३० असार २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

काम नै धाम

व्यक्तित्व

‘गुरुर्बह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः

गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः’

कस्ता व्यक्ति ‘गुरु’ बन्न सक्छन्?

‘गुरु’ शब्द उच्चारण गर्दा अधिक व्यक्तिको मस्तिष्कमा कस्तो आकृति आउला? यहाँ एक अलग आकृतिको अनुमान गरौं। प्रायः चप्पल, पाइन्ट, टि–सर्टमाथि इस्टकोट, शिरमा ढाका टोपी लगाइरहने। साइकलमा कुद्ने, कृषिकर्मका क्रममा हातखुट्टा फुटेका, नङ बिग्रिएका। अग्ला, आकर्षक एवं आभायुक्त अनुहारका एक ‘करोडपति किसान’। के यस्तो व्यक्ति ‘अब्बल र दिग्गज गुरु’ बन्न सक्लान्?

एकै व्यक्तिका कैयौं गुरु भएका दृष्टान्त पाइन्छन्। एउटा क्षेत्रका गुरुका उत्प्रेरणाले अर्कै क्षेत्रमा सफलता हासिल गरेका प्रमाण पनि पाइन्छन्। समग्रमा ‘जीवनको ज्योतिर्गमय पथ अनावरण गरिदिने’ जो कोही व्यक्ति गुरु हुन वा बन्न सक्दोरहेछ। गुरु कसलाई मान्ने र किन मान्ने? भन्ने प्रश्न निकै बृहत् हो भन्ने लागेर सोही विषयमा एउटा उदाहरणीय ‘किसान गुरु’ हिमलाल तिवारी (विष्णुप्रसाद)को जीवनकथा सङ्क्षिप्तमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

एक कृषिउद्यमी जो कहिल्यै थाक्नुभएन, जीवनको पूरै समय कृषिकर्म र कृषिउद्यममा व्यतीत गर्नुभयो, त्यस्ता ऊर्जावान् व्यक्तिका सकारात्मक तरङ्ग कर्मजीवी र श्रमजीवी सबै क्षेत्रका व्यक्तिका निम्ति ‘गुरु’ बन्न सक्नेछन् भन्ने विषयमा यो आलेख केन्द्रित छ।

मध्यविन्दु, नवलपरासीस्थित पतवारीका एक किसान जो कृषिउद्यमकै दौरान आफ्नो चोला बिसर्जन गर्नुभयो, उहाँमा निहित कर्मशील ऊर्जा (वा माक्र्सिस्ट प्राक्टिस)का केही उदाहरण सबैका लागि ‘गुरु’ बन्न सक्नेछन् भन्ने ध्येयले समाविष्ट गर्न खोजिएको हो। आफू जान्ने भएदेखि मृत्यु हुने दिन (६७ वर्षको उमेर) सम्म उहाँले गर्नुभएका कार्यसम्पादन हरेक व्यक्तिले मात्र ४० वर्ष गरेमा पनि उसको परिवार समुन्नत बन्न सक्छ, समाज सुध्रिन सक्छ, देश दु्रत गतिमा दर्गुन सक्छ भन्ने उदाहरण दिन खोजिएको हो।

तत्कालीन समयमा वालिङ, स्याङ्जाको प्रतिष्ठित परिवारमा जन्मेर, परम्परागत पारिवारिक ऐश्वर्य र परिचयभन्दा बेग्लै, आफ्नै ओजस्वी छवि त्यो पनि किसानका रूपमा नवलपरासीको मध्यविन्दु नगरपालिका क्षेत्रमा विस्तारित गर्नु चानचुने थिएन। त्यो क्षमतावान् छवि निर्माण गर्नुमा उहाँकी पत्नी छविकलाको त्याग पनि थियो, यसका लागि पुत्रद्वयको सामीप्यसमेत केही हदसम्म अलग्याउनुपरेको पनि थियो। अर्थात् उहाँको आफ्नो कृषिकर्मका क्रममा श्रीमती छविकलाले माइतीसँगको सान्निध्य, सन्तानसँगको वात्सल्यभन्दा माथि उठेर श्रीमान्का कर्ममा समर्पित हुनुभयो।

त्यसैगरी ती कृषिउद्यमी हिमलाल तिवारीले पनि आफ्नो कर्मलाई नै इष्टमित्र बनाउनुभयो, दाजुभाइ बनाउनुभयो र त्यसैलाई मनोरञ्जनको साधन ठानेर पूरै जीवन रमाइरहन सक्नुभयो। फलस्वरूप सन्तान सामीत्यको सुखलाई परै राखेर तेजस्वी भाइ तेजप्रसादको सहकार्यमा समाजवादी व्यवहार पूरा गर्नुभयो।

