७ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

तिब्बतमा नेपाली कला-संस्कृति

सम्बन्ध

पश्चिममा कैलाश मानसरोवरबाट उद्गम भएको सिन्धु नदी, पूर्वमा तिब्बतबाट प्रवाहित भई भारतको अरूणाचल प्रदेशबाट बंगलादेश हुँदै हिन्द महासागरमा मिसिने ब्रह्मपुत्र नदी, उत्तरमा कैलाश पर्वतसँगै हिमालय पर्वत शृङ्खला र दक्षिणमा गङ्गा नदी तटसम्म र यसबिचमा अवस्थित सम्पूर्ण जल, जङ्गल, जमिनसहितको क्षेत्रलाई समष्टिमा हिमवत्खण्ड भनिन्छ। यसले समुद्री सतहबाट लगभग ६६०० मिटर उचाइमा अवस्थित कैलाश पर्वत र त्यसको नजिकै रहेको मानसरोवर ताल आसपास करिब २५०० किलोमिटर पूर्व र पश्चिमसम्म रहेका विशाल हिमाली शृङ्खला र ती हिमालयका फेदीबाट निःसृत नदी, खोला, झरना, तालतलैया तथा तिनको जलाधार क्षेत्र अर्थात् अनेकौं भौगोलिक बनावटसहितको सम्पूर्ण क्षेत्रलाई चिनाउँछ।

नेपाल हिमवत्खण्डको केन्द्र स्थल तथा सभ्यता र ज्ञानको पवित्र भूमि हो। विश्वमा मानव सभ्यता र ज्ञानोदयको आदिभूमि हो। यही भूमिमा सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो। चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौं नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो।

नेपाल–तिब्बत सम्बन्धको ऐतिहासिक सन्दर्भ

नेपाल र चीनबिचको सम्बन्ध पहिलो शताब्दी, सन् ६८ तिरबाटै सुरु भएको पाइन्छ। मध्यएसियामा कुशाणवंशी राजा कणिष्कभन्दा पहिले चिनियाँ सेनापति पान–छाओले प्रभाव जमाएका बेला हान वंशी राजा ‘मिंग–ती’को निमन्त्रणामा भिक्षु काश्यप मातंग र धर्मरत्न (वा धर्मरक्ष) चीन पुगेसँगै बौद्ध धर्मले त्यहाँ प्रवेश पाएको हो भनिन्छ। ती भिक्षुद्वयलाई ‘श्वेताश्व विहार’ बनाई राखिएपछि राजकीय संरक्षणमा बौद्ध धर्म फैलिन थालेको र यसै बिन्दुबाट नेपाल–चीन सम्बन्धको प्रारम्भ भएको हो भनिन्छ।

यस सन्दर्भमा चर्चा गर्दा दोस्रो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने लि–ताओ–युंग र त्यसपछिका सेङ साई र वाइ यु–चिनलाई पनि बिर्सन मिल्दैन। चौथो शताब्दीमा फा सियान र सातौं शताब्दीमा स्वान चाङ तथा इचिङ नामक चिनियाँ बौद्ध भिक्षुहरूले बुद्धसँग सम्बन्धित नेपालका विभिन्न ठाउँ भ्रमण गरेका थिए भनिन्छ। चीनमा तांगवंशको शासनकालभन्दा पहिल्यैबाट संस्कृत र पालिका ग्रन्थहरू चिनियाँ भाषामा अनुवाद भएका पाइनुले पनि नेपाली संस्कृतिको प्रभाव कुनै न कुनै रूपमा धेरै अगाडिदेखि रहेको थियो भन्न सकिन्छ।

इसाको सातौं शताब्दीमा तिब्बती सम्राट स्रोङचोङ गम्पोसँग विवाह भएर त्यहाँ पुगेकी नेपाली राजकुमारी भृकुटीले तिब्बतमा नेपाली लोकसंस्कृति अझ व्यवस्थित रूपमा स्थापित गराएको पाइन्छ। भृकुटीसँगै ल्हासा आएका नेपाली व्यापारी र कलाकारहरूले नेपाल र तिब्बतबिच व्यावसायिक र सांस्कृतिक सम्बन्ध बलियो बनाएका थिए भनिन्छ। त्यस बेला कलाकारहरू कला सिर्जनामा लागे भने व्यापारीहरूले व्यवसाय सुरु गरेका थिए भनिन्छ। हालसम्म पनि तिब्बतमा स्रोङचोङ गम्पोलाई अवलोकितेश्वर र भृकुटीलाई आर्यताराकी देवी रूपमा पूजा गर्दै आइरहेको पाइन्छ।

तिब्बतको सबैभन्दा पवित्र मानिएको ग्रन्थ मणिका बुममा पनि स्रोङचोङ गम्पो र भृकुटीबिचको विवाह प्रसङ्ग उल्लेख छ। भृकुटीको तिब्बती राजासँग भएको विवाह र उनले त्यहाँ नेपाली संस्कृति स्थापना र व्यवस्थापनका लागि गरेको प्रयासका कारण नेपाल तिब्बत सम्बन्धको इतिहासमा सातौं शताब्दी अविस्मरणीय रहेको छ।

