९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

कथा : अर्काकी श्रीमती

स्केच

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

सबैले मलाई खाइलाग्दो मान्छे भन्थे । सेनाको सेकेन्ड लप्टन, उमेर २८, उचाइ ५ः१०, गहुँ गोरो वर्ण । जवानीको जोस भनौँ कि उत्साह या घमण्ड, संसारको जस्तोसुकै शक्तिलाई जित्ने साहस थियो ममा ।

तर, उनलाई हेर्नासाथ जोस–जाँगर नतमस्तक हुन्थे । उनीमा त्यस्तो शक्ति के थियो कुन्नि ! म उनको सामु लत्राकलुत्रुक पर्थें ।  

म घरबाटै ब्यारेक जान्थें । काँधका जोडी खुकुरी अंकित ब्याजको बेग्लै सान थियोे । म ब्यारेक आउँदा–जाँदा सबैको ध्यान मतिर हुन्थ्यो, म भने उनलाई हेर्थें ।

उनी सबैसँग नम्र हुन्थिन्, बालबालिका र वृद्धवृद्धालाई झनै ख्याल गर्थिन् । ‘ब्युटी विथ ब्रेन’को घतलाग्दो अर्थ उनैलाई हेरेर बनाएजस्तो लाग्थ्यो । युनानी र भारतीय पौराणिक शास्त्रका सृष्टिकर्ताहरुले सिरुलाई पृथ्वीमा पठाएझैँ लाग्थ्यो । कवि–गीतकारको वर्णनभन्दा अलौकिक सुन्दरताले भरिपूर्ण थिइन् सिरु । सायद, वर्डस्वर्थ र देवकोटालाई उनको प्रशंसामा शब्दहरू कम पर्थे होला ।

सोमबार सिरु झन् राम्री देखिन्थिन् । चट्ट परेको शरीरलाई रातो रंगको धोतीले बेर्थिन्, सुनमा सुगन्ध लाग्थ्यो । नशालु हेराई तीरभन्दा कम थिएन, जो–कोहीलाई घायल बनाउँथ्यो । हरेक पल उनले मलाई नै हेरिरहेझैँ लाग्थ्यो । मानिस दिवास्वप्न देख्न बाध्य हुन्थ्यो । उनको शिरदेखि पाउसम्म हेर्दा मन त्यसै प्रफुल्ल हुन्थ्यो । तर, शिरको मध्य भागमा रातो सिन्दुर देख्दा मन खिन्न हुन्थ्यो । तैपनि मन त्यसै किन रोकिन्थ्यो ! उनको अगाडि जोखिम मोल्न एक सय एक तयार हुन्थे ।

सधैं सिरु देखिने झ्यालमा बसेँ । सिरुको घरबाट एकाएक ठूलो आवाज निस्कियो, सिसा झ¥यामझुरुम भएको । म झस्किएँ, त्यसपछि सन्नाटा छायो । केही समयपछि ढोका ड्याम्म लगाएको आवाज सुने । सिरु ब्याग बोकेर बाहिर निस्किइन् । म भने उनलाई हेरेर टोलाइरहेँ । 

कतिजना त घरबार त्यागेर सिरुलाई पाउन आतुर थिए । उनीहरू सिरुको स्वीकृति कुरिरहेका हुन्थे । उनले सयौँको भोक, निन्द्रा, अमनचयन भंग गरिदिएकी थिइन् । टोलका २० वर्षदेखि ८० का मनुवा उनलाई आँखा तन्काइतन्काई हेर्थे ।  

