१) प्रस्ताव
‘‘कवि गोष्ठीमा नजाने?’’ सन्ध्याले सोधी।
‘‘ जानुपर्ने हो। म एउटा कथा लेखिरहेकी छु। फुर्सत पो नहुने हो कि?’’ आकृतिले जवाफ फर्काई।
सन्ध्या र आकृति नेपालीमा स्नातक गरिरहेका छन्। उनीहरूको रुचि कथा, कविता, लेख्नु हो। सन्ध्या कविता लेख्छे। आकृति कथा लेख्छे। उनीहरू प्राय: साहित्यिक कार्यक्रमहरू छुटाउँदैनन्। स्थापित साहित्यकारहरूका रचना सुन्दा उनीहरूमा नयाँ ऊर्जा, र नयाँ विचारको जन्म हुने गर्छ। उनीहरू प्रगतिवादी सोचका केटीहरू हुन्।
आजको कार्यक्रममा उनीहरूकै समकक्षी प्रतापको कवितासङ्ग्रह विमोचनको चाँजोपाँचो मिलाइएको छ। प्रतापले उनीहरूलाई कार्यक्रमकाे निम्तो गरेको छ। साथीको निम्तो पनि मानिने र नयाँनयाँ कविता पनि सुन्न पाइने भएपछि उनीहरू कार्यक्रममा जान हौसिएका छन्।
प्रताप हक्की र निडर छ। हँसिलो अनुहार भएको प्रतापको बोलीमा मिठास छ। उसको कविता प्रस्तुतिको शैली आकर्षक छ। ऊ कवितालाई जीवन्तता दिने गरी प्रस्तुत हुन्छ। ऊ प्रगतिशील सहित्यको नेतृत्व गर्छ।
आकृति मनोवैज्ञानिक कथा लेख्छे। सन्ध्याका कवितामा नारीस्वर मुखरित हुन्छ। नारी विद्रोह गाउनु उसको लेखनको प्रमुख कार्यभार हो। तीन जनाका उद्देश्य झट्ट हेर्दा फरक देखिए पनि सार कुरा समाजको सकारात्मक रूपान्तरण हो। लेखनबाट उनीहरूलाई आत्मसन्तुष्टि मिलेको छ।
भावनाहरू व्यक्त गर्ने माध्यम समेत हो लेखन। हिजोआज सन्ध्यालाई प्रताप औधी मन पर्न थालेको छ। प्रतापको कविता र उसको आनीबानीप्रति ऊ आकर्षित बन्दै गइरहेकी छ। उसलाई नदेख्दा ऊ शून्य महशुस गर्छे। उसले आफूमा उब्जिएको कौतुहल आकृतिलाई सुनाइन्।
आकृतिले सन्ध्यालाई भनी, ‘‘नजानिँदो पाराले प्रतापलाई प्रेम गर्न थालिस् कि के हो?’’
‘‘प्रेमबारे त त्यस्तो केही सोचेकी छैन तर ऊ मेरो मनमा भने आइबस्छ।’’ सन्ध्याले प्रष्टै भनिदिई।
‘‘प्रेम यसरी नै सुरु हुन्छ, बुझिस्। तेरो जिज्ञासा म प्रतापलाई राखौंला न त।’’ आकृतिले सन्ध्यालाई आश्वस्त पारी। सके प्रताप पनि सन्ध्यालाई मनपराउँछ।
कार्यक्रममा जाँदाआउँदा लेखनबारे छलफल गर्दा, कलेज जाँदाआउँदा एक अर्कामा सामीप्य बढ्नु स्वभाविकै हो। यी तीन एक अर्कामा अत्यन्तै मिल्ने साथी हुन्।
२) निष्ठा
‘‘ कविज्यू, कता हो आज? अलि हताश र निराश जस्तो देखिनुहुन्छ नि।’’ पत्रकार अनिलको प्रश्नले कवि झस्कन्छ।
‘‘उही पुरानै रोग हो मित्र, कवितासङ्ग्रह प्रकाशनका लागि एउटा प्रकाशक खोजिहिंडेको। प्रकाशक नभेट्टाएर हैरान छु।’’ लामो सुस्केरासाथ कवि जवाफ फर्काउँछ।
कवि अर्थात् भिष्म राम्रै कविता लेख्छ। ऊ प्रगतिवादी कवि हो। ऊ न्याय, समानता र विद्रोहको कविता लेख्छ। ऊ गुलामी जान्दैन। गुलामी मन पराउँदैन पनि। उसको स्वभाव विद्रोही छ। ऊ स्वाभिमानी भएर बाँचौ भन्छ। ऊ हेपिन चाँहदैन। निष्ठाको लेखक हो ऊ।
निष्ठाको लेखक भएर बाँच्न कठिन छ। निष्ठावान् भएकै कारण उसले प्रकाशकहरू भेट्टाएको छैन। प्रकाशकहरू नाफामुखी छन्। ऊ सेवामुखी बन भन्छ।
उसको तर्क सुनेर प्रकाशकहरू नाखुश हुन्छन् र कवितासङ्ग्रह प्रकाशन गर्ने कुरामा असहमति जनाउँछन्।
ऊ सोच्छ, के भाउ खोजेका हुन् प्रकाशकहरूले? किन भावना बुझ्दैनन् प्रकाशकहरू? म जस्ता कविहरूको पुस्तक प्रकाशन गर्न नमान्नुको पछाडि के रहस्य छ? के नाफा नै संसार हो त? लेखकलाई सास्ती दिएर आनन्द लिने प्रकाशकहरूको के रवैया हो यो? लेखकबाट मोटो रकम असुलेर पुस्तक प्रकाशन गर्न बानी परेका प्रकाशकहरूले भीष्म जस्ता निष्ठावान् कविहरूको मर्का कहाँ बुझ्छन र?