 ल्हासाको ऐतिहासिक नगर विकास योजना कार्यान्वयन र जोखाङ गुम्बा निर्माणलगायतका विकास निर्माण कार्यको योजनाकार र सल्लाहकार भृकुटी नै हुन् भनिन्छ। तर चीनका ऐतिहासिक अभिलेख तथा पुस्तकहरूमा भने हालसम्म पनि भृकुटी किंवदन्तीकी पात्र मात्र भएकी छिन्। जे भए पनि सोही समयदेखि नेपाल–तिब्बत सम्बन्ध व्यवस्थित भएको पाइन्छ भने नेपाली संस्कृतिले पनि व्यवस्थित रूपमा विकास र विस्तार हुने अवसर पाएको देखिन्छ।

आठौं शताब्दीको उत्तरार्धतिर तत्कालीन तिब्बती सम्राट ट्रिसोङ डेत्सनले बौद्ध धर्मलाई राज्यको आधिकारिक धर्मका रूप दिएका र उनकै निमन्त्रणामा भिक्षु शान्तरक्षित बौद्ध धर्म प्रवर्धनका लागि सन् ७६३ मा पहिलो पटक तिब्बत पुगेका पाइन्छन्। त्यस बेला नेपाली लोक संस्कृतिको पहिचानका रूपमा रहेका संस्कृत भाषाका कृतिहरूको तिब्बती भाषामा अनुवाद भएको पाइन्छ।

संस्कृत भाषाका ग्रन्थहरूलाई यसरी तिब्बती भाषामा अनुवाद गर्नु नै त्यस समयको मुख्य कार्य मानिन्थ्यो। त्यस बेलाका अनुवादकहरूको टोलीमा नेपाली, भारतीय, तिब्बती तथा चिनियाँ भिक्षुहरू संलग्न हुने गरेको उल्लेख भएको पाइन्छ।

इसाको १३ औं शताब्दीमा नेपालमा भीमदेवको शासन चलिरहेका बखत तिब्बतमा समेत शासन गरेर बसेका चिनियाँ शासक कुब्ला खाँको पालामा कलाकार अरनिको असी जना नेपाली कलाकारहरूको नेतृत्व गरी तिब्बत पुगेर दुई वर्षमा अत्यन्त आकर्षक र मनमोहक सुवर्ण चैत्यको निर्माण गरेका थिए भनिन्छ। यसबाट खुसी भएका त्यहाँका प्रमुख बौद्ध भिक्षु फग्बाले अरनिकोलाई दीक्षा प्रदान गरी बौद्ध भिक्षु बनाएका र सोही स्तूप अवलोकन गरेपछि कुब्ला खाँ प्रभावित भई उनलाई राजधानी पेकिङ लगेको मानिन्छ। त्यस बेला अरनिकोले तिब्बत र पेकिङलगायत चीनका विभिन्न स्थानमा गरेका कार्यबाट नेपाली संस्कृति चीनमा स्थापित गर्न ठुलो योगदान पुगेको पाइन्छ।

मन्दिरमा चार पाटा भएको छानो लगाउने नेपालमा प्रचलित सुन्दर वास्तुशैलीकै अनुशरण गरी अरनिको नेतृत्वको कलाकार समूहले तिब्बत र चीनका विभिन्न स्थानहरूमा मन्दिर र स्तूपहरू निर्माण गरेपछि यो शैली चीनबाहिर दक्षिणपूर्वी एसिया र जापानसम्म पुगेको पुष्टि हुन्छ।

पश्चिमाहरूले प्यागोडा शैली बर्माको हो भने तापनि वास्तवमा यो शैली बर्मामा प्रयोग हुनुअघि नै नेपालको मौलिक शैलीका रूपमा प्रचलनमा रहेको र अरनिकोले चीनसम्म पुर्‍याएका हुन् भन्न सकिन्छ।

नेपाल तिब्बत सम्बन्धलाई व्यवस्थित गर्ने क्रममा यांग्स्कापर्न गुम्बा तिब्बतका स्वाडमार्पा लामाहरूको नेपालसँगको सम्बन्धले पनि ठुलो योगदान दिएको पाइन्छ। उक्त गुम्बाका आठौं आधिकारिक लामा पलचेन सोस्किदोन ग्रुबको जन्म नै सिन्धुपाल्चोकको हेलम्बुमा भएको थियो र भनिन्छ। उनीमार्फत समेत तिब्बतमा बौद्ध धर्म तथा नेपाली कला र संस्कृतिको व्यापक प्रचारप्रसार भएको थियो भनी इतिहासमा उल्लेख भएको पाइन्छ।

तिब्बतमा नेपाली संस्कृतिको ऐतिहासिक आधार

नेपाल कला संस्कृतिको धनी देश भनेर विश्वमा चिनिएको छ। यहाँ बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, परम्परा र रहनसहन रहेका नेपाली समुदायले आआफ्ना धर्मसंस्कृतिको परिपालना एकअर्काप्रति सम्मानका साथ गरिरहेका छन्।