मेरो डेराबाट उनको कोठाको ऐना प्रस्टै देखिन्थ्यो । सूर्यको किरणमा उनको ऐना टल्किए मेरो कोठाको भित्तामा ठोकिन्थ्यो, जहाँ विभिन्न आकृति देखिन्थे । उनले कपाल कोर्दा या मिलाउँदा कपालको चमकसँगै मेरो कोठा हाँस्थ्यो, एक पल । हरेक बिहान ९ः३० बजे उनको अनुहार ऐनाअगाडि हुन्थ्यो । म पनि तकिया भित्तामा ठड्याएर उनलाई हेर्थे । उनी लसक्क परेको कपाललाई घरी दायाँ त घरी बायाँ ढल्काउँथिन् । र, दायाँ ढल्काएर किनारमा सिँउदो निकाल्थिन् । अनि, रसिला ओठमा कलेजी रङको लाली लगाएपछि शरीरमा अत्तर छर्कन्थिन् ! यो सबै मैले लुकिछिपी हेर्थें । जति हेरे पनि धीत मर्दैनथ्यो । बेलाबेला उनी यताउति फर्केर कर्के नजर लगाउँथिन् । उनलाई पनि कसैले हेर्दै छ भन्ने भान हुन्थ्यो होला ! म अन्तैतिर आँखा घुमाउँथेँ ।  

म झ्यालमा बसेको मेरी श्रीमतीलाई मन पर्दैनथ्यो । उनी व्यंग्य गर्थिन्, ‘धेरै झ्यालतिर नहेर्नू है, मुन्टो बांगिएला ।’

‘बांगिँदैन, केटाकेटी खेलेको हेरेको,’ म जिब्रो चपाउँथेँ ।

‘के के हेर्नुहुन्छ ? मलाई सबै थाहा छ,’ उनी बम्किन्थिन् ।

‘के हेरँे मैले ? म झर्किन्थें ।  

म दिनहुँ सिरुका गतिविधि नियाल्थेँ, झ्यालमा बसेर । मेरी श्रीमतीले चियो गरेकी थिइन् होला । उनी ममाथि खुबै शंका गर्थिन् । एकदिन छोराले सोध्यो, ‘बाबा, के हेर्नुभएको ?’

‘केही होइन, पुतली हेरेको,’ यति भनेपछि म उसलाई हेर्थे । ऊ जिद्दी गर्दै भन्थ्यो, ‘बाबा, म पनि हेर्छु पुतली ।’

‘तिमीले अहिले देख्दैनौ । पुतली उडेर पर गयो,’ औंलाले संकेत गर्दै निकै परपर देखाइदिन्थेँ । ऊ पुतली पहिल्याउन खोज्थ्यो, नदेखेपछि ऊ खेल्न सुरु गथ्र्यो । यसरी नै बिहानी बित्थ्यो ।

सिरुको घरमा दिनहुँजसो कलह भएको सुनिन्थ्यो । म सोच्थेँ– परी जस्ती श्रीमतीलाई किन गाली गर्छ, म भए त सजाउँथेँ, श्रद्धा गर्थें, लंगुरको हातमा अंगुर भनेको त्यहीँ होला !  

बेलाबेला ‘मलाई डिभोर्स चाहियो’ भन्दै सिरु चिच्याएको सुन्थेँ । त्यसबेला उनको श्रीमानको आवाज नै चर्को सुनिन्थ्यो । उसले सिरुमाथि शंका–उपशंका गरेको बुझिन्थ्यो । राम्री श्रीमती भएकालाई पनि गाह्रै हुँदो रैछ ! दुनियाँले आँखा लगाउने, हेर्नेले पनि खाउँला झैं गरेर हेरिदिने । समस्या !  

छरछिमेकले थाहा पाउने गरी झगडा गरे पनि उनीहरु घरबाट सँगै निस्कन्थे । झगडा होस् या मेल, सिरु सधैँ चिरिच्याट्ट हुन्थिन् । उनको अनुहारलाई खासै असर गर्दैनथ्यो, हँसिलै देखिन्थ्यो । उनको श्रीमान् कालो वर्णका थिए, साउथ इन्डियन फिल्मका मोटो र अग्लो गुन्डाजस्तो । अनुहारमै रिस भरिएझैँ देखिन्थ्यो । उनी के काम गर्थे, मलाई थाहा थिएन । उनी कालो–चिल्लो कार चढ्थे । मनअनुसारको कारको रङ थियो कि ! नत्र अप्सरा जस्ती श्रीमतीलाई दिनहुँजसो किन झपार्थे ? अचम्म लाग्थ्यो, मनमुटाव भए पनि कारमा कुम जोडेर हुँइकिन्थे ।

