१ श्रावण २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

हाइकिङले चिनाएको माटो

नियात्रा

‘समय छ भने भोलिको हाइकिङमा हामीसँग समावेश हुनुस् !’ आह्वान थियो पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पाको। अपरान्ह पठाउनुभएको मेसेन्जरको खबर साँझ मात्र थाहा पाए, वासस्थान पुगेपछि।

हाइकिङ फर हेल्थ, हाइकिङ फर इन्भाइरोमेन्ट, हाइकिङ फर हेप्पिनेस राखिएको छ नारा। एक मन भन्छ– नजाऊँ, बर्खाको बेला छ। मौसम बिग्रेर पदयात्रा प्रतिकूल बन्ने सम्भावना बढी छ। अर्को मन भन्छ– जाऊँ जाऊँ। बेसिजनको बेला छ। ट्रेकिङ नगएको महिना दिन कटिसक्यो। कति बस्नु काठमाडौंको धुलो, धुवाँ र प्रदूषण खाँदै।

पहिलो र दोस्रो मनबिच वैचारिक द्वन्द्व भयो। घुम्न पाउँदा प्रफुल्ल हुने मनुवा न परेँ म। दोस्रो मनले जितिछाड्यो। पूर्ण प्राकृतिक वातावरणमा आफूलाई हराउने गरी हिँड्न मन लाग्यो। शारीरिक तथा मानसिक थकान मेटाएर प्रकृतिप्रदत्त ऊर्जा भर्ने निर्णय गरेँ। अन्ततः सहमतिको जनाउ खबर पठाएँ १० बजेतिर।

शनिबार बिदाको दिन। बिहानको पौने ६ बजेको छ। अरू दिन भए यतिबेला कलेज जाने युवा विद्यार्थीको चहलपहल भइसक्थ्यो। आज फुर्सदिलो बनेको छ सडकसमेत। मलाई भने ठिक एक घण्टाभित्र चाबहिलस्थित डियरवाक कलेजको गेटमा पुग्नु छ। ठिक समयमा सामेल हुनुपर्छ भन्ने हिसाबले निस्किएँ र समयमै पुगेँ पनि। हाइकिङ जान जुर्मुराएको जम्मा १५ जना एकत्रित भएका रहेछन्। ठिक सात बजेर सात मिनेट जाँदा रिजर्भ गाडीमा चढेर गन्तव्यतिर लाग्यौं।

साँगा हिल नामको चट्टाने पहाडमा एक सय आठ मिटर अग्लो शिवको भीमकाय मूर्तिले हेरिरहेको थियो हामीलाई। तर त्यहीं नजिकैको खोल्सामा गणेशको बहान मुसाको मूर्ति मन्दिरभित्र विराजमान छ। मुसाले घरबाहिर बाली खाएर हानी पुर्‍याउँछ। घरभित्रसमेत हामीलाई अनेक हिसाबले सताउँछ। लत्ताकपडा काटेर, रातबिरात यता र उता कुदाकुद गरेर, ठाउँ ठाउँमा सताउने मुसालाई शत्रु ठानिन्छ। हेयको दृष्टिले हेरिन्छ तर त्यही मुसालाई माया मात्र होइन, सम्मान गरेर पुजिएको छ यहाँ।

काठमाडौंबाट लगभग ४२ किलोमिटरको दुरीमा रहेको हाम्रो हाइकिङको गन्तव्य थियोे नमोबुद्ध। सरासर कोटेश्वर काट्न पाएन गाडीले। रोकिनुको कारण रहेछ, तीन जना सहयात्री यहींबाट मिसिनु। तर तिनीहरू त बेखबर छन्। फोनसमेत नउठाएर बेमतलबी बनेका छन्। तैपनि १०/११ मिनेट पर्खियौं। अर्थ आएन, आएनन् तिनीहरू।

भक्तपुर नालिन्चोकमा नयाँ संरचनामा नजर पुग्यो। ३३ रोपनीमा फैलिएको हेलिपोर्ट रहेछ, गत वर्षबाट सञ्चालनमा आएको। १३ थान हेलिकोप्टर पार्किङ क्षमता भएको यो पोर्टमा अबदेखि एकैपटक चार स्थानबाट उडान गर्न सकिने रहेछ। भक्तपुरलाई छोडेर पौने आठ बजे पुगियो साँगा। सुरु भयो काभ्रे जिल्लाको सिमाना। गाडीमै बसेर सोचेँ। हाम्रो जस्तो सबैलाई दया माया गर्ने, जीवमैत्री सभ्यता कहाँ पाइन्छ ? कुनै पनि जीवलाई नसताओस् भगवान् मानेर पुजोस् भन्ने मनोविज्ञान छ यहाँ। पूर्ण प्रेमले भरिएको यस्तो उत्कृष्ट संस्कृति कहाँ पाउनु अन्त?