नेपालीहरूमा एकअर्काको संस्कार र संस्कृतिप्रति अगाध श्रद्धा र सम्मान पाइन्छ। विश्वका जुनसुकै कुनामा छरिएर बसेका भए पनि नेपालीहरूले आफ्नो संस्कृति प्यारो मानी त्यसको निरन्तर र अनवरत रूपमा परिपालना र अवलम्बन गर्ने गरेका छन्।

नेपालको उत्तरतिरको १४१४ किलोमिटर सिमाना चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएको छ। त्यहाँ शताब्दीऔंदेखि नेपाली समुदायको बसोबास रहेको छ र त्यहाँका नेपालीहरूले पनि विश्वका अन्य देशहरूमा बसोबास गर्ने नेपालीले झैं आफ्नो संस्कृतिलाई अनवरत संरक्षण र परिपालना गरिरहेका छन्।

शाक्यमुनि बुद्धको महापरिनिर्वाणपश्चात् बुद्धका चेलाहरूले उहाँको उपदेशलाई संग्रह गरी तीन भाग (विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटक) मा विभाजन गरी सम्पादन गरिएको बुद्ध उपदेशलाई त्रिपिटकको नामले चिनिन्छ।

त्रिपिटकको सम्पादनपश्चात् तक्षशीला, नालन्दा, उदन्तपुरी, विक्रमशीला आदि बौद्ध विश्वविद्यालयको स्थापना गरी बौद्ध धर्म र दर्शनको अध्ययन अध्यापन गराइएको थियो भने कालान्तरमा उक्त धर्मको विकास र लोकप्रियताले चीन, तिब्बत, जापान र मंगोलियालगायत एसियाका धेरै मुलुकहरूमा व्यापक स्थान पाएको थियो भनिन्छ। धर्मका दृष्टिमा नेपाल तिब्बतबीच कायम भएको सम्बन्ध र एकअर्कामा परेको सामाजिक सांस्कृतिक प्रभावलाई पनि यही सेरोफेरोमा हेर्नुपर्छ।

चीनमा बुद्धधर्म संघको स्थापना भएपछि विभिन्न धर्मग्रन्थ, संस्कृति तथा लिपिको अध्ययन गर्न चिनियाँ तीर्थ यात्रीहरूले कपिलवस्तु र लुम्बिनी भ्रमण गरेका थिए। नेपाल र भारतमा तीर्थ गर्न एवं बौद्ध ग्रन्थको अध्ययन र सङ्ग्रह गर्न आएका विद्वान्हरूले आआफ्ना यात्रा वृत्तान्तमा नेपालको तत्कालीन समाज र अवस्थाबारे उल्लेख गरेको पाइन्छ।

त्यसैगरी त्यस समयमा नेपालबाट पनि चीनको खासगरी तिब्बत क्षेत्रको भ्रमण हुने गरेको पाइन्छ। यसरी नेपाल–चीनबिच हुने गरेको आवतजावततर्फ विचार गर्दा चीनमा बौद्ध धर्मको प्रचारप्रसार गर्न जाने पहिलो नेपाली बुद्धभद्र हुन् भन्ने पाइन्छ।

प्राचीन कालमा लिच्छवि वंशका शासकहरूले नेपालमा शासन गर्न थालेपछि यहाँ बौद्ध, वैष्णव, शैव आदि धर्मलाई धार्मिक संरक्षण प्राप्त भई त्यही बेलादेखि संस्कृत भाषाको अध्ययन गर्ने प्रचलन सुरु भएको भनिन्छ भने पूर्णतया कृषिमा निर्भर नेपालले भोट तिब्बतसँग व्यापारसमेत त्यही समयदेखि व्यवस्थित रूपमा सुरु गरेको हो भनिन्छ। तिब्बतका बौद्ध समुदायले प्राचीनकालदेखि नै गुरु पद्मसम्भवका ग्रन्थलाई नेपालमा जस्तै धेरै आस्था, विश्वास र महत्त्वका साथ अध्ययन अध्यापन तथा पाठपूजा गर्ने गरेका थिए भनिन्छ।

यसरी प्रयोगमा आएका बौद्धधर्मसँग सम्बन्धित कर्मकाण्डका ग्रन्थहरू धेरै जसो गुरु पद्मसम्भवका रहेका र तिनलाई तिब्बती भाषामा अनुवाद गरेर प्रयोग गरिरहेका हुन् भनिन्छ। त्यही बेलादेखि तिब्बतमा रहेका गुम्बाहरूमा बौद्ध धर्म, दर्शन, संस्कृति, साहित्य, कला आदि विषयको अध्ययन, अध्यापन गुरु परम्पराअनुसार गराउनुको साथै दैनिक पूजापाठ र धार्मिक गतिविधिसमेत हुने गरेका छन्। त्यहाँ पनि नेपालमा जस्तै शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती (सागा दावा), प्रातिहार्य महोत्सव (छोठुल दुछेन), धर्म चक्र प्रवर्तन महोत्सव (छोखोर दुछेन), देवातरण महोत्सव (ल्हाबापा तुइक्षेन), शुक्ल पक्षको दशमी पूजा (छेचु), कृष्ण पक्षको दशमी (ञेरङ), ञ्युङन्य (मौन व्रत), डुव्क्षोदलगायत बौद्ध उत्सव र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने गरिएकाले नेपाली बौद्धमार्गी र तिब्बती बौद्धमार्गीहरूका कला, संस्कृति, चालचलन, रीतिरिवाज र परम्परामा केही हदसम्म समानता पाइन्छ।

