‘आशीर्वाद’ (पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, २०८० साल) र ‘भित्ताका कान’ (२०८१ साल) लघुकथासङ्ग्रह सुदूरपश्चिमेली स्रष्टा छविलाल खड्काका लघुकथा कृति हुन्।
एउटा संयोग वा आकस्मिकता आयो २०८१ सालको भदौ ३ गते, लघुकथासङ्ग्रहहरूको सामुहिक विमोचन कार्यक्रममा सुदूरपश्चिमेली स्रष्टा छविलाल खड्काको दोस्रो लघुकथासङ्ग्रह भित्ताका कान’ उपस्थित थियो भने स्रष्टा पनि सँगै हुनुहुन्थ्यो। त्यतिबेलै मैले कथाकार खड्कालाई भेट्ने अवसर पाएँ। आफन्तिएँ र केही लेख्ने मन उब्जियो।
लघुकथाबारे केही लेख्नु वा पढ्नका लागि तयार हुने क्रममा नै लघुकथाको विधातात्विक निर्क्याेल गरियो भने विषयको गहिराइसम्म पुग्न सकिन्छ। नत्र त के मोती के पत्थर! आख्यानका प्रभेदका रूपमा उपन्यास, कथा र लघुकथा छन्। त्यसैले लघुकथा भनेको आख्यानको एउटा प्रभेद हो, कथाको खुम्चिएको रूप वा उपन्यासको सारसंक्षेपित रूप होइन।
लघुकथालाई विवेचन गर्दा विधातात्त्विक रूपमा पूर्ण र स्वतन्त्र भएपछि लघुकथा लेखनमा आख्यानका विशेषता मात्र समावेश गरेर पुग्दैन। आख्यानभित्र विशिष्ट बुनौट खोज्छ। विशेष सामर्थ्य खोज्छ। क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने अणु सामर्थ्य खोज्छ। आयाममा संक्षिप्तता (आयाम भनेको आयतन, फैलावट, गहिराइ, उचाइ, लम्बाइ, कालखण्ड, आदिमा संक्षिप्तता), समग्रतामा कौतूहलता, सारमा व्यङ्ग्यात्मकता, बुनौटमा आकस्मिकता लघुकथाका औजार हुन्।
यसैगरी भाषामा सरलता, सहजता, अर्गानिकता, आञ्चलिकता, स्थानीयता सलिलता लघुकथाको सुन्दर गहना हो। निकै गहन सम्पत्ति हो।
रूपविधानका आधारमा हेर्दा छविलाल खड्काका दुवै कृतिका बुनौटमा फरक महसुस हुन्छ। पहिलो लघुकथासङ्ग्रह आशीर्वादमा भन्दा दोस्रो लघुकथासङ्ग्रह भित्ताका कानमा धेरै परिपक्कता आएको छ।
कृतिभित्र आख्यानमा चाहिने द्वन्द्व, कथानक, पात्र (मानव, तथा मानवेत्तर पात्र) थिम, परिवेश, बुनौट आदि यथास्थानमा शिल्पीय तरिकाले प्रयोग गरिएको छ। विपरीत भावमा अन्त्य भएको छ। कुतूहलमा अन्त्य भएको छ। राम्रो प्रतिध्वन्यात्मकता छ।
दुवै शीर्षक ‘आशीर्वाद’ तथा ‘भित्ताका कान’ लघुकथाका लागि सुन्दर शीर्षक हुन्। कौतूहल, संक्षिप्तता र विषयसँग सम्बन्धित भएकाले कृतिशीर्षकले लघुकथालाई पूरापूर न्याय गरेका छन्।
