१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

ठमेलमा सम्पन्न भयाे ‘आफूविरुद्ध आफैं अभियान’ को पाँचौं श्रृङ्खला

‘आफूविरुद्ध आफैं अभियान’ को पाँचौं श्रृङ्खला काठमाडौंको ठमेलमा एक कार्यक्रम सञ्चालन गर्दै सम्पन्न भएको छ।

पाँचौं श्रृङ्खलामा कार्यक्रमका अभियान्ताहरू नवराज रिजाल, आरएम डंगोल, छविरमण सिलवाल, होमशंकर बास्तोला र बोधराज पौडेलले कविता वाचन गरेका थिए।

कवि आरएम डंगालले कविले रचना गरेका कविताको रचना गर्भ, परिवेश, विषयवस्तु र प्रस्तुति कस्तो छ भनेर साेधेका थिए। वाचन गरिएका कवितामाथि कविहरूले सो कविताको रचना गर्भ, बुनोट र विषयवस्तुबारे प्रकाश पारेका थिए।

कविले कवितामा राजनीति र सामाजिक महत्त्वका विषय मात्र नभइ नवीनतम खोज गर्नुपर्ने धारणा डंगालले राखे। अहिले लेखिएका धेरै कविता पुराना कवि र कविताको प्रत्युत्तर मात्र भएको हुँदा आफु कवि हूँ भनेर चिनाउने माध्यम कविता भएको हुनाले त्यस्ता कविता सिर्जना गर्न समेत डंगोलको सुझाव थियो।

कविता सरल भावबाट उठान गरेर अन्तिममा सन्देश प्रवाह गर्ने वा सुरुमा बिम्बात्मक लय बनाएर बिस्तार गर्दै सरल भावमा ट्वाँक्क बनाएर अन्त गर्ने परम्परा छ। वास्तवमा कविताको मूल्य र शक्ति यही भएको बताए।

कविताका धेरै सिद्धान्त पढियो र कविता अरू विधाभन्दा धेरै लेखिए पनि कविता यस्तै हुनुपर्छ भन्ने मान्यताको विकास आफूले गर्न नसकेको बोधराज पौडेलले बताए। उनले भने, ‘लामो समय कविता लेखे पनि आफू सिद्धान्तमा नबाँधिने तर कविताको आधारभूत लय भने नछोड्ने बताए।’

होमशंकर बास्तोलाले पहाडी जीवनसँग आफ्नो बालापन जोडिएका कारण अभाव र गरिबीको चित्रण आफ्ना रचनामा आउने स्पस्ट पारे। यति हुँदा हुँदै पनि आफ्नो लेखनको मूलस्रोत राजनीति र सामाजिक परिवेश रहेको उनको भनाइ थियो।

नवराज रिजालले आफ्नो कविता लेखन कम भए पनि कविताको उचाइँ, भाव, बिम्ब र मिथकसँग आफू परिचित रहेको बताए। कवि बोधराज पौडेलले ‘दाजै म पूरै वेवारिसे भएँ’ होमशंकर बास्तोलले ‘भो नबाँड खाली सपनाहरू’, आरएम डंगोलले ‘जन्मोत्सव’ र छविरमण सिलवालले ‘रुख’ शीर्षकको कविता वाचन गरेका थिए।

नवराज रिजालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन होमशंकर बास्तोलाले गरेका थिए। आउँदाे कार्यक्रममा सदस्यता बिस्तार गर्ने र निष्क्रिय सदस्यबारे नयाँ निर्णय हुने समेत कार्यक्रममा बताइएको थियाे।

प्रकाशित: ११ जेष्ठ २०८२ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App