सिरु देखिने झ्यालतिर हेरिरहन्थेँ म, यो मेरो आदतै भइसकेको थियो । श्रीमती भन्थिन्, ‘भयो अब, आउनुहोस् अफिस जान ढिला होला ।’  

‘ल म आएँ,’ म मन लागी नलागी उनीतिर ध्यान दिन्थेँ । प्रायः उनी मेरो मनोभाव थाहा पाएझैँ गरी बोलाउँथिन् । म पनि केही नबिराएझैँ गर्थें । हुन त मेरी श्रीमती पनि निकै रुपवती छिन् । मैलै उनलाई पाउन गरेको हर प्रयास अझै मानसपटलमा छ, बेलाबेला झलझली याद आउँछ ।

क्लासका सबै केटाहरु उनलाई पाउन मरिहत्ते गर्थें । एक साथीले आफ्नो हात चिरेर उनको नामको लेखेको थियो, रिना । मैले रिनाका लागि कैयौंसँग झैझगडा गरेको थिएँ । मैले उनलाई कसो कसो मायाजालमा फसाएँ र विवाह भयो । छोरो जन्मियो, सबै राम्रै थियो । तर, सिरु आँखामा बसेदेखि घरमा ठाकठुक पर्न थालेको थियो । सिरुको घरमा के कारण झगडा हुन्थ्यो, मलाई थाहा थिएन । हाम्रो घरमा भने सिरु नै कारक थिइन् ।

भद्रकाली अगाडिको सैनिक पेट्रोल पम्पमा म तेल भर्ने लाइनमा थिएँ, उनी एक्लै आइरहेको देखेँ । उनले सेतो कुर्ता, कालो रङको पाइजामा र कालो चस्मा लगाएकी थिइन्, जुन उनलाई खुब सुहाएको थियो । उनको काँधमा साइड ब्याग पनि थियो । उनी टकटक गर्दै पम्पअगाडि उभिएकी थिइन् । सायद उनी कसैलाई कुर्दै थिइन् । एकछिन म आफैँ अलमल परेँ, सपनाझैँ लाग्यो, आफैँलाई चिमोटेँ, विपनै रहेछ । तेल भरेँ । अझैसम्म उनी सडक किनारमा थिइन् । मेरो चाहना पनि त्यहीँ थियो ।  

घाम चर्किएको थियो त्यस दिन । उनी बेलाबेला टाउकामा हात राख्थिन् । घरीघरी हातले हावा हम्किन्थिन् । मनले मानेन, उनी अगाडि बाइक रोकेँ । उनी एकछिन अक्क न बक्क भइन् ।  

‘कसलाई कुर्नुभयो म्याडम ?’ भलाकुसारीको निहुँ खोजेँ ।  

‘कसैलाई होइन,’ उनी हिचकिचाइन् ।

‘घरसम्मै पु¥यादिन्छु, बस्नुस् म्याडम,’ मैले अनुरोध गरेँ ।

‘भो पर्दैन, म ट्याक्सीमा जान्छु,’ उनले भनिन् ।  

‘अप्ठेरो मान्नुपर्दैन । बस्नुस् म्याडम । हाम्रो घर नजिकै छ, किन ट्याक्सी चढ्नुहुन्छ, जाममा फस्नुहोला,’ मैले भने ।  

जामको डरले या मायाले थाहा भएन, उनी राजी भइन् । मेरो कुममा हात राखेर पछाडि बसिन् । एकछिन बाइक हल्लियो, ह्यान्डिल जोडले समातेँ । क्लच बिस्तारै बटारेँ । मलाई केहीको हतार थिएन । मैले जे खोजेँ, त्यहीँ पाएको थिएँ । म सधैं उनीसँगै बस्न चाहन्थेँ, मौका मिल्यो । जिन्दगीमा गुमेको कुरा निकै पछि पाएजस्तो भान भयो । एक प्रकारको जित थियो मेरो । मन प्रफुल्ल थियो । अन्य दिनभन्दा त्यो दिन सहिदगेट खाली थियो । गाडीको चाप निकै कम थियो । नत्र बामे सर्नुपथ्र्यो । घच्याक्क ब्रेक लगाउँदै, हर्न बजाउँदै बाइक चलाउनुपथ्र्याे । सायद समयले पनि साथ दियो ।

