१ श्रावण २०७७ बिहीबार
कला

छुटेको गिफ्ट

कथा

निरा शर्मा  

बिहानै उठ्नु । मर्निङ वाक जानु । ज्यान बनाउनु । हाम्रो जस्तो बिहानै जानुपर्ने काम भए के गर्दा हुन् यस्ताले ?  

उठ्नुअघि ओछ्यानमै यस्तो भजन सुन्नु मेरो दिनचर्या जस्तै बनेको छ । कस्तो ¥याप स्टाइलको भजन ! जिन्दगीमा दुई कान सद्धे हुनुमा पनि दुःख लागेर आउँछ कहिलेकाहीँ त । ज्यान बनाउनु भन्न सक्नेले आज एक दिन खाना नबनाउनु भन्न किन कहिल्यै नसकेको होला ?

बिहानै उठ्यो, लन्च, ब्रेकफास्ट प्याक गर्दियो अनि शुरू ग¥यो डिस म्युजिक । उफ् ! कस्तो भ्याईनभ्याई ! कस्तो हतारो ! उहिले काकीहरू ‘कुखुरी काँ’ आवाज सुनेर हस्याङफस्याङ गर्दै काममा जुटेको क्षण मेरो आँखामा भरियो । तर मेरो घरको ‘कुकुरी काँ’ चैं कस्तो धोद्रो ! अलि सुरिलो हुनु नि !  

दुईटा जम्बो गिलासमा मनतातो पानी लिएर म डाइनिङमा बसेँ ।  

‘आज पनि सधैंझैं डाङ्ग्रेले जस्तो यस्सो हरहर गरेर ज्यान भिजाएर काममा हिँड्ने त होला नि !’  

‘कहिले होला है आफ्नो लागि समय निकाल्ने ?’ अझ अमिलियो मन । तर, यो मन अमिलिएको पहिलो पटक भने होइन ।

निरा शर्मा  

शनिबार र आइतबार लगातार दुई दिन छुट्टी । सोमबार भन्नेबित्तिकै सुन्नै नपरे हुन्थ्यो भन्नेको नाम सुनेझैं नमिठो लाग्छ । झर्को लाग्छ । काममा जान यति गाह्रो मान्छ मन । मानौं, कुनै बच्चा बिदापछि स्कुल जान गाह्रो मानिरहेछ ।

ढोकाबाट गाडीसम्म त हिँडे मेरा पाइला । मन भने हिँड्नै सकेन । फर्किरह्यो घरतिरै । गाडीमा त बसें तर गाडी गुडाउन कत्ति मन लागेन । जिन्दगीदेखि कस्तो धेरै पट्यार लागेको !  

हामीले हाम्रो प्रेमबाट बाँच्ने कला सिक्नुपर्छ । तिमीले ‘तिम्री’लाई दिएको माया खोसेर मलाई दिने हैन । मैले पनि ‘मेरालाई’ दिएको माया खोसेर तिमीलाई दिइरहेको छैन । यो छुट्टै मूल हो प्रेमको ।

मोवाइल फोन झिकेर बोसलाई म्यासेज लेखें, ‘हेलो ! ह्वेन आइ वाज गेटिङ रेडी फर वर्क आइ स्लिप्ट एन्ड फेल इन द बाथरुम एन्ड हर्ट माइ लेग । सो आइ क्यान नट कम टु वर्क टुडे ।’  

मैले ढाँटिदिएँ । अल्छीले दिक्क, पट्यारले वाक्क भएपछि ढाँट्न पनि सिकाउँदो रहेछ जिन्दगीले । सेन्ड बटन थिचेपछि लामो सास फेरेँ ।

दशैं बोकेर उडिरहेको कुहिरोलाई निकैबेर हेरिरहेँ । कहाँ पुग्न हिँडेको होला यो कुहिरो ? यसले गाउँसम्म मेरो खबर बोकेर लग्देला कि नाइँ ? सँगै उताको सग्लो चित्र बोकेर यही बाटो फर्केला कि नाइँ ?

केके केके कल्पना गर्न भ्याइहाल्यो चन्चल मनले । मनभन्दा चाँडो दौडने धावक अरू के होला दुनियाँमा ? मन दौडेर जहाँ पुगे पनि म भने गाडीमै टोलाइरहेकी थिएँ ।

‘आजदेखि घरमा माछामासु नपकाउनु है नानी सोह्र सराद शुरू भो ।’ बिहान मात्र आमाले फोनमा बोल्नुभाको आवाज फेरि ठोक्कियो कानमा ।  

मन दशैंमय भयो । सोह्र श्राद्ध आएसँगै दशैं आउँथ्यो मनमा । दशैंको सपिङ याद आयो । मलाई यसै पनि मन पर्छ किनमेल गर्न तर एक्लै जान मन लागेन । झट्ट कल्पनालाई सम्झें ।  

उसलाई फोन गरेँ, ‘आज के छ साथी ? छुट्टी हो नि तेरो त ?’