त्यस्तै शाक्य श्रीभद्र तथा उनका चेला विभूतिचन्द्र सन् १२०४ मा तिब्बत पुगेका थिए भनिन्छ। उनले ल्हासा नदी तथा यार्लुङ साङ्ग्पो नदीबिचको स्थानमा केही वर्ष बिताएका र त्यहाँ एउटा गुम्बा निर्माण गरेका थिए भनिन्छ। त्यसपछि शाक्य श्रीभद्र कश्मीर फिर्ता भए भने विभूतिचन्द्र नेपाल आएर ठमेलको विक्रमशील महाविहार (भगवान् बहाल) मा भिक्षु भएका र तिब्बत बस्दा रञ्जना लिपिमा लेखिएका धेरैभन्दा धेरै ग्रन्थ तिब्बती भाषामा अनुवाद गरेका थिए भनिन्छ। कालचक्रतन्त्र, प्रमाणवार्तिक रीति, प्रमाणवार्तिकालङ्कार ग्रन्थहरू उनैको हातले लेखेका प्रमाण पाइन्छन्। नेपाली कागजमा लेखिएका ती हस्तलिखित ग्रन्थहरू अहिले पनि तिब्बतका विभिन्न गुम्बाहरूमा भेटिन्छन्।

तिब्बतमा नेपाली संस्कृतिको वर्तमान अवस्था

तिब्बतमा नेपाली समुदायको बसोबास हुन थालेपछि त्यहाँका विभिन्न स्थानमा नेपाली चालचलन, रीतिरिवाज, प्रथा परम्परा, भेषभूषा, आमोदप्रमोद, शिल्पव्यवसाय, धर्म, भाषा एवम् साहित्य र संस्कृतिले प्रयोग, विकास र प्रवर्धन हुने अवसर प्राप्त गरेको हो।

हाल तिब्बतका विभिन्न स्थानमा स्थायी र अस्थायी रूपमा बसोबास गर्ने गरी कुल पाँच हजार जति संख्यामा नेपालीहरूको बसोबास रहेको छ। उनीहरू नेपाली संस्कृतिको सम्मान र परिपालना गरिरहेका छन् भने त्यहाँका तिब्बती मूलका बासिन्दाहरूमा समेत थोरै भए पनि नेपाली संस्कृतिको प्रभाव परेको देख्न सकिन्छ। तिब्बतमा लामो समयदेखि बसोबास गरेका नेपाली समुदायमा तिब्बतमै बिहाबारी र घरजम गरेका प्रशस्त उदाहरण पाइन्छन्।

अझ भन्दा त्यहाँ बसोबास गर्ने नेपाली पुरुषहरूले चिनियाँ महिला र नेपाली महिलाहरूले चिनियाँ पुरुषसँग विवाह गर्ने प्रचलन नै भएको देखिन्छ। यसरी एकअर्कामा विवाह गरेर बसेका परिवारमा महिलापुरुष दुवैले एकअर्काको संस्कार, संस्कृति, रीतिरिवाज र परम्पराको सम्मान गर्ने र त्यस अनुकूलका चाडपर्वहरू मनाउने गरेको पाइन्छ।

बौद्ध धर्म सम्बद्ध चाडबाडहरूमा मात्र होइन, ल्हासामा रहेको महावाणिज्य दूतावासमा आयोजना गरिने हिन्दु चाडपर्वमा समेत नेपलीहरूसँग पारिवारिक सम्बन्ध रहेका चिनियाँ मूलका महिला तथा पुरुषहरूको समेत राम्रो उपस्थिति देखिनुले एकअर्कामा सांस्कृतिक प्रभाव परेको पुष्टि हुन्छ।

यसरी बसोबास गरेका कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू वर्षौंदेखि नेपाल नगएका भए तापनि उनीहरूले सबैजसो नेपाली चाडबाड नछुटाई मनाउने गरेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतमा हाल प्रचलनमा रहेका नेपाली सामाजिक र सांस्कृतिक प्रचलनहरू मुख्यतया निम्नानुसार उल्लेख गर्न सकिन्छ,

कला

नेपालको हिमाली क्षेत्र र तिब्बतमा समान रूपमा कायम रहेको रैथाने कलाको इतिहास त्यस क्षेत्रको संस्कृति जत्तिकै पुरानो रहेको छ। दुवैतिर रहेका प्राचीन गुम्बाहरूका सुन्दर भित्तेचित्र, थाङ्का, मूर्ति आदिले बौद्ध धर्म, दर्शन, संस्कृतिको विकाससँगै बौद्ध कला र संस्कृति त्यसको अभिन्न अङ्गका रूपमा विकास भएको देखिन्छ।