निकै खुसी थिएँ ।

हावाको मन्द गतिको मजा लिँदै हामी बाइकमा सरर्र घरतिर जाँदै थियौं । अकस्मात विपरीत दिशाबाट कालो चिल्लो कार अनियन्त्रित तरिकाले आयो । म आत्तिएँ, उनी पनि आत्तिन् । उनले मेरो कम्मरमा बेस्सरी समातिन् । कारवालाले पनि जोडले ब्रेक थिच्यो, झन्डै हामीलाई छोएन । मैले पनि झ्याप्प ब्रेक हानँे । मोटरसाइकल ढल्यो, सिरु कोल्टे परेर उनी लडिन् । म भने च्यापिएँ । एकाएक सडक जाम भयो, हामीलाई हेर्नेको भीड लाग्यो । दायाँबायाँका गाडी रोकिए । कारवाला बाहिर निस्कियो । ऊ गाडीवाल सिरुकै श्रीमान् रहेछ । म आत्तिएँ, क्षणभरमै अनेक शंका, उपशंका र डरले मलाई थिच्यो । मानिसहरू भन्दै थिएँ, ‘के भयो, के भयो ?’  

सिरुको टाउकोमा चोट लागेको थियो । निधारबाट रगत तपतप चुहिँदै थियो । श्रीमानले सिरुलाई गाली गर्न थाल्यो, ‘तँलाई के गर्नु ? ए नकच्चरी, कोसँग दिन बिताइस् ।’

घाइते सिरुमाथि झन् पीडा थपियो । लगत्तै ट्राफिक आयो, मलाई र सिरुलाई अस्पताल लगियो । सिरुका श्रीमानलाई ट्राफिकले केरकार गर्न थाल्यो ।  

यता हामीलाई आकस्मिक कक्षमा लगियो । डाक्टरले सिरुको घाउमा मलमपट्टी लगाए । चोट अलि गहिरो भएकाले उनलाई पाँचवटा टाँका लगाएछन् । जोडजोडले सिरु चिच्याइन्, सायद पेन किलरले काम गरेन । मेरो हातखुट्टाको एक्स–रे भयो । त्यस्तो केही भएनछ । तर, दुखाइ चर्कै थियो ।

सिरुका श्रीमान पनि सिरुको बेडतिर आए । उसले ट्राफिकसँग कुराकानी मिलाइसकेछ क्यारे ।  

मेरो परिवारलाई पनि खबर पुगेको रहेछ । ‘मेरो बाबा, बाबा,’ रुँदै छोरो मैतिर आउँदै थियो । रिना सुँक्कसुँक्क गर्दै थिइन् । उनले सोधिन्, ‘कसरी भयो ?’

म केही बोलिनँ ।  

फेरि सोधिन्, ‘को को हुनुहुन्थ्यो ?’

‘उहाँ र म,’ मैले सिरुतिर संकेत गरेँ । उनले त्यतातिर हेरिन् । सिरुलाई देख्नेबित्तिकै उनी पर झ्यालमा गएर उभिइन्, एकाएक निन्याउरो मुख लगाइन् ! छोरो भने मेरो काखमै बस्यो ।

सिरुका श्रीमान् यताउति गर्दै थिए । उनले रिपोर्ट हेरेर सोधेँ, ‘तपाई को ?’

‘म तपाईंको छिमेकी हुँ, उहाँलाई घरसम्म लिफ्ट दिएको थिएँ । अकस्मात यस्तो भयो !’ मेरो जवाफ थियो ।

‘तपाईंलाई टोलमा कहिले देखिनँ त ! उनले ममाथि शंका गरे ।

‘देख्नुभयो होला, तर याद गर्नुभएन होला,’ मैले भनेँ ।

यसपछि उनी सिरुतिर गए । उनले सिरुलाई भने, ‘कसरी भेट भयो, किन अर्काको बाइक चढिस् ?’ सिरु केही बोलिनन् ।  

