साँस्कृतिक नगरी भक्तपुरका पुराना पाटीमा बाघचाल, पासा, लगायत परम्परागत खेलका दृश्य सामान्यजस्तै लाग्छ । तर पाँचतले मन्दिर नजिकैको क्वाछेपाटीमा ज्येष्ठ नागरिकले चेस खेल्दै गरेको दृश्यले धेरैको ध्यान तान्ने गरेको छ ।
नतानोस् पनि किन ? भक्तपुर दरबारक्षेत्रका ८६ बर्से हरिशंकर ताम्राकार र उनका सहपाठी ८३ वर्षे सूर्यमान ताम्राकारबीचको चेस प्रतिष्पर्धा कुनै प्रतियोगिताभन्दा कम हुँदैन । बुढेसकालका कमजोर हातले चालेका मजबुत चालले धेरैलाई जिब्रो टोक्न बाध्य बनाउँछ ।
उनीहरूले चेस‐बुद्धिचाल) खेल्न थालेको ७ दशकभन्दा बढी भइसक्यो । उतिबेला काम सकेर फुर्सदको समयमा खेल खेल्दै आएका उनीहरू अहिले साँझबिहानको बसाइँमा दौतरीसँग चेस खेल्ने गर्छन् । खेलमा धेरैपछिको चालको समेत हेक्का राख्ने गरेका कारण उनीहरूसँग नयाँ पिँढी समेत खेल्न डराउँछन् ।
‘उहाँहरूसंग मैले पनि धेरै पटक खेलिसकेको छु,’ नजिकैका पसले भीमा ताम्राकार भन्छन्, ‘तर धेरै पटक हारेको छु ।’ लामो समयको उहाँहरूको अनुभवका कारण आफूले जित्न नसकेको उनको बुझाई छ ।
‘दिमाग पनि निकै तेज छ उहाँहरूको’, उनले भने, ‘दुईतीन चालपछिको सोचेर चाल्ने गर्छन् ।’
बाल्यकालदेखि बुढेसकालसम्मको चेस यात्रामा उनीहरूले यसबाट धेरै ज्ञान पनि हासिल गरेका छन् ।
‘चेसमा राजनीति र लडाइँ दुवै एकैपटक प्रयोग हुन्छ,’ सूर्यमान भन्छन, ‘जसले आफ्ना पक्षलाई मिलाएर अगाडि बढायो उसकै जीत हुन्छ ।’
देशविदेशका ताजा समाचारमा समेत चासो राख्ने हरिशंकर उनको कुरामा सही थप्छन् । समस्या परेको समयमा सबैको आआफ्नो ठाउँमा उत्तिकै महत्व हुने उनी सुनाउँछन् । चेसमा रहेका मन्त्रीदेखि सिपाहीसम्म सबैको आफ्नो ठाउँमा उत्तिकै पावर रहने उनले बताए ‘चेसको लडाइँ होस या जमिनको लडाइँ मैदानमा उत्रेका सबैका महत्व उस्तै हुन्छ,’ उनले भने, ‘मिलाएर सबैलाई अगाडि बढाए त्यसले राज्य जित्छ ।’
चेस खेलाडी चाल्ने एउटा गल्तीले विपक्षीले पूरै खेल जित्ने सूर्यमानले बताए । त्यसैले प्रत्येक चाल सोचेर मात्र चाल्नुपर्ने उनी बताउँछन् । ‘यसमा आफ्नो कौशल प्रदर्शन गर्दै विरोधीलाई कमजोर बनाइन्छ,’ उनले थपे, ‘कहिलेकाहीं त आफ्नै प्याधाको बलि दिएर विपक्षीको हात्ती समेत मारिन्छ ।’
प्रकाशित: ६ असार २०७७ ०१:३० शनिबार