मलाई लाग्छ, जन्मदिने आमा र जन्मिएको धर्तीभन्दा विशाल, गरिमामय र प्यारो यस ब्रह्माण्डमा अरू केही हुन सक्दैन। आमाले आफ्नो काखमा संसार देखाइदिन्छिन्। धर्तीले आफ्नो काखमा बाँच्न र बढ्न ठाउँ दिइरहेकी छन्। यी दुईको प्रेम नाप्न मापदण्ड छैन। यी दुईको माया शब्दमा अटाउन सक्ने छैन। त्यसैले म भन्छु– ‘आमा र धर्ती प्रेमको अनपम प्रतिमूर्ति हुन्।’
आमाको अनुहार सम्झदा मलाई लाग्छ, जीवनको सम्पूर्ण प्रकाश, आनन्द र प्रेरणा एउटै मुहारमा समेटिएको छ। आमाको खुशी र मृदु हाँसोमा सूर्यको उज्यालो छ। आमाको आँखामा चन्द्रको शीतलता छ। आमा भन्नु मात्र जीवन दिने होइन, जीवन बुझाउने पनि हो। आमाका मुजामुजा चाउरी परेको अनुहारमा सयौँ कथाहरू लुकेका हुन्छन्। जुन हामीलाई नदेखाउने र नबताउने गरी आमाले सहेर बाँच्छिन्। वास्तवमा प्यारी आमा सहनशीलताकी खानी पनि हुन्।
त्यस्तै धर्तीमाता पनि अर्की आमा हुन् । हाम्रो पाइला टेक्ने पहिलो आधारशिला यही धर्ती । कति पीडा सहेर पनि हामीलाई अँगालो हालिरहने विशालता, धैर्य र समर्पणको जिउँदो उदाहरण । धर्तीले जस्तै, आमा पनि हरेक चोट सहन्छिन्, तर कहिल्यै गुनासो गर्दिनन् । धर्तीले जस्तै, आमा पनि सधैं दिन चाहन्छिन्, तर बदलामा कहिल्यै केही पनि खोज्दिनन्।
‘आमाको मुख हेर्ने दिन’ आमाप्रति हार्दिक श्रद्धाको एउटा पवित्र दिन, पवित्र सम्झना हो, एउटा आत्मसमीक्षा हो। कति थोरै गरेका छौँ हामी आमाको ममताको ऋण चुक्ता गर्न? आमा र धर्तीलाई नमन गर्नु परम्परा मात्र होइन आमाप्रति आत्माको साँचो आभार हो, जीवनको अन्तिम श्रद्धा पनि हो।

आमाको काख र धर्तीको काख सँगसँगै बाँच्दा मात्रै हामी साँच्चिकै जीवन्त बाँच्न सक्छौँ। त्यसैले हरेक दिन आमालाई सम्झौं, धर्तीलाई प्रेम गरौं। किनकि, यी दुई बिना न हामीले संसार देख्न सक्थ्यौं, न संसारमा रमाउन सक्थ्यौं । वास्तवमा आमा र धर्ती प्रेमका दुई अमूल्य ममतामयी काखहरू हुन् । यिनै काखमा लुटुपुटु गर्दै हाम्रो जीवनले यो यात्रा यहाँसम्म आइपुगेको हो।
भनिरहनु पर्दैन कि जन्मदिने आमा र जन्मिएको धर्तीभन्दा विशाल, गरिमामय र प्यारो अरू केही छैन यो अनन्त ब्रह्माण्डमा। एउटा जीवन दिन्छिन्, अर्को जीवन धान्छिन्। आमा र धर्ती– यी दुई शब्द अस्तित्वका गम्भीर स्वरूप हुन्। यसमा प्रेमको महासागर अविरल बगिरहेछ हुन्छ। हामी सबैको जीवनकर्मका तमाम भाग्यरेखा यिनैका आधारमा निर्माण भएका हुन्छन्।
आमाका काखमा बस्दा डर, त्राश पनि पर भाग्छन्। एक प्रकारले हामीले सुरक्षित जीवनको महसुस गर्न सक्छौं। आमाको मायालु म्वाइ र न्यानो स्पर्शले सुवासिलो फूल फुलाउँछ। नदीनाला कलकल गर्दै बगाउँछ। आमा र धर्ती दुवैको काख जीवनका पहिलो पाठशाला हुन्। त्यहाँ माया सिकिन्छ, भरोसा सिकिन्छ र जीवन आफैं एउटा कविताजस्तै हो भन्ने कुराको अनुभूति हुन्छ।