भिष्मलाई थाहै छैन। संसार स्वार्थले जलिरहेको छ। मानिसहरू दिनपरदिन पाखण्डी बन्दै गइरहेका छन् संवेदना गुमाएर। स्वार्थभित्रै त रुमल्लिरहेका छन् प्रकाशकहरू पनि।
३) विकल्प
‘‘ विमला बहिनी, खाना पाक्यो? खड्ग भाइ खै।’’ एकोहोरिएर खाना पकाइरहेकी विमलालाई मैले प्रश्न गरे।
‘‘ओ प्रकाश सर पो। खाना पाक्दै छ। खड्ग भाइ बारीतिर घाँस काट्न जानुभएको छ। प्रकाश सर अहिले कस्तो छ तपाईलाई? बेलुकी कति बजे आइपुग्नो भो? औषधि खाँदै हुनुहुन्छ कि नाई?’’ विमलाले प्रतिप्रश्न गरिन्।
खड्ग भाइ विद्यालयको का.स. हो। साह्रै मिलनसार र फुर्तिलो छ। विमला बहिनी होटल चलाउँछिन्। म उनीहरूकै होटलमा खाना खान्छु। मलाई उपचारको सिलसिलामा राँची लगिएको थियो। म फर्कने टुङ्गै थिएन। म आकस्मिक फर्किएँ। बेलुकीको खाना हेडसरकैमा खाएँ। मेरो कोठा हेडसरको घरमा छ। डिप्रेशनको लक्षण देखापरेपछि मलाई राँची लगिएको हो। औषधि खाइरहेको छु। स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ।
कोरोना कालमै मलाई डिप्रेशन भएको थियो। नेपालमा दुईचार ठाउँमा उपचारको प्रयत्न गरियो। नेपालको उपचार उपलब्धिमूलक हुन नसकेपछि अन्तिम विकल्पको रूपमा मलाई राँची लगिएको हो। राँचीले मलाई जीवन दान गर्यो। म आफ्नो शिक्षणको काममा फर्कन सकें। मेरो स्वास्थ्यमा आएको सुधारले शिक्षक साथीहरू र विद्यार्थीमा एक प्रकारको खुसी नै छायो।
अब मैले लामो समय अध्यापन गर्नु उचित ठानिन। घरपरिवार र इष्टमित्रबाट पनि आराम गर्ने सल्लाह पाएँ। घर छोडेर एक्लै टाढाको बसाइ र समयतालिकाअनुसार औषधि खानुपर्ने कुराले घरपरिवारलाई चिन्तित बनायो। फलोअपमा तीनतीन महिनामा राँची जानुपर्ने भएकाले अध्यापनमा निरन्तरता दिन नसकिने अवस्था आयो।
३२ वर्ष १ महिना २३ दिन शिक्षण सेवा गरेर मैले स्वेच्छिक अवकाश लिएँ। अवकाश लिएको पनि २३ महिना भैसक्यो। म डिप्रेशनको औषधि खाँदै छु। औषधि र घरखर्च धान्न जेनतेन पेन्सनले पुगिरहेको छ। अहिले म ठिक छु। औषधि छोड्न झट्टै मिल्दैन रे।
प्रकाशित: २४ जेष्ठ २०८२ १३:४३ शनिबार