कृषि पेसामा करोडको कमाइ थिएन तर पेसालाई कौडीका रूपमा लिनुभएन, कर्मको कर्तव्यमा डटिरहनुभयो। कसैको करकाप थिएन तर कृषिलाई काँध दिइरहनुभयो। सन्ततिलाई दिनुपर्ने र दिन मिल्नेसम्मको गुणस्तरीय शिक्षाका लागि कन्जुस्याइँ गर्नुभएन, कृषिकै कमाइको रकमले स्थापित गरिदिनुभयो। सन्ततिको अध्ययन अवधि सकियो भनेर उनीहरूको आर्जनमा आडभरोसा गर्नुभएन, आफ्नै आर्जन अब्बल बनाउने अभ्यासमा अविचलित, अविश्रान्त, अहोरात्र, अविच्छिन्न अडिइरहनुभयो आफू बाँचुन्जेल।

कृषिकै कमाइका जमिन र पुँजीले करोडौंको बजारमूल्य पाउने स्थिति बन्दासमेत त्यसमा नगदी सुवास देख्नुभएन, मात्र उत्पादनको स्रोत देख्नुभयो। जमिनलाई जननीको दर्जा दिनुभयो। थोरै थोरै आर्जनले जम्मा रकमलाई त्यही कृषिमै पुँजीकृत गर्दै नै रहनुभयो, कहिलेकाहींका नोक्सानीसमेत सहनुभयो तर हरेस खाने वा परित्याग गर्ने सोच कहिल्यै बनाउनुभएन। आफ्नै आर्जनले कैयौं करोडको अचल पुँजी सिर्जना भइसकेको होस् वा सन्तानहरू स्थापित भएर आफ्ना क्षेत्रमा प्रतिष्ठित होऊन्, व्यवहारलाई विराम दिनुभएन, थकाइ मार्न जान्नुभएन।

कतिपय आफन्तले अब त भयो, अवकाशमा जानुहोस् भनेर दिएका सल्लाह सुनिरहनुभयो, मात्र सुनिरहनुभयो तर कृषि कर्मलाई जीवनशैली नै बनाइरहने ‘तपस्वी त्याग’ जारी नै राख्नुभयो। कहिल्यै नथाक्ने र कहिल्यै हार नमान्ने आदतलाई उहाँले जित्ने आदत बनाउनुभयो। सबैले बोलेको सुन्नुभयो तर आफूले अविश्रान्त जीवन देखाएर जानुभयो। उहाँले साँच्चिकै सबैलाई जितेरै जानुभयो। किनभने उहाँले आर्जेको अचल पुँजी अरू कसैले आर्जेका भए सायद सुविधायुक्त भौतिक वस्तुमा खर्च गर्दा हुन्, महँगा महल र गतिला गाडी, सुसज्जित सुट र रकमी रवाफ झल्काउँदा हुन्। तर ‘कृषक गुरु’ हिमलाल तिवारी साधारण वस्त्रमै पनि शोभायमान भइरहनुभयो।

ओजपूर्ण उपस्थिति, भव्य व्यक्तित्व, मिहिनेतको महक, पौरखको पराक्रम, उत्पादनको ऊर्जा, निरन्तरतामै निष्ठा र अविच्छिन्न अभ्यासमै आचरणबद्ध देखिइरहनुभयो। त्यसैमा समाहित हुनुभयो। त्यही कर्मका क्रममा चौथो पटकको सर्पदंशले भौतिक रूपमा विलीन हुनुभयो (यसअघि कृषिकर्मकै क्रममा भएका तीन पटकका सर्पदंशलाई उपचारले जित्नुभएको थियो)। यसै कारण उहाँ पौरखी पात्रका लागि उत्प्रेरणाका उदारहण, अभिप्रेरणाका अथक योद्धा तथा मानक वा ‘गर्नेहरूका गुरु’ बन्न पुग्नुभयो। त्यसैमा उहाँको असाधारण एवं भव्य व्यक्तित्व झल्कियो, उहाँलाई चिन्नेहरूमा ‘लगावको लत’ बसाल्ने लय सिकाइदिनुभयो।

बिहान ३ः०० बजे उठिसक्ने उहाँको दैनिकी। उठेपछि नित्यकर्म र पूर्वीय दर्शनबमोजिमका सङ्क्षिप्त आराधना गर्दै आफ्नो पशुफार्ममा प्रवेश। पशुपालनबारे चौतर्फी फाइदाहरू जानेर–बुझेर नै सदैव तल्लीन उहाँको प्रभातीय व्यायाम अझ रोचक छ।