लघुकथाका शीर्षक पनि पद वा पदावलीमा छन्। लघुकथाको संरचना विधानका आधारमा भन्ने हो भने संक्षिप्तता, सूत्रात्मकता, साङ्केतिकता, आकस्मिकता र स्वयंमा पूर्णता जस्ता कुरा हेक्का राखिएको छ। प्राय: लघुकथाका उठान आकस्मिक छन्। विकास तीव्र र संक्षेप छन्। यसमाथि वक्ररेखीय तीव्र बहावको प्रयत्न गरिएका लघुकथा पनि समावेश भएका छन्। उत्कर्षलाई चुस्त बनाउन हरसम्भव कोशिस गरिएको छ। समापनलाई प्रतिध्वन्यात्मक बनाउन भरमग्दुर प्रयास गरिएको छ।
लघुकथा लेखनमा प्रयोग हुने कथावस्तुको पनि ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ। कथावस्तु जति भाव प्रदायक भयो उति लघुकथा स्तरीय बन्ने कुरा सत्य हो। कथावस्तु टिप्ने स्रोत छनौटले लघुकथाकारको सीप देखाउँछ। मानिसले आफू बाँचेको, भोगेको, सुनेको, पढेको, देखेको तथा चिन्तन मनन गरेको विषयका आधारमा कथ्य छनौट गर्ने हो। अर्थात् राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, धार्मिक, आर्थिक, सांस्कृतिक विषय नै प्रमुख रूपमा प्रकट हुन्छन्। लघुकथा लेखिरहँदा वा पढिरहँदा कथानक स्रोतले धेरै प्रभाव पार्छ। यसो भएकाले स्रष्टा छविलाल खड्का आफू वरिपरिको सामाजिक अवस्थामा लघुकथा लेख्छन्। छाउपडीका विषय उठाउँछन्। आफ्नो छोरा बोर्डिङ पढाउने र शिक्षक सरकारीमा चाहिँ हडताल गर्ने शिक्षकप्रति व्यङ्ग्य गर्छन्। सञ्चय कोष निकालेर साहित्यका पुस्तक छाप्नुपर्ने, आर्थिक प्रतिफल शुन्य हुने अनि बिरामी पर्दाको अवस्था जटिल बन्ने यथार्थ पस्किन्छन्।
उनका लघुकथामा धार्मिक असङ्गति, गरिबी अवस्था र त्यसले पारेको प्रभाव, आर्थिक विसङ्गति र व्यापक भ्रष्टाचारको चित्र पाइन्छ। अधिकतर कथानकको स्रोत राजनीति छ। राजनीतिलाई विभिन्न कोणबाट हेरिएको छ। गणतन्त्र, नेता, चुनाव तथा जनता केन्द्रमा राखिएको पाइन्छ। राजनीतिक नेताले सहिदको खेती गरेकोमा चिन्ता र व्यङ्ग्य दुवै प्रहार गरिएको छ।
यसैगरी कथानकको आधारमा भन्नु पर्दा सांस्कृतिक अन्धता, परम्पराका चङ्गुल, आदि कुरामा पनि लघुकथा विनिर्माण भएका छन्।
दुवै सङ्ग्रहमाथि पठन र विवेचन गर्दा छविलाल खड्का सामाजिक यथार्थवादी लघुकथाकार भन्न सुहाउँछन्। उनको लघुकथा लेखनको केन्द्रीय विन्दु राष्ट्रवाद, राष्ट्रिय राजनीतिक असङ्गति, सामाजिकतावाद, प्रगतिशीलता, सुन्दर समाजको निर्माणको अपेक्षा आदि छन्।
स्वैरकल्पनामा लघुकथा लेख्न गाह्रो हुन्छ तर लघुकथाकार छविलाल खड्का यो मामलामा पनि सफल भएका छन् (जुक्ति ३४) । बाँदर, गुना तथा गुनेनी जस्ता नबोल्ने पंक्षी तथा जनावरलाई बोलाएर कथाको निर्माण गरेका छन्। उखानको प्रयोगले झन् सुन्दर बनेको छ कृति।
