२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

झोलाभरि आशा बोकेर फर्किएको छ !

आमाको औषधिको झोला

बाबाको भकारीको  झोला  

नानीको पुस्तकको झोला

श्रीमतीको गहनाको झोला

भएभरको झोला रित्ताएर गएको ऊ

 रित्तो झोला फर्किएको छ ।  

 

औषधि  रित्तिएका  झोला

पुस्तक रित्तिएका झोला  

गहना रित्तिएका झोला

भकारी रित्तिएका  झोला

 

सबै झोला आँसुले भरेर,  

ऊ फर्किएको छ

झोले बन्न नसकेर हिँडेको ऊ

रित्तो झोला फर्किएको छ ।  

 

उसको रहर थिएन  

झोला रित्त्याउने  

झोलाहरू टमक्क पार्न

हिंडको हो  ऊ  

आशाको त्यान्द्रो समाएर

समुन्द्र तरेको ऊ

भूपरिवेष्टित भूमिमा डुबेको छ ।  

 

स्वाभिमान अँगालेर  

झोले बन्न नसकेर हिँडेको ऊ

रित्तो झोला फर्किएको छ ।  

 

उसलाई नगिज्याऊ, उसलाई  नबिझाऊ

आशा र महत्त्वकाक्षा रित्ताएर फर्किएको छ  

लोभलालसा सकेर फर्किएको  छ  

झोले बन्न नसकेर हिँडेको ऊ,

रित्तो झोला फर्किएको छ ।  

 

उसले रित्तिएको  झोला भर्न सक्छ  

रित्तिएको मुलुक  फेर्न सक्छ ।  

रित्तिएका आशाहरूका भर्न सक्छ  

रित्तिएका सम्वेदना बदल्न सक्छ  

झोले बन्न नसकेर हिँडेको ऊ

झोलाभरि आशाको इन्द्रेनी रङ  

भरेर फर्किएको छ ।

प्रकाशित: २६ जेष्ठ २०८२ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App