१) मुक्तक
कसरी देश बन्छ, देश रक्षक नै गुण्डा बनेपछि,
एयरपोर्टमै गरिव जनताहरूसँग ठगी गरेपछि
चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु,
देशमा गृहमन्त्री, मन्त्री नै चोर दलाल भएपछि।
२) मुक्तक
बाँचेका छन नेता चतुर भएर, जनता गोरु भएर
भाषणमा काग, बस्छ्न् काममा लाटोकोसेरो बनेर
सत्तामा दारी फुलेका, कानको जाली फुटेका छन्
देश कसरी बन्छ युवा जति खाडी मुलकमा बेचेर।
३) मुक्तक
अभागी कर्म मेरो जसले पनि हेला मात्रै गर्छ
सानोतिनो गल्तीमा समेत वचनहरू सुन्नुपर्छ
जतिसुकै राम्रो गरे पनि सुख छैन परदेशमा
दुख खेपिरहँदा जीवन जिउन पनि मन मर्छ।

४) मुक्तक
सबैबाट घृणित हुन्छ इज्जत बिनाको मान्छे
कहिले सफल हुँदैन मेहेनत बिनाको मान्छे
गल्लीको कुकुर समान हुन्छ याद राख्नुस्,
थोरै पनि धनसम्पत्ति बचत बिनाको मान्छे!
५) मुक्तक
ज्वालामुखी बनेर आगो बलिरहेको छ
मलाई देखेर कसैको मन जलिरहेको छ
गाउँ, समाज, आफन्त त सब पराई भैसके
ईश्वरको आशीर्वादले जीवन चलिरहेको छ।
६) मुक्तक
जरैदेखि उखेली फालिदिनुस् भ्रष्टाचारको बोटलाई
विकास कार्यमा धुप बाल्नुहोस् सफा राख्नुहोस् मनलाई
देशका लागि सोच्ने स्मरण शक्ति सुकिसकेछ नेताजी
सधैं ठण्डा पानी पिउनुहोस् शिथिल पार्नुहोस् दिमागलाई।
७) मुक्तक
जस्तोसुकै काम गर्दा पनि मैले बन्न सकेन खास कसैको
संघर्षशील युवा हुँ र त म गर्दिनँ भराेसा, आस कसैको
पराईले साथ दियो कसरी भनू आफन्तले त लखेटेको हो
मलाई भगवानको बाहेक अचेल लाग्दैन विश्वास कसैको।
८) मुक्तक
के थाहा छ तपाईंलाई? जनतालाई किन खुसी दिन सक्दैनन्,
उनीहरू आफैं कोही र्याल चुहाउँछन्, कोही उभिन सक्दैनन्।
भ्रष्टाचारी, दलाल आफैं छन्, बलात्कारी आफ्नै मान्छे छन्
त्यसैले त दोषीहरूमाथि खनिन सक्दैनन्, झम्टिन सक्दैनन्!
- पारस भट्ट प्यासी
प्रकाशित: १४ असार २०८२ १३:३७ शनिबार





