१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘बाथ–टब’बाट नीरको नाट्य पुनरागमन

काठमाडौं – डेढ महिनादेखि अभिनेता नीर शाहको दैनिकी फेरिएको छ। सुटिङ र सार्वजनिक कार्यक्रममा व्यस्त रहने यी अभिनेता अहिले फिल्मको काम र सार्वजनिक कार्यक्रममा कमै देखिन्छन्। नीर आजकल राजधानीको बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा दैनिक पुग्छन्। चारदेखि पाँच घण्टा त्यही बिताउँछन्। अनि साँझ परेपछि निजी निवास फर्कन्छन्। उनी यो थिएटरमा नियमित पुग्ने कारण हो– नाटक ‘बाथ–टब’।

यो नाटकमा लेखकको भुमिकामा देखिन लागेका नीर रिहल्सल गर्नकै लागि दैनिक रूपमा शिल्पी पुगेका हुन्। २०४७–२०४८ सालसम्म फिल्मसँगै नाट्य अभिनयमा सक्रिय नीर त्यसयता भने नाटकबाट टाढिए। ‘मेरो अभिनय यात्राको जननी नै नाटक हो। दार्जिलिङ पढ्दा होस् या काठमाडौंमा रहँदा म नाटकसँगै जोडिन्थें’, रिहल्सल पछिको विश्राममा उनी नागरिकसँग गफिए, ‘म फिल्मी अभिनयमा नआएको भए सायद अहिलेसम्मको यात्रा नाटककै हुन्थ्यो। रंगमञ्चबाट रहर पुग्यो भन्ने लागेपछि फिल्मतिर आएँ। तर पनि मातृथलोसँग भावनात्मक सम्बन्ध कायमै थियो।’

नीरका अनुसार उनी २०४७–०४८ सालतिर नाटक ‘भीमसेनको अन्त्य’मा अभिनय गरेपछि नाट्य अभिनय केही पातलियो। यो पछि हरिहर शर्माले निर्देशन गरेको बालकृष्ण समको नाटक ‘मुटुको व्यथा’मा अभिनय गरेका नीर त्यसयता भने फिल्ममै बढी सक्रिय रहे।

नाट्य अभिनयमा पुनरागमन गरेका नीर यतिबेला नौलो काम पुरा गर्न मातृथलो फर्किएको अनुभव गरिरहेका छन्। ‘म यो नाटकमा लेखकको भुमिकामा छु। अहिले मेरा लागि प्रत्येक पल, प्रत्येक क्षण महत्वपूर्ण छ’,उनले भने,‘रिहल्सलका समयमा स्टेजमा संवाद बोल्दा संवाद भित्र आफैलाई भेटिरहेको छु। मसँग भेट नभएको मेरो चरित्र भेट भएको अनुभव लिँदैछु।’

नाटकमा साहित्यकार कुमार नगरकोटीको लेखन तथा घिमिरे युवराजको परिकल्पना र निर्देशन छ। नीरले नाटकको स्क्रिप्टले आफुलाई अभिनयमा आकर्षित गरेको खुलाए। ‘नाटकमा अभिनय गर्नु आफैमा गाह«ो कुरा हो। अहिले म जुन नाटकमा काम गरिरहेको छु। त्यो झनै गाह«ो छ। नाटक अमूर्त प्रवृत्तिको छ। त्यसभित्रको मेरो चरित्र पनि अमूर्त छ’, उनी खुले, ‘नाटकको स्क्रिप्टसँगै यसको लेखन शैली सशक्त छ। निर्देशक युवराजजीको काम गर्ने शैली परिस्कृत लाग्यो। स–साना कुरामा पनि ध्यान दिनुहुँदो रहेछ। स्क्रिप्टको आकर्षण, लेखनमा उर्जा र नयाँपुस्तासँग काम गर्न पाउने लोभले पनि नाटकमा तानिएँ।’ नगरकोटीको साहित्य कृतिबारे जानकार भएकाले पनि नीरलाई यो नाटकमा अभिनय गर्ने चासो बढेको रहेछ।

फिल्मको जटिलता भनेको त्यसको प्राविधिक पक्षमा हुन्छ। तर नाटकमा कलाकारले त्यही चरित्रलाई फेस गर्नुपर्छ। नाट्य अभिनय पूर्ण रूपमा समर्पित हुने अभिनय हो।

नीरको बुझाईमा नाटक र फिल्मको अभिनय धेरै कुरामा फरक छ। ‘फिल्मलाई म घरबाट निस्कँदा टोलभरी भेटिने मन्दिरहरूको संज्ञा दिन्छु। जहाँ तपाई हिँड्दा कति ठाउँमा नमस्कार त कति ठाउँमा ढोग्नुहुन्छ’, नीरले प्रष्ट्याए, ‘तर नाटक भनेको तपाइँ दक्षिणकाली जान्छु भन्ने योजना बनाउनुभएको छ भने जति लामो बाटो भए पनि त्यहाँ पुगेरै छोड्नुहुन्छ। किनकी नाटक गर्न आफैमा कठिन पनि छ।’