साँगा काट्ने बित्तिकैको बाटो ओरालो छ। देब्रेतिर भेटिएका छन्, चिटिक्कका घरहरू। घरका तलमाथिका बारीमा हरियो बढ्दै गएका मकैका बोट। पारि दायाँतिर आकासिँदै गएका उत्तिसका रुख। यही साइडमा माइक्रो आवास क्षेत्रले आँखा तानिरह्यो। हरियो वनमुनि गरागरामा एकै बान्कीका कुम जोडेर बसेका अपार्टमेन्ट आकर्षक देखिएका छन्। बाहिर बाक्लिँदै गइरहेको वन देखेर रमाइरहेको मनलाई गाडीभित्रको आपसी बहसले ध्यान खिच्छ बेलाबेलामा।

हेर्दाहेर्दै बनेपा आइपुग्यौं। यहाँ एक जना अन्तिम सहयात्रीलाई टिपियो। अब जम्मा १७ जना भइयो हाम्रो समूहमा। कोटेश्वरबाट डोरिँदै आएको यो अरनिको राजमार्गमा गुड्दै छौं। बनेपातिर पनि बढाइएको ६ लेनमा बाटो यता पनि विस्तार गरेको देखियो। तर यता गाडी गुड्न मिल्ने सडक मुस्किलले दुई लेन जति मात्र छ।

बनेपालाई पछाडि पारेर धुलिखेलको प्रमुख बजार पुगियो। जिल्ला प्रशासन, मालपोत, कारागार, वकिल, हुलाकलगायतका जिल्ला कार्यालयहरू छन्। खेल मैदानमा खेलाडी थकाइ मार्न बसेजसरी असरल्ल छन्। पासमै रहेका सरकारी स्कुल र रंगशाला छोडेको मात्र के थियो, गाडीले हजार सिँढीको क्षेत्र पुर्‍याइहाल्यो।

हाइकिङमा चर्चित छ नमोबुद्ध। ड्राई पिकनिकका लागि पनि उपयुक्त र शान्त ठाउँ रहेछ यो। छेउमै पिपल चौतारी पिकनिक स्थलको उपस्थितिले पनि यस्तै भनिरहेको छ। फराकिलो ठाउँ, चारपाँच थान चियानास्ता खुवाउन खोलिएका रेस्टुरेन्टहरू छन्। तीमध्ये एकमा ब्रेकफास्ट गरियो। बाफ्रे बाफ !

पल नामधारी साउथ अफ्रिकनले त एक बोत्तल बियर फोर्‍यो। र पलभरमै सिनित्तै पार्‍यो। बिहानैबाट झुम्मझुम्म बनेर बिन्दास पारामा पदयात्रामा सहभागी भएको छ हामीसँग।

म प्रकृतिको साथी बन्न बढी आतुर भएको छु। यहींबाट पदयात्रा सुरु गरियो सवा नौ बजे। हजार सिँढी उक्लनासाथ प्राकृतिक वातावरणले अर्कै दुनियामा पुर्‍याएको भान हुन्छ। झ्याउकिरीहरूले सामूहिक संगीत पस्केर स्वागत गरेका छन्। उक्लने क्रममै झन्डै साढे नौ बजे झन् बढी संख्याका झ्याउकिरीले तार सप्तकमा स्वर उरालेर वातावरण उत्सवमय बनाएका छन्।