आमाको छातीमा टाँसिँदा जस्तो शान्ति, धर्तीमा टेक्दा जस्तो भरोसा कतै पाइँदैन। आमा अनुहारकी उज्याली हुन्, धर्ती पाइतलाकी हरियाली। आमा बोल्छिन्– कहिले गुनगुनाएर, कहिले स्नेहले गह भरिएर। धर्ती पनि बोल्छ– हावाको लयमा, पानीको बगाइ र झरनाको संगीतमा। यी दुईका स्वर पृथक लागे पनि, मूल लय एउटै हो– प्रेम।
आमाको माया नाप्न कुनै मापदण्ड छैन। धर्तीको सहनशीलता मापन गर्न कुनै तराजु छैन। बच्चाले आँसु झार्दा आमा छट्पटिन्छिन्। आमा र धर्ती दुवै अटूट धैर्यका मूर्ति हुन्। जसरी आमा सन्तानको दुःख बोक्न तयार हुन्छिन्, धर्ती पनि मानिसको सम्पूर्ण दुःख, चोट र तृष्णालाई आफ्नो काखमा समेट्छिन्। आमा आफ्ना सन्तानलाई कहिल्यै थाकेर चटक्कै छाड्दिनन्। धर्ती पनि सम्पूर्ण जीवजगत्लाई कहिल्यै घृणा गरेर फाल्दिनन्। यी दुई अमर प्रेमका पुञ्ज हुन्। यिनैमा आश्रय पाएका हामी सुखले बाँच्न सक्छौं, सुखद सपना देख्न सक्छौं र आफूलाई पूर्णता दिन सक्छौं।
यद्यपि हामीले आमा र धर्ती दुवैलाई थुप्रै चोट दिन्छौं, दिइरहेका हुन्छौं। तर पनि उनीहरू मुस्कुराइरहन्छन्, हरेक चोटमा अझै बढी प्रेम बाँडिरहन्छन्। मलाई लाग्छ– आमा र धर्ती सच्चा क्षमाशील र अनन्त करुणाका अवतार हुन्।
यो सत्य हो कि, धर्तीबिना जीवन छैन। आमाबिना अस्तित्व छैन। धर्तीले सास दिइरहेकी छन्। आमाले स्पन्दन प्रदान गरिरहेकी हुन्छिन्। धर्तीमा पाइला टेक्दा जस्तै आमाको हृदयमा टेकेको अनुभूति हुन्छ– जहाँ आत्मा न्यानो हुन्छ। हृदय एउटा अनाम बन्धनमा बाँधिन्छ।
त्यसैले जब म आकाश हेर्छु र ताराहरूको छातीमाथि सपनाहरू देख्छु। मलाई सधैं आमा र धर्तीको सम्झना आउँछ। जब म पृथ्वीमा खुट्टा टेक्छु र जीवनका हरेक उचाइ र अवरोह भोग्छु, म उनीहरूकै निःसर्त प्रेममा समर्पित महसुस गर्छु।
यो ब्रह्माण्डमा यदि कुनै चमत्कार छ भने, त्यो आमा र धर्तीको काख हो– त्यहाँ जन्मिन्छ जीवन, पलाउँछ प्रेम र सुगन्धित हुन्छ अस्तित्व। शब्दहरू यस प्रेमलाई बाँध्न सधैं अपुरो हुने छ। हृदयले मात्र यसलाई चुपचाप अनुभूति गर्न सक्छ।
संसारमा सबैभन्दा पवित्र र अनन्त प्रेम नै आमाको माया हो। त्यसैले म फेरि भन्छु– ‘आमा र धर्ती प्रेमको अनपम प्रतिमूर्ति हुन्।’ तर अफसोस, म त्यो मायाको सागरमा पौडिन नपाउँदै, बाल्यकालकै कुनै उदास मोडमा, आमाको हात चिप्लिएको महसुस गरें। त्यसपछि मेरा दिनहरूमा उज्यालो कम भयो र रातहरूमा अँध्यारो बाक्लिंदै गयो।
आजको दिन फेरि एकपल्ट आमाको मुख हेर्ने दिन नजिकिएको छ, मेरो अनाथ आत्मा कताकता भौतारिन्छ। म आमाको अनुहार सम्झन्छु– त्यो कोमल मुस्कान, त्यो न्यानो काख, त्यो ममतामयी हेराइ। तर सम्झनाको बादल यति धमिलो छ कि अनुहार स्पष्ट देखिँदैन केवल एक मधुर आभास मात्र छरपस्ट छ। कस्तो अनुहार थियो होला? यौटा दिव्यकान्तीको ज्वालाले भरिभराउ थियो कि!
