१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘जार’ मा सौगात मल्लको बाघसँग भिडन्त, आठ मिनेटको दृश्यका लागि दुई करोड खर्च

चलचित्र ‘जार’ मा अभिनेता सौगात मल्ल बाघसँग आमनेसामने देखिने भएका छन्।

इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्रमा बाघले मुख्य पात्रलाई लतारेर लग्ने दृश्य महत्वपूर्ण भएकाले निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य हटाउन सम्भव नहुने ठाने।

उक्त दृश्य बिना फिल्म अधुरो हुने निष्कर्षपछि निर्देशक लामाले कुनै पनि स्टुडियोमा भीएफएक्स गराउने सोच बनाए पनि लागत अत्यधिक हुने भएपछि ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टको सहायताले काम सम्पन्न गरिएको जानकारी दिए। आठ मिनेटको यो दृश्य तयार गर्न मात्रै दुई करोड रुपैयाँ खर्च भएको उनले बताए।

‘‘कुनै ठूला स्टुडियोलाई दिएको भए कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्थ्यो,’’ निर्देशक लामाले भने, ‘‘तर फ्रिलान्सरहरूमार्फत काम गर्दा दुई करोडमै सकियो।’’

उक्त दृश्यमा ‘गेम अफ थ्रोन्स’ र ‘मिसन इम्पोसिबल’ जस्ता चर्चित हलिउड फिल्ममा काम गरिसकेका भीएफएक्स कलाकारहरू संलग्न रहेको निर्देशक लामाले दाबी गरे।

सिक्किममा छायांकन गरिएको चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ। फेरी टेल पिक्चर्सको निर्माण रहेको चलचित्रमा सौगात मल्लसँगै अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत मुख्य भूमिकामा छन्।

साहित्यकार इन्द्रबहादुर राईले सन् १८०० को दशकमा लेखेको ऐतिहासिक कथामा आधारित चलचित्र सामाजिक परिवेशसँग मेल खाने भए पनि यसलाई निर्देशक लामाले ‘‘कम्प्लिट प्याकेज’’ भएको दाबी गरेका छन्।

चलचित्रमा सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन तथा झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ। कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्।

प्रकाशित: १६ वैशाख २०८२ १८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App