अहिले त्यस क्षेत्रका बौद्ध कला, संस्कृतिले विश्व जनसमुदायमा छुट्टै पहिचान स्थापित गरिसकेको अवस्था छ। त्यहाँका गुम्बाहरूमा शाक्यमुनि बुद्धको लीलादेखि बोधिसत्व र इष्ट देवीदेवताका चित्रहरू कुँदिएका पाइन्छन्। त्यहाँ वर्षमा एक दुई पटक लामा नृत्य प्रदर्शन गर्ने गरिन्छ भने इष्ट देवदेवी, धर्मपाला आदिका रूप धारण गरी सम्बन्धित देवदेवी धर्मपालाको मुकुन्डो लगाएर नृत्य गर्ने परम्परा रहेको छ। जसलाई भोट भाषामा ‘गर छ्याम’ भनिन्छ। हातको मुद्रामा मात्र गर्ने नृत्यलाई गर र खुट्टाको तालमा गर्ने नृत्यलाई छ्याम भन्ने गरिन्छ।

अर्कातिर तिब्बती बौद्धहरूले नेपालमा जस्तै लामो समयदेखि भौतिक संसारमा आफ्नो विश्वास प्रकट गर्न मण्डलाहरू सिर्जना गर्दै आएका छन्। मण्डलाको सृष्टि र अभिषेकले प्राणीहरूलाई फाइदा पुर्‍याउँछ र तिनीहरूको विनाशले उनीहरूको जीवनको क्षणिकताको सम्झना गराउँछ भनी विश्वास गरिन्छ। मुकुण्डो नृत्य र मण्डला दुवैमा यी दुई क्षेत्रहरूको सांस्कृतिक समानता पाइन्छ।

ऐतिहासिक र धार्मिक महत्त्वका स्थल

शताब्दीऔंदेखि नेपाली र तिब्बतीहरू एकअर्काका भूभागमा आवतजावत गरेको हुँदा यी दुई देशका नागरिकहरूले अवलम्बन गर्ने रहनसहन, रीतिरिवाज र धर्मसंस्कृतिमा एकआपसको प्रभाव परेको पाइन्छ। त्यसै क्रममा तिब्बतमा नेपाली संस्कृतिसमेत झल्काउने दर्जनौं मन्दिर तथा गुम्बाहरू निर्माण भएका र तीमध्ये कतिपय हालसम्म पनि रहेका छन्। त्यहाँ रहेका कतिपय पर्वत र नदीनालाहरूले पनि दुई देशबिचका सामाजिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यताको प्रतिनिधित्व गरेका छन्। त्यहाँका मन्दिर र गुम्बाहरूमध्ये कतिपय सयौं वर्षअगाडि नेपाली समुदायले आफैं बनाएका छन् भने कतिपय चिनियाँहरूको लगानी र निर्देशनमा नेपाली कला झल्कने गरी नेपाली कलाकारहरूले बनाएका हुन्।

कतिपय भने चिनियाँहरूले बनाएका भए पनि नेपाली कला र संस्कृतिको झल्को दिने खालका छन्। तिनीहरूमध्येकै धेरै पहिले नेपालीहरूले बनाएका ल्हासामा रहेको सरस्वती मन्दिर र सिगात्सेमा रहेको भीमसेन मन्दिरजस्ता कतिपय मन्दिर रेखदेख र मर्मत सम्भारसमेत सताब्दीऔंदेखि नेपाली समुदायले नै गरिआएका छन्।

कैलाश मानसरोवर

तिब्बतमा अवस्थित ६,६३८ मिटर अग्लो कैलाश पर्वत कैलाश पर्वत शृङ्खला (गंगडिसे पर्वत) मा रहेको छ। भारत र नेपालको सीमानजिक अवस्थित यो पर्वतनजिकै प्रसिद्ध मानसरोवर र राक्षसताल रहेका छन्।

सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली गरी चार ठुला नदीका स्रोतका रूपमा रहेको कैलाश मानसरोवर हिन्दु, बौद्ध, जैन र बोन धर्मका लागि पवित्रस्थल मानिन्छ। यस क्षेत्रमा नेपाल, चीन, भारतलगायत विभिन्न देशका खासगरी हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बी मानिसहरू तीर्थयात्रा गर्छन्।

हिन्दु कला र साहित्यमा यस क्षेत्रलाई भगवान् शिव र पार्वतीको वासस्थान तथा स्वर्गको सिँढीका रूपमा वर्णन गरिएको छ। कैलाश र मानसरोवरबारे रामायण र महाभारतमा समेत उल्लेख गरिएको छ। हिन्दु धर्मग्रन्थअनुसार कैलाशमा प्रवेश गर्न अस्वीकार गरेर राक्षस–राजा रावणले हिमाल हल्लाएपछि क्रोधित भएका शिवले पर्वतमा आफ्नो औंला थिचेर रावणलाई बिचमा फसाएका थिए र रावण एक हजार वर्षसम्म शिवको प्रशंसामा भजन गाएर त्यहीं बसेका थिए।

