सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ मा सलमानले निभाएको ‘राधे’ पात्रको हेयरस्टाइल धेरैलाई सम्झना होला। त्यस बेला एक चर्चित फेसन ट्रेन्ड बनेको थियो त्यो स्टाइल। आज पनि देशका थुप्रै युवाहरूले त्यो स्टाइल अपनाउँछन्।
‘राधे’ को हेयरस्टाइल भारतका पूर्वराष्ट्रपति डा. ए.पी.जे. अब्दुल कलामबाट प्रेरित भएको सलमान खानले खुलासा गरेका छन्। हालै मात्र नेटफ्लिक्समा सुरु भएको ‘द ग्रेट इंडियन कपिल शो’ को तेस्रो सिजनमा पहिलो पाहुना बनेका खानले शोको क्रममा रमाइलो र हाँसोबिच सलमानले २२ वर्ष पुरानो आफ्नो फिल्म ‘तेरे नाम’ सम्बन्धी उक्त खुलासा गरेका हुन्। शोमा सलमानले बताएअनुसार त्यो लुक केवल फेसन स्टाइल मात्र नभई, यसको पछाडि गहिरो सोच र प्रेरणा लुकेको थियो।
‘तेरे नामको जुन लुक थियो, त्यो कलाम साहेबबाट प्रेरित थियो,’ सलमानले भने, ‘मलाई लाग्यो सानो सहरको हिरो लामो कपाल भएको हुनुपर्छ। पुराना समयका हिरोहरू पनि यस्तै हुन्थे।’ सम्भवतः राहुल रायको हेयरस्टाइल पनि त्यस्तै रहेको उनले सुनाए।
सलमानको यो कुरा सुनेर शोका दर्शक र उनका फ्यानहरू छक्क परे। किनभने एउटा हेयरस्टाइलको पछाडि यति गहिरो सोच र प्रेरणा छ भन्ने कुरा कमैलाई थाहा थियो। ‘तेरे नाम’ लाई आज पनि उनको कल्ट क्लासिक फिल्म मानिन्छ र यसको प्रभाव अझै कायम छ।
‘तेरे नाम’ मा सलमानले निभाएको चरित्र, उनको शरीरको चालढाल, संवाद र हेयरस्टाइल आज पनि युवाहरूको स्टाइल आइकन सूचीमा पर्छ। शोमा सलमानले यसबारे हाँसो गर्दै भने कि अहिले फेरि त्यो हेयरस्टाइल दोहोर्याउन गाह्रो भएको छ।
प्रकाशित: ११ असार २०८२ ०६:५० बुधबार