‘होहो, तँ आउन लागेकी ? लल आइज । बारीको गाभा टिपौंला । तेरै स्टाइलमा पकाउँला । सँगै लन्च खाउँला’, उसले भनी, ‘तेरो त सोमबार छुट्टी हैन नि, किन घर बसेकी के भो ?’  

एक्साइटेड भई ऊ । सँगसँगै प्रश्नवाचक पनि । त्यसको बानी नै त्यस्तै हो । पहिलेदेखि नै ।

म गाभाको ठूलो फ्यान । मेरो फेब्रेट कर्कलाको गाभा । आज उसले त्यसैको नाम लिएर लोभ्याई । कुदिहालम् जस्तो बनाई । ‘नो’ भन्ने त चान्सै थिएन ।

‘केही भा हैन अल्छी लागेर छुट्टी लिएको । लल म आइहालेँ । गाभा टिप्दै गर् । तर सुन न, आज मलाई दशैं सपिङ जाने मन भो । हामी जान्थ्यौं नि भुराहरूलाई दशैं लुगा किन्न ! न्युरोड, खिचापोखरी अनि विशाल बजारमा गएर सारी किनेको याद छ ? यौटै सारी चाहिन्थ्यो है हामीलाई ? कस्तो रहर के त्यतिबेलाको । आज पनि सँगै जाम्न है ?’  

‘लल आइहाल् । सँगै बसेर सल्लाह गरौंला ।’  

कल्पना र म एकै ठाउँमा सुत्थ्यौं त्यतिबेला । धेरै गाउँखाने कथा भन्थ्यौं । मैले भन्दा उसले अझ धेरै गाउँ खान्थी । गाउँ खानेले घर पनि खाँदा रहेछन् । उसले राम्ररी घर खाइरहेकी छ । एकदमै खुसी छ उसको जिन्दगी ।

मन फेरि विगत र वर्तमानको पुल भएर ठिङ्ङ उभियो । मैले एकलट पुराना दिन सरसर्ती याद गरें ।  

मलाई भेट्ने खुसीमा कल्पना बेस्सरी हाँसी । खुसी भै भनुम्न । त्यो भाग्यमानी छे । सँधै हाँस्छे । हाँसेरै जानेभो जिन्दगी पनि । आधाउधी जो गइसक्यो हाँसेर नै । त्यसको हाँसोको भोलुम नै ठूलो छ ।

म घर नफर्की कल्पनाकोतिर सोझिएँ । अघिसम्म स्टेरिङ छुन अल्छी मानेको मेरो हात त्यही स्टेरिङ चलाउन हतार गर्न थाल्यो । मनसँग कस्को के पाइन् !  

गाडी स्टार्ट गर्नेबित्तिकै नारायण गोपालले छेउकै सिटमा बसेर गाउन थाले ‘मैले पुण्य मन पराएँ !  

अकस्मात गीतसँगै जोडिएर यादहरूमा आयो विनोद । मनै त हो, कहाँ रोकिन्छ र ? मैले उसको नम्बर डायल गरिहालें ।

‘कहाँ छौ ?’  

‘यतिखेर म कहाँ हुन्छु होला ? ग्याँस स्टेसनमै छु । तिमीले मलाई आज किन यतिखेर कल ग¥यौ ? यो हाम्रो कुरा हुने समय त हैन । बरु तिमी पो कहाँ छौ ? सबथोक ठिक त छ ?’  

एकैसासमै बोल्यो ऊ । सायद बोस थियो अघिल्तिर या कस्टुमर !  

म श्रीमान्को पाइलामा टेकेर अमेरिका आएँ । म आएपछि उसको र मेरो कनेक्सन टुट्यो । भाइबर, फेसबुक सबैबाट टाढा भयो ऊ । सायद, मेरो दूरीले उसलाई बेस्सरी दुखायो । नमिठो बनायो । मलाई पनि त त्यति नै नमिठो थियो नि । जहाजका पांग्रा गुड्नु अघिसम्म पनि ऊ आइदिए हुन्थ्यो मात्र भइरह्यो । अझ सँगै उड्न पाए नि हुन्थ्यो लागिरह्यो । तर ऊ सम्झनामा मात्र आयो । आइरह्यो ।

ऊबिनाको मलाई बोकेर जहाज छुट्यो । सँगै ऊ छुट्यो । ऊ छुट्नु भनेको जीवन छुट्नुजस्तै लाग्यो मलाई ।

जहाजमा पनि मन कत्ति गह्रौं ! सबैभन्दा गह्रौं भारी त यादहरूको हुँदो रहेछ क्यार । अझ बढी गह्रौं आफ्नो मान्छेको याद, प्रेमको याद बोकेर हिँड्न हुने रैछ ।

‘जानुअघि एक मिनेट भए पनि मलाई भेट है । तिमीलाई एउटा गिफ्ट दिने मन छ ।’  

कफी सपमा उसले गला अवरुद्ध पार्दै भनेको सम्झें । त्यो कारुणिक दृष्यले मन बेस्मारी घोच्यो । आँखा उस्सै भरिए । सायद, अमेरिका जस्तो ठाउँमा जाँदा दुख्दै, रुँदै जहाजको पखेटा समाउने म मात्र हुँला !  

