५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

वियोगीको कथा सङ्ग्रह ‘सत्यम्’ लोकार्पण

<br>

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो।

प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक द्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन्।

कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’ को जन्म भएको बताए। सोही क्रममा प्रा.डा. भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए।

समालोचक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए।

असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उद्घाटित गर्नु कथाकृति सत्यम्को विशेषता रहेको उनको भनाइ थियो। पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्ले उठाएको उनले बताए।

तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गरेका थिए।

अर्की समालोचक अनुपमा रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन्।

यसैगरी, समालोचक तथा साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले..’ बोलको गीतबाट यसअघि नै सफल गीतकारको रूपमा स्थापित भइसकेको प्रसङ्ग सुनाएका थिए।

पहिलो कथाकृतिको जन्म दिँदै गर्दा आफ्ना आमा–बुबालाई सम्झेर भावुक बनेका कथाकार वियोगीले स्वर्ग (हामीले भन्ने गरेको) बाट यो क्षणमा आफूलाई जन्मदिने आमा–बुबाको आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गरेका थिए।

साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ।

साहित्य लेखनमा विशेष रुचि राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन्। ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो।

त्यस्तै, ‘बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’ को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो।

यो कथा पनि सङ्ग्रहमा समावेश भएको उनले बताए। उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन्।

पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०८२ २१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App