१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

एक्लोपनमाथि व्यंग्य गर्दै ‘बुलेट एण्ड द बुद्ध'

काठमाडौं - आधुनिक युगका स–साना बालबालिका ट्याब्लेट फोनमा तलिन छन्। उनीहरुलाई पुस्तकको भारी बोकाएर बोडिङ स्कुल पठाउन अभिभावकहरु प्रतिस्पर्धा चलिरहेको छ। कम उमेरमा धेरै ज्ञान बटुल्न दबाब दिँदा बालबालिका न स्वतन्त्र भएर सिक्न पाएका छ, न रमाएर खेल्न भ्याएका छन्।

‘ताराबाजी लैलै’ बालगीतको को सट्टा उनीहरुको दिमागमा ‘जोनी जोनी’ भरिएको छ। बढ्दो विज्ञान र प्रविधिसँगै जोडिएको शिक्षालाई केन्द्रमा राखेर संवादरहित नाटक ‘बुलेट एण्ड द बुद्धु तयार भएको छ। निर्देशक आशान्त शर्माको सो नाटकमा दार्शनिक र सम–सामाजिक विषयलाई प्रस्तुत गरिएको छ। गत मंसिर २५ देखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटकमा माया र प्रेममात्र नभएर रिस र घृणालाई समेटिएको छ।

प्रयोगात्मक शैलीको नाटकमा विज्ञान तथा प्रविधिको विकाससँगै आधुनिक युगमा मानिसहरु सामाजिक सञ्जालमा झुम्मिरहेका पृष्ठभूमिमाथि व्यंग्य गरिएको छ। नाटकमा देखिएका कलाकारहरुले संगीत, नृत्य र हाउभाउमार्फत भावहरु व्यक्त गरेका छन्। पुस्तकको भारी बोकेर मञ्चमा देखिएका एक पात्रलाई त्यही पुस्तकले जिस्काइरहेको छ। आफ्नो बाध्यात्मक परिस्थितिबाट भाग्न नसक्ने ती पात्रको दोधारको परिस्थितिलाई बुलेट र बुद्धमार्फत् व्यक्त गरिएको छ।

नेपाली समाजको कल्पना गरेर तयार गरिएको नाटकको संगीतले मानिसको कथा व्यक्त गरेको छ। नाटकका कलाकारले सामाजिक सञ्जालको माला लगाएका छन्। सामाजिक सञ्जालको प्रयोग बढेसँगै त्यसलाई सदुपयोग गरेमा फाइदा र दुरुपयोग गरे असर पर्ने भाव नाटकमा समावेश भएको छ। समाजबाट एक्लो भएर सामाजिक सञ्जालमा रमाएका युवापुस्ताको भविष्यमाथि नाटकले चिन्ता व्यक्त गरेको छ। नाटकमा महिला र पुरुष पात्रहरु एकैखालको पहिरनमा देखिएका छन्। शान्तिको प्रतीक मानिने बुद्ध भगवानको विचारलाई प्रतिनिधित्व गर्ने महिला र पुरुष पात्रलाई कथाको मुख्य अंश भनिएको छ।

‘हामी मानिसभित्र माया, प्रेम, शान्ति र हिंसाजस्ता सबै खालका विचारहरु आउँछन्। प्राकृतिक र व्यवहारिक रुपमा शिक्षित मानिसले आफ्ना विचारहरुलाई नियन्त्रण गरेर बुद्ध हुन सक्छ। अन्यथा उ भित्र नकारात्मक विचार भरिएर बुलेट हुन सक्छ,’ निर्देशक शर्माले भने, ‘यो नाटकले वर्तमान अवस्थाको चित्रण गरेको छ।’

पात्रको हाउभाउ अनुसार सुनिने नेपाली, अंग्रेजी र हिन्दी भाषाका आवाजहरूले दर्शकलाई नाटक बुझ्न सहयोग गरेको छ। नाटकमा छिरिङ शेर्पा, रेनुका सिंह, रञ्जना कार्की, दिव्या मगर, संगीता नेपाली, गोपिनी सेदाई र मेलिना बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ६ पुस २०७६ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App