नियतिको खेल पनि कस्तो अचम्मको ! कस्तो नमिठो । एक्लाएक्लै भिड्न लगायो हामीलाई । दुवैलाई जिताएन । तर हराएर पनि एउटै कित्तामा राखेन । भूगोलको पल्लोे छेउमा ल्याएर फेरि हामीलाई सँगै हिंड्नूू भनेर छोडिदियो । तर हाम्रो प्रेमको बगैंचा कित्ताकाट भैसकेपछि । धेरै ढिला ।

अमेरिकाका ५० वटा राज्यमा कहीँ नभएर मेरै छेउको युनिभर्सिटीमा पढ्न आउनु परेको उसलाई । यसलाई म संयोग मात्र कसरी भनूँ ?

यहाँ आएपछि पनि हाम्रो भेट बाक्लिएन । कुरा पनि पातलै भए । अर्थात् उसले दिएको निश्चित समयबाहेक कहिल्यै भएन हाम्रो कुरा । घरदेखि कामसम्म । कामदेखि घरसम्म । उसले मलाई दिएको समय यत्ति थियो । यति समय पनि कुनै दिन छुट्यो भने जिन्दगीको गाडी छुटेजस्तो लाग्थ्यो । प्रेम पनि कस्तो जटिल आदत रहेछ !  

‘अँ ठिक छु । आज काममा जानै मन लागेन । कल्पनाले बोलाकी छ । बरु तिमी पनि उतै आउन’, मैले रहर बोलें ।

‘अब तीन घन्टा ल ? म आइहाल्छु ।’  

हस् । फोन कट्यो । सायद बिजी छ विनोद ।  

बाटाभरि धेरै कुरा खेले, पानीमा माछाजस्तै । अनेक खुल्दुलीमै कल्पनाकोमा पुगें ।  

‘यता आउन नि खुट्टा पर्दो र छ त मोटीको ।’  

कत्रो खुसी हाँसी कल्पे ।  

‘खुट्टा परेको भा हिंडेर आइहाल्थें नि । म त गाडी चढेर आको’, जिस्कें म । हामी दुवै हाँस्यौ । हाम्रो हाँसो एउटै भएर फिजिँयो ।

‘बाटो त देखिस् नि ? फेरि जिस्क्याई मोरीले ।

‘देखिनँ । अन्दाजमा आइपुगें ।’  

खूब !  

‘तँ जस्तो घोकेर पनि बाटो याद नहुने हो र ! हामी त आफ्ना मान्छेको घरसम्म त आँखा चिम्लेर नि पुग्छौं ।  

मैले स्कूलमा बराबर हाइटका साथी मिलेर खेलेको टाउको छामेर मान्छे चिन्ने खेल सम्झाएँ ।  

ऊ फेरि हाँसी । मान्छे नै हँसमुख ऊ ।

कल्पनाले गाभा काटकुट गरेर तयार पारिसकेकी रैछ । अरू धेरै आइटम बनाउने मुडमा रैछे ऊ । भनी,  ‘म आज तँलाई गाउँको दशैं यहीँ ल्याइदिन्छु ।’  

‘कस्तो मीठो गरी भनेकी । त्यति गर न त काली लु ।’  

‘हेर्दै जा न तँ’, थपी उसले ।

हामी एकैछिन् गफिन नपाउँदै डोरबेल बज्यो ।

‘ला कुनचाहिँ मुन्टियो । आज त कोही नआउनु नि’, कल्पेको मुखबाट फुत्त निस्किहाल्यो ।  

‘विनोद तिमी पो ? ह्वाट अ सरप्राइज !’

‘किन म आउन नहुने थियो ?’  

‘अहँ कुरो यस्तो पो रैछ । हामी सोझासिधालाई के थाहा ? यो मैलाई भेट्न आई भनेर दंग परेको मचाहिँ ’, कल्पेले मतिर हेर्दै थुप्रै डायलग पेलि । विनोद आफूले दिएको समयभन्दा दुई घन्टा पहिल्यै आइपुगेको थियो ।  

‘लौ तिमी त कत्ति छिटो आएछौ !’  