बौद्ध धर्मग्रन्थअनुसार कैलाशलाई पौराणिक मेरु पर्वतका रूपमा लिइन्छ। बौद्ध धर्ममा कैलाशले संसारको पिताका प्रतिनिधित्व गर्छ भने मानसरोवर ताललाई माताको प्रतीकका रूपमा लिइन्छ। बौद्धमार्गीहरू सन्त मिलारेपाले बोन धर्मका अनुयायी नारोसँग ‘को पहिले कैलाश शिखरमा पुग्न सक्छ’ भनी बाजी राखेको र बौद्ध भिक्षु मिलारेपाले सूर्यको किरणमा सवार भई चाँडो शिखरमा पुगी बाजी जितेपछि उनले नजिकैको बोनरी नाम गरेको पहाड बोनलाई दिएका थिए भनी विश्वास गर्छन्।

नेपाली राहदानी सिरानीमा राखेर मर्ने चाहना

तिब्बतका विभिन्न स्थानमा केही यस्ता नेपालीहरू हुनुहुन्छ, जोसँग नेपाली नागरिकता छैन। उहाँहरूको जन्म पनि तिब्बतमा भयो र नेपालमा उहाँहरूका नातेदार पनि छैनन्। उहाँहरू नेपाली बोल्न सक्नुहुन्न, कतिपयले त नेपाली भाषा बुझ्नु समेत हुन्न।

नेपालमा आफ्नो थातथलो कहाँ हो भन्ने जानकारीसमेत उहाँहरूलाई छैन। तर आफू नेपाली भएकोमा उहाँहरू गर्व गर्नुहुन्छ। चीन सरकारले उहाँहरूलाई चीनको नागरिकता लिए सरकारले उपलब्ध गराउने सबै सेवा सुविधा उपलब्ध गराउने भनी पटक पटक प्रस्ताव गर्दा समेत उहाँहरूले चिनियाँ नागरिकता लिन मान्नुभएन।

 चिनियाँ नागरिकले पाउने सबै सुविधाले समेत उहाँहरूलाई आकर्षित गरेन, बरू उहाँहरूले दुःख भए पनि नेपाली नै भएर रहने प्रण गर्नुभयो। तिब्बतलाई चिनियाँ भूमिमा समाहित गर्दाका बखतका केही घटनाहरू सम्झँदै त्यसबेला नेपाली राहदानी भएकाले आफूलाई सहज भएको बताउनुहुन्छ। उहाँहरूका अनुसार त्यसबेला नेपाली राहदानीवाहकलाई कुनै अप्ठेरो भएन। सहज तबरले जीवन बिताउन चीन सरकारका तर्फबाट सहयोग नै पुग्यो भन्नुहुन्छ। उमेरले डाँडा काट्दै गएर जीवनका उत्तरार्धका दिनहरू काट्दै गरेका उहाँहरू अब जिन्दगीका बाँकी दिन पनि नेपाली भएरै बिताउन चाहनुहुन्छ र भन्नुहुन्छ– नेपाली राहदानी सिरानीमा राखेर जीवनको अन्तिम सास फेर्न पाऊँ।

कतिपयका सन्तान नभएका र सन्तान हुनेका पनि सन्तानहरू सबैले चिनियाँ नागरिकता लिँदासमेत उहाँहरू आफ्नो नेपाली पहिचानमा गर्व गर्नुहुन्छ। स्नातकोत्तर र विद्यावारिधि गर्नेहरू डिभी र पिआरका लागि ज्यान फालेर लागेको र स्वार्थका तराजुमा राष्ट्रियतालाई बन्धक बनाएको समेत देख्न पाइने वर्तमानको यथार्थबिच सामान्य लेखपढसमेत नभएका र नेपालसँगको नातासम्बन्ध समेत राम्ररी नखुलेका वृद्ध बुबाआमाहरूको यो अद्भूत नेपालप्रेम वास्तवमै वन्दनीय छ।

यसरी नेपाली नागरिकता नभए पनि नेपालको सुन्दर चित्र अनुहारभरि सजाएर तिब्बतका विभिन्न स्थानमा बस्ने ३८ जनालाई उहाँहरूको नेपालप्रतिको अगाध माया, सद्भाव र समर्पण देखेर उहाँहरू भएको पुरानो हस्तलिखित राहदानीकै आधारमा नेपाल सरकार मन्त्रीपरिषद्ले २०७६ माघ ६ गते निर्णय गरेर नेपाली राहदानी प्रदान गरेको छ।

नेपाली नागरिकता पाउन नसके पनि त्यही राहदानी सिरानीमा राखेर उहाँहरू छातीभरि नेपालको नक्सा र मनभरि नेपालीपन बोकेर जिन्दगीका अन्तिम दिनहरू काट्दै हुनुहुन्छ। यी दुई देशको भूगोल, जनसंख्या, सामरिक शक्ति र अर्थतन्त्र सानो–ठुलो भए पनि स्वाभिमान, संस्कार, सभ्यता, चेतना, सार्वभौमसत्ता, हिम्मत, देशभक्ति, इमान, निष्ठा, विवेक र भाइचारा समान छन्।

