राष्ट्रिका साहित्य प्रतिष्ठानले गीतकार निराज सिग्देलको गीतिएल्बम ‘निरासक्त’ को लाेकार्पण गरेको छ।
जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा कानूनविद् ,गीतकार एवं गायक डा.भीमार्जुन आचार्य, वरिष्ठ संगीतकार राजु सिंह, गायक स्वरूपराज आचार्य, कवि मुरारि सिग्देल लगायतले लाेकार्पण गरेको छ।
कार्यक्रममा डा.भीमार्जुन आचार्यले एल्बममा समावेश गीतहरूले एल्बमलाई सार्थक बनाएको बताए। उनले गायकी र संगीत दुवैको कम्बिनेशन संगीतकार विपिनमा भएको बताए।संगीतकारले गीतलाई न्याय गरेको भन्दै गीतका थीम उपल्लो स्तरको भएकोमा जोड दिए।
त्यस्तै अर्का वक्ता राजुसिंहले निरासक्तका सबै टीमको कार्य मिहेनतपूर्वक गरिएको हुँदा एल्बम उत्कृष्ट भएको बताए।
संगीतकार विपिन घिमिरेले एल्बम कसरी आयो भन्नेबारे बताए। गीतकार निराज सिग्देलले २०४४ सालदेखि गीत लेख्न थालेको बताउँदै असहज व्यक्तिहरूका लागि गीत लेखेको र राष्ट्रियताप्रति संवेदनशील भएकोले राष्ट्रिय गीत लेखेको बताए।
देशको परिस्थितिले दुखी भएर मन नपरेको कुराप्रति गीत लेख्ने आफ्नो प्रयास रहेको उनले जानकारी दिए। आफू सिद्धहस्त भएर नभै रहरले गीत लेखेको पनि उनले बताए।
गायक स्वरुपराज आचार्यले सिकाइमा उमेर र योग्यता नचाहिने भन्दै संगीत संगतबाट प्राप्त हुने कुरा भएको बताए। उनले भने, ‘म संगीतमा धैर्य आवश्यक ठान्छु। यो धैर्य विपिन घिमिरेमा छ।‘
उनी पिता भजन शिरोमणि भक्तराज आचार्यको स्मरणमा भावुक पनि भएका थिए। गीतमाथि मुरारि सिग्देलले समीक्षा गरे। पृथक् संगीत र उचित शब्द चयनले गीत श्रवणीय भएको बताउँदै उनले गीतकारलाई अझै सशक्त गीत सिर्जना गर्न आग्रह गरे।
सञ्चारकर्मी एवम् गीतकार लोकराज अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा नेपाल संगीकार संघका अध्यक्ष अष्ट लामाले शुभकामना मन्तव्य दिंदै स्रष्टाको अधिकारको लागि अझै लड्नुपर्ने परिस्थिति रहेको बताए। कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, नियात्राकार प्रदीप सापकोटा, अभिनेत्री शारदादेवी सिलवाल लगायतले शुभकामना मन्तव्य राखे।
कार्यक्रमका सभाध्यक्ष एवं राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो।
राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ऋषभदेव घिमिरेले कविताको शैलीमा स्रष्टा सर्जक र सिर्जना सगरमाथाभन्दा उच्च हुने भनाइ राखे।
कार्यक्रममा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रव्यदृश्य सामग्री देखाइएको थियो। लोकराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई आयोजकको तर्फबाट अध्यक्ष घिमिरेले मायाको चिनो प्रदान गरेका थिए।
सार्वजनिक भएको गीतिसङ्ग्रहमा ६ गीत समावेश छन्। जसमा आचार्य, ढकालसँगै शीला विष्ट अलि र विपिन घिमिरेको स्वर रहेको छ।
प्रकाशित: ८ असार २०८२ १०:३० आइतबार