संदेशात्मक तथा विद्रोहात्मक छन् लघुकथा। दलित शब्द हटाउने र सुबिधा पाउने भएपछि थप्ने दोहोरो चरित्रमाथि प्रहार गर्छन्। लघुकथा लेखनमा दुई सशक्त घटनाको प्रक्षेपण गरी द्वन्द्व निर्माण गर्ने र समापनमा पुग्दा प्रतिध्वनि लहर उत्पन्न गर्ने क्षमता पनि छ। ‘कर्मको फल’ लघुकथा बुनौटका हिसाबले ज्यादै राम्रो मानक लघुकथा बनाएको छ।
भनिन्छ कि लघुकथामा कम्तीमा दुई कथानक हुनुपर्छ। यसरी दुई कथानक हुँदा विपरीत भावमा कथा समापन गरिनुपर्छ। यो लघुकथामा पुण्यप्रसाद प्रमुख पात्र छ। एउटा धार्मिक पुण्यप्रसादको कथा छ भने अर्को पापी पुण्यप्रसादको कथानक छ। ज्यादै राम्रो।
लघुकथाकाे जिम्मेवारीपूर्वकको पठन तथा विवेचन गर्दा लघुकथाको कथ्यविधान, पात्रविधान, प्रयोजनविधान, शैलीविधान तथा रूपविधानका मापनका आधारमा राखेर हेर्नुपर्ने हुन्छ। आशीर्वाद लघुकथासङ्ग्रहमा भएका प्रायः हरेक लघुकथामा समापनपछि विस्तार भएको छ। यो भनेको लघुकथा लेखनको प्रधान बाधा हो। समापन विस्तारले लघुकथाको स्वाद स्खलित बनाइदिन्छ।
भित्ताका कान लघुकथासङ्ग्रह आशीर्वाद भन्दा निकै मिलेको छ। तथापि पूर्णता खोज्नु पनि भ्रम हो। पूर्णता खोज्दा अपूर्णता प्राप्त हुन्छ। अपूर्णतालाई पूर्णतातिर लैजाने उपक्रम जिन्दगी हो। किनभने पूर्णता जेनिथ त हो तर पूर्णतातिरको यात्रा मात्र हो।
एकदमै धेरै सुधार गर्नुपर्ने कुराचाहिँ कथावस्तुको आयाम हो। अधिकतर लघुकथामा आयाम लामो छ। लामो आयाम हुनेबित्तिकै त्यो छोटाकथातिर उन्मुख हुन्छ। आयाम छोटो पार्ने तरिका पूर्वदीप्ति शैली वा नाटक शैली हुन्।
लघुकथामा दुई प्रकारका कालखण्ड हुन्छन्। एउटा कथाको कालखण्ड, अर्को कथानक प्रस्तुतिको कालखण्ड। सकिन्छ भने कथाको कालखण्ड र कथानक प्रस्तुतिको कालखण्ड दुवैलाई छोटो बनाउन सकियो भने सुनमाथि सुगन्ध बन्छ।
सकिन्न भने पनि कथानक भनिएको समयचाहिँ अनिवार्य रूपमा छोटो पार्नै पर्छ। किनकि आयाम भन्नाले कालखण्ड मात्र बुझाउँदैन, यसले पात्रव्यवस्थापन, थिम व्यवस्थापन अर्थात् एकोन्मुखता, प्रस्तुतिव्यवस्थापन, आकार, सबै कुरा बुझाउँछ। भित्ताका कान लघुकथासङ्ग्रहमा पनि आशीर्वादका झैँ कालखण्ड दोषमुक्त हुन सकेको छैन।
खास गरेर लघुकथा लेखन रूपविधानको पाटो भए पनि कथ्यविधानमा चाहिँ चिन्तन आवश्यक हुन्छ। कथावस्तु विनिर्माण गरिरहँदा आफूले उठाएका विषयवस्तुमा आफैँले संदेहात्मक प्रश्न उठाएर खार्न सकिन्छ। चिन्तन गर्न सकिन्छ। कथानक विनिर्माण गरिरहँदा कतै लिङ्ग भेद, रङ्गभेद, पेसाभेद, विश्वसनीयताको ख्याल गरिनुपर्छ। किनकि कुने पनि पेसा आफैँमा खराब वा उत्कृष्ट हुने होइन। थिमलाई पश्चगामी परम्परागत सोच हावी हुनबाट जोगाउनुपर्छ।
