मस्तिष्क पक्षघात भई शारीरिक अपांगतामा जीवन बिताइरहेकी भक्तपुरकी एक छात्राले खुट्टाले लेखेर पुस्तक तयार पारेकी छन्।
भक्तपुर नगरपालिका वडा नं. ३ तेखापुखू निवासी प्रिता बल्लले दुई सय ४२ पृष्ठ लामो पुस्तक खुट्टाले मोवाइलमा टाइप गरी तयार पारेकी हुन्। पुस्तक शनिबार भक्तपुरमा पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा लोकार्पण गर्ने तय भएको छ।
अनुशिलन नेपाल सूयविनायक ३ बालकोट भक्तपुरले उनको अविचलित पाइला पुस्तक प्रकाशन गरेकाे हाे। पुस्तक दुई खण्डमा विभाजित छ। पहिलो खण्डमा लेखक र दोस्राे खण्डमा लेखक प्रिताबारे लेखिएकाे विषय छ।
पुस्तकमा ९३ विभिन्न शीर्षकमा प्रिताले मनकाे लेखेकी छन्। पारिवारिक पृष्ठभूमि, यहाँबाट सुरु हुन्छ मेरो जिन्दगीको दैनन्दिनी, एभरेस्ट स्कुलमा भर्ना, समुन सरसँग सामीप्य लगायतका एकदेखि ९३ शीर्षकसम्म उनकाे अनुभव पुस्तकमा समावेश छन्।
९४ देखि १०८ सम्मको शीर्षकमा लेखकबारे लेखिएका १५ शीर्षकमा लेखिएका विषयवस्तु छन्। लेखक प्रिताकाे पिता पवनकुमारकाे अनुसार २०४८ साल असार ३१ गते पहिलो सन्तानको रूपमा लेखक जन्मिएकी थिइन्। उनी जन्मेको दस वर्षसम्म हिंड्डुल गर्न सकिनन्। त्यसपछि अलिअलि बांगोबांगो भएर हिंड्न पनि सकिन् आफैं बीचमा तर त्यसपछि उनी अहिलेसम्म पनि ह्विलचियरमै सीमित रहिन्। तथापि उनले अध्ययन गर्न भने छाडिनन्।
उनले २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट सञ्चालित कक्षामा १ वर्ष अध्ययन गरिन्। त्यसपछि २०५३ मा १ गतेदेखि समुदायमा आधारित पुन: स्थापना केन्द्र (सिविआर) भक्तपुरबाट सञ्चालित बहुअपांगता विशेष विद्यालय इन्द्रायणी भक्तपुरमा ९ वर्ष अध्ययन गरिन्।
२०६२ वैशाख ६ गतेदेखि २०६८ साउन १ गतेसम्म एभरेस्ट इंगलिश स्कुल मिवाछें ब्याँसी भक्तपुरमा ३ देखि ८ कक्षासम्म अध्ययन गरिन्। २०७० सालदेखि २०७३ सालसम्म शान्ति निकेतन मावि राममन्दिर अध्ययन गरी २०७३ सालमा एसइई उत्तीर्ण गरिन्।
२०७४ साउन २ गते शारदा उच्च मावि कक्षा ११ मा भर्ना भई २०७६ मा १२ उत्तीर्ण गरिन्। त्यसपछि २०७६ भाद्र २९ गतेदेखि २०८१ बैशाखसम्म ख्वप कलेज देकोचा भक्तपुरमा स्नातक तह अध्ययन गरी अध्ययन पूरा गरेकी छन्।
प्रितमकी माता रामेश्वरीले आफ्नै खुट्टाको सहाराले माेवाइलमा उत्साहपूर्वक दैनिक टाइप गर्ने बानीले छोरीको यो पुस्तक प्रकाशनको अवसर जुरेको बताइन्। पुस्तकको मूल्य ७७७ रूपैयाँ छ।
पुस्तकको प्रकाशनका लागि प्रिताका पिता पवनको एसएलसी व्याच २०४१ का पदम मावि भक्तपुरका सहपाठीले आर्थिक सहयोग गरेको हाे। प्रिताको परिवारमा मातापिता र बहिनी छन्।
प्रकाशित: ६ असार २०८२ १२:५९ शुक्रबार





