५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

भत्किएको सपना

लघुकथा

आफ्नो पालामा गाँउमा माद्यमिक विद्यालय थिएन। पढ्ने क्षमता भएर पनि आफूले पढ्न नपाएकोमा रामहरि भाग्यलाई दोष दिन्थे तर छोराको पालामा शिशु कक्षादेखि नै सुरु हुनेगरी माध्यमिक विद्यालय स्थापना भयो। छोरालाई आफ्नै गाउँमा पढाउन पाएँ भनेर उनी औधी खुशी भए। चार कक्षामा स्कुल भर्ना भएर पढ्न थालेको उनको छोरा रमन कक्षामा सधैं प्रथम हुँदै माथि बढ्यो। पाएसम्म छात्रवृत्तिमा अमेरिका पढ्न जान्छु भनेर बुबाको सल्लाह अनुसार ऊ राजधानीको कलेजमा पढ्न थाल्यो। उसको मनपर्ने विषय कम्प्युटर साइन्स थियो। यो विषय लिएर उच्च शिक्षा पास गर्‍याे भने दाममाम दुवै कमाइन्छ भन्ने उसले सुन्दै आएको थियो। आफ्नो विचार बुबालाई पनि भन्यो।

बुबाले खुशीसाथ ‘हुन्छ बाबू’ भने। रमनले अनलाइन खोजतलास गरेर अमेरिकाको आइआइटीको प्रख्यात युनिभर्सिटीमा छ महिनापछि मात्र छात्रवृत्ति पाउने गरी सिट पायो।

गाउँमा पनि उनीहरू त्यति धनवान् थिएनन्। छोराले अमेरिकामा चाहेको विषयमा पढ्न सिट पायो त्यो उनका लागि ठूलो पुरस्कार जस्तो भयो। अर्कोतिर जाने खर्च र छ महिनासम्म खानेबस्ने र पढ्ने खर्च स्वदेशबाट नै पुर्‍याउनुपर्‍याे। त्यसका लागि छोराले पढेर कमाइहाल्छ। देखाजायगा भनेर उनले धान फल्ने खेत नै एक टुक्रा बेचेर पठाए। जाने बेलामा ‘त्यो अनकन्टार ठाउँमा पुगेर भोक भोकै नबस्नु। मलाई थाह दिनु। म जसरी पनि यताबाट खर्च पठाउँछु’ भन्न बिर्सिएनन्।

आफूलाई त्यति धेरै माया र भरोसा गरेर खर्च जुटाएर शिक्षार्जन गर्न संसारको सबभन्दा विकसित देश पठाउने बाबुलाइ ‘हस् बुबा,म हजुरको शिर उचा राक्नेछु’ भन्यो।

रमन अमेरिका पुग्यो कागजी काम पूरा गरेर कलेज भर्ना भएर पढ्न थाल्यो। प्रत्येक दिन आफ्नै एकजना प्रोफेसर जो ऊ जस्तै गरी आएको रहेछन्। उनले हप्ताको पन्ध्र घन्टा आफ्नै अफिसमा कम्प्युटरमा काम दिए। रमनले बिस्तारै माटर्स सक्यो। पन्ध्र दिन बिदामा घर गयो। गाउँ डुल्यो। बुबालाई थोरबहुत खर्चदियो। छ्ड्के तिलहरी लगाउन रहर गरेकी आमालाई पनि खर्च दियो। बुबाआमा दुबैलाई खुशी पारेर ऊ फर्कियो।

अमेरिकामा धमाधम जब कटौती हुन थाल्यो। धेरै कुरामा नियम बदलियो। कागजातबिना लुकिछिपी काम गर्नेहरूलाई देश्बाट निकाल्न थालियो।

रमनको ग्रीन कार्ड थिएन। एच ओन भिसा थियो। त्यसकाे आफ्नै नियमहरू थिए। एकदिन सधैं जस्ताे ऊ अफिस जान तयार हुँदै थियो। कम्प्युटरमा ईमेल आयो। हेर्दा उसलाई कम्पनीले ‘आजको मितिदेखि तिमी हाम्रो कर्मचारी  रहने छैनौ’ भन्ने खवर आएको रहेछ।

प्रकाशित: ५ जेष्ठ २०८२ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App