पुसमाघको कठ्याङ्ग्रिने चिसोमा अन्य व्यक्ति सिरकमुनि गुटमुटिइरहँदा पसिनाले निथ्रुक्क हुनेगरी उहाँले गर्ने व्यायाम (गोठधन्दा)ले उहाँलाई ६७ वर्षको उमेरमा पनि ५० वर्षभन्दा कम उमेरकै जस्तो बलिष्ठ, फुर्तिलो र आकर्षक र आभायुक्त आकृति उपस्थित गराइरहन्थ्यो।

प्रभातीय कार्यपछि पशुफार्म र खेतीको संयुक्त दिवाकालीन काम सञ्चालन अझ रोचक। पशुफार्मको मललाई बहुउपयोगी बनाउने कर्मसँगै खेतबारीमा उत्पादित सबै वनस्पतिको उचित सदुपयोग। अर्थात्, घाँस, पराल, नल, सोत्तर, मल वा प्राङ्गारिक मल केकेमा हो बढी सदुपयोग गर्न सकिने, तिनै कार्यमा सदुपयोगसहित गोडमेल र खनजोतको काम (अर्गानिक प्रडक्सन, कस्ट मिनिमाइजेसन) अझ आकर्षक लाग्छ। त्यससँगै अपराह्नको पशुफार्मको काम सकेपछि दुध डेरीमा जाँदै र फर्कंदै गर्दा सामाजिक सम्बोधनको कार्यतालिका। अर्थात्, सबैसँग हाइहेल्लो गर्दै, सुखदुःख हालखबर बुझ्दै, सक्दो सहयोग गर्दै फेरि पनि कृषिकर्ममै फिर्ता।

सन्ध्याकालीन रूपमा समेत पशुफार्मको काम सकेपछि पारिवारिक रमाइलो। परिवारका सदस्यहरू विशेषगरी भाइ तेजप्रसाद तिवारी र आफन्त इष्टमित्रसँग भौतिक भेट दूरसञ्चार प्रविधिसमेतबाट कुराकानी अर्तीउपदेशसहित सकारात्मक सन्देश प्रवाह गर्ने कार्य। रात्रीकालीन भोजनपश्चात् सकभर नौ बजेसम्म सुतिसक्ने, बिहान तीन बजे नै उठेर कार्यसम्पादनमा लाग्ने। यो त भयो दैनिकी। तर, यही दैनिकीभित्रको मौसमी र आवधिक उपार्जन अझ उत्कृष्ट रहे उहाँका उन्नतिका रूपमा। भिन्दै जातका बाली र उन्नत उपायसहितको उपार्जन अचम्मका अभ्यास लाग्थे। आफूसँगै अरू पनि लाभान्वित होऊन् भनी सिकाउने र प्रेरित गर्ने काम त उहाँले अभियन्ताकै रूपमा गरिरहनुभयो, स्वयंसेवकका रूपमा। सरकारी अनुदानमा आकर्षण देख्नुभएन, मागेर लिने र अन्तको आश गर्ने उहाँको स्वभाव थिएन।

चण्डीप्रसाद तिवारीका सन्ततीका रूपमा परिचित हिमलाल तिवारीले आफ्नै परिचय बनाउनुभयो कृषिउद्यमीका रूपमा। कसैले उहाँलाई ‘विष्णुप्रसाद तिवारी’ भनेर चिने, कतिले ‘क्रान्तिकारी किसान’का रूपमा चिने, कसैले नगदेबालीका व्यवहारवादी व्याख्यासहित ऊखुको खुदोसमेत बनाएर आपूर्ति गर्ने क्रममा ‘खुदे तिवारी’ भनेर चिने। जसले जे भनेर चिने, सबका सामु कृषिआधारित परिश्रमको पराक्रममा उँचो छाती र ठाडो शिरसहित उभिएर प्रस्तुत हुने खारिएको र प्रतिष्ठित व्यक्तित्वको भव्यतालाई चिने।

विचारमा ‘सोसलिस्ट–कन्जरवेटिभ’ लाग्ने तर कर्मले कडा कम्युनिस्ट बनेका हिमलाल तिवारी (विष्णु)को मात्र ६७ वर्षको उमेरमा २०८२ जेठ २८ गते अकल्पनीय निधन भएको छ। नेपालले राष्ट्रियता बोकेको सच्चा सिपाही गुमाएको छ। नवलपुर क्षेत्रले ‘कलियुगका भागीरथ’ गुमाएको छ। समाजले सहयात्री गुमाएको छ। समग्रमा यो धर्तीका असल धर्तीपुत्रको देहावसान भएको छ।  

प्रकाशित: ७ असार २०८२ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App