३२ असार २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

हामी जहाँ भए पनि नेपाली कला संस्कृति भुल्नु हुँदैन : मन्त्री गुरुङ

‘मेरो बाउबाजे नेपाल आउन नपाई बिते। सात पुस्तापछि म पहिलोपटक नेपाल आएकी छु। मलाई आफू निकै भाग्यमानी लाग्छ।’ म्यानमारबाट अस्मिता न्यौपानेले पहिलोपटक नेपाल आएको अनुभव सुनाउँदै भावुक भइन्। उनको मनमा आफ्नो पुस्तौनी मुलुकप्रति गहिरो माया झल्किन्थ्यो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग उनले नेपाल आउन पाएको खुशी व्यक्त गरिन् र गीत गाएर नेपालीपन देखाइन्। उनको सपना सायद नेपाल टेलिभिजनको गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ नभएको भए पूरा हुने थिएन। न्यौपाने जस्तै विभिन्न देशमा बस्ने नेपाली युवा प्रतिभाहरूले मन्त्री गुरुङसँग आफ्ना भावना साटे।

उनीहरूले सामूहिक रूपमा राष्ट्रिय भाव झल्काउने ‘भाषा भेषको, जहाँ जाऊँ लागिरहन्छ माया देशको...’ बोलको गीत गाए। मन्त्री गुरुङका अनुसार सुगौली सन्धि, विश्वयुद्ध र विश्वव्यापीकरणका कारण नेपालीहरू विभिन्न देशमा छरिएका छन्। तर, जहाँ भए पनि नेपाली संस्कार, संस्कृति र भाषामार्फत नेपाललाई विश्वमा चिनाउन सकिन्छ।

उनले कला र संस्कृतिले मुलुकको पहिचान विश्वमा फैलाउन सहयोग गर्ने भएकाले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता रियालिटी शोले ठूलो योगदान दिएको बताए। ‘हामी जहाँ भए पनि नेपाली कला र संस्कृति भुल्नु हुँदैन। नेपाल टेलिभिजनले यस्ता कार्यक्रमलाई महत्त्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,’ उनले भने। मन्त्री गुरुङले सीमाना छुट्टिए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँध्ने बताए।

अमेरिकास्थित भुटानी नेपालीहरूको सामाजिक संस्था इन्ट्रा फाउन्डेसनले उत्पादन गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ तीन वर्षअघि सुरु भएको हो। यी दुवै रियालिटी शोको सिजन–२ हाल नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको छ।  

फाउन्डेसनका कार्यकारी निर्देशक चुडामणि भट्टराईका अनुसार संसारभर छरिएका नेपाली मूलका नागरिकलाई गायन र नृत्यमार्फत जोडेर नेपाली सांस्कृतिक पहिचान विश्वमा प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य छ। दुवै शोमा ६० देशबाट सहभागिता भएको र हाल १६ देशका प्रतिभा उत्कृष्ट १८ को सूचीमा छन्। ‘हामी नेपाली जुनसुकै ठाउँमा पुगे पनि आफ्नो मौलिक कला, संस्कृति र भाषा बोकेर हिँड्छौँ,’ भट्टराईले भने, ‘त्यही भाषा र संस्कृतिको धागोमा बाँधिएर संसारभरका नेपालीहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको मञ्चमा जोडिएका छन्।’  

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा बनेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रबार साँझ र ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। दुवै शोमा प्रथम हुनेलाई १–१ करोड, दोस्रोलाई २५–२५ लाख, तेस्रोलाई १०–१० लाख र उत्कृष्ट १० मा पर्नेले ३–३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। रासस

प्रकाशित: १ असार २०८२ २०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App