विपद्मा सहयोग गर्ने नेपाली संस्कृति

२०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्प होस् वा २०८१ सालमा चीनको तिब्बतमा गएको शक्तिशाली भूकम्प, दुवैमा नेपाली महावाणिज्यदूतावासको समन्वय र सक्रियतामा नेपाली समुदायबाट तत्कालीन राहतका लागि सहयोग पुर्‍याएको पाइन्छ। यस क्रममा नेपालमा गएको भूकम्पमा ५७ लाख नेपाली रूपैयाँ र तिब्बतमा गएको भूकम्पमा १८ लाख नेपाली रुपैयाँ बराबर रकम सहयोगस्वरूप उपलब्ध गराइएको पाइन्छ।

त्यसैगरी सन् १९८८ मा नेपालमा भूकम्प जाँदा भूकम्प पीडितहरूलाई ६ लाख र सन् १९९० मा तिब्बतको नाक्छु क्षेत्रमा हिउँले पीडित भएका चिनियाँ नागरिकहरूलाई एक लाख ५० हजार नेपाली रूपैयाँ बराबरको सहयोग गरिएको थियो।

यसैगरी तिब्बतमा रहेका आर्थिक सामाजिक रूपले पछाडि पारिएका एक दर्जन घरपरिवारलाई उनीहरूको जीवनयापनमा सहयोग पुगोस् भन्ने अभिप्रायले नेपाली महावाणिज्यदूतावास र नेपाली दुःख निवारण कल्याणकारी कोषबाट तिब्बतमा बसोबास गरिरहेका विपन्न परिवारलाई हरेक वर्ष प्रतिपरिवार १२ हजार र चाडपर्व खर्चवापत १५ सय चिनियाँ युआन गरी हरेक वर्ष १३ हजार पाँच सय युआन नगद तथा खाद्यसामग्रीसहित सहयोग गरिनु र तिब्बतका विभिन्न कारागार तथा विभिन्न अभियोगमा रहेका नेपाली नागरिकहरूलाई सहयोग गर्नुले पनि विपद्मा सहयोग गर्ने नेपाली संस्कारको उदाहरण प्रस्तुत गरेको छ।

साहित्य र सिर्जना

महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेखेर जोडेको नेपाल र चीन खासगरी तिब्बतसँगको साहित्यिक नाता त्यस पछि जुन रूपले अगाडि बढ्नुपर्ने हो, त्यसरी बढेको पाइँदैन। नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म कसरी फैलिएको छ भन्ने कुरा मुनामदनमा मिहिन ढंगमा व्यक्त गरिएको छ।

सशरीर उपस्थित भएर कहिल्यै ल्हासा नदेखेका देवकोटाको मुनामदनमा पैसा कमाउन तिब्बत गएका मदन बिरामी पर्दा एकजना तिब्बती नागरिक (भोटे) ले गरेको सेवाले दुई देशबिचको नागरिक सम्बन्धलाई बिम्बात्मक रूपमा उभ्याएको छ।

नेपाली झ्याउरे लयमा लेखिएको मुनामदन अहिलेसम्ममा सबैभन्दा बढी बिक्री हुने नेपाली कृति पनि हो। चीनको सामाजिक विज्ञानको चिनियाँ प्रतिष्ठानअन्तर्गत राष्ट्रिय संस्थाको अन्तर्राष्ट्रिय रणनीतिका प्राध्यापक लिउ जिआनले मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गरेका हुन्। उनले अनुवाद गरेको मुनामदन खण्डकाव्य सन् २०१२ को जनवरी महिनामा राइटर्स पब्लिसिङ हाउस बेइजिङले चिनियाँ भाषामा प्रकाशन गरेको पाइन्छ।

प्राध्यापक लिउलाई मुनामदन अनुवाद गर्नका लागि चीनका लागि तत्कालीन नेपाली राजदूत टंक कार्कीले विशेष अनुरोध गरेका थिए र कार्कीको अनुरोधलाई समेत स्वीकार गर्दै लिउले छोटो समयमै मुनामदन अनुवाद गरेका हुन् भनिन्छ।

मुनामदनका सर्जक लक्ष्मीप्रसाद देवकोटा र यसका चिनियाँ अनुवादक लिउ जिआनका बिचमा एउटा गजबको समान संयोग मिल्न आउँछ। लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेख्दा उनी कहिल्यै ल्हासा गएका थिएनन्। तर उनले त्यहाँको चित्रण सजीव ढंगले गरेका छन्। साँझको बेला पोतला दरबार त्यहाँ बलेका दियोहरूले झलमल्ल देखिएको कुरादेखि चौरीगोठ र पशुपालक तिब्बतीको दैनिक जीवनलाई देवकोटाले जीवन्त रूपमा उतारेका छन्।

