निर्माणाधीन फिल्म ‘परालको आगो’ मा पुरानै कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्न अनुमति लिएको छ।
सुशिल पोखरेलको निर्माणमा बन्न लागेको फिल्म ‘परालको आगो’ का लागि संगीतकार शान्ति ठटालको निवासमै पुगेर सम्झौता भएको हो।
चार दशकअघि निर्माण भएको फिल्म ‘परालकै आगो’ को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए।
शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उत्तिकै लाेकप्रिय छ।
परालको आगोका लागि यो गीत नै चाहिने हुनाले स्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए। उनकाे अनुसार दुवै पक्षकाे कागजी सम्झौता समेत भएको छ।
संगीतकार ठटालले आफूले यो गीत परालको आगोमा समावेश गर्न अनुमति दिएको बताएकी छन्। उनले भनिन्, ‘श्री ॐ सिने मेकर्स प्रालिबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा उल्लिखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुन: निर्माणाधीन चलचित्र ‘परालको आगो’ मा प्रयोग गर्न मेरो पूर्ण मन्जुरी छ। साथै चलचित्रको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु।’ उनले आफ्नो गीत फिल्ममा समावेश हुँदा खुशी लागेको बताइन्।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’ मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत र अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ। केही साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्धित गरेको हो।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार फिल्ममा अनुबन्धित गरेकी हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ। ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’ मा संगृहीत छ।
उनले दर्जनौं मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौं अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो फिल्ममा २०८२ सालको दशैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक फरक किसिमले लोकेसन, प्रस्तुतिकरण र पटकथा फिल्ममा प्रस्तुत गर्न लागेको बताए। निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौंथलीको झैझगडालाई प्रस्तुत गरिएको छ।
निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।
प्रकाशित: २२ जेष्ठ २०८२ १२:४१ बिहीबार





