विस्तार गर्ने योजना प्रहरीको छ। क्रमशः चरणबद्धरूपमा कार्यान्वयन गरियो यो अभियान प्रभावकारी हुने देखिन्छ।

कटारी क्षेत्रमा पछिल्लो समय लागुपदार्थ दुव्र्यसन र ओसारपसारसमेत बढ्दै जान थालेपछि यो अभिभावकका लागि त तनावको विषय हुने नै भयो, साथै समाज र सुरक्षाकर्मीको समेत टाउको दुखाइको विषय बन्दै आएको थियो। प्रहरीले लागुपदार्थ ओसारपसारमै केन्द्रित भएर कडा चेकजाँच शैली पनि नअपनाएको हैन तर पनि चोरी र अवैध मार्गबाट हुने ओसारपसार र दुव्र्यसन भने भुसको आगोझैँ भित्रभित्रै सल्कँदै गइरहेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले अहिले जुन अभियान थालेको छ, त्यसलाई अनुचित भन्नुपर्ने ठाउँ कतैबाट पनि देखिन्न।

नेपालमा कुनै पनि कुरा उत्साहित भएर थाल्ने र समापनचाहिँ निरुत्साहित बनेर टुंगिने परम्परा छ। त्यसैले पनि कटारीमा लागुपदार्थविरुद्ध आमासहितको संलग्नतामा जुन अभियान थालिएको छ, यसलाई निरन्तरता दिनुपर्छ। बरु आर्थिक र प्राविधिक सहयोगका लागि नगरपालिकासँग अनुरोध गर्न सकिन्छ। आवश्यक जनशक्ति स्वयंसेवीरूपमा परिचालन गर्न सकिन्छ। माथि उल्लिखित आमा, स्वास्थ्यकर्मी, शिक्षणकर्मी र सामाजिक संघ/संस्थामा आबद्ध व्यक्तिहरूले यसमा भरपुर सघाउन सक्छन्। यस्तो अवस्थामा मात्र अभियान सफल हुन सक्छ। यो अभियान यहाँ नमुना बन्न सक्यो भने त्यसलाई अन्यत्र पालिका र जिल्लाले समेत अँगाल्न सक्छन्। यसो हुन सक्दा बल्ल प्रहरी र आमा दुवैले वाहवाही बटुल्ने सम्भावना हुन्छ भने लाखौँ युवाको भविष्य सुन्दर बन्न सक्छ।

लागुपदार्थको समस्या सेवन र ओसारपसारलाई दुई कोणबाट हेर्न सकिन्छ। त्यसैले सेवन एउटा चुनौती हो भने ओसारपसार अर्को चुनौती हो। जसरी मूल नै संग्लो भएमा बहने पानी स्वच्छ हुने सम्भावना बढी हुन्छ, त्यसरी नै ओसारपसारमै दरिलो प्रतिबन्ध लगाउन सकियो भने सेवन स्वतः कम हुन्छ। जहाँसम्म सेवन गर्नुहुन्न भन्ने सबाल छ, यसलाई यस्तै अभियान र सचेतना कार्यक्रमहरू बढाएर व्यापक बनाउन सकिन्छ। त्यसैले अभियानका क्रममा यी पक्षमा जोड दिइयो भने पक्कै पनि लागुपदार्थ दुव्र्यसन रोक्न कटारीका मात्र हैन, नेपालभरका आमाहरू सक्षम हुनेछन् ।यो अभियानको सफलताले सिद्ध गर्ने अर्को कुरा भनेको आमा अभियानको सामथ्र्य पनि हो। त्यसो त हामीकहाँ आमा समूहले गरेको धेरै सामाजिक र आर्थिक पहल उदाहरणीय बनेका छन्। तर, राजनीति र भ्रष्टाचारजस्ता क्षेत्र पनि छन् जहाँ महिला नेतृत्वले अवस्था बदल्न सक्छ।

हिन्दुहरूको पर्व मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन (बुधबार)को पूर्वसन्ध्यामा कटारीबाट आएको यो खबरले सम्पूर्ण आमाहरूलाई सन्तानले किन सम्मान गर्नुपर्ने रहेछ भन्ने कुराको ध्यानाकर्षण गराएको छ। सम्पूर्ण आमाहरूमा फेरि पनि सादर नमन!

प्रकाशित: २६ वैशाख २०८१ ०६:०१ बुधबार

Download Nagarik App
Download Nagarik App