श्रीमान्ले भने, ‘अब घरमा तँलाई दश टाँका लगाउँछु ।’  

रिनाको रुवाइ र उभाइमा मप्रतिको रिस झल्किन्थ्यो । एक छिनपछि डाक्टरले मलाई भन्यो, ‘तपाईं घर जाँदा हुन्छ ।’

सिरुलाई चढाइएको सलाइन पानी बाँकी नै थियो । सिरु केही बोलिनन् । मैले भने, ‘सर हामी गयौं ।’

‘हुन्छ, जानुस् । पछि भेटौंला ।’

म छोराको हात समातेर घरतिर लागेँ, छोरो अघिल्तिर म पछिपछि थिएँ ।  

हामी ट्याक्सी चढेर घर आयौं, त्यतिन्जेलसम्म रिनाले केही भनिन् । घर पुग्नेबित्तिकै रन्किइन्, ‘तँलाई रन्डो, म भने मरीमरी व्रत बस्ने । तँ भने दुनियाँका स्वास्नी खेलाउँदै हिँड्ने । पहिलादेखि नै शंका लागेको थियो । जहिल्यै त्यता हेथ्र्यो, कारण यो पो रहेछ ।’

उनले छोरालाई फकाइन् र झोलामा आफ्ना लत्ताकपडा कोच्न थालिन् । एकैछिनमा ढोका ड्याम्म लगाएर हिँडिन् । छोरौ फर्कीफर्की हेर्दै रुँदै भन्दै थियो, ‘मामु बाबा... ।’

उनी छोरालाई तर्साउँदै थिइन्, ‘हिँड खुरुखुरु । तेरो बाउको चर्तिकला देखिनस् ।’ उनले छोरालाई घिसार्दै लगिन् !  

‘ए मेरो कुरा त सुन । कुरै नबुझी कता हिँडेकी ?’

‘तैँ बुझ् अब । धेरै बुझ्न सक्दिनँ । कस्तो रहेछस् भन्ने कुरा आज प्रमाणसहित देखेँ ! पहिला शंका गर्थें, आज आफ्नै आँखाले देखेँ । म गएँ, त्यसैसँग बस् ।’

म झ्यालबाट छोरा र रिनालाई हेर्दै थिएँ । छोरो घरीघरी मलाई हेथ्र्यो, रिनाले एकपटक पनि फर्केर हेरिनन् । मप्रतिको घृणा उनको पाइला पाइलामा देखिन्थ्यो ।  

सधैं छोरो ‘बाबा’ भन्दै मलाई खोज्दै आउँथ्यो । रिनाले पनि मेरा ख्याल, मायामै समय बिताउँथिन् । स–साना कुरामा चासो दिन्थिन् । दिनमा दुई–चारपटक फोन गर्थिन् !  

सोध्थिन्, ‘कस्तो छ, खाजा खानुभयो ?’

तर, आज म उनीसामु घृणित पात्र भएको छु । घर सुनसान थियोे । मनभित्र ज्वाँरभाटा पैदा भए । एकाएक आफैंप्रति घृणा जाग्यो । एकछिन त सबै बर्बाद भएझैँ लाग्यो । हँुदाखाँदाको घरबार क्षणभरमै टुक्रियो । झ्यालमा टोलाएर बसेको थिएँ– परबाट कालो चिल्लो कार हुँइकिँदै मतिर आयो ।

कार सिरुको घरअगाडि रोकियो । कारको ढोका जोडले बन्द गरेको आवाज सुनियो । कारमा सिरु र उनका श्रीमान् रहेछन् । सोचेँ– सिरुको घरमा पनि रडाको मचिन्छ होला ! म कोठाभित्र पसेँ । सधैं सिरु देखिने झ्यालमा बसेँ । सिरुको घरबाट एकाएक ठूलो आवाज निस्कियो, सिसा झ¥यामझुरुम भएको । म झस्किएँ, त्यसपछि सन्नाटा छायो । केही समयपछि ढोका ड्याम्म लगाएको आवाज सुने । सिरु ब्याग बोकेर बाहिर निस्किइन् । म भने उनलाई हेरेर टोलाइरहेँ ।  

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App