हाम्रो देशमा विक्रम संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै वैशाख १ गतेबाट नयाँ वर्ष सुरु भएको मानिन्छ। सौरमानका हिसाबले नेपालमा यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरा गरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्ने भएका कारण वैशाख १ गतेलाई मेष सङ्क्रान्तिको नामले पनि चिनिन्छ। सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम संवत्अनुसार यस दिनदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ।
चन्द्रशमशेरले ज्योतिषीहरूको सल्लाहमा तिथि र बारमा तलमाथि नगरी १९६१ मेष सङ्क्रान्ति वैशाख १ गतेदेखि नेपालमा विक्रम संवत्को चलन चलाएका हुन्। पुरातत्त्व विभाग, राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजाबारे किंवदन्तीहरू प्रस्तुत गर्दै वज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरेको नारायणहिटीको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाएर तीर्थस्थल निर्माण गरी विक्रम संवत् चलाएको कुरा उल्लेख गरिएको छ भने साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जसको अध्यावधि वज्राचार्यवंंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन्।
इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्– ‘विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसे–चौबिसे, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए। केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्वमल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो। भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्केटजात्रा मनाइन्छ। यहाँ चैत मसान्तमा गाडिएको विश्वध्वज नामक लिंगोलाई ढाल्ने गरिन्छ भने बोडेमा भोलिपल्ट जिब्रो छेड्ने जात्रा धुमधामसाथ मनाइन्छ।
पुण्यरत्न वज्राचार्यद्वारा लिखित ‘हाम्रो चाडपर्व’ नामक पुस्तकअनुसार काशीका विश्वनाथ कुनै कारणवश भक्तपुरमा आएको चाल पाए। त्यहाँका एक प्रसिद्ध तान्त्रिकले उनलाई यहीं रोक्ने प्रयास गरे। त्यो थाहा पाएर विश्वनाथले भैरवरूप धारण गरी भाग्न लागे। उनले तत्कालै तरबारद्वारा भैरवको टाउको काटेर त्यहाँ स्थापना गरे।
पछि मल्ल राजाहरूले उनै विश्वनाथको अनुहार प्रदर्शनका रूपमा बिस्केटजात्राको परम्परा बसालेको अनुमान छ। यसै दिन टोखामा अवस्थित सपनतीर्थमा ठुलो मेला लाग्ने गर्छ। यहाँ रहेको जलकुण्डमा वैशाख १ गते नुहाएमा छालासम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ। बागमतीको उत्पत्ति बागद्वारबाट भएको मानिन्छ। यहाँ पनि चैत मसान्त र वैशाख सङ्क्रान्तिमा ठुलो मेला लाग्छ। यो काठमाडौं उपत्यकाको प्रमुख जल भण्डार पनि हो।
पूर्वी तराईका जिल्लाहरूमा बसोबास गर्ने जाति (राजवंशी, गन्गाई, ताजपुरिया, धिमाल, चौधरी)ले वैशाख १ देखि तीन दिनसम्म सिरुवा पर्व विशेष रूपमा मनाउने गर्छन्। वर्षको पहिलो दिन पानी छ्यापाछ्याप गरी ‘जल’ सिरुवा मनाउने गरिन्छ।
वर्षभरि शीतलता प्राप्त होस् भन्दै जल सिरुवा खेल्ने चलन छ। त्यस्तै दोस्रो दिन ‘काद’ सिरुवा मनाइन्छ। काद सिरुवामा हिलो छ्यापाछ्याप गर्ने चलन छ। सिरुवाको अन्तिम दिन ‘रंग’ सिरुवा मनाइने गरिन्छ। वर्षभरि आफूले इच्छाएका विभिन्न इच्छाहरू पूरा होस् भन्ने कामनासाथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ।
त्यस्तै विक्रम संवत् प्रकृतिसँग सम्बन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपालभित्र नै देख्न सकिन्छ। गोरखापत्र दैनिकको वैशाख १, २०६६ मा प्रकाशित समाचारअनुसार ‘हरेक वर्ष मेष सङ्क्रान्ति, नववर्षका दिन वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ।
सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा वर्षमा एकदिन मात्र फुल्ने सलहेस फूल जसमा एउटै मात्र मालाजस्तो लामो झ्याम्म परेको लटरम्म फूल हो। अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिदैँ नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फुल्छ। बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिँदै भोलिपल्ट झर्ने गर्छ।’
सायद नेपाली नयाँ वर्षको उपहार हुन सक्छ, हामीले यसलाई अलौकिक नै मान्नुपर्ने हुन्छ। विश्वमा नयाँ वर्ष मनाउने समयमा भिन्नता देखिन्छ। उसैगरी हरेक देशको नयाँ वर्ष मनाउने तौरतरिका र परम्परा पनि भिन्न भिन्न देखिएका छन्। तर सबैको उद्देश्य भने मानव मात्रमा नयाँ वर्ष मंगलमय होस् भनी शुभकामना व्यक्त गर्नु नै हो।
