नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले 'स्रष्टासँग साहित्यिक अन्तर्संवाद' अन्तर्गत पर्यासाहित्यका अभियन्ता विजय हितान अन्तर्संवाद गरेको छ।
कर्मभूमि बेलायतबाट नेपाल आएका साहित्यकार विजय हितान र विद्युतकर्मी साहित्यिक समाज परिवारबीच साहित्यिक समाजको कार्यकक्ष दरबारमार्ग, काठमाडौँमा पर्यासाहित्य केन्द्रित अन्तर्संवाद भएको हो।
अनौपचारिक र अन्तर्क्रियात्मक शैलीमा भएको उक्त कार्यक्रमको सहजीकरण साहित्यिक समाजका सचिव युवराज शर्माले गरेका थिए।
उक्त कार्यक्रममा पर्यासाहित्यका अभियन्ता विजय हितान, विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना', विद्युतकर्मी साहित्यिक समाज आठौं कार्यसमितिका पदाधिकारीहरू - विष्णु आचार्य 'अतृप्त' अध्यक्ष, युवराज शर्मा सचिव, भोला शर्मा सहसचिव, मुकुन्दप्रसाद प्रसाई कोषाध्यक्ष, रामराजा ओझा सदस्य नारायणप्रसाद आचार्य (आमन्त्रित सदस्य), शङ्कर भुसाल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा पर्यासाहित्यको सिद्धान्त, महत्त्व र नेपालमा यसको विकासका लागि हालसम्म भएका प्रयासकाे साथै पर्यासाहित्यको प्रवर्द्धनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाबारे अन्तर्क्रिया भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि विजय हितानले मानव र प्रकृति बीचको सम्बन्ध, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरी शिकारी, पर्यावरणसँग आदिबासीको साइनो, धर्मशास्त्र र पर्यावरणीय चेत, विकासले पुर्याउने वातावरणीय क्षय, ग्राम्य र अप्रदूषित परिवेश, पर्यानारीवाद, पर्याराजनीति जस्ता विषयलाई थिम वा सारवस्तु बनाएर पर्यासाहित्य सिर्जना गर्न सकिने धारणा प्रकट गरेका थिए।
उनले नेपाल विद्युत प्राधिकरणले सफा ऊर्जा उत्पादन मार्फत भौतिक र आर्थिक पूर्वाधारको विकास गर्नुका साथै पर्यासाहित्य केन्द्रित रचना प्रकाशनलाई प्राथमिकता दिएर पर्यावरणीय चेतना अभिवृद्धिको क्षेत्रमा काम गरिरहेको थाहा पाउँदा खुशी लागेको बताए।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य 'अतृप्त' ले पर्यावरण र अर्थतन्त्र (इकोलोजी र इकोनोमी) को समानान्तर विकास हुनुपर्छ भन्ने हरित अर्थतन्त्रको मान्यता रहेको बताए।
उनले प्राकृतिक सम्पदाको फारो तरीकाले उपयोग गर्दै विकासात्मक गतिविधि बढोत्तरी गर्ने सुझ पर्यासाहित्यले प्रदान गर्ने भएकाले यस प्रकृतिको साहित्यको सिर्जना, चिन्तन र मनन हुनुपर्ने दृष्टिकोण प्रस्तुत गरे।
अर्को वक्ता विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमालले साहित्य समाजलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने विद्युतकर्मी स्रष्टाहरूको योगदानको स्मरण गरे।
समाजका सचिव युवराज शर्माले आमन्त्रित अतिथि हितानले पर्यासाहित्य सिर्जना पुर्याएको देनको चर्चा गर्दै हितानलाई २०८० सालको 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' पाएकोमा बधाई ज्ञापन गरेका थिए।
सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजको साहित्यिक प्रकाशन 'अमरज्योति' का विभिन्न अङ्कका साथै विष्णु आचार्य 'अतृप्त' को कवितासङ्ग्रह 'घर फर्कने तिर्खा' अतिथि सर्जक विजय हितानलाई हस्तान्तरण गरिएको थियो।
त्यस्तै अतिथि सर्जक विजय हितानले साहित्यिक समाजलाई आफ्ना कृतिहरू 'ब्लु प्लानेट' र 'मलाई आर्यघाट लगेर नजलाउनू' तथा गोविन्दराज भट्टराई र विजय हितानको सम्पादकत्वमा साहित्य पोस्टबाट प्रकाशन भएको 'प्रथम नेपाली पर्यानिबन्धसङ्ग्रह' उपहार प्रदान गरेका थिए।
ग्रीनविच विश्वविद्यालय लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितानले दुई दशकभन्दा अघिदेखि पर्यासाहित्य मार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी अभियान चलाउँदै छन्।
उनले हालसालै 'लाहुरेको रेलिमाई' आख्यानात्मक कृतिका लागि २०८० सालको 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' समेत पाएका छन्। उनले साहित्य पोस्ट अनलाइन साहित्यिक पत्रिका मार्फत पर्यासाहित्य प्रवर्द्धनका लागि भूमिका निर्वाह समेत गर्दै छन्।
प्रकाशित: २८ जेष्ठ २०८२ १०:४४ बुधबार