मुनामदन प्रकाशन भएको ७५ वर्षपछि चिनियाँ भाषामा अनुवाद गर्दा प्राध्यापक लिउले नेपाल टेकेका थिएनन्। अर्को रमाइलो संयोग के पनि छ भने उनी अझै तिब्बतको ल्हासा पुगेका छैनन्। उनले ल्हासा जाने रहर लागेको तर अहिलेसम्म नजुरेको बताएका छन्। चिनियाँ साहित्यकार लिउ जियानले अनुवाद गरेको मुनामदन चीनमा निकै मन पराएपछि त्यहाँका साहित्यकारहरूले यस विषयमा छुट्टै सम्मेलन नै आयोजना गरेका थिए भनिन्छ।

चिनियाँ भाषाका धेरै कृतिहरू विभिन्न समयमा विभिन्न प्रकाशकहरूले नेपाली भाषामा अनुवाद गरेका भए पनि नेपाली भाषाबाट चिनियाँ भाषामा अनुवाद भएको पहिलो कृति भने भरत जंगमको कालो सूर्य हो, जुन सन् १९९२ मा चिनियाँ भाषामा प्रकाशित भएको थियो।

सन् २०२३ मा चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसन र नेपाल सरकारबिच एकअर्काका साहित्यको अनुवाद तथा प्रकाशन गर्नेबारे समझदारी भएको पाइन्छ। उक्त समझदारी कार्यान्वयन गर्ने सिलसिलामा नेपाल र चीनका कम्तीमा २५/२५ वटा पुस्तकहरू एकअर्काका भाषामा अनुवाद गर्ने निर्णय भएको र पहिलो चरणमा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौं’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मञ्जुलको ‘जाने होइन दाइ आलापोट’, जनकलाल शर्माको ‘हाम्रो समाजः एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ गरी १३ नेपाली पुस्तक चिनियाँ भाषामा तथा ‘रिडिङ गाइड फर सि जिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेइन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्जी’, ‘द ग्रास हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ गरी १३ वटा चिनियाँ पुस्तकहरू नेपाली भाषामा अनुवाद गर्ने निर्णय भएको पाइन्छ।

नेपाल–चीनबिच लामो समयदेखि विशेष प्रकारको सम्बन्ध कायम रहेको र नेपालको राष्ट्रिय अभिलेखालयमा २० हजार जति तिब्बती भाषामा लेखिएका र आठ सय जति चिनियाँ भाषामा लेखिएका ग्रन्थहरू रहेका सन्दर्भमा त्यस्ता सामग्रीको अनुवाद दुई देशबिचका इतिहास, संस्कृति र अर्थ व्यवस्था बुझ्न उपयोगी हुने एवं नेपाल र तिब्बतबिच परम्परागत रूपमा रहेको राजनीतिक, सांस्कृतिक सम्बन्ध र बुद्ध धर्मबारे जानकारी राख्न महत्त्वपूर्ण हुने देखिन्छ।

देवकोटाको प्रतिमा

ल्हासास्थित नेपाली महावाणिज्यदूतावास परिसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको प्रतिमा रहेको छ। सन् २००१ जुन २४ मा तत्कालीन नेपाली महावाणिज्यदूत शंकरप्रसाद पाण्डेको सक्रियता र त्यहाँ रहेका नेपाली समुदायको सहयोगमा उक्त प्रतिमा स्थापना भएपछि हरेक वर्ष देवकोटा जयन्तीमा त्यहाँ साहित्यिक कार्यक्रम हुने गरेको छ।

प्रतिमा स्थापना गरी अनावरण गर्ने कार्यक्रममा नेपालबाट नेपाली शिक्षा परिषद्का सदस्यसचिव तथा साहित्यकार रमा शर्मा, परिषद्का कोषाध्यक्ष तथा साहित्यकार भीमबहादुर अधिकारी, साहित्यकारहरू नित्यराज पाण्डे, डा. चेतबहादुर कुँवर, ठाकुरप्रसाद पराजुली, डा. तुलसी भट्टराई, रमेश खकुरेल, समाजसेवी लक्ष्मीरत्न बज्राचार्य र फोटोग्राफर कुमार आले सहभागी हुनुहुन्थ्यो।

उक्त प्रतिमाको अनावरण कार्यक्रमका प्रमुख अतिथि तिब्बत जनकांग्रेसका उपाध्यक्ष छिरिङ साम्दू, नेपाली शिक्षा परिषद्का सदस्यसचिव तथा साहित्यकार रमा शर्मा र नेपाली महावाणिज्यदूत शंकरप्रसाद पाण्डेले संयुक्त रूपमा गर्नुभएको थियो। सन् २०१८ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्हासाको भ्रमण गर्दा देवकोटाको उक्त प्रतिमा अगाडि उभिएर कविताका केही अंश लेख्नुभएको त्यहाँ बसोबास गर्ने नेपालीहरू बताउँछन्।

–लेखक तिब्बतका लागि नेपाली महावाणिज्यदूत हुन्।

प्रकाशित: २४ जेष्ठ २०८२ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App