जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
वर्षौंदेखि स्रोत सुनिश्चितता अभावमा रोकिएको योजना कर्णाली प्रदेश सरकारले बजेट सुनिश्चित गरेपछि कार्यान्वयनमा गएको हो। प्रदेशसभा (ख) का सांसद टेकराज पछाईले पुलको शिलान्यास गरेका हुन्। उनले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको बताए।
पुल निर्माण सुरु भएपछि वर्षौंदेखि हिमा नदीका कारण आवतजावतमा सास्ती खेप्दै आएका स्थानीयमा उत्साह छाएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलका अनुसार ६ करोड ३४ लाख ४३ हजार १ सय ९ रुपैयाँ लागतमा निर्माण हुने उक्त पुल ४०.८४ मिटर लम्बाइ र ६ मिटर चौडाइको हुनेछ। ठेक्का नम्बर २३/२०८२/०८३ अन्तर्गत मल्ल कन्स्ट्रक्सन प्रा.लि।
दैलेखसँग २०८३ वैशाख ११ गते सम्झौता गरिएको उनले जानकारी दिए। सिंजा क्षेत्रबाट बग्ने हिमा नदीमा पुल नहुँदा जोगिबाडासहित आसपासका गाउँका स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। वर्षायाममा नदी बढेपछि आवतजावत पूर्णरूपमा प्रभावित हुने, बिरामी अस्पताल लैजान समस्या हुने तथा कृषकले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन कठिन हुने गरेको थियो।
शिलान्यास कार्यक्रममा सांसद पछाईले स्थानीयको माग र आवश्यकताका आधारमा पुल निर्माणका लागि प्राथमिकता साथ स्रोत सुनिश्चितता गरिएको बताए। आगामी दिनमा कर्णाली प्रदेशमा वडा तथा गाउँपालिकाको मागका आधारमा विकास बैंकमार्फत योजना कार्यान्वयन गरिने उनले बताए।
स्थानीय तिर्थनाथ योगीले पुल निर्माण सुरु हुनु गाउँका लागि ठूलो उपलब्धि भएको बताए। 'अब मोटर गाउँसम्म पुग्ने आशा पलाएको छ,' उनले भने। स्थानीय गोरेनाथ योगीले पनि पुल निर्माणको खबरले गाउँमा खुसी छाएको बताए।
हिमा गाउँपालिका–३ का वडाध्यक्ष धनबिर रोकायाले पुल निर्माणपछि बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँ प्रत्यक्ष लाभान्वित हुने बताए। उनका अनुसार पुल बनेपछि स्थानीय कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज हुने तथा विद्यार्थी, कर्मचारी र सर्वसाधारणको यात्रा सुरक्षित बन्नेछ।
वर्षौंदेखि खोलाले छुट्टिएको जोगिबाडा क्षेत्र अब सडक पहुँचसँग जोडिने अपेक्षाले स्थानीयमा विकासप्रतिको भरोसा फेरि जागेको छ।
प्रकाशित: १६ जेष्ठ २०८३ ११:४८ शनिबार