कस्तो मजा ! मैले तिम्रो प्रेम पिएँ । तिम्ले मेरो । हामीले जिन्दगीभरलाई पुग्ने हाम्रो प्रेमको अमृत पियौं । यसले हाम्रो प्रेमलाई दीर्घायु बनाउँछ । बरु यसरी बुझौं न ।’ 

‘तिमीले बोलाउने अनि म ढिलो गर्ने, यस्तो कहिल्यै होला ?’ उसको जवाफले कल्पनाको अघिल्तिर झुके मेरा नजर । फेरियो अनुहारको रंग ।

‘कोहीकोही मान्छेको मणि कति छिट्टो हराउँछ भने’, कल्पनाले फेरि आँखा सन्काई । म झसंग भएँ । अनुहारको गाता हेरिहाल्नु जस्तो । ढुकढुकी त बढेको छ नै ।

विनोद बाथरुम छि¥यो । धेरैपछि हामीलाई सँगै पाएर होला कल्पनाको अनुहारमा मीठो हाँसो आयो । सँगै आयो मेरो अनुहारको रङ पनि ।

‘अब हामी तीनै जना सपिङ जाउँ न’, विनोद निस्कनेबित्तिकै भनें ।  

‘अनि यो अचारचाहिँ  कस्ले बनाउँछ नि’, कल्पे बोली ।  

‘आएर बनाउँला नि ! केही समय जाऊँ । फर्किनेबित्तिकै बनाउँला ।’  

‘यसो गरौं । तिमेरू जाओ । म तिमेरू आउँदा टक्क रेडी गरेर राख्छु’, कल्पेले मनकै कुरा गरी ।  

विनोद निहुरियो । उसको पनि अनुहारको रङ बदलियो । मेरो के भो उसैलाई थाहा होला ।

‘तीनै जना जान पाए रमाइलो हुन्थ्यो नि’ भनिटोपलें ।  

‘त्यसै गरौं न’, यति भनेर विनोद फेरि निहुरियो ।

‘छ्या ! कस्तो अप्ठेरो मानेका तिर्मले । जाओ न जाओ ।’  

मेरा आँखा झट्ट विनोदका आँखामा ठोक्किएर निहुरिएँ । विनोदको पनि ।

कल्पना फुत्त किचनतिर गई । लाग्यो ‘यो केटी हँसिली भाग्यमानी मात्र हैन । बुझक्की पनि छ । सायद ऊ त्यही चाहँदी हो, हामी दुई जना मात्रै जाऊँ । र, अनुहारभरि लेखिएका प्रेमका सप्पै अक्षरसँगै नबिराई पढेर सकूँ । छुटेका अक्षर । डिको बिग्रेका अक्षर । बाङ्गाटिङ्गा अक्षर ।

म त कताकता पुगिछु । भित्रभित्रै रुझिछु ।

‘अझै मौन व्र्रतमै छौ ?’ कल्पनाले पुलुक्क ढोकाबाट हेरी । विनोद निहुरिरह्यो । सायद, मलाई जस्तै सकस भयो होला उसलाई पनि ।

‘हामी त के गर्ने गर्ने भइयो, तँ जान्न भनिस्’ भन्न मन थियो तर आँखाआँखा बोले । दुवैको मन बोल्नै सकेन ।  

‘नजाने भए आओ किचनमा काम गर्न’, फेरि पुलुक्क हेरेर कस्तो नमजाले पेलि कल्पेले । मानौ, हामी सँगै हिँड्दा हामीलाई भन्दा उसलाई बढी खुसी मिल्छ । ऊ आफ्नो मीठो स्वार्थका लागि हामीलाई सँगै हिँडाउन खोज्दैछे ।

‘लल जान्छौं हामी, तँचाहिँ घरैमा बसिराख’, हत्तपत्त निस्किहाल्यो मेरो आवाज ।

‘आफ्नो प्रेमलाई दिन छुटेको गिफ्ट दिनु है ?’, थपी ‘वाउ ! ग्रेट ! ह्वाट् अ पर्फेक्ट कपल अफ दि युनिभर्स ।’

फर्केर हेरें । उसले ढोकाबाट भित्र मुन्टो लुकाई ।

मलाई बाटाभरि उसको ‘पर्फेक्ट कपुल र छुटेको गिफ्ट’ले गिरफ्तार गरिरह्यो ।

विनोद मेरो त्यही प्रेमी थियो, जसले जिन्दगीभर चुपचाप मन पराइरह्यो मलाई । नारायण गोपालको गीतले जस्तै । उसको मुखबाट धेरै पटक सुनेँ त्यो गीत । तर उसले मेरै लागि गाएको भन्ने पत्तै पाइनँ । जतिबेला उसले मलाई चुपचाप मन पराइसकेको थियो त्यतिबेला म मन पराउनु शब्दसँग नै चुपचाप थिएँ । उसले यो गीत गाउन थाल्दा म भर्खर ७ कक्षा पढ्दै थिएँ । त्यो काँचो उमेरको अस्पष्ट प्रेम यति झांगेर आउला भन्ने कहाँ सोचियो र !  

