२७ श्रावण २०७९ शुक्रबार
कला

राष्ट्रिय गजल महोत्सवमा पाँच बुँदे घाेषणा

काठमाडौं –

‘तिमी कृष्ण हौं कि राम थाहै पाइएन
छाँया असल हो कि घाम थाहै पाइएन

कहिले चक्काजाम हुन्छ कहिले सडकजाम
कसले गर्छ यस्तो काम थाहै पाइएन।’

प्रज्ञा प्रतिष्ठानमा आयोजित दुई दिने राष्ट्रिय गजल महोत्सव सम्पन्न भएको छ। प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा भएको सो महोत्सवमा सातै प्रदेशका ७५ जना गजलकारका गजल वाचन, गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग विषयमा विचार गोष्ठी, आजको गजल लेखनका विषयमा परिसंवाद, नेपाली गजलको अवस्था सम्बन्धमा प्रादेशिक प्रतिवेदनको प्रस्तुति र पाँच बुँदे घोषणापत्र प्रस्तुत गरिएको थियो।

पहिलो पटक भएको महोत्सवको दोस्रो दिन डा घनश्याम न्यौपाने ‘परिश्रमी’, घनेन्द्र ओझा र टीकाराम उदासीले दुईवटा कार्यपत्र प्रस्तुत गरेका थिए। प्राडा कृष्णहरि बराल, प्राडा सनतकुमार वस्ती, डा नेत्र एटम र डा गीता त्रिपाठीले कार्यपत्रमाथि टीकाटिप्पणी गरेका थिए। समीक्षक डा नेत्र एटमले गजलका प्रवृत्ति उल्लेख गर्दै अन्य भाषाबाट नेपालीमा अनुवादित गजललाई समेट्नुपर्ने बताए। प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा वस्तीले नेपाली गजल क्षेत्रमा गम्भीर दृष्टि लगाउनुपर्ने अवस्था आएको सुनाए। त्यस्तै डा त्रिपाठीले गजलमा महिलाको विषयलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखिन्।

परिसंवाद कार्यक्रममा विज्ञ करुण थापाले गजल बिचमा हराएको तर पुनर्जागरणपछि उत्कृष्ट गजलको सिर्जना भएको बताए। डा साधना प्रतीक्षाले गजलले छुट्टै विधा प्राप्त गरेको र युवापुस्तामा लोकप्रिय बन्दै गएको बताइन्। आवाज शर्माले गजलप्रति आकर्षित हुनेहरूको संख्या बढ्ने क्रम रहेको बताए। ललिजन रावलले पनि युवापुस्ताको जमात गजल लेखनमा पूर्ण क्रियाशील रहेको बताए। त्यस्तै ज्ञानुवाकर पौडेलले गजल विधामा विवाद नरहेको बताए। ‘विवाद छ भन्नु छिटो चर्चामा आउनु हो,’ उनले भने, ‘हामीले खोजेको विवाद होइन विमर्श हो, विमर्शले हामीलाई टुंगोमा पु-याउँछ।’

नेपाली गजलको अवस्था सम्बन्धमा प्रादेशिक प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश १ का विवश बलिभद्र कोइरालाले आफ्नो प्रदेशमा अहिले धेरै गजलकारको उत्पादन भएको सुनाए। प्रदेश २ का सञ्जय साह ‘मित्र’ ले प्रदेशमा गजलको अवस्था मध्यम रहेको र सबैभन्दा बढी गजलसम्बन्धी कृति महोत्तरीबाट प्रकाशित भएको जानकारी दिए। त्यस्तै वागमती प्रदेशकी अनिता न्यौपानेले प्रदेशमा निरन्तर गजलसम्बन्धी कार्यक्रम भइरहेको बताइन्।

गण्डकीका अनुराग अधिकारीले मनाङ र मुस्ताङका गजलकार सक्रिय नभएको जानकारी दिए। प्रदेश ५ का कपिल अन्जानका अनुसार सो प्रदेशमा साहित्यिक माहोल राम्रो रहेको छ। कर्णालीकी सीता यरीले भाषा र साहित्यका हिसाबले कर्णाली प्रदेश अगाडि रहेको बताइन्। सुदूरपश्चिम प्रदेशका जनक रसिकले समग्र देशकै गजलका लागि सहयोग गर्ने पत्रिका प्रदेशबाटै प्रकाशित भइरहेको जानकारी दिए।

प्राज्ञ परिषद्का निवर्तमान सदस्य डा अमर गिरी गजल नेपाली भाषासम्म आइपुग्दा परिवर्तन भएको बताउँछन्। गजलको इतिहास उही रूपमा नरहेकाले सिद्धान्तको पक्षमा लचिलो बन्नुपर्ने उनको धारणा छ। आज गजलका क्षेत्रमा स्तरीकरणको समस्या उत्पन्न भएको उनले जानकारी दिए। साहित्यकार डा बिन्दु शर्माले गजल महोत्सवमा युवा चिन्तनलाई बुझ्ने मौका मिलेको बताइन्। ‘गजलका आधारमा भन्नुपर्दा पश्चिमका गजलहरू बढी सशक्त रहेछन्,’ शर्माले भनिन्, ‘राजधानीका गजलको तुलनामा प्रदेशबाट आएका गजल धेरै माथि रहेको पाइयो।’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आगामी दिनमा गजल प्रवर्धनका लागि विशेष कार्यक्रमको आयोजना गर्दै जाने जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री जगत्बहादु विश्वकर्माले महोत्सवको घोषणापत्र र वातावरणलाई हेर्दा ऐतिहासिक महोत्सव रहेको बताए। नेपाली कला साहित्यलाई अझ प्रवर्धन र विकासका लागि महोत्सव सफल रहेको उनको भनाई छ। प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले युवापुस्तालाई आकर्षण गर्ने गरी सातै प्रदेशका युवा गजलकारलाई महोत्सवमा समेटेको बताए।

प्रकाशित: १८ माघ २०७६ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App