नयाँ वर्ष मनाउने परम्परा कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा यकिन गर्न नसकिए तापनि पृथ्वीमा जति बेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो, त्यसै बेलादेखि नै नयाँ वर्ष मनाउने परम्परा युनानीहरूले चलाएको देखिन्छ। रोमन ग्रिक इन्साइक्लोपेडियामा पनि हर्ष र उमंगसाथ नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गरिएको पाइन्छ।
त्यसैगरी ब्रिटिस म्युजियम लन्डनबाट उपलब्ध पुरानो अरबी शोधपत्रानुसार आजभन्दा हजारौं वर्षपूर्व नील घाँटीको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्व सन्ध्याको राति एक सामूहिक भोजको आयोजना गरेर नयाँ वर्ष मनाउने गरेको पाइएको छ, जतिबेला उनीहरू आपसमा नाचगान बजानको साथमा नयाँ वर्षको स्वागत गर्ने गर्थे।
यसैगरी ब्रिटिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्यहाँका केही आदिवासीहरू पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल, छिमेकमा सबै मानिसहरू एकै ठाउँमा जम्मा भएर आआफ्ना इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ। त्यतिबेला उनीहरू अघिल्लो दिन सूर्यास्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यकै पूजा एवं उपासना गरेर नयाँ वर्ष मनाउने गरेको देखिन्छ।
यस्तै इंग्ल्यान्डकै स्कटल्यान्ड, आयरल्यान्ड तथा वरिपरिका क्षेत्रहरूमा कालो कपाल हुने पुरुष तथा महिलाले सम्मान पाउँछन्। यहाँका निवासीमा यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षात् देवताको दूत मान्ने चलन पनि छ।
उक्त नयाँ वर्षको दिन विशेषतया अग्ला र कालो केश भएका पुरुष तथा महिलाहरूको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतीक मानिन्छ। नयाँ वर्षको प्रभातमा कालो वर्णका मानिस वा कालो वस्तुलाई देखेमा शुभ मान्छन्।
जापानमा नयाँ वर्षको बेला हरिया वृक्षहरू घर वरिपरि सजाउनुका साथै शुद्ध जल पिउने गर्छन्। जसलाई ‘नवजात जल’ भन्छन्। नवजात जल पिउनाले उनीहरूको आयुमा वृद्धि र देशमा आरोग्य प्राप्त हुनेछ। नयाँ वर्षको यस पर्वलाई जापानमा ‘याबुरी’ भन्छन्।
यस्तै, चीनमा रातभर जागा बसेर आमा, बाबु र गुरुलाई आदर भाव व्यक्त गरी आशीर्वाद प्राप्त गर्नुका साथै स्वादिष्ट भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटकाहरू पट्काउने गर्छन्।
उता, थाइल्यान्डमा तथा सम्पूर्ण दक्षिणपूर्व एसियाका मुलुकहरूका निवासीहरूले आआफ्नो घरको सफा सुग्घर गर्ने, प्रत्येक घरमा दियो बाली दीपावली गरिन्छ। बर्माको बर्मेली समाजमा नयाँ वर्षको उत्सवलाई ‘विजान’ भनिन्छ। आफन्तहरूमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्छन्। सो दिन शान्ति र स्वास्थ्यप्राप्तिका लागि भगवान् बुद्धको पूजा गर्ने चलन छ।
मेक्सिकोमा नयाँ वर्षको उपलक्ष्यमा चर्चहरूमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ भने यसै दिन ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा यस दिन आफ्नो मन नपरेको कुरा जीवनसाथी भए तिनीहरूलाई छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने गरेको पाइन्छ। इरान र इराकसहित अरब देशहरूमा नयाँ वर्षको आगमन उत्सवलाई ‘नौरोज’ भन्छन्। गहुँ तथा जौको हरियो अंकुर भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती र रोटी राख्छन्। यी चिजहरूलाई उनीहरू ‘शुभ संकेत’का रूपमा लिन्छन्।
कोरियामा नयाँ वर्षका दिन कन्याहरूलाई शृंगारपटार गरी गाउँका मुखियाहरूको अगाडि नचाउने गरिन्छ। जर्मनीमा नयाँ वर्षको उत्सव मनाउँदा पानी भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारले भविष्यवाणी गर्छन्। फ्रान्समा नयाँ वर्षलाई वसिली दिवसका रूपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ।
अस्ट्रेलियामा स्वर्ण मुद्रा, ब्रस, चिमजस्ता शुभ वस्तुहरूको आदानप्रदान गर्नुका साथै एकआपसमा उपहारहरू साटासाट गरेर मनाउने गरिन्छ। यस्तै अमेरिकामा यस दिन अभिनन्दन समारोह मनाउने चलन छ। उता इन्डोनेसियामा नयाँ वर्षको दिन नयाँ लुगाको प्रयोग गरिन्छ र एकअर्कामा श्रद्धा र सहयोगको भावले शुभकामना व्यक्त गरिन्छ।
समष्टिमा भन्दा जहाँ जसरी नयाँ वर्ष मनाउनु भनेको पुराना सबै कुराहरूलाई त्यागेर नित्य नवीनतम सोचाइ र उन्नतितर्फ अग्रसर हुनुपर्छ भन्ने भाव हो। एक अर्कालाई शुभकामना दिनु, शान्तिको कामना गर्नु नै नयाँ वर्षको सन्देश हो भन्नुमा कुनै अत्युक्ति नहोला।
प्रकाशित: ३० चैत्र २०८१ ११:१० शनिबार