आज, जब अरू सबै जना आफ्ना आमाका अनुहारमा प्रेमको रङ भरिरहेका छन्, म केवल सम्झनाको क्यानभासमा आमाको काल्पनिक तस्बिर कोर्दैछु। त्यो तस्बिर अपूर्ण छ, अधुरो छ, तर भावनाले पूर्ण छ। मेरो मनले चित्रण गर्छ– आमा, जसको काखमा सारा संसार समेटिन्छ। शायद आज पनि म मेरी आमालाई चुपचाप एकान्त प्रार्थनामा भेट्न सक्छु। मेरो हृदयभित्र कतै, धेरै गहिराइमा, एउटा उज्यालो तारा बनेर चम्किरहेकी छिन् मेरी आमा।
आमाको मुख हेर्ने दिन, म आमाको सम्झनामा फूल चढाउँछु– शब्दरूपी फूल र आत्मारूपी दीप। आमा मेरो अस्तित्वको पहिलो कविता। आमाबिनाको संसार अँध्यारो र नियाँस्रो लाग्छ। आमाको सम्झनाले मेरो मनमा कहिल्यै ननिभ्ने आगोको ज्वाला बलिरहन्छ। मेरा लागि त्यो ज्वाला भनेको प्रेरणाको अनन्त दीपक हो।
आमा! एक शब्द मात्र होइन, अनन्त भावनाहरूको महासागर हो। उनको उपस्थितिमा संसार आफैं उज्यालो लाग्छ, र अनुपस्थितिमा? संसार भव्य भएर पनि खालि लाग्छ। आमाको मुख हेर्ने दिनमा जब अरूहरू आमा सामु फूल, फल र मिष्ठान्न अर्पण गर्दै धन्यवादका आँसु झारिरहेका हुन्छन्, आमा गुमाएका सन्तानहरू भने गहिरो मौनता ओढेर उनका सम्झनाका पत्रहरू पल्टाइरहेका हुन्छन्।
आमा नहुनेहरूका लागि आमाको मुख हेर्ने दिन एउटा उत्सव मात्र होइन, एक सधैं बाँचिरहने तिर्सना हो। एउटा नबुझिने प्रश्न हो– ‘आमा, तिमी अहिले कहाँ छौं?’ र, एउटा मूक कामना हो– ‘तिमी जहाँ छौं, खुशी छौं।’
आमाको याद गर्दा समयका पर्खालहरूले छेक्न सक्दैनन्। दूरीले टाढा पार्न सक्दैन। किनभने आमा त आत्मामा गढिएको न्यानो घाम हो, जुन कहिल्यै अस्ताउँदैन।
साँच्चै, आमाहरू, जीवनका ती अमूल्य रत्नहरू हुन्, जो आफ्नो अस्तित्व फिजाएर सन्तानलाई सुख र शान्ति दिन्छन्। आमा गुमाएकाहरूलाई आजका दिनमा जीवनका ती मिठा पलहरू सजीव भएर सम्झनामा तैरिन्छन् । त्यो आशीर्वादका शब्दहरू, त्यो नमिठो गालीभित्र लुकेको माया, त्यो चुपचाप सान्त्वना दिने आँखा! यी सबैसबै अब मौनताको संगीत बनेर बज्छन्।
आज आमाको मुख हेर्ने दिनमा आमा नभएकाहरूले टाढा क्षितिजतिर आँखा नियाल्छन्, टोलाउँछन् र आकाशतिर हेर्छन्, आँखाभरि श्रद्धा र प्रेम बोकेर। सायद कतै उही आमा, कुनै बादलको फाँटबाट मुस्कुराइरहेकी हुन्छिन् कि। ती नदेखिने आँखाले आशीर्वाद दिइरहेकी हुन्छिन्।
संसारको कुनै शब्द, कुनै रङ र कुनै साहित्यले आमाको अभाव सग्लो चित्रण गर्न सक्दैनौं। आमा त जीवनका अक्षरहरूमा मिसिएको सुगन्ध हुन्। जुन बिना जीवनको प्रत्येक कथा अधुरो हुन्छ। त्यसैले आमा नहुनेहरूले आज सम्झिन्छन्– संगीतको धुनजस्तै मधुरो मायालु स्वर। विरामी हुँदा रातभरि जागै बसेर पर्खने उही उज्यालो अनुहार। थकित यात्रुका लागि सदाझैं उभिएको न्यानो काख। मनभरि बाँचिरहेकी आमालाई फेरि एकपटक हृदयको आँगनमा अँगालो हाल्छु।
-(निबन्धकार ज्ञानेन्द्र विवशबाट प्राप्त चित्र श्रीजनकुमार राजभण्डारीले तयार गरेका हुन्।)
प्रकाशित: १४ वैशाख २०८२ १०:५७ आइतबार




