नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्यपोस्टको सह-आयोजनामा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठी अन्तर्गतको पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्।
‘प्रलयको आँधीबेहरी’ शीर्षकको निबन्धका लागि खतिवडाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्।
शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन’ शीर्षकमा निबन्ध प्रस्तुत गरेका हरिबोल काफ्ले दोस्रो हुँदै नगद ४० हजार रुपैयाँसहित सम्मानित भए।
त्यसैगरी, ‘विकासः प्राप्तिको श्रृङ्खला र पश्चातापको पुनर्बोध’ शीर्षकको निबन्धमार्फत गोविन्द गोपाल खतिवडा तेस्रो स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भए।
सो अवसरमा देशभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ठहरिएका ३२ निबन्धहरूको संग्रह पनि विमोचन गरिएको थियो। पुरस्कृत तीनसहित संग्रहमा समेटिएका अन्य २९ प्रतियोगीलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा समालोचक डा. गीता त्रिपाठी र डा. अशोक थापाले पुरस्कृत तथा अन्य उत्कृष्ट निबन्धहरूको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
उनीहरूले वातावरणीय मुद्दालाई केन्द्रमा राखेर सिर्जना गरिएका यस्ता साहित्यिक कृतिहरूले समाजमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
दशौं संस्करणसम्म आइपुगेको वातावरण साहित्य गोष्ठीले साहित्यिक सौन्दर्य मात्र नभई वातावरणीय चिन्तन र सामाजिक सरोकारलाई समेटेर जनमानसमा सकारात्मक प्रभाव पार्न सफल भएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
प्रकाशित: १७ जेष्ठ २०८२ २२:०० शनिबार





