३१ चैत्र २०८१ आइतबार
image/svg+xml १०:१८ पूर्वाह्न
कला/संस्कृति

केही फरक चरित्रमा देखिंदै छिन् अभिनेत्री भट्ट

फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्। यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ मा केही फरक चरित्रमा देखिँदै छिन्।

सुपुष्पा ‘पिताम्बर’ मा ‘बिहानी’ नामको पात्रमा देखिँदै छिन्। ‘बिहानी विधवा छे र इनोनसेन्ट छे। बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्, ‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानी मार्फत थाहा पाइन्छ।’

सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो। ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ। मेरो क्यारेक्टरमा बिलकुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन्।

फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन्। ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन। स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ। वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन्।

सुपुष्पाले ‘पिताम्बर’ मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन्। ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ। यो फिल्ममा काम गरेपछि मैले केही बुझें। अहिले त महिलाहरूले आफ्नो स्ट्याण्ड लिनुभएको छ। उहाँहरूमाथि पनि आइरहनुभएको छ’, उनी भन्छिन्।

उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’ मा जोडिन पाउनु आफ्नो लागि भाग्यशाली ठान्छिन्। ‘आफ्नो पात्रमा गर्न सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो तर मल्टिस्टार फिल्ममा मैले यतिको स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी थिएँ। यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनी भन्छिन्, ‘तर काममा प्रेसरचाहिँ हुँदो रहेछ। सबैको कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ। मेरो अभिनयचाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो। आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ।’

सुपुष्पाको बुझाइमा राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ। ‘महिला र पुरुष निर्देशकभन्दा पनि निर्देशक भनेको निर्देशक नै हो। राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ। आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ। मलाई धेरै सजिलो भयो’, उनी भन्छिन्।

सुपुष्पालाई एक्सन फिल्ममा काम गर्न मन रहेछ। ‘एक्सन फिल्ममा आफैले एक्सन गर्न मन छ। यो पहिलोदेखिकै इच्छा हो। त्यस्तो फिल्मको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’, सुपुष्पा भन्छिन्।

प्रकाशित: २२ चैत्र २०८१ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App