उनी नाट्य अभिनयलाई प्राकृतिक मोडबाट गुज्रिने अभिनयका रूपमा परिभाषित गर्छन्। ‘फिल्मको जटिलता भनेको त्यसको प्राविधिक पक्षमा हुन्छ। तर नाटकमा कलाकारले त्यही चरित्रलाई फेस गर्नुपर्छ’, उनले भने, ‘नाट्य अभिनय पूर्ण रूपमा समर्पित हुने अभिनय हो। फिल्ममा एउटामा अभिनय नगरे अर्को पनि फिल्म पाइन्छ भन्ने हुन्छ। तर नाटकमा एउटा छुट्यो भने अर्को पाउन समय लाग्छ। नाटकको रिहल्सलदेखि त्यसको मञ्चनसम्म नै लामो समय लाग्ने भएकाले पनि यसको विशेष महत्व छ।’

नीरले दार्जिलिङमा रहँदा ‘मसान’, ‘एक चिहान’, ‘किसान’लगायतका नाटकमा अभिनय गरे। यीबाहेक उनले प्रख्यात अंग्रेजी साहित्यकार विलियम सेक्सपियर, जुलियस सिजरका नाटकमा पनि अभिनय कौशल देखाए। काठमाडौंमा छँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा विजय मल्ल, जनार्दन सम, बालकृष्ण समको नाटकमा कलाकार भए। नाटक ‘बाथ–टब’को रिहल्सल भइरहँदा उनले आफुले दार्जिलिङको समयलाई बढी सम्झिएको बताए। गीतकार, निर्देशक र निर्मातासमेत रहेका नीरले तीन सय बढी फिल्ममा अभिनय गरेका छन्।

नाटकमा पटकथा लेखक ब्रजेश खनालको पनि अभिनय छ। ब्रजेशले नाटकका मुख्य पात्रले लेख्दै गरेको पुस्तकको आफु एक पात्रको रूपमा नाटकमा देखिने बताए। ‘लेखकले लेखेको पुस्तकबाट म नयाँ पात्रका रूपमा जन्मिए पनि त्यो चरित्रमा म आफै असन्तुष्ट हुन्छु। त्यही असन्तुष्टि पोख्न म र लेखकबीच द्वन्द्व हुन्छ’, ब्रजेशले आफ्नो भुमिकाबारे भने, ‘पहिला पनि नाटकमा अभिनय गर्ने भएकाले डर त लागेको छैन। नीर दाईलाई म केटाकेटी हुँदा देखि नै देखेको र केही फिल्ममा पनि सँगै सहकार्य गरेकाले काम गर्न अप्ठ्यारो लागेको छैन।’

ब्रजेश पनि लामो समयपछि नाटकको अभिनयमा आएका हुन्। ‘यो नाटकमा काम गर्दा मलाई साइकल चलाउन सिके जस्तो अनुभव भइरहेको छ’, ब्रजेशले भने, ‘लामो समयसम्म साइकल नकुदाएको व्यक्तिले पुनः साइकल कुदाउनुपर्दा सुरुमा केही असजिलो हुन्छ। तर लाइन समातेपछि भने सजिलो हुन थाल्छ। मेरो अनुभवमा यो नाटकको अभिनय पनि त्यस्तै छ।’

नाटकमा पत्रकार तथा लेखिका भूषिता बशिष्ठको पनि अभिनय छ। ‘मेरो चरित्र अलिक सस्पेन्स छ। दर्शकले नाटक हेरेपछि थाहा पाउनुहुन्छ’, भूषिताले भनिन्, ‘यो नाटकमा जोडिएपछि नै मैले नीर शाह र ब्रजेश खनाललाई चिनेकी हुँ। उहाँहरू सहयोगी लाग्यो। अभिनय सिकाउने बानीले पनि मलाई सजिलो भएको छ।’

नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज ‘बाथ–टब’लाई प्रयोगवादी नाटकको संज्ञा दिन्छन्। ‘नाटकका लेखकले बाथ टबको कथा लेखेका हुन्छन्। त्यो कथामा जन्मिएको पात्रले विद्रोह गर्न खोज्छन्। जबकी लेखक त्यो पात्र आफ्नो अधिनमा होस् भन्ने चाहन्छन्’,उनले भने, ‘फरक कथाको नाटक भएकाले दर्शकलाई नयाँ फ्लेभर हुनेछ।’

उनका अनुसार कलाकार हरिहर शर्माको चरित्रमा ब्रजेशले अभिनय गरिरहेका छन्। ‘हरिहर दाईले दुई हप्ता जति रिहल्सल गर्नुभएको थियो। तर उहाँले एकेडेमीमा नियुक्ति पाएपछि व्यस्तताले नाटकलाई ३,४ महिना सार्न आग्रह गर्नुभयो’, युवराजले भने, ‘नाटक सार्ने वातावरण नभएपछि हामीले ब्रजेश खनाललाई लियौं।’

नाटक आगामी माघ १० गते प्रिमियरसँगै माघ २८ गतेसम्म शिल्पी थिएटरमा दैनिक मञ्चन हुनेछ। नाटकको प्रिमियरको दिन नाटकका तीन पात्रसहित लेखक कुमार नगरकोटीले ‘बाथ–टब’ नामक पुस्तकको लोकार्पण पनि गर्नेछन्।

प्रकाशित: ४ माघ २०७५ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App