४ वैशाख २०८१ मंगलबार
कला

उम्दा ट्रेलर मास्टर

काठमाडौं - धेरैका लागि फिल्मको ट्रेलर आँखीझ्याल हो। ट्रेलर जति राम्रो छ, दर्शक त्यति नै फिल्मप्रति उत्सुक हुन्छन्। विश्व सिनेमामा २० औं शताब्दीदेखि नै ट्रेलरलाई फिल्मको प्रचार सामाग्रीको मुख्य हिस्सा मानिन्थ्यो। नेपालमा भने विगत ५/७ वर्षयता मात्र ट्रेलरलाई प्रचारप्रसारको मुख्य हतियार मानिने थालेको छ। फिल्मका बाँकी सामाग्री जतिसुकै बलिया किन नहुन्, ट्रेलरले पुष्टि नगरेसम्म दर्शक हलसम्म जान रुचि देखाउँदैनन्। हलपछिको ठूलो बजार मानिने डायस्पोराले पनि ट्रेलर हेरेर नै फिल्म किन्ने कि नकिन्ने निर्णय गर्छ। ट्रेलरको यो महत्वलाई उचाइ दिनमा भने साहिल खानको ठूलो हात छ जो पाँच सात वर्षदेखि नेपाली फिल्मका ट्रेलर काट्दै आइरहेका छन्। वर्षमा ९०को हाराहारीमा रिलिज हुने फिल्ममध्ये साहिलले आधाभन्दा बढी फिल्मको ट्रेलर काट्दै आएका छन्।

एरिना मल्टिमिडियाबाट २ वर्षको एडिटिङ कोर्स गरेर सम्पादनको दुनियाँमा छिरेका साहिलले छोटो समयमै ट्रेलर मास्टरको उम्दा पहिचान बनाएका छन्। तर साहिल धेरैले सोचे जस्तो ट्रेलर काट्ने काम सजिलो भने नभएको बताउँछन्।

‘धेरैले ट्रेलर काट्नु भनेको राम्रो गीत र फाइटका दृश्य जोड्नु हो भन्ने ठान्नु हुन्छ। तर मैले ट्रेलरलाई मिनि फिल्मको रुपमा लिने गरेको छु। २÷३ मिनेटको ट्रेलरबाट दर्शकलाई हलसम्म तान्न सजिलो छैन ,’ साहिल भन्छन्, ‘ यही गर्नु सक्नु नै मेरो सफलता हो। जुन मेरो व्यस्तताले बताइरहे जस्तो लाग्छ।’

साहिलका अनुसार पहिला पहिला बन्ने नेपाली फिल्मको ट्रेलरमा गीत, नृत्य र फाइटलाई मात्र महत्व दिइन्थ्यो। यसरी ट्रेलर बनाउँदा कथा लुकाउने चलन थियो। तर साहिलले कथा नभन्ने ट्रेलरले दर्शकलाई नछुने निष्कर्ष निकाल्दै ट्रेलरमा कथा घुसाउन थाले। ‘आकर्षक दृश्यसँगै फिल्म कुन कथामा बनेको हो त्यो पनि दर्शकलाई बताउन जरुरी छ। मैले अरुले नगरेको भन्दा गरेको भिन्न काम नै यही हो। मैले ट्रेलर बनाउँदा सुकिला दृश्य मात्र होइन, कथा पनि भन्ने गरेको छु र मैले बनाएका ट्रेलर दर्शकले रुचाउनमा यही विशेषताले काम गरेको छ,’ साहिल भन्छन्।  

उरेन्ठेउलो उमेरमा हेरेका फिल्मले अहिले साहिललाई फिल्म बुझ्न मद्दत गरेको छ। स्कुल पढ्ने समयमा साहिल दिनकै फिल्म हेर्न जान्थे। भैरहवाको कृष्णनगरमा विद्युत प्राधिकरणमा जागिरे बुबासँगै बस्ने साहिल फिल्म हेर्नकै लागि कृष्णनगरबाट १ सय १५ किलोमिटर टाढा पर्ने गोरखपुरसम्म पुग्थे। पछि फिल्म कै नशाले डो-याउँदै काठमाडौं आएपछि पनि उनले अरु केही सोचेनन्। सम्पादनको कोर्स सकेपछि करिब ४ वर्ष उनले सम्पादक विपिन मल्लको सहायकको रुपमा काम गरे।

‘खासमा मैले ट्रेलर काट्न यही रहँदा सिकेको हो,’ साहिलले भने, ‘विपिन दाइले ट्रेलरका सट निकाल्दे भन्नुहुन्थ्यो। यही काम गर्दा गर्दै ट्रेलर काट्ने ज्ञान पाएँ। आफ्नै नाममा आएको पहिलो  ट्रेलर चाहिँ झरना थापाको ‘फेसबुक’भन्ने फिल्मको हो। यसपछि त लगभग मैले पछाडि फर्केर हेर्न परेको छैन भने पनि हुन्छ।’

छोटो समयमै २ सयभन्दा बढी फिल्मको ट्रेलर काटेका साहिललाई आफैंले काटेका मध्ये ‘भैरव’को ट्रेलर सबैभन्दा बढी मन पर्छ। त्योबाहेक ‘ड्रिम्स’, ‘सुटपिड मन’, ‘नाइँ नभन्नू ल २’ पनि उनलाई मन परेका ट्रेलर हुन्। ‘भैरव’को ट्रेलरबाट त उनले दुई वर्षअघि एलजी सिने अवार्डमा उत्कृष्ट ट्रेलर सम्पादकको अवार्ड नै पाएका थिए।

ट्रेलरसँगै  झण्डै दर्जनभन्दा बढी फिल्मको सम्पादन गरेका साहिल चाँडै निर्देशन पनि गर्ने सोचमा छन्। ‘लभ डायरी शीर्षकको फिल्ममा एसोसिएट निर्देशकको रुपमा काम गरेको छु। चाँडै नै पूर्ण निर्देशकको रुपमा आउने तयारी छ ,’ साहिलको योजना छ।

प्रकाशित: १४ मंसिर २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App