२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

आठ वर्षपछि किन ठूलो पर्दामा फर्किए अभिनेता हमाल ?

अभिनेता राजेश हमाल आठ वर्षपछि चलचित्रमा फर्किएका छन्। सुहाउँदो र अनुकूल भूमिका पाएकाले ‘नरसिंहा अवतार’ मा अभिनय गरेको जानकारी दिएका हुन्।

चलचित्रको ट्रेलर सार्वजनिक गर्दै हमालले विगतमा आएका प्रस्तावमा चित्तबुझ्दो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे। ‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आएका थिए। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममा व्यस्त भएँ। यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाएपछि मैले खोजेको जस्तो भूमिका पाएँ। चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा फर्किएँ,’ उनले भने। उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटना उजागर गरेको बताए। 

निर्देशक दिवाकर भट्टराईले हमाललाई पर्दामा ल्याउनु अवसर र चुनौती भएको बताए। ‘अभिनेता हमालको प्रशंसकका बारेमा बोल्नै पर्दैन। उहाँलाई दर्शकको भावनाअनुरूप प्रस्तुत गर्नु मेरो ठूलो चुनौती थियो। उहाँलाई हेर्न चलचित्र भवनसम्म आउने दर्शक निराश हुँदैनन्, आफूले गरेको कामप्रति विश्वस्त छु। हाम्रो चलचित्रको मुख्य आकर्षण कथा हो, जहाँ परिवेशअनुसार सबै पात्रलाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु,’ उनले भने। 

उनले ‘नरसिंहा अवतार’ पछिल्ला चलचित्रभन्दा फरक रहेको र दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे। चलचित्रमा हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकार एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्। 

जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन हुने यो चलचित्र नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रूपमा निर्माण गरेका हुन्। रासस

प्रकाशित: २६ वैशाख २०८२ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App