प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी ब्रान्ड 'गोल्डस्टार' को सेतो जुत्ता लगाएको विषय सार्वजनिक भएपछि उद्योगी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले भावुक प्रतिक्रिया दिएकी छन्।
शुक्रबार संसद्मा बजेट भाषण सकिएपछि बाहिरिने क्रममा प्रधानमन्त्री शाहले आफूले लगाउने गरेको जुत्ता सोही स्वदेशी कम्पनीको भएको राणालाई बताएका थिए। जुत्ता उत्पादक कम्पनीकी मालिक समेत रहेकी राणाले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै प्रधानमन्त्रीको यो कदम केवल एउटा जुत्ता लगाउने क्षण मात्र नभएर देशमै लगानी गरिरहेका सम्पूर्ण नेपाली उद्योगप्रतिको सम्मान भएको उल्लेख गरेकी हुन्।
उनले विगत ५५ वर्षदेखि नेपालमा उत्पादनको कठिन बाटो रोजेको स्मरण गर्दै आयात गरेर व्यापार गर्न सजिलो भए पनि आफूहरूले कारखाना बनाएर हजारौँलाई रोजगारी दिने अठोट कहिल्यै कमजोर हुन नदिएको बताएकी छन्। यो साढे पाँच दशकको यात्रा संघर्षले भरिएको उल्लेख गर्दै उनले माओवादी द्वन्द्व, भारतीय नाकाबन्दी, नोटबन्दी, विनाशकारी भूकम्प र कोभिडको संकट पार गरेर गोल्डस्टार यहाँसम्म आइपुगेको बताएकी छन्। भारततर्फको निर्यातमा अवरोध आउँदा समेत नडगमगाएको भन्दै उनले आज पनि कर नतिर्ने र अनधिकृत व्यापार गर्नेहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने आन्तरिक चुनौतीसँग लड्नुपरिरहेको पीडा समेत पोखेकी छन्।
हाल तीन हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष र लाखौँलाई अप्रत्यक्ष रोजगारी दिइरहेको यस उद्योगमा ७० प्रतिशत महिला श्रमिकहरू कार्यरत रहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले नेपाली उत्पादनप्रति देखाएको यो विश्वासले उद्योग, परिवार र हजारौँ श्रमिकका लागि अत्यन्त भावुक र गर्वको क्षण भएको उनले उल्लेख गरेकी छिन्। प्रधानमन्त्री शाहलाई धन्यवाद दिँदै राणाले ५५ वर्षदेखि संघर्ष गरिरहेका श्रमिकहरूको सम्मान र आत्मनिर्भर नेपालको सपनालाई बलियो साथ दिएको भनेकी छन्।
हेर्नुस् राणाले सामाजिक सञ्जालमा राखेको स्टाटस
५५ वर्षदेखि गोल्डस्टारले नेपालमा उत्पादनको कठिन बाटो रोजेको छ। व्यापार गर्न सजिलो थियो, आयात गरेर बेच्न सजिलो थियो, तर हामीले उत्पादन छोडेनौँ। हामीले कारखाना बनायौँ, मेसिन किन्यौँ, ऋण उठायौँ, ब्याज तिर्यौँ, कच्चा पदार्थ ल्यायौँ, हजारौँलाई रोजगारी दियौँ र नेपालमै उत्पादन गर्ने अठोटलाई कहिल्यै कमजोर हुन दिएनौँ। यो यात्रा संघर्षले भरिएको थियो।
माओवादी द्वन्द्व देख्यौँ, भारतीय नाकाबन्दी भोग्यौँ, नोटबन्दीको असर झेल्यौँ, विनाशकारी भूकम्प सह्यौँ, कोभिडको संकट पार गर्यौँ। भारततर्फको निर्यातमा अवरोध आउँदा पनि हामी डगमगाएनौँ। आज पनि हामी कर नतिर्ने, राजस्व नबुझाउने र अनधिकृत व्यापारसँग प्रतिस्पर्धा गर्न बाध्य छौँ। कहिलेकाहीँ लाग्छ, बाहिरका चुनौतीभन्दा आफ्नै देशभित्रका चुनौतीसँग बढी लड्नुपरेको छ। तर गोल्डस्टार कहिल्यै रोकिएन। किनकि गोलस्टार केवल एउटा जुत्ता होइन, यो ५५ वर्षको संघर्ष, विश्वास र राष्ट्र निर्माणको कथा हो।
आज ३,००० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको गोल्डस्टारले विगत ५५ वर्षमा हजारौँलाई प्रत्यक्ष र लाखौँ नेपालीको जीविकोपार्जनमा अप्रत्यक्ष रूपमा योगदान पुर्याएको छ। हाम्रा श्रमिकमध्ये करिब ७० प्रतिशत महिला छन्, जसले आफ्नो परिवार र भविष्य निर्माण गरिरहेका छन्। त्यसैले हिजो संसदमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले गोलस्टार जुत्ता लगाउनुभएको देख्दा त्यो केवल एउटा जुत्ता लगाउनुभएको क्षण थिएन। त्यो नेपालमा उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र सबै कठिनाइका बिच पनि देशमै लगानी गरिरहेका सम्पूर्ण नेपाली उद्योगप्रतिको सम्मान थियो।
व्यक्तिगत रूपमा, मेरो परिवार, गोलस्टार परिवार र हजारौँ श्रमिकहरूका लागि यो अत्यन्त भावुक र गर्वको क्षण थियो। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, नेपाली उत्पादनप्रति देखाउनुभएको विश्वासका लागि हार्दिक धन्यवाद। तपाईंले गोलस्टार जुत्ता मात्र लगाउनुभएको होइन, ५५ वर्षदेखि संघर्ष गरिरहेका हजारौँ श्रमिकहरूको सम्मान, नेपाली उद्योगप्रतिको विश्वास र आत्मनिर्भर नेपालको सपनालाई आफ्नो साथ दिनुभएको छ।
प्रकाशित: १६ जेष्ठ २०८३ ११:२० शनिबार