डाँडाको टुप्पो चुमियो ९ः४५ बजे। यहाँबाट कालीदेवी मन्दिरको थुम्को उक्लँदाउक्लँदै पृथ्वीनारायण शाहको सालिक भेटिन्छ। मन्दिर परिसरबाट धुलिखेल, बनेपा, साँगा र दुषिथानी हिमालय रिसोर्टसहित फूलबारी क्षेत्रको सुन्दर ल्यान्डस्केप देखिएको छ। सिनियर ट्रेकिङ गाइड सोनाम शेर्पा भन्नुहुन्छ, ‘मौसम राम्रो भएको भए पूर्वतिरका गणेश र लाङटाङ हिमाल हाँसिरहेको पाउँथ्यौं। दक्षिणतिरका गौरीशंकर र जुगल हिमालले चियाइरहेका हुन्थे। युगौंयुगदेखि हितैषी बनेर साथ दिँदै आएका नुम्बुर हिमाल र मेरापिकले उसैगरी मुस्कान छरेर मोहनी लगाउँथे।’

बाटोमा हाँस्दै, नाच्दै, गफ गर्दै फोटो, भिरालैभिरालो बाटो भएर झर्दै, एकैछिनको वनको बाटोले रमणीय गाउँ पुर्‍यायो। सुर्के बारीमा मौलाएका मकै छन्। तिनै हरिया मकैका पातलाई छुँदै बहेको बतासले अनुहारमा स्पर्श गर्दाको आनन्द वर्णनातीत छ। मकै बारी छेउमा ससाना सफा घरहरूले हिँडाइलाई उसै नबिर्सने गराउँछ। न धुवाँधुलो, न सवारी साधनको घ्यारघुर, न मान्छेको ठेलमठेल। यो गाउँले परिवेशले बाल्यकालीन सुखद स्मृतिलाई ब्युताइरहेछ। कराहीमा जेरीजस्तै फनफनी घुमिरहेछ मस्तिष्कमा। अतीतको रङ पोतेर गाउँघरको चित्र।

 बिहानको १० बजेको थियो। बाटोमा हाते स्पिकरबाट बजाइएको लोकगीत घन्किरहेको थियो। आङ छयोटिन शेर्पा दिदीको नाचले गर्मी याममा तापक्रम बढे जसरी ह्वात्तै रौनक बढाएको थियो। स्थानीय गाउँलेहरू समेत घाँटी तन्काइतन्काइ हेरे। बाटोमा हाँस्दै, नाच्दै, गफ गर्दै, फोटो खिच्दै अघि बढ्दाबढ्दै थाहै नपाई करिब एक घण्टाको ओरालो सकिँदा १०ः५० बजेको थियो।

लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीका अध्यक्ष जिम्बा जाङ्बु शेर्पा भन्नुहुन्छ– ‘हामीले यस्तो हाइकिङ महिनाको दुई पटक गर्दै आएका छौं। काठमाडौं वरपरका क्षेत्रमा गरिएको यो एक्काइसौं हाइकिङ हो। प्रत्येक हाइकिङमा कुनै एक क्षेत्रका विज्ञलाई पनि आमन्त्रण गर्छौं। सहभागीले सम्बन्धित क्षेत्रबारे धेरैथोरै जानकारी हासिल गरून् भन्ने हिसाबले। हाइकिङ आफंैमा अब्बल मनोरञ्जनको माध्यम हो। थप मनोरञ्जन प्रदान गर्न नाचगानबाहेक बल, चम्चा, कुर्सीजस्ता खेल खेलाइन्छ। जित्नेलाई प्रोत्साहन स्वरूप पुरस्कार पनि प्रदान गर्छौं।

 हाइकिङकै क्रममा भेटिएका प्लास्टिकका फोहोर उठाएर सम्बन्धित ठाउँमा तह लगाइन्छ। सबै क्षेत्र र वर्गका लागि खुला गरिएको हाइकिङमा जाने जोकोहीका लागि एक टिसर्ट बेच्छौं। एकपटक किनेपछि सधैंभरि काम लाग्ने टिसर्टको मूल्य आठ सय ५० रुपैयाँ राखेका छौं। प्रत्येक पटक हाइकिङमा गाडी भाडा बापत आठ सय रूपैयाँ राखिएको छ।’