कक्षा ९ मा पुग्दा बल्ल उसको साहस केही तीखो भयो । हाक्काहाक्की भन्न थाल्यो, ‘जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ ।’  

‘कल्पना त्यतिबेलादेखि नै कस्ती बुझक्क है ?’  

‘भाग्यमानीहरू त्यस्तै हुँदा रहेछन् क्यार ।’  

‘कस्तो हाम्रो मनकै कुरा बुझ्देकी । अझै जाओ भनेर उसैको ढिपी ।’  

‘अँ त नि ! हाम्रो भन्दा उसको मिसन ठूलो जस्तो ।’  

‘धेरै गर्ने है साथीका लागि त ?’  

‘प्रेमको साक्षी बस्नेले बीचमा हात झिक्न त काँ मिल्छ त । आफ्नै घरमा आउँदा यति त गर्नु परिगो नि मोरीले ।’  

मैले कल्पे आफ्नै हो भने झैं फुइँ लाएँ ।

‘कफी सप नै जाउँ है ?’ गाडी स्टार्ट गर्नु अघि सोध्यो उसले ।

रहर त थियो आधा घन्टा आफ्नै पाइलाले हिडूँ । टहलिँदै धेरै कुरा बोल्दैबोल्दै । तर म विनोदको व्यस्ततालाई पैंचो लिएर उसलाई सास्ती दिन चाहन्नथें ।

उसले मलाई मन पराउने कुरासँग साथी पनि परिचित थिए । अझ साक्षी नै थिई कल्पना । मन त म पनि पराउँथें नि । प्रेम अंकुराइरहेको थियो हामीभित्र । तर झांगिन पाएन । छपनीमुनि टुसायो र पहेलिरह्यो । हाम्रो प्रेमको भाषा त्यति स्पष्ट भएन सायद ! साथीहरूका बीचमा हल्ला होला भन्ने डर । समाजको डर । डरैडर । आखिर संस्कारले प्रेमलाई पनि थुन्दो रहेछ ।

गाडी वेगले गुडिरह्यो अघिल्तिर । गाडीभन्दा स्पिडमा गुड्यो मन । तर पछाडि । अतीततिर ।

नजिकैको स्टारबक्समा पुगेर रोकियो गाडी । कुनाको सोफामा गएर बस्यौं हामी ।

‘धेरै राम्रा कुरा किन आफ्ना हुँदैनन् होला है ? तिमी जिन्दगीभरिकै प्रिय मान्छे । किन मेरो भाग्यमा अटाइनौ होला ? सायद मेरो निधार सानो भएर होला है ?’ एक्कासि भावुक भयो ऊ ।

उसका आँखा रसाए । टाउको मेरो काँधतिर झुक्यो । काँधमा अढेसिएर बेस्सरी रोयो विनोद ।

‘सँगै भएनौं र त हामी जहिले पनि यति प्रिय भयौँ । हामीबीच प्रेमको अभाव रहिरह्यो । कसैको अभाव रहिरहनु जति मीठो प्रेम अरु केही होला ? खुसी हुनुपर्छ विनोद, छुटिगएका नमिठा कुरा भुलेर ।’  

उसको टाउको मुसार्दै म अझ बढी रोइछु । आँसु कहाँसम्म बगे पत्तै भएन । कम्तीमा आफूलाई प्रेम गर्ने मान्छेको आँसुसँग मिसिएर बग्न पाएकामा भाग्यमानी सम्झें ।

‘रून पनि तिम्रो अभाव हुन्छ सँधैजसो । तिमीसँग हाँस्ने रहरभन्दा रुने रहर बढी हुन्छ । रुन पाउँदा कति धेरै आनन्द मिल्छ यो मनलाई । तर, किन यो मौका सधंै मिल्दैन ?’  

‘सधैं रोइरहन पनि त हुन्न नि डियर !’  

ऊ फेरि मेरो काँधमै कोल्टे फेरेर बेस्मारी रोयो ।

‘प्रेमको अर्को जात हुन्न विनोद । प्रेमले रुन सिकाउँछ । हाँस्न सिकाउँछ । बाँच्न पनि सिकाउँछ । अब हामीले हाम्रो प्रेमबाट बाँच्ने कला सिक्नुपर्छ । तिमीले ‘तिम्री’लाई दिएको माया खोसेर मलाई दिने हैन । मैले पनि ‘मेरालाइ’ दिएको माया खोसेर तिमीलाई दिइरहेको छैन । यो छुट्टै मूल हो प्रेमको । तर नि यति धेरै भेटिरहूँ,  देखिरहूँ किन हुन्छ ? जति भेट्यो उति प्यारो किन हुन्छौ तिमी ?’  

