नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानकाे घाेषणा गरेकाे छ।
यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान ,काठमाडौंका साहित्यकार सुकन्या वाइवा र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान भोजपुरका भूपाल बस्नेतलाई प्रदान गर्ने भएको छ।
साहित्यकार पवन आलोकले स्थापना गरेको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २५१११ रूपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ। विसं २०६५ देखि यो सम्मान हालसम्म १६ जना व्यक्तिले पाएका छन्। नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने र सामाजिक रूपान्तरणमा योगदान गर्ने महिलालाई उक्त सम्मान प्रदान गरिंदै आएको छ।
त्यस्तै समाजसेवी राजेश न्यौपाने, केदार नेउपाने, श्रीमती दीपा नेउपाने र श्रीमती अर्लिन पर्ज नेउपानेले स्थापना गरेको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान ५०,००१ रूपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ।
सामाजिक रूपान्तरणमा विभिन्न माध्यमबाट योगमाया प्रवृत्तिका अभियान्ताका रूपमा काम गरेका व्यक्तिलाई उक्त सम्मान प्रदान गरिंदै आएको छ। विसं २०७५ मा स्थापना भएको यस सम्मानबाट यसअघि सात व्यक्ति सम्मानित छन्। नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ।
प्रकाशित: ५ असार २०८२ ०९:२६ बिहीबार