अब फेरि केही क्षण सुस्ताउने पालो। फराकिलो चौरसहितको पार्कको एक छेउमा फलामको कुर्सी पनि राखिएको छ। त्यहीं जिम्बा दाइले मेवा खुवाए। अनि चाखियो आरु पनि। एघार बजे यहाँबाट मध्यम खालको उकालो उक्लियौं। आधा घण्टामा कुइकेल गाउँको गोरेटो बाटो टेक्यौं। गाउँलेहरूले गाई, बाख्रा र भैंसी पालेका छन्। बारीमा लगाइएको हरिया मकैले हलक्कै शोभा बढाएको छ गाउँको।

पहिलोपटक पारिपट्टि पहेलपुर नमोबुद्ध देखियो। वनको पासमा रहेको आजको गन्तव्य नमोबुद्ध ! अकस्मात मस्तिष्कमा खेल्दै गरेका विचारहरू विलुप्त भए। हाम्रो समूहले आङ छ्योटिन शेर्पा दिदीबाट जुस र चिया पियौं। अनि कान्छी शेर्पा दिदीले अमेरिका र भारतको चकलेट भन्दै प्रेमपूर्वक पाराले चखाइन्। पल र केही नेपाली सहयात्रीहरू भने थकाइ मार्ने बहानामा नेपाली मात्रको सर्वसुलभ कोदाको झोल घुट्क्याउन भट्टी पसे। र निस्के जम्बो एक बोत्तल निगार बोकेर।

यहाँबाट उत्तरतर्फ १० मिनेट हल्का उकालो र तेर्सो हिँडेपछि भेटियो एक सुविधासम्पन्न थाई रिसोर्ट। माथि कालीदेवी मन्दिरबाट मनमोहक देखिएको यो दुषिथानी हिमालय रिसोर्ट भव्य पनि रहेछ। बाटो ओरालै छ। मुन्धुम फार्म स्टेसन नामक होटल काटेर कानाकोट डाँडा आइपुगियो। डाँडालाई सिरानी बनाएर बसेका बारीमा मकै लगाइएको छ। यहाँ पहिलोपटक देखेँ, मकै बारीलाई ध्वजा पटकले फनफनी बारेको।

काभ्रे भन्ज्याङको आइपुग्दा १०ः२० बजेको थियो। धुलिखेलबाट आएको देब्रे जाने बाटोले मन्थली पुर्‍याउँछ। हामी यो बाटो काटेर ठिक विपरीत दिशातर्फ उक्लेको गोरेटो बाटो पछ्याउँछौं। गाडीबाट नमोबुद्ध जानेजतिले दायाँतिरको बाटो समाउँछन्। यही बाटोमुनि स्व. मदन भण्डारीको नाममा एक पार्क बनाइएको रहेछ।

उकालो वनको बाटो छिचोल्दै १२ः४५ बजे नमोबुद्ध पुगियो। पार्किङमा गाडी खचाखच छन्। शनिबारको दिन भएर पनि होला आगन्तुकहरूको भिड छ। यहाँसम्म आउने निजी गाडी प्रशस्तै देखिन्छन्। एकादुई सार्वजनिक बससमेत देखिए।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व मात्र होइन, प्राकृतिक सुन्दरताका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटक ओइरन्छन् यहाँ। जुन यसको प्रसिद्धिको प्रमाण हो।

सारा संसारको शान्ति र सत्यताका प्रतीक, अहिंसाका प्रवर्तक, एसियाका तारा, नेपालका गौरव भगवान् गौतम बुद्धको पहिलो जन्मस्थल भनेर समेत चिनिन्छ नमोबुद्धलाई। काभ्रेमा पर्ने यस क्षेत्रको नगरपालिकाको नामकरण पनि नमोबुद्ध राखिएको छ। नेपालका तीन महान् बौद्ध स्तूपमध्ये एक ऐतिहासिक बौद्ध स्तूप हो नमोबुद्ध। बाँकी दुई स्तूप हुन्– बौद्धनाथ र स्वयम्भूनाथ। नेपालका यी तीन प्रसिद्ध चैत्यप्रति तिब्बती बौद्ध धर्मावलम्बीको बडो श्रद्धा छ।

