coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

डोली र डोला हेर्न थारू सङ्ग्रहालय

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। थारु समुदायको ऐतिहासिक रहनसहन, संस्कृति र जनजीवनलाई सङग्रहालयमा जीवन्त प्रस्तुत गरिएको छ। यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ।

थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु सङग्रहालयमा राख्न १२ थारू गाउँका वडघरलाई जिम्मा दिइएको थियो। सङ्ग्रहालयका सचिव भागीराम चौधरीका अनुसार सङ्ग्रहालयमा थारू समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन्।

हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामग्रीले सङग्रहालयलाई आकर्षक बनाइराखेका छन्। लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत सङ्ग्रहालय परिसरमा राखिएका छन्। थारू समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायतका गहनासमेत रहेका छन्।

थारू समुदायका महिलाले लगाउने लेहंगा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छा, विवाहमा प्रयोग हुने डोली, डोलासमेत सङ्ग्रहालयमा सजाइएका छन्। वडाध्यक्ष बहादुर महराले सङ्ग्रहालयलाई व्यवस्थित बनाउनका लागि थप बजेटको व्यवस्था गरी नमूनाका रुपमा सञ्चालन गरिने जानकारी दिए। भल्का थारू समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ।

कुण्डको पानी गर्मीमा चिसो र चिसोमा तातो हुने गर्दछ। माघी संक्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। सांसद नरबहादुर धामीले सोमबार सङग्रहालयको शुभारम्भ गरेका थिए। रासस

प्रकाशित: ७ माघ २०७६ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App