यति बोल्दा मलाई आफूभन्दा ठूलो फलामको डल्लो बोकेझैं सकस भयो । उसले मेरो प्रश्नको जवाफमा ठ्याक्कै जवाफ दिन सकेन । आँसु दियो । हाम्रो आँसु फेरि मिसियो र अर्को ठूलो भङ्गालो भएर बग्यो ।

‘आँसु मात्रै पिउने कि केही अर्डर पनि गर्ने ?’

‘के लिने भन न !’, विनोद मधुरो धुनमा बोल्यो । लाग्छ ऊ अझै एकछिन अघिकै समयसँग छ ।

‘के लिने ?’ मैले उसको प्रश्न उसैलाई फर्काइदिएँ । म चाहन्थें उसैको च्वाइस  अनुसार होस आज ।  

‘तिमी भन न’, ऊ फेरि दोहोरियो ।

‘नाइँ तिमी नै भन ।’ म नारीहठ मुस्कुराएँ ।

‘लाटे?’  

‘हस् ।’  

‘अरू ?’  

‘नाइँ यत्ति ।’  

विनोदले कफी अर्डर गयो । फेरि मेरो काँधमा टाउको अड्याएर भन्न थाल्यो, ‘मलाई कहिल्यै नभुल ल ! हामी यसरी नै बेलाबखत भेटिराखौं है ! तिमीलाई भेट्दा जिन्दगीका सबै चीज भेटेजस्तै लाग्छ । लाग्यो फेरि त्यही पानामा अल्झिरेहछ ऊ ।  

पाना पल्टाउन खोजें, ‘भुल्न सजिलो छ र ? आफैंलाई नभुलेसम्म भुलिन्नौ तिमी । भित्र छौ, मुटुमा । यसरी मुटुमा बसेको मान्छेलाई बिर्सिन सकिन्छ ? तिमी सक्छौ ?’  

नेभर ।’  

कफी पनि धेरै ढिला रेडी होस् । पिउँदापिउँदै धेरै बोल्न पाइयोस् । छुट्ने समय नै

नआओस् । मन कल्पनामा डुब्यो ।  

कफी रेडी भएको इशारा पाएर म उठेँ तर उसले मलाई जान दिएन । कपको तालुमा भएको आर्टिस्टिक हार्ट साइन हेरेर भावुक भयो ऊ ।

‘किन सिरियस नि फेरि ?’, जिस्क्याइदिएँ ।  

‘यस्सै’, अझ भावुक भयो ।  

‘लिऊँ सँगै ।’  

मीठो मुस्कानसँगै उसले एक सुरुप्प खायो । मैले पनि । आधा कफी छाडेर ऊ बाथरुम गयो । मैले कप साटिदिएँ । मलाई उसको जुठो खान नि कत्रो रहर !  

‘तिमीले कफीमा के देख्यौ’, सोध्यो उसले ।

‘नथिङ’, सिम्पल जवाफ दिएँ ।

‘अनि तिम्ले नि ?’  

‘तिमी र तिम्रो प्रेम’  

‘कसरी ?’  

‘कफीमा कस्तो नाइस आकृति थियो, प्रेमको । तिम्रो मुटु जस्तै ।’  

‘छ्या ! त्यो त जैले हुन्छ नि ।  

‘कस्तो खल्लो लाग्यो । त्यै प्रेम पिएर सकायौं हामीले । अब हाम्रो प्रेम सदासदाको लागि कसरी रहन्छ भन त ।’  

‘मन रनाहामा भाका बेला जेलाई नि उल्टो देखिन्छ । कस्तो मजा ! मैले तिम्रो प्रेम पिएँ । तिम्ले मेरो । हामीले जिन्दगीभरलाई पुग्ने हाम्रो प्रेमको अमृत पियौं । यसले हाम्रो प्रेमलाई दीर्घायु बनाउँछ । बरु यसरी बुझौं न ।’  

ऊ हाँस्यो ।

‘अनि सर म्याडम, आज त्यतै हो कि यता नि आइसिन्छ त ? खानु पर्दैन ? कि भोक हरायो ?’, कल्पेले फेरि फोनमा पनि बेस्मारी पेलि ।  

‘मायाले पेट भरिजान्छ नि’, फ्याट्टै जवाफ फुत्किहाल्यो मेरो ।  

‘लल भोलितिर आए नि आओ । बल्लबल्ल भेटेका छौ । धित मरुन्जेल बस् ।  

चाँडै घर आओ भन्न नि त्यत्रो डायलग मारी कल्पेले ।

हामी त्यहाँबाट निस्कियौं ।

‘धेरै रहर पूरा भए पनि जिन्दगीमा कुनै एउटा रहरको कति धेरै भोक ! अरू जम्मै रहर पूरा हुँदा नि आँत न अघाउने’, फेरि उही सेन्टी शैलीमा बोल्यो ऊ ।  

