८ पुस २०८१ सोमबार
image/svg+xml
कला

दुई स्रष्टाका कृति बजारमा

काठमाडाैं - कविद्वय युयुत्सु आरडी शर्मा र शैलेन्द्र साकारको कृतिहरू बजारमा आएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा युयुत्सु आरडी शर्माको ‘पानाहरू खाली छन्’ काव्यकृति र शैलेन्द्र साकारको ‘भोजपुरे हुलाकीका सन्तान’ पुस्तकहरू सार्वजनिक भएका थिए।

ह्वाइट लोटस बुक सपले आयोजना गरेको कार्यक्रममा दुई पुस्तक विमोचनलगत्तै बोल्दै गजेन्द्रमणि प्रधानले हुलाकलाई नेपाली सञ्चार माध्यमको जगको रूपमा लिनुपर्ने बताए।

‘नेपाली सञ्चार माध्यमको जग भनेको हुलाक सेवा हो। शैलेन्द्रको पुस्तकमा भोजपुरमा पढेका मानिसको हुलाकी सेवाको सन्दर्भ रोचक छ। हुलाक सेवाले सञ्चार जगतमा ल्याएको उतार चढावलाई कृतिमा समावेश गरिएको छ। हुलाकीले नेपाली समाजमा पु¥याएको विषयलाई लिएर पुस्तक लेखिएको छ,’ उनले भने।

लेखक शैलेन्द्र साकारले यसलगत्तै सार्वजनिक गर्न लागेको काव्यसंग्रहबारे जानकारी गराएका थिए। यसअघि उनका ‘सर्पहरू गीत सुन्दैनन्’, ‘नांगो तार’, ‘कवितामा अमेरिका’, ‘रामायण र अरू कथा’ र ‘कोलाज’ शीर्षकका पुस्तकहरू प्रकाशन भइसकेका छन्।

नेपालस्थित भारतीय राजदूतावासका सांस्कृतिक सहचारी रघुवीर शर्माले युयुत्सु आरडी शर्माको ‘पानाहरू खाली छन्’ पुस्तकमाथि समीक्षा गरेका थिए। उनले कवि शर्माको कृतिले नेपाल र भारतको मैत्री सम्बन्ध बिस्तारको काम गरेको जानकारी गराए।

कार्यक्रममा बोल्दै कवि युयुत्सु आरडी शर्माले आफ्नो कृतिको सन्दर्भबारे जानकारी गराएका थिए। ‘मैले बुझेको समाजलाई पुस्तकमा समावेश गरेको छु। कवि भएर कविता लेख्न चुनौतीपूर्ण हुन्छ,’ उनले भने। कार्यक्रममा श्याम रिमाल, राजकुमार बानियाँ र अमर आकाशले उनका कृतिबाट विभिन्न कविता वाचन गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App