१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘नेपालले आफ्नो भूमि मागेको हो’

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दै अभिनेता राजेश हमालले अभिव्यक्ति दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले सीमालाई लिएर कुनै विवाद नभएको बताएका थिए ।  

‘नेपालले आफ्नो भूमि मागेको हो । यसलाई लिएर छिमेकी देशलाई गतल बुझाइ भएको हो,’ उनले भनेका थिए, ‘अरु केही माग नेपालले गरेको छैन् । नेपालीहरू यी क्षेत्रको लागि कुनै सम्झौता गर्न तयार छैनन् । यसबारेमा भारत पहिलेदेखि जानकार थियो ।’

लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर भारतको कदमले नेपालीलाई मर्माहत पारेको तर्क उनले गरेका थिए । ‘हाम्रा पूर्खाले आफ्नो भूमि जोगाउन यति ठूलो बलिदान र संघर्ष गरेका थिए,’ उनले भने, ‘त्यसैले भारतको दाबीले नेपालीलाई ठूलो झट्का लागेको छ । अहिलेको अवस्थामा हामी अन्याय सहेर बस्नेवाला छैनौं । यो सरकारको विषय मात्र नभएर नेपालीको मुद्दा हो ।’ उनले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएकाले  भारतले यो तथ्यलाई स्वीकार्नुपर्ने बताएका थिए ।  

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा हामीले सम्झन्छु । हामीले दिएको उच्चसुरक्षासहित आतिथ्य गरेका थियौं,’ उनले स्मरण गरे, ‘विनासकारी भूकम्पको बेला मोदी सरकारले नाकाबन्दी गरेर हाम्रो मन दुखाएको थियो । सीमा विवादलाई लिएर भारतको कदमले दुवै देशलाई असर पार्छ ।  

भारतले आफ्नो मिचाहा प्रवृत्ति सुधार्नु जरुरी छ ।’ यस विवादमा सत्य र तथ्यलाई स्वीकार्दै कुटनीतिक ढंगबाट समस्या सुल्झाउनुपर्ने तर्क उनले गरेका थिए । उनले नेपाल र भारतजस्तो असल मित्र संसारमा कमै भएकाले कोरोना भाइरस महामारीबीच उत्पन्न भएको सीमा विवादले भारतबारे नराम्रो सन्देश जाने बताएका थिए ।  

यसअघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया अभिनेत्री मनीषा कोइरालाविरुद्ध खनिएका थिए । परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’  

उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’ लिम्पियाधुरासहित तीन सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्ष लिएको भन्दै भारतीय मिडियाले अभिनेत्री कोइरालाको आलोचना गर्दै उनलाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका थिए ।  

बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए । सामाजिक सञ्जाल ट्वीटरमा उनको समर्थनमा ‘आइ एम विथ मनीषा कोइराला’ ह्यासट्याग ट्रेन्डिङमा परेको थियो । नेपाली मनोरञ्जन क्षेत्रमा आवद्ध व्यक्तिहरूले उनको पक्षमा अभिव्यक्ति दिएका थिए । निर्देशक दीपेन्द्र लामाले फेसबुकमा लेखेका थिए, ‘अर्जेन्टिनी खेलाडी मेस्सी स्पेनको बार्सिलोना क्लबबाट खेल्छन् । 

उनलाई स्टार बनाउनुमा बार्सिलोना र स्पेनी फ्यानहरूको पनि ठूलो भूमिका छ । त्यसो भन्दैमा अर्जेन्टिनाबाट मैदानमा उत्रिँदा मेस्सीले स्पेनविरुद्ध गोल नहान्ने भन्ने हुँदैन । उनले गोल हान्नैपर्छ । मनीषा कोइरालाले पनि त्यही गरेकी हुन् । भारतका दर्जनभन्दा बढी फिल्म उद्योगमध्ये एक बलिउड पनि एउटा क्लबजस्तै हो । 

मनीषा त्यस क्लबकी एक खेलाडी हुन् । क्लबले आफूलाई बलियो बनाउन संसारका उत्कृष्ट खेलाडीहरू भिर्याउँछ । मनीषा उच्च कोटीकी खेलाडी भएकी बलिउडले भित्र्यायो । बलिउडले मनीषालाई मञ्च र पहिचान दियो । तर, मनीषाले पनि बलिउडलाई धेरै दिएकी छिन् । बलिउड समृद्ध हुनुमा मनीषाको पनि योगदान छ ।’

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App