‘पूरा भए त सक्किगो नि । अधुरो छ र त भोक लाग्छ । जीवनमा भोक जरुरी छ ।’  मैले उसलाई सतहमा ल्याउने कोसिस गरें ।  

‘मैले किन भन्न नसकेको होला त्यतिबेला मेरो प्रेम ? साँच्चि ! भनेको भए तिम्ले यस भन्थ्यौ कि नो’, ऊ फेरि एक कित्ता अतिततिरै फर्कियो ।

‘नो भन्थें नि, एस भनेर के हुन्थ्यो ?तिमी भगाएर लान सक्दैनथ्यौ । मेरा बाउआमाले दिन्थेनन् ।  भनेनौ राम्रै भो ।’  

म उसलाई अझ डुबाउन चाहन्नथें । कारण कल्पेको अगाडि पनि ऊ युद्ध हारेको सिपाहीझैं लत्रेको अनुहार बोकेर नपुगोस् । कल्पेको मिसन फेल नहोस् । बत्ती निभे जस्तो अँधेरो विनोद देखेर ऊ पनि दुःखी नहोस् भन्ने चाहन्थें ।  

थपें, ‘छुटेका कुरा नमिठा छन् भने त्यसलाई भुल्नु बेस । दुखेको मनले, चाउरी परेको अतित कोट्याउनकै लागि जिन्दगीसँग समय माग्नु सबैभन्दा बेकारको काम हो ।’  

गाडी कल्पेको घर अगाडि रोकियो । गाडीबाट ओर्लन नपाउँदै विनोदको मोबाइलमा घन्टी बज्यो । रिङटोन पनि कस्तो राखेको होला ‘यौटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ।’ ऊ अझै गीतकै सहारामा बाँच्दै रहेछ प्रेमको नाउँमा । अब त म कम्तिमा उसको भाषा बुझ्छु नि ।

फोन रिसिभ ग¥यो । केही बोल्यो र हस्याङफस्याङ गर्दै भन्यो, ‘हेर न, मेरो बोसको कल आयो । कल्पनालाई सरी भन्देऊ है । धन्यवाद पनि सुनाइदेऊ ल ?’  

आवाज नै खुलेन मेरो त ।

‘हाम्रो भेट पातलो नहोस् है ? कम्तीमा तिमीलाई भेटिरहन पाए आफ्नो जिन्दगी आफूसँगै भएको लाग्नेछ मलाई’, पिलपिलियो विनोद ।

मेरा पनि आँखा रसाए । ‘सफा मनले गरेको प्रेममा धोका हुन्न । हामी यसैगरी भेटिरहूँ । हाम्रो प्रेम यसैगरी सदाबहार रहोस् । सधैं उस्तै । सधैं हरियो । लुकाएर राखेको प्रेम लुकेरै भैरहोस् ।’  

मेरा कुराले ऊ अलिकति मुस्कुरायो ।

‘केके भनूँला भन्ने थियो अझै । समय नै पुगेन । अरूसँग चोरेर लिएको समयले जनाऊ घन्टी बजायो । फेरि भेटेर सँगै रुने मौका देऊ ल’, ऊ झन् गाडीमै रुँलाझैं ग¥यो ।  

‘कुनै दिन तिमीले खोजेको समय पनि आउनेछ विनोद । त्यो दिन !’  

मैले पछिल्लो वाक्य पूरा गर्नै सकिनँ । कण्ठमै अवरुद्ध भयो ।

‘जान्छु ल’ विनोदले टाइट हग ग¥यो । मैले पनि कसें टमक्क उसलाई ।

यस्तो लाग्यो ‘ऊ सधैंभरि यसैगरी कस्सिराखोस् मेरो अँगालोमा ।

‘हस्, जाऊ’, सासले यत्ति बोलें ।

उसले अप्ठेरो गरी अँगालो फुकायो । मलाई तानिरहूँ भयो । ऊ छुट्यो ।

‘धेरै रहर पूरा भए पनि जिन्दगीमा कुनै एउटा रहरको कति धेरै भोक ! अरू जम्मै रहर पूरा हुँदा नि आँत न अघाउने’, फेरि उही सेन्टी शैलीमा बोल्यो ऊ । 

ऊ छुट्दा धेरै चीज छुटेझैं लाग्यो । जस्तो कि, हिँड्दाहिँड्दैको बाटो । हाँस्दाहाँस्दैको ओठ  र चल्दाचल्दैको मुटु ।  

आँसु पुछपाछ पारेर कल्पेकोमा पुगें । फुरुङ्ङ परेर बसेकी रैछे केटी । तर मलाई एक्लै देखेर आत्तिंदै सोधी,  ‘अनि जोडी खै त ?’  

‘‘के भनिस ? केको जोडी नि बरु हुन नसकेको जोडी भन्न ।’  

‘आइ मिन तेरो विनोद ।’  

‘फेरि नबिर्सी नानी प्रेमको परिभाषामा मनको जोडीलाई पनि जोडी नै मानिन्छ ।’ ‘तेरो परिभाषा तैंसँग राख् ।’  

ठुस्स परेर डाइनिङ चेयर तानें ।  

उसको ‘तेरो विनोदे मलाई फेरि उडाएर कहाँ हो कहाँ पु¥यायो । उल्टो बाटो ।’  

मैले विनोदको अप्ठेरो बताएँ । खिन्न मन गरी ।

मेरो स्टाइलमा बनाउने भनेको गाभा उसकै स्टाइलमा बनेछ । अरू पनि धेरै थोक बनाइछ । उसले मेरो लागि लल्याइदेको गाउँको दशैं भाग लगाई ।  

खान शुरू ग¥यौं । पहिलो गाँस हाल्दै सोधी, ‘गाउँको दशैं कस्तो लाग्यो त ?’  

‘एकदमै टेस्टी । तँभन्दा पनि ।’  

‘विनोदजस्तै ?’  

‘हो त, विनोद जस्तै ।’  

कल्पे गलल हाँसी । ऊ हाँसेकै मजा लाग्छ । उसलाई हँसाउन नै दिएको थिएँ त्यो उत्तर ।

खाना खाइसकेर हामी सोफामा बस्यौं । कल्पे बोली ‘अनि दिन छुटेको गिफ्ट लिने दिने काम भो त तिर्मको ?’ ऊ अझै जिस्किने मुडमै थिई । उसले देख्ने गरी बर्र खस्यो मेरो मन आँखाबाट । जवाफ आँसुले दियो । आवाज नै आएन । कस्तो सासै रोकिएला जस्तो भयो । कल्पेले मेरो आँसु पुछ्दै भनि, ‘तँ किन रोकी भन्त ? मैले केही नमिठो भनेँ ?’  

मेरो टाउको मात्र हल्लिरह्यो । आँसुको भलको वेग बढ्यो ।

‘ओई ! सरी नि त । तर तँ यसरी किन रोइस् के ? मैले त केही नै बुझिनँ । तँ सानो कुरामै रोइहाल्ने मान्छे हैनस् । भन्न मैले के गल्ती गरें ? सरी भनिसकें त ।’  

कल्पेका आँखाबाट यति छिटो बगे आँसु, मानौं मेरो घाउमा ऊ पनि नराम्ररी दुखी । सधैं  हाँस्ने ऊ रोएपछि मेरो मन झन् थिग्रिएन । म बेस्मारी रोएँ । हामी धेरैबेर रोइरह्यौं ।

आँखा घडीमा पुग्यो । ‘हेर त ५ बजिसकेछ । अब जानुपर्छ म । खोज्न आउलान् फेरि ।’  

‘मेरामा छु भनेकी छैनस् ? बरु बेलुका डिनर खान यतै बोलाउँ कि के हो तेरो महाराजलाई पनि ?’  

‘भैगो छोड, अहिले म जान्छु अर्को दिन आउँला डिनर खान ।’  

‘हिन् बरु एकैछिन पार्कतिर टहलिउँ । रोएका आँखा लिएर के घर जान्छेस् ।’  

‘हो त है, ठिक भनिस् । ल हिन एकछिन् घुमेर आम ।’  

‘तंैले अघि रोएरै टारिस् । भन्न के गिफ्ट किन्दिइस् तैले विनोदलाई ? तँलाई पनि त किन्दियो होला । छुच्ची केटी मलाई पनि गिफ्ट देखाउँदिनस् ?’  

कल्पेले पार्कमा टहलिँदा पनि छोडिनँ । मैले उसलाई भन्नै पर्ने भो । ‘अघि म तेरो कारण रोएको हैन नि कल्पु, नियतिको खेल सम्झेर रोएको । तैंले चाहेकी होस् हामी दुई मात्र सपिङ जाउँ र खुलेर एक अर्कालाई दिन छुटेको गिफ्ट दिन सकूँ ।  तर, कल्पु हामीले दिन छुटेको गिफ्ट सपिङ गएर किन्न पाए पो ! अब त झन्  चाहेर पनि दिन मिल्दैन । तँ किन बुझ्दिनस् के ? यतिखेर ऊ अर्कैको सोकेसमा र म अर्कैको सोकेसमा सजिएका छौं । हामीले दिन छुटेको त्यो गिफ्ट ‘जिन्दगी’ हो । अब तैं भन्, ‘कसरी दिऊँ म त्यो गिफ्ट ?’  

प्रकाशित: १० जेष्ठ २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App