राजनीति गर्ने मान्छेको शैक्षिक योग्यताको प्रश्न उठाइएको छ (योग्यता)। यो नारा पपुलर त हो तर यथार्थ होइन। शैक्षिक योग्यताले मात्र राजनीति चल्दैन। राजनीति अन्य प्रशासन चलाए जस्तो शैक्षिक योग्यताले चल्दैन।
जुन विषयमा लघुकथा लेख्न थालेको हो, त्यो विषयका बारेमा गम्भीर भएर चिन्तन गर्नु आवश्यक हुन्छ।
चिन्तनका केही नमुना: १. के गणतन्त्र राजतन्त्र भन्दा नराम्रो हो? २. वैदेशिक रोजगारीमा गएका पुरुषका महिला कति प्रतिशत बिग्रे? के जागिर तथा व्यवसायको राम्रो व्यवस्था भए नेपालीहरू विदेश पलायन हुनबाट रोकिन्छन्? भ्रष्टाचारको कारण के हो? किन जुन जोगी आए पनि कानै चिरेको? महिलाले पूर्ण मुक्ति खोज्नु ठिक कि बेठिक? जस्ता विषयमा धरातलीय यथार्थ भन्दा अतियथार्थतिर उन्मुख हुनु राम्रो हुन्छ।
कमजोर विषयवस्तुबाट शक्तिशाली लघुकथाको निर्माण हुन सक्दैन। शब्द चयनमा पनि स्तरीयता खोज्नु पर्छ। यसैगरी चुटकिलाबाट जोगाउनु, छोटाकथा बन्नबाट जोगाउनु पनि लघुकथा लेखनका अन्तर्य हुन्। लघुकथाले यथार्थ बोलेका छन्, तर अति यथार्थ बोलेका छैनन्।
दोस्रो लघुकथाकृति भित्ताका कान, योभन्दा पहिले आशीर्वाद लघुकथासङ्ग्रह प्रकाशन भएकाले यी दुवैलाई एकै स्थानमा राखेर विवेचन गर्दा आशीर्वादको तुलनामा यो भित्ताको कान रूपविधान तथा कथ्यविधानका आधारमा पनि अब्बल छ। यसरी सुधार भएर अर्को कृति आउनु शुभसङ्केत हो।
नेपाली लघुकथा संसारले एउटा उम्दा लघुकथाकार पाएको छ छविलाल खड्का। २०२५ सालमा जन्मेका लघुकाथकार छविलाल खड्काको जीवन तथा समाज बुझ्ने शिल्प राम्रो लाग्यो। शब्दसीमाका हिसाबमा लघु छन् लघुकथा। कथावस्तुका हिसाबमा मिश्रित लयका छन्। रूपविधानमा अझै प्रयत्न खोजे पनि कमसल भने छैनन्। विविध खाले विषय छन्।
जहाँसम्म लघुकथाको समापनमा चातुर्यको प्रश्न छ, त्यसमा लघुकथाकारले निकै नै हेक्का राख्नुपर्छ। लघुकथाकार खड्का यो मामलामा सतर्क देखिएका छन्। उपसंहारमा पुग्दा म भन्छु, एउटा लघुकथासङ्ग्रह प्रकाशन गराउँदासम्म लुघकथाकार नवोदित हुन्छ तर जब अर्को सङ्ग्रह प्रकाशन हुन्छ त्यो बेला पाठकले विशेष कुरा खोज्ने हुन्छ। त्यसमा लघुकाथकार सतर्क हुनै पर्छ।
पहिलो दोस्रो झमटमै यति धेरै सुन्दर लघुकथासङ्ग्रह लघुकथा संसारमा दिएकाले लघुकथाकार छविलाल खड्कालाई हार्दिक बधाई। भविष्यमा झन् प्रखर तथा शास्त्रीय लघुकथाहरू जन्मियून्, हार्दिक शुभकामना!
प्रकाशित: १६ जेष्ठ २०८२ १३:२५ शुक्रबार