यहाँबाट देखिने हिमाल र माथि कालीदेवी मन्दिर परिसरबाट देखिने हिमाल उस्तै हुन्। तर यहाँबाट देखिएको भूदृश्यले मन अलि भिन्न तरिकाले प्रफुल्ल बनाएको छ। पूर्वतिरको भकुण्डे बेसी, पश्चिमतिरको पनौती, उत्तरतिरको दुषितथानी रिसोर्टसहित देखिने फूलबारी क्षेत्र र दक्षिणतिरको दाप्साको मनोहर दृश्य एक ठाउँमा उभिएर हेर्न पाइन्छ। जसको कारण प्राप्त आत्मिक सन्तोष र सुख वर्णनभन्दा पर छ। दाप्सातिर नै पर्छ बाहुबली झरना अर्थात् तीन धारे झरना। जसले पछिल्लो समय निकै चर्चा कमाएको छ।

बुद्धको पहिलो जन्मस्थल ‘नमोबुद्ध’को रोचक किंवदन्ती यस्तो छ। ‘करिब ६ हजार वर्षअगाडि शारदा बतासे गाविसस्थित एक महाराजाका तीन छोरा थिए। उनका कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए। एकदिन पाँच डमरुसहितको बघिनी भोको र अचेत रूपमा सुतिरहेको अवस्थामा देखेपछि राजकुमारको मनमा करुणा पलायो। आफ्नो तिघ्राको मासु टुक्रा टुक्रा पारेर बघिनीलाई दिए। छाती खोपेर रगत निकाली डमरुलाई पिलाए।’

यसरी राजकुमारले आफ्नो शरीर दान दिएर प्राणीको प्राण बचाएको धार्मिक कथन पाइन्छ। पछि राजाले यही ठाउँमा भेटिएको उनको अस्तु राखेर गुम्बा निर्माण गरिदिए। आफ्नो शरीर दान गरेको २५ सय वर्षपछि लुम्बिनीमा तिनै राजकुमारले मायादेवीको कोखबाट जन्म लिए। भगवान् गौतमबुद्धका रूपमा। र पाँच डमरु बुद्धका शिष्य भए। ठिक यही ठाउँमा सानो गुम्बा छ। गुम्बाभित्रको भित्तामा बुद्धको मूर्तिसहित शरीर दान गरेको चित्र रेखाङ्कन गरिएको छ।

यही शरीर दान गरिएको गुम्बा नजिकैको एक रेस्टुरेन्टनमा लन्च खाइयो। पेट भर्ने कर्म गरियो भनौं। आङ छ्योटिन शेर्पा दिदीले सुक्खा रोटी, ब्रेड, आलुको तरकारी र अचार ल्याएकी रहिछन्। आफैंलाई समेत नराखीकन बाँडिन् प्लेटमा राखेर सबैलाई। प्लेट भने जिम्बा दाइको सौजन्य थियो। पिउनका लागि जुस र मही छ। बियर खानेका लागि रेस्टुरेन्टको चिसो बियर छँदै छ। क्लबका सचिव देवी पन्तले नम्किन बाँड्नुभयो।

नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठुलो भिड लाग्ने गर्छ। चैते पूर्णिमा र साउनको प्रत्येक बुधबार पनि मेला लाग्छ यहाँ। मेलामा नेपाल अधिराज्यभरबाट मात्र होइन, संसार भरका बौद्ध धर्मावलम्बीहरूसमेत समेटिन्छन्। दर्शनार्थीले मेलामा लाखौं–लाख दीप प्रज्वलित गर्छन्। यहाँ एक पटक मात्र पाइला टेके जुगौं–जुगको पाप पखालिने र चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

दिउँसो दुई बजे नमोबुद्धबाट ओरालो लागियो। सिँढीको बाटो पाँच मिनेटमै वन भेटिन्छ। पदयात्राको सुरुवातीमा जस्तै यहाँ पदयात्राको आखिरीमा पनि झ्याउकिरीले उसैगरी सामूहिक संगीत पस्केका छन्। मानौं यो बिदाइको संगीत हो। जसमा आगामी दिनहरूमा पनि सम्झनु/नबिर्सनु भन्ने आग्रहको भाका उरालिएको छ,

माया नमार्नु है माया नमार्नु

पछि पनि सम्झेर आउँदै गर्नु !

संसारमा सबैभन्दा ठुलो त माया नै हो !

सम्झनालाई अनन्तसम्म बचाउने त स्मृति नै हो  

प्रकाशित